हाच्छिउँ आउनु लच्छिन कि अलच्छिन ?
बौद्ध साहित्यमा जातक कथाको महत्त्वपूर्ण स्थान छ । जातक सङ्ग्रहमा पाँच सयभन्दा बढी कथा छन् । ‘जातक’ भन्नाले जन्मका कथा भनिएको हो । गौतम बुद्धका पहिलेका जन्मका कथाहरु नै जातक कथा हुन् । त्यसैले ती कथाहरु बुद्धको समयभन्दा अघिका कथाहरु हुन् ।
जातक कथा मनोरञ्जक र शिक्षाप्रद छन् नै । कतिपय जातक कथा मनोवैज्ञानिक उपचार गर्ने सामथ्र्य पनि राख्छ । किनभने ती कथा मनोव्यथाले विक्षिप्त भइरहेकालाई बुद्धले सुनाएर तिनका मनका दुःख शान्त पारेका हुन् । कुनै कथा राजनीतिक, सामाजिक विकृति उजागर गरी समाजलाई परिवर्तनको मार्गमा डोर्याउने खालका पनि छन् ।
अहिले नेपाली साहित्यमा आएका जातक कथा धेरैजसो बालसाहित्यको रूपमा आएका छन् । जनावरहरु पात्र रहने र छोटा कथाका सचित्र बालोपयोगी पुस्तक बजारमा आएका छन् । त्यो राम्रै हो । तर, जातक कथा त्यति मात्रै हैनन् । युवाहरूको लागि उपयोगी, मध्यम आकारका कथा पनि जातकभित्रै छन् । अझ प्रौढको लागि उपयुक्त झण्डै उपन्यास जत्तिकै लामा जातक कथा पनि छन् ।
नमूनाको लागि एउटा रमाइलो हास्यव्यङ्ग्य कथा यहाँ प्रस्तुत गर्दैछु । यो मध्यम आकारको कथा ‘असिलक्खण जातक’ (असि = तलवार, लक्खण = लक्षण) हो । पछि पछि पनि अन्य जातक कथाहरू श्रृंखलावद्ध प्रस्तुत गर्नेछु ।
हाच्छिउँको कथा
हजारौं हजार वर्षअघिको कुरा हो । त्यसबेला वाराणसी देशमा ब्रह्मदत्त राजाले राज्य गर्दथे ।
त्यो समय राज्यमा तलवारको धेरै महत्त्व थियो । तलवारले नै देशको सुरक्षा हुन्थ्यो । त्यसैले, तलवार नै ठूलो हतियार मानिन्थ्यो ।
त्यस्तो महत्त्वपूर्ण तलवारबारे अनेकन विश्वासहरू थिए । मानिसहरु तलवार पनि लच्छिन र अलच्छिनको हुन्छ भनेर मान्थे । लच्छिनको तलवारले युद्धमा जित्न मद्दत पुग्ने विश्वास थियो । अलच्छिनको भए त्यसले युद्ध हारिन्छ भनेर मान्थे ।
कथाको पहिलो भाग
बेला बेला लोहारहरूले नयाँ नयाँ तलवार बनाएर राजाको दरबारमा बेच्न ल्याउँथे ।
दरबारमा एकजना पण्डित थिए । उनले तलवार सुँघेर लच्छिनको हो कि होइन यकिन गर्दथे । राजाले उनको कुरामा विश्वास गरेका थिए । त्यसैले, राजाले तलवार किन्नुअघि त्यस पण्डितलाई सुँघ्न लगाएर मात्र किन्ने गरेका थिए ।
वास्तवमा पण्डितले घुस लिएर काम गर्ने गरेका थिए । जुन लोहारले घुस दिन्थे, तिनका तलवार सुँघेर उत्तम लक्षणको हो भनेर भन्थे । अनि दरबारमा ती तलवार महँगो मूल्यमा बिक्री हुन्थ्यो ।
एकजना लोहारले पण्डितलाई घुस दिएको थिएन । पण्डितले उसको तलवार सुँघेजस्तो गरेर “यसको तलवार अलच्छिनको छ” भने । पण्डितले त्यस्तो भनेपछि उनको तलवार दरबारले किनेन । त्यस लोहारले तलवारको भारी बोकेर आफ्नै गाउँ फर्किनु पर्यो ।
बाटोमा जाँदा जाँदै त्यो लोहारले पण्डितसित बदला लिने विचार गर्यो ।
केही समयपछि उनले फेरि दरबारमा नयाँ तलवार बेच्न ल्याए । यसपालि उनले तलवारको दापभित्र अलिअलि मरिचको धुलो छर्केर ल्याए ।
तलवार बेच्ने लोहार दरबारमा पुगे । राजाले उनको तलवारको लक्षण जाँच्न पण्डितलाई बोलाउन पठाए ।
पण्डित आएर दापबाट तलवार झिकेर सुँघ्न लागे । मरिचको धुलोको बास उनको नाकमा पर्नासाथ उनलाई जोडले हाच्छिउँ आयो । तलवार नाकैनेर भएकोले हाच्छिउँ गर्दा उनको नाकको टुप्पो काटिन पुग्यो ।
पण्डित निक्कै अत्तालिए । उनले धेरै उपचार गरे तर काटिएको नाकको टुप्पो पलाएन । नाकबिना हिँड्न उनलाई निक्कै लाज भयो । त्यसैले उनले काटिएको नाकमा चपराको टुप्पो जोडेर लगाए ।
कथाको दोस्रो भाग
ब्रह्मदत्त राजाको एक मात्र छोरी थियो । राजाकी छोरी अर्थात् राजकुमारीले सानैदेखि एउटा केटालाई मन पराएकी थिइन् । राजकुमारी र केटाबीच गहिरो प्रेम थियो । हुन त त्यो केटा साधारण नागरिक थियो तर सुन्दर, बुद्धिमान र साहसिक भएकोले राजाले पनि मन पराएका थिए ।
राजकुमारी जवान हुँदै आइन् । एकदिन राजाको दरबारमा टाढाको देशबाट एउटा दूत आयो । त्यो धेरै ठूलो र शक्तिशाली देशको सम्राटले पठाएको दूत थियो । दूतमार्फत् सम्राटका छोराको लागि राजकुमारी माग्न पठाएको रहेछ ।
अब भने राजाको मन फेरियो । त्यत्रो ठूलो राज्यका युवराजलाई आफ्नी छोरी नदिई कहाँ एउटा मामूली कर्मचारीलाई दिनु ?
राजाले मन फेरेको कुरा युवा र राजकुमारी दुवैले थाहा पाए । अनि दुवैले भेटेर सल्लाह गरे । उनीहरुले दरबारकी एक महिला ज्योतिषीको सहयोग लिने निर्णय गरे ।
ती दुवैले ज्योतिषीलाई भेटेर सहयोग मागे । ज्योतिषीले एउटा गोप्य योजना बताइन् । योजनाअनुसार राजकुमारीले आफू बिरामी भएको नाटक गरिन् । धेरै वैद्यहरुले जाँचेर औषधी दिए तर राजकुमारी निको भइनन् । बिरामी भएकै थिएन त कसरी निको हुनु ?
वैद्यहरुबाट निको नभएपछि कुनै ग्रहदोष होला कि भनेर राजाले ज्योतिषीलाई बोलाएर राजकुमारीबारे सोधे । ज्योतिषीले राजकुमारीलाई भूत लागेको छ भनिन् । भूत झार्नको लागि मसानघाटमा जानुपर्ने बताइन् ।
राजाले स्वीकृति दिएपछि ज्योतिषीले राजकुमारीलाई मसानघाटमा लगिन् । राजाले राजकुमारीको सुरक्षाको लागि सेनाहरु पनि सँगै पठाए ।
योजनाअनुसार मसानघाटमा ती युवा पहिल्यै लुकेर बसेका थिए । मसानघाट पुगेपछि ज्योतिषीले राजकुमारीलाई युवा लुकिराखेको ठाउँको नजिकै बसाइन् । अनि उनले मन्त्र पढेजस्तो गर्न थालिन् ।
मन्त्र पढ्दा पढ्दै ज्योतिषीले सेनाहरुलाई भनिन्, “हेर, जब राजकुमारीको शरीरबाट भूत निस्कन्छ, तब भूतले जोड जोडले हाच्छिउँ गर्नेछ । अनि भूतले जसलाई पहिला भेट्टाउँछ उसलाई खानेछ ।”
यति भन्दै उनी फेरि आँखा चिम्लेर मन्त्र पढ्न थालिन् ।
लुकेर बसेका ती युवाले आफूसित मरिचको धुलो पनि ल्याएका थिए । अनि उनले अलिकति मरिचको धुलो के सुँघेका थिए, बेतोडले हाच्छिउँ गर्न थाले । सेनाहरु भूतले नै हाच्छिउँ गरेको ठानेर मनमनै डराउन थाले ।
हाच्छिउँ गर्दा गर्दै ती युवा लुकेको ठाउँबाट ह्वात्त निस्के । उनलाई देखेपछि साँच्चिकै भूत भन्ठानेर सेनाहरु भयंकर डराए । उनले पनि दगुरेर लखेटेझैं गरे । पहिला जसलाई समात्छ, उसलाई लान्छ भनेकोले सेनाहरु हातहतियार फालेरै भाग्न थाले ।
सबै सेना भागेपछि युवाले राजकुमारीलाई आफ्नो घर लगे ।
दरबारमा फर्केर ज्योतिषीले राजालाई राजकुमारीको शरीरबाट भूत निस्केको कुरा सुनाइन् । साथै भूत देखेपछि सेनाले राजकुमारीको रक्षा नगरी भागेको कुरा पनि सुनाइन् ।
अनि, राजाले राजकुमारी खै त भनेर सोधे । ज्योतिषीले भनिन्, “सबै सेना भागभाग भएपछि कताकताबाट राजकुमारीका प्रेमी युवा आइपुगे । उनले नै भूतबाट जोगाएर राजकुमारीलाई आफ्नो घर लगे ।”
राजाले सेनाहरुलाई राजकुमारीको रक्षा नगरी भागेकोमा दण्ड दिए ।
युवाको साहसको कदर गरी आफ्नी छोरी उनैसित विवाह गरिदिए ।
कालान्तरमा राजाको मृत्युपछि युवा आफैं राजा बने ।
कथाको सार
सो युवा राजा बनेपछि एक दिन दरबारको कौसीमा बसिरहेका थिए । त्यहीबेला चपराको नाक लगाएका पण्डित पनि दरबारमा आए । राजालाई भेट्न कौसीमा गए । कौसीमा चर्को घाम लागेकाले उनको चपराको नाक पग्लिन थाल्यो ।
यत्तिकैमा राजाले भने, “कसैलाई हाच्छिउँ आउँदा लच्छिन हुँदो रहेछ । कसैलाई त्यही हाच्छिउँ आउँदा अलच्छिन हुँदो रहेछ । तिमीलाई हाच्छिउँ आउँदा नाक काटियो । मलाई हाच्छिउँ आउँदा मैले राजकुमारी पाएँ । अनि आज राजा पनि बनेँ । त्यसैले, यो लक्षण अलक्षणको कुरा यस्तै हो । अनि भूतप्रेतको कुरा पनि त्यस्तै हो ।”
राजाले अझै थपे, “बरु घुस खानु जस्तो कुकर्म गर्नु भने पक्कै देशको लागि अलच्छिन हो । मेरो राज्यमा घुस खानेलाई ठूलो दण्ड दिइनेछ ।”
(यो कथा दुण्डबहादुर वज्राचार्यद्वारा मूल पालीबाट नेपालभाषामा अनुदित जातक भाग १, कथा संख्या १२६ मा आधारित हो ।)