सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने एसियाली देशको सूचीमा नेपाल
काठमाडौँ । सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा घण्टामा ४ जनाले ज्यान गुमाउने गर्छन् । यसरी प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाटै ३७ हजार ५२३ भन्दा धेरैले ज्यान गुमाइरहेका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसार मृत्यु हुनेमध्ये १९.४१ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनका कारण हुने गर्छ ।
सुर्तीजन्य पदार्थको सेवनले विभिन्न खालका नसर्ने किसिमका रोग जस्तै फोक्सोको क्यान्सर, श्वास प्रश्वाससम्बन्धी रोगसँगै मुटुसम्बन्धी रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।
नेपालमा सन् २०२१/२२ मा चुरोट सेवनका कारण लाग्ने रोगहरूको उत्पादकत्वमा आएको ह्रास र मृत्युप्रकरण जोड्दा करिब ४० अर्ब रुपैयाँ अर्थात् कुल गृहस्थ्य उत्पादनको ०.८२ प्रतिशत आर्थिक क्षति भएको प्रतिष्ठानले जनाएको छ । यद्यपि नेपालमा चुरोट बिंडीबाट राजस्व २५.९२ अर्ब सङ्कलन भएको छ ।
नेपालमा कर कम
दक्षिण एसियाली राष्ट्रमध्ये नेपालमा सुर्तीजन्य पदार्थमा कम कर लाग्ने गर्छ । नेपालमा ४१ प्रतिशत कर लाग्छ । सन् २०२१/२२ मा २५ प्रतिशत र २०२२/२०२३ मा २० प्रतिशत अन्तःशुल्क वृद्धि भएको हो ।
जबकि सार्कअन्तर्गत भारतमा ५३ प्रतिशत, पाकिस्तानमा ६१ प्रतिशत, बंगलादेशमा ७३ प्रतिशत, श्रीलङ्कामा ७७ प्रतिशत कर लाग्ने गर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थमा ७५ कर प्रतिशत बनाउनुपर्छ । डब्ल्यूएचओले नेपाललाई सुर्तीजन्य पदार्थमा कर बढाउन पटक पटक सुझाव दिँदै आएको छ । यद्यपि नेपालले डब्ल्यूएचओको मापदण्ड भन्दा धेरै तल ४१ प्रतिशत कर लगाएको छ ।
प्रतिष्ठानका अध्यक्ष डा जयबहादुर पुनले सरकारले अनिवार्य रूपमा सुर्तीजन्य पदार्थको कर बढाउनुपर्ने सुझाव दिन्छन् । सुर्तीजन्य पदार्थ सेवनका कारण व्यक्तिको स्वास्थ्यमा गम्भीर असर र आर्थिक नोक्सानीसँगै देशलाई आर्थिक क्षति हुनबाट बचाउन सरकारले कर बढाउनुपर्ने डा पुनको भनाइ छ ।
रणनीतिक प्रतिबद्धता
दिगो विकासको लक्ष्य २०३० सम्ममा नसर्ने रोग (एनसीडी) को बोझलाई एक तिहाइले घटाउने लक्ष्य राखिएको छ, जुन समयावधि अब ८ वर्ष मात्रै बाँकी छ । दिगो विकासको लक्ष्य हासिल गर्न सरकारले सुर्तीजन्य पदार्थ सेवनलाई कम गर्नुको विकल्प नभएको प्रतिष्ठानका अध्यक्ष डा.पुनले बताए ।
नेपालमा नसर्ने रोगका कारण ७० प्रतिशतको मृत्यु हुने गर्छ । नसर्ने रोगका कारण मृत्युको मुख्य कारक तत्व सुर्तीजन्य पदार्थ एक रहेको प्रतिष्ठानले जनाएको छ ।
मृत्यु भएका ५ जनामध्ये १ जनाको मृत्युको कारकतत्त्व सुर्तीजन्य पदार्थ हो । यस्तै, नेपालमा विगत ३० वर्षयता धुम्रपानबाट मृत्यु हुनेको सङ्ख्या ६० प्रतिशतले वृद्धि भएको छ ।
अनुसन्धान प्रतिष्ठानको प्रक्षेपणमा सन् २०५०/२०५२ सम्ममा सुर्तीजन्य पदार्थको सेवनबाट वर्षेनी ५० हजारको मृत्यु हुने आकलन गरिएको पुनले बताए । उनी भन्छन्, ‘यो भन्दा ठूलो महामारी अरु केही हुन सक्दैन ।’
कोरोना महामारीबाट चार वर्षमा १२ हजारको ज्यान जाँदा सरकारको ध्यानाकर्षण भएपनि हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाट ३७ हजार बढीको ज्यान जाँदा सरकारको ध्यानाकर्षण नहुनु गम्भीर विषय भएको उनले बताए ।
कर बढाउनै पर्ने अवस्था
सुर्तीजन्य पदार्थ सेवन कम गर्न सरकारले सुर्तीजन्य पदार्थमा कर बढाउनुका साथै सुर्तीजन्य पदार्थसम्बन्धी ऐन २०७८ मा उल्लेख गरिएका कुरालाई व्यवहारमा उतार्नुको विकल्प नभएको प्रतिष्ठानका अध्यक्ष डा.पुनले बताए । सुर्तीजन्य पदार्थ तथा लागूऔषध सेवनमा फसेकालाई निकाल्न समेत सरकारी निकायकै अग्रसरता आवश्यक पर्ने उनको बुझाइ छ ।
नेपालले २०२५ सम्ममा कम्तीमा सुर्तीजन्य पदार्थको कर भारतले लगाउँदै आएको ५३ प्रतिशत पुर्याउनुपर्ने उनको जोड छ । सरकारले खुल्ला रूपमा चुरोट बेच्न प्रतिबन्ध लगाउने, सार्वजनिक स्थानमा १०० मिटर दुरीसम्म विक्री वितरण गर्न नपाइने, चुरोट कारखाना बन्द गर्नुपर्ने लगायतका कुरा पूर्ण रूपमा लागू गरिनुपर्ने उनको जिकिर छ ।
अन्तर्राष्ट्रिय तहमा सुर्तीजन्य पदार्थमा जुन जुन देशमा धेरै कर लगाइएको छ, त्यहाँ सेवन कम भएको पाइएको अध्ययनहरूले देखाएको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान