आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
पुरस्कार प्रकरण

विनम्र हुनु र दासजस्तो हुनुको भिन्नता लेखकले थाहा पाउनुपर्छ

शनिबार, २५ चैत २०७९, १२ : ३९
शनिबार, २५ चैत २०७९

काठमाडौँ । साहित्य जगत्मा पछिल्लो समय पुरस्कार स्थापना र वितरण गर्नेको होड चलेको छ । हरेक दिनजसो पुरस्कार वितरणका हुँदा एकै वर्षमा हजारौँ पुरस्कार वितरण हुने गरेका छन् । 

दिनहुँजसो वितरण हुने यस्ता पुरस्कारको सङ्ख्यात्मक वृद्धिले सामान्य र विशिष्ट खालका पुरस्कार बीचको भेद खासै छुट्टिन छोडेको छ ।

पुरस्कार दिइनु खराब कार्य हुँदै होइन । हरेक स्रष्टालाई पुरस्कारले थप सिर्जनाका लागि प्रोत्साहन गर्छ । पुरस्कृत भएपछि नयाँ सिर्जनाका लागि स्रष्टा तन, मन, धन लगाएर समर्पित हुन्छ । 

एक प्रसङ्गमा साहित्यकार नारायण ढकालले भनेका छन्, ‘हरेक असल समाजले राम्रो चिज बाहिर ल्याउन प्रोत्साहन दिन्छन् र त्यसको एउटा पाटो भनेको पुरस्कार हो । पुरस्कार दिँदा त्यस व्यक्तिको व्यक्तित्व उज्यालिने मात्र होइन, पठन संस्कृति बढ्न गई असल समाज निर्माण गर्न भूमिकासमेत खेल्छ ।’ 

पुरस्कारले व्यक्तित्व उजिल्याउने र सम्बन्धित क्षेत्रमा थप जिम्मेवारीसाथ लाग्न प्रोत्साहन पनि दिन्छ । एक व्यक्ति पुरस्कृत हुँदा समाजका थप व्यक्तिलाई उसले उठाएका विषयवस्तु, मुद्दा र सिर्जनाप्रति आकर्षण पनि गराउँछ । 

तर एउटा, दुईवटा होइन पचासौँ स्रष्टालाई सम्मान गर्दा सम्मानित हुने स्रष्टाले गर्व महसुस गर्छ या गर्दैन ? यो प्रश्न अहिले निकै गहकिलो बनेर आएको छ । 

एक साता पहिले साहित्य सिर्जना र प्रकाशनका क्षेत्रमा समर्पित नइ प्रकाशनले देशदेशान्तरका २ सय जना कविलेखकलाई ‘नइ कीर्ति रत्न’ दिने घोषणा गर्यो । २ सय जना स्रष्टाको पहिचान गर्नु नै एउटा संस्थाका लागि निकै ठूलो चुनौती हो । त्यसमध्ये उत्कृष्ट छान्न झन कठिन विषय हो । 

त्यस्तो चर्चित संस्थाले विवादरहित ढङ्गले पुरस्कृत हुने स्रष्टाको जीवनी, उनीहरूका कृतिको अध्ययन, अनुसन्धान र मूल्याङ्कन गरी छनोट गर्नु ज्यादै कठिन कार्य हो । तर पनि उसले २ सय जना लेखक साहित्यकारहरूको नाम लिस्टसहित सूचना प्रकाशित गर्यो । 

नइको यो समाचार प्रकाशन भएको भोलिपल्ट प्राज्ञिक तथा साहित्यिक क्षेत्रका व्यक्तित्व प्राडा रामप्रसाद ज्ञवाली झस्किए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् अत्यन्तै गम्भीर र आम चासोको विचार सम्प्रेषण गरे । ‘कृपया लेखकको स्वाभिमानलाई नझुकाइदिनुहोस् ! यसरी नझुकिदिनुहोस्, जसले गर्दा स्वाभिमानी लेखकहरूको शिर झुकोस् !! भन्ने अनुरोधसहितको लामै फेसबुक स्टाटस लेखे ।

“स्रष्टाले विनम्र त हुनैपर्छ तर लेखकीय स्वाभिमान नै लज्जित हुने गरी दासता प्रकट गर्नु ठीक होइन । लामो समयदेखि सामाजिक सञ्जालमा नेपाली कवि, कलाकार, स्रष्टाहरूले पुरस्कार र सम्मान पाएकोमा, कुनै पत्रपत्रिका वा पाठ्य तथा सन्दर्भ पुस्तकमा आफ्नो रचना प्रकाशित भएकोमा सम्बन्धित व्यक्ति र संस्थाहरूप्रति कृतज्ञताका शब्दहरू पोस्ट गरिरहनुभएको हेरिरहेछु, पढिरहेछु,” ज्ञवालीले भनेका छन्, “कृतज्ञ हुनु, आभार प्रकट गर्नु राम्रो हो तर यस्तो गर्दा लेखकीय  स्वाभिमान जोगाउनु जरुरी छ ।” 

त्यस क्रममा उनले स्रष्टाले पाउने पुरस्कार तथा सम्मानको विपक्षमा आफू कहिल्यै नभएको र अब पनि नहुने बताए । तर सम्मान दिने निहुँमा स्रष्टाको सम्मान गरेजस्तो गरी स्रष्टाभन्दा आफू माथि पर्ने तथा सम्मान पाउनेले आफूमाथि ठूलै गुन लागाएको मानेर पुरस्कार दिनेका सामु दासझैँ झुक्ने कुराको भने आफू विपक्षमा रहेको बताएका छन् । 

पुरस्कार वा सम्मानले त स्रष्टाको उचाइ पो बढ्नुपर्छ, त्यसले विशिष्ट स्रष्टालाई झन् सामान्य बनाउनु नहुने उनको धारणा छ । “राजामहाराजाले सयौँलाई भिखारीसरह लाइनमा उभ्याएर दिने बक्सिसजस्तो स्रष्टाले पाउने पुरस्कार हुनु हुँदैन । के स्रष्टाले लामो लाइनमा उभिएर पालो कुर्दै एउटा सामान्य तक्मा भिर्न मरिहत्ते गर्नु गौरवको विषय हुन सक्छ ?” उनले आम लेखकहरूलाई प्रतिप्रश्न गरेका छन् । 

उनको फेसबुकमा यो स्टाटस आएपछि ज्ञवालीलाई नइ रत्न पुरस्कारलाई लिएर यो आएको हो भन्ने सोधेको प्रश्नमा यो स्टाटस त्यसमा मात्र सीमित नभएको बताए । “नइ प्रकाशनले दिएको पदकलाई मैले भन्न खोजेको होइन, उसले राम्रो काम पनि गरेको छ,” ज्ञवालीले भने । 

तर ‘बाघ पनि कराउनु बाख्रो पनि हराउनु’ भनेजस्तै २ सय जनालाई नइ कीर्ति रत्न घोषणा भएकै भोलिपल्ट तपाईंको विचार विस्फोट भयो नि भन्ने पश्नमा उनले दुई चार सय जना मान्छेलाई लाइन लगाएर तक्मा दिन थालियो भने राजामहाराजा जस्तो भइन्छ भन्न खोजेको भन्दै आफ्नो धारणाको बचाउ गरे । यसरी लाइनमा लागेर पुरस्कार लिइयो भने स्रष्टाको चर्चा परिचर्चा नहुने कुरामा उनको जोड थियो । 

एउटा कविता छापियो, त्यसबापत तक्मा दिइयो भने त के सम्मान बाँकी रह्यो र ? भन्दै उनी उनी प्रतिप्रश्न गर्छन् । ती २ सय जना सर्जकमध्ये उत्कृष्ट भएका सात आठ जनालाई दिएको भए मूल्यवान् हुन्थ्यो तर भएभरका सबैलाई दिइएकाले धेरै सस्तो हुन गएको धारणा उनको छ । 

वास्तवमा कुनै पनि संस्थाले धेरै स्रष्टालाई एउटै मञ्चबाट पुरस्कार दिँदा स्वाभाविक रूपमा मूल्यहीन हुन्छ । किनभने त्यसरी पुरस्कार थाप्दा लाइन लागेर उभिनुपर्छ, ५०÷६० जना लाइन लागेको अवस्थामा कुनै पनि प्रतिभाका बारेमा चर्चा परिचर्चा गरिँदैन । 

पुरस्कृतहरूले सम्बन्धित क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरिँदैन भने उनीहरूलाई कुनै दर्शकले चिन्दैनन् । यस्ता पुरस्कारबाट कुनै लेखकलाई कसैले चिन्दैन, कसैको भ्याल्यु हुँदैन । 

“पुरस्कृत व्यक्तिलाई मञ्चमा ल्याइसकेपछि त्यो स्रष्टाको चर्चा परिचर्चा भएर उदात्तीकरण हुनुपर्छ,” ज्ञवाली भन्छन्, “तर पुरस्कृत हुने व्यक्तिभन्दा बढी चर्चा पुरस्कार दिनेको भयो भने पुरस्कार दिएको अर्थ हुँदैन ।” 

पुरस्कार नपाउन्जेल आलोचना, पाएपछि प्रशंसा 

नेपाली साहित्य क्षेत्रमा पुरस्कारबारे आलोचना धेरै पहिलेदेखि हुँदै आएको हो । मदन पुरस्कारलाई वामपन्थी निकट साहित्यकारहरूलाई दिइँदैन, यो दक्षिणपन्थहरूको पुरस्कार हो भनेर आख्यानकार राजन मुकारुङले कुनै समय निकै विरोध गरे । वामपन्थहरूले यो पुरस्कार लिनु हुँदैनसमेत भने । 

पछि गएर मुकारुङको कृति ‘दमिनी भीर’ले २०६९ सालमा मदन पुरस्कार पायो । उनले त्यसलाई सहर्ष स्वीकार गरे, प्रशंसा गरे । अनि उनी पुरस्कारमा विभेद रहेनछ भन्न थाले । यो सुनेपछि लेखक खगेन्द्र सङ्ग्रौलाले ‘पुरस्कार पाएपछि ढाड नै भाँचिने गरी धनुषटङ्कार गर्नु पर्दैन नि मित्र’ भनेर प्रतिक्रियासमेत दिएका थिए । 

यस्तै युवराज नयाँघरेले पनि एक पटक त्यस्तै गरे । पुरस्कार पाउनुअघि त्यो संस्थाको धेरै विरोध गरे । तर पछि उनी त्यही पुरस्कार थाप्न गएका प्रसङ्ग साहित्यकारहरूले भन्ने गर्छन् । यस्ता प्रवृत्ति भएका साहित्यकारहरु पनि नेपाली साहित्य जगतमा खोज्दै जाँदा धेरै भेटिन्छन् । 

पुरस्कार वितरणमा मौलाएको विकृति–

पछिल्लो समय पुरस्कार साटासाट हुने प्रवृत्ति पनि बढेको साहित्यकारहरुबीच चर्चा हुने गरेको छ । ज्ञवाली पनि यस विषयमा सहमत छन् । “एउटा संस्थाको मान्छेले पाएको छ, अनि पाउने मान्छेको अर्को संस्था छ,” ज्ञवाली भन्छन्, “अर्को पटक उसैलाई दिने प्रचलन खुब मौलाएको छ तर यस्तो हुनु हुँदैन ।” 

पछिल्लो समय धेरैले आफ्ना मान्यजनका सम्मानमा प्रशस्त पुरस्कार स्थापना गर्ने गरेका छन् । पुरस्कार वितरण गर्ने धेरै संस्थाले आपसमा पुरस्कार साटासाट गरेको जस्तो देखिन्छ । “यति पैसा दिन्छु, यो पुरस्कार दिनुस् भन्ने खालका, यस पटक तपाईंलाई, अर्को पटक मलाई दिनुस् भन्ने खालको पुरस्कार, मैले योगदान गरेँ, मैले पुरस्कार पाइनँ भन्ने खालका गुनासा पनि साहित्यकारहरूबीच भएको देखिन्छ,” ज्ञवाली भन्छन् “मचाहिँ पुरस्कारका नाममा हुने यस्ता विकृतिका विरुद्धमा छु ।” 

क्षमता कम, हल्ला बढी

अहिले साहित्यको गुणात्मक पक्ष खस्किएको आम पाठकले अनुभव गरेका छन् । सामाजिक सञ्जालमा चर्चित साहित्यकार र साधनामा लिप्त साहित्यकारहरुको तुलना गर्ने हो भने प्रचारात्मक साहित्यकारको सिर्जनाको गुणात्मक पक्षा कम देखिन्छ । यसैले सामान्य साहित्यकारले पुरस्कारलाई पनि हल्लाखल्ला गर्ने प्रचलन बढ्दो छ भन्छन् ज्ञवाली । 

“मेरो एउटा कविता, कथा या निबन्धले पाठ्यक्रममा प्रवेश पायो भनेर निकै ठूलो हल्लीखल्ली हुने गरेको छ, यो भनेको म धेरै ठूलो मान्छे हुँ भनेको न हो,” उनी भन्छन्, “अहिले हजारौँ साहित्यकार छन्, तीमध्ये मेरो सिर्जनालाई छान्यो भन्ने किसिमले प्रचार भएको छ ।” त्यसैले एउटा संस्थाले आफ्नो गम्भीरता जोगाउनुपर्ने उनको तर्क छ । 

राम्रो लेखक सामान्य होइन

लेखक, सर्जक सामान्य व्यक्ति होइन । किनभने एउटा स्रष्टाले जिम्मेवारी बोध गरेर, नागरिक दायित्व बोध गरेर समाजका निम्ति काम गर्छ । सबै लेखक महान् हुन् भन्ने होइन तर राम्रो लेखकचाहिँ सामान्य होइन, राम्रा लेखक प्रचार प्रसारमा आउँदैनन् भन्छन् उनी । 

सेक्सपियर बितेको ७ वर्षपछि मात्र उनका कृति छापिएका थिए । त्यसैले राम्रो सर्जकको निधनपछि पनि योगदानको चर्चा हुन्छ । 

यसर्थ पुरस्कार दिने संस्थाहरूले पनि कुनै गहन कृति, साहित्यकार, लेखक वा सर्जकहरूलाई सस्तो बनाउनु हुँदैन । “पैसा छ भन्दैमा जस्तो पायो त्यस्तो किताब नछापौँ, सित्तैँमा पुस्तक नबाँडौँ,” ज्ञवाली भन्छन् । 

पुस्तक तयार पार्न लेखकले दुःख गरेको हुन्छ । श्रम, समय र कल्पना धेरै गर्नुपर्छ । समयको अभावले परिवारकै पनि गाली खानुपर्छ । यो सबै बेहोरेर पैसा खर्च गरेर किताब छापेर सित्तै बाँड्दै हिँड्नु हुँदैन भन्छन् उनी । त्यस्तो मिहिनेत परेको किताब त किनिनु पर्यो । लेखकलाई महत्त्व दिनु पर्यो ।

सस्तो लोकप्रियता किन ?

अहिले आफ्नो नामको प्रचारमा मान्छे लोभिएको छ । कृतिको गाम्भीर्यतातर्फ लागेका छैनन् । कृतिका लागि साधना गर्नुपर्छ भन्दा पनि हतार हतारमा लेख्ने, हतार हतारमा छाप्ने, हतार हतारमा विमोचन गर्ने, बाँड्ने, अनि लौ न मरो कृतिबारे लेखिदिनुस् भन्ने प्रवृत्ति अहिलेका सर्जकमा बढी देखिएको छ । 

उनीहरू कतिपय पत्रपत्रिकालाई पैसा नै दिएर लेख्न लगाउने, अनलाइनमा टिप्पणी गर्न लगाउने, साथीहरूलाई हातमा दिएर फोटो खिचेर सामाजिक सञ्जालमा हाल्नेजस्ता कार्यले नेपाली साहित्यमा साह्रै सस्तो भएको बताउँछन् ज्ञवाली । 

यस्ता कृति बिक्न समस्या भएर होइन, पैसा प्रशस्त भएर बाँडेका हुन् भन्छन् उनी । पैसा नहुनेले किताब छापेर बाँड्न सक्दैन । मान्छेले पढिदिऊन्, चिनजान पनि हुन्छ भनेर नै हो सित्तैँमा वितरण गरिएको । 

“तर पुरस्कार पाए पनि, नपाए पनि आफ्नो मर्यादामा रहनुपर्छ लेखक,” उनी भन्छन्, “एउटा सामान्य कविता छापियो, त्यो पत्रिकालाई र सम्पादकलाई धन्यवाद दिए भइहाल्छ नि । त्यत्रो उत्पात गर्न किन जरुरी छ ?”

वासुदेव त्रिपाठी जस्ता मान्छे कहिल्यै लु हजुर मेरो किताब छापियो भनेर हिँड्दैनन् । त्यसैले अलिकति माथ्लो तहको स्रष्टाले त्यसरी बाँड्दैन भन्छन् उनी ।

पुरस्कार पाउनका लागि लेख्नेहरूले नै पछि परेँ भनेर बोध गर्ने हुन् । लोभ लालच राखेर मैले यस्तो पाए हुन्थ्यो, सम्मान पाइन भन्ने खालका लेखकलाई न प्रभाव पार्ने हो । काम गर्दै जानेहरूलाई के फरक पर्छ र भन्छन् उनी ।

माग्दै हिँड्ने चिज होइन पुरस्कार

पुरस्कार दिने धेरै संस्थाहरूले पुरस्कार छनोटका लागि स्रष्टासँग एक एकप्रति सिर्जनासहित पुरस्कार पाऊँ भनी निवेदनको माग गर्ने नियम बनाएका हुन्छन् । तर यो पद्धति गलत भएको ज्ञवालीको भनाइ छ । “मदन पुरस्कार नै पनि निवेदन दिएपछि मात्र पाइन्छ । त्यहाँ स्रष्टा आफैँ जानुपर्छ, फारम भर्नुपर्छ, म अरू भन्दा योग्य छु भन्नुपर्छ,” ज्ञवाली भन्छन्, “यो पुरस्कार पनि निवेदन दिइएर, हस्ताक्षर र ल्याप्चे लगाएर माग्नुपर्छ ।” यस्तो कार्य ठीक नभएको बताउँछन् उनी । 

पुरस्कार दिने धेरै संस्थाहरूले आफैँ बजारमा गएर, खोजेर, अध्ययन गरेर पुरस्कार दिइनुपर्ने हो तर दिँदैनन् । किताब माग गरेर, खोजेर पुरस्कार दिँदा मात्र स्रष्टाको वास्तविक सम्मान हुन्छ । स्रष्टा आफैँले म योग्य छु, मलाई सम्मान गरियोस् भनेर दातासमक्ष स्रष्टा जानु नहुने उनको भनाइ छ । 

“पुरस्कार माग्दै हिँड्नु हुन्न, चाकडी गर्नु हुन्न,” उनी भन्छन्, “विनम्र हुनु र दासजस्तो हुनुको भिन्नता लेखकले थाहा पाउनु पर्छ ।”  

राज्यले गणतन्न्त्र दिवसका दिन पनि ठूलो सङ्ख्यामा पुरस्कार प्रदान गर्छ । यसमा पुरस्कृतले के सम्मानित भएको महसुस गर्छन् र ? भन्छन् उनी ।  यस्तो त राज्यले आफ्ना मान्छेलाई खोजेर दिने न हो । उसले एउटा कमिटी बनाउँछ, त्यो कमिटीले आफ्ना मान्छेलाई सिफारिस गर्छ अनि दिन्छ । त्यति न हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप