दशनले बाँचेको दासता
सप्तरी । जस्ताले छाएको दुईकोठे घर । एउटा कोठामा साँचो लगाइएको थियो, अर्को कोठामा चुकुल मात्रै । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दशन खंग मण्डल चुकुल मात्रै लगाएको कोठामा छिरे । कोठाभित्र भुइँभरि पुराना कपडाहरू छरिएका थिए । तीमध्ये आफ्ना एकजोर कपडा र ओढ्ने पछ्यौरा टिपेर उनी हतारहतार बाहिर निस्के ।
उनकी श्रीमती घरमा चुकुल लगाएर बाख्रा चराउन गएकी रहिछन् । छिमेकीकहाँ गएकी कान्छी छोरी हतारहतार घरमा आएर आँगनमा दुईवटा प्लास्टिकका कुर्सी मिलाइन् । जबकि उनको घरमा पाँचजना पाहुना पुगेका थियौँ ।
‘जलवायु परिवर्तनको सन्दर्भमा महिला तथा आदिवासी जनजातिको भूमि अधिकार सुरक्षा’ सम्बन्धी तीनदिने (२१–२३ चैत) छलफलमा भाग लिन काठमाडौं आएका दशन चैत २४ गते सप्तरीको राजविराजतर्फ जाँदै थिए, जहाँ साँझको ५ बजे हुने पत्रकार सम्मेलनमा उनको उपस्थिति अनिवार्य थियो ।
बर्दिबासदेखि राजविराजसम्मको यात्रामा संयोगले हामी एउटै गाडीमा थियौँ । दशनले भने, ‘मूल सडकदेखि दुई किलोमिटरभित्र छ मेरो घर (बसानपट्टी, सुरुंगा नगरपालिका–७, सप्तरीमा) । मलाई एक जोर कपडा लिनुछ । एकछिन पस्नुपर्छ है ।’
घरमा पसेर पनि दशनले दुई मिनेट उभिएर छोराछोरीको सन्चोबिसन्चो सोध्न भ्याएनन् । ५४ वर्षीय मण्डललाई विभिन्न कार्यक्रममा भाग लिन भ्याइनभ्याइ छ, किन ? उनी भन्छन्, ‘देखिहाल्नुभो नि मेरो के छ र ? त्यही घर पनि मेरो नाममा छैन, गाउँब्लकको नाममा छ । म त आफ्नो र सम्पूर्ण हरवाचरवाको अधिकारका लागि आन्दोलनमा छु ।
दशनको आजसम्मको जीवन गिरहत (मालिक)को घरमा हरवाचरवा भएरै बित्यो । अचेल दशनलाई गिरहतले पत्याउन छाडेका छन् । कारण ? ‘दशन ठूलो मान्छे भइसक्यो, ऊ त काठमाडौंतिर हिँडिरहन्छ, कहाँ हाम्रो खेतमा काम गर्छ भनेर गिरहतहरूले काम दिनै छाडे,’ दशन भन्छन्, ‘साँझ के खाऊँ, बिहान के खाऊँ भन्ने समस्या छ ।’
दशनहरूकै दबाब र आन्दोलनका कारण सरकारले २ साउन २०७९ मा हरवाचरवालाई मुक्त घोषणा गरेको थियो । तर उनीहरूको पुनस्र्थापनामा सरकारले कुनै ठोस कदम चालिसकेको छैन । त्यसैले सरकारलाई दबाब दिन उनीहरूले ‘हरवाचरवा अधिकार यात्रा– २०७९’ गर्दै छन् । ‘मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापना हाम्रो सरोकार– भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार’ नारा लिएर उनीहरूको यात्रा आज (चैत २५)देखि सप्तरीको राजविराज र पर्साको वीरगन्जदेखि शुभारम्भ हुँदैछ ।
दुवै टोली चार दिनसम्म मधेस प्रदेशका विभिन्न स्थानमा कोणसभा गर्दै चैत २८ मा जनकपुरमा भेटिने कार्यक्रम छ ।
दशनले बाँचेको दासता
अर्काको घरमा हलो जोत्नेलाई हरवा र वस्तुभाउ चराउनेलाई चरवा भनिन्छ, यी दुई शब्द मिलेर हरवाचरवा बन्यो । दशनका अनुसार, अधिकांश हरवाचरवासँग आफ्नो जमिन छैन । कतिले साहुसँग ऋण लिएर त्यसबापत साहुको अर्धदास हुँदै आएका छन् । सरकारले मुक्तिको घोषणा गरेपछि साहुबाट थप ऋण नपाएको, आफ्नो जमिनमा बस्न नदिएको अवस्था छ ।
आफ्नो पुर्खा कहिलेदेखि हरवाचरवा बन्न पुग्यो भन्ने दशनलाई थाहा छैन । बाबुआमाले अर्कैको घरमा काम गरेको देखेर हुर्केका दशन भन्छन्, ‘मेरो बुवाले काम गर्ने गिरहतको १९५ बिघा जमिन थियो । आमाबुवाले गिरहतको खेतमा दिनभरि काम गरेर अढाइ किलो धान पाउनुहुन्थ्यो ।’
देशमा प्रजातन्त्र आएपछि भूमिसुधार र जग्गा हदबन्दीको आवाज उठेको थियो । हदबन्दी लागू गर्न जग्गाको नापी अनिवार्य भयो । सरकारले सबैभन्दा पहिले काठमाडौं र मधेसबाट नापी सुरु गर्दा गाउँगाउँतिर थोरै जग्गा हुने प्रत्येक परिवारको जग्गा नापिएन, गाउँब्लक भनी छुट्ट्याइयो ।
दशनका बाले गाउँब्लकको तीन धुर जग्गा पाएका थिए । ‘म यही घरमा हुर्केको हुँ,’ दशन भन्छन्, ‘योे गाउँमा ३०–३२ घर हरवाचरवा बस्छन् । केही हरवाचरवाले अहिले गिरहतसँग जग्गा किनेर घर बनाएका छन् । नत्र धेरैको गाउँब्लक र ऐलानी जग्गामा घर छ । जनता आवासको कार्यक्रमबाट २० जनाले घर बनाउन पाएका थियौँ । त्यसैले मेरो घरमा इँटाको गाह्रो र जस्ताको छानो छ ।’
उनी सानै हुँदा, उनकै आँखाअगाडि उनकी आमा, बहिनी र भाइलाई हैजाले लग्यो, उपचार नपाएर । बाले दोस्रो विवाह गरेपछि दशनको बास गिरहतको गोठमा हुन थाल्यो । बिहान–साँझ गिरहतले अह्राएका काममा खट्नु र दिनभरि गाईवस्तु चराउनु उनको दैनिक थियो । उनले मालिकले दिएका पुराना कपडाले आङ छोप्थे, मालिकले छोइछिटो गरेर दिएको खाना खाएर गोठमा रात काट्थे ।
‘घरमा खानकै अभाव हुन्थ्यो, खानेकुरा गिरहतको घरमा थियो त त्यहीँ जानुप¥यो,’ दशन भन्छन्, ‘१० वर्षको उमेरसम्म चरवा भएँ, हलो जोत्न सक्ने भएदेखि हरवा भएँ । चरवाले दुई छाक खाना र हरवाले दिनको डेढ–दुई किलो धान पाउँथे । हाम्रो त उहिलेदेखि श्रम शोषण भएको छ हजुर ।’
गिरहतकहाँ हरवा हुँदा दशनले मालिकको पाँच कट्ठा जमिन खेतीका लागि पाएका थिए । त्यसबापत उनको परिवार वर्ष दिनभरि गिरहतकहाँ हरवाचरवा बस्नुपथ्र्यो ।
मधेसमा ‘राष्ट्रिय हरवाचरवा अधिकार मञ्च’ सन् २००६ मा गठन भएर अहिलेसम्म विभिन्न संस्थाको सहयोगमा अगाडि बढेको देखिन्छ । खासगरी सिनो बहिष्कार आन्दोलनका नेता बलदेव राम मधेसमा दलित अधिकारका लागि सक्रिय थिए । ‘मेरो नेता बलदेव राम हो, उहाँले मलाई विभिन्न आन्दोलनमा हिँडाउनुहुन्थ्यो,’ दशन भन्छन्, ‘हामी अन्यायमा परेका रहेछौँ भन्ने बुझेदेखि म यो आन्दोलनमा छु । काम गर्ने हामी, अर्कैको भरिने भकारी ? हरवाचरवाले गिरहतकहाँ बिना पारिश्रमिक काम गरेको क्षतिपूर्ति चाहिन्छ ।’
दशनका एक छोरा र तीन छोरी छन् । २२ वर्षीय छोरालाई पत्थरीको समस्या छ, कमजोर आर्थिक अवस्थाका कारण ७ कक्षासम्म पढेर घरमै बसेका उनले केही गर्न सक्दैनन् । उनकी श्रीमती र माहिली छोरीले अचेल साहुकहाँ मेलापातको काम गर्छन् । दशनहरूले आन्दोलन गरेरै अहिले पहिलेजस्तो श्रम शोषण छैन ।
‘पहिले गिरहतले रातमा पनि हामीलाई काम लगाउँथे,’ दशन भन्छन्, ‘अढाई केजी धानमा काम गथ्र्यौं । अनि के खाने ? के लाउने ? छोराछोरी कसरी पढाउने ?’
दशनका छोराले आठ कक्षासम्म पढेर छाडे, गरिबीको कारणले । अहिले उनलाई पत्थरी देखिएको छ । एउटी छोरीले ७ र एउटी छोरीले कक्षा ५ मा पढ्दैछन् ।
अहिले उनकी श्रीमती र छोरीहरू गिरहतको मेलापात जान्छन्, अहिले पहिलेजस्तो श्रमशोषण छैन ।
‘हाम्रो माग ठूलो छैन । हरवाचरवाको लगत संकलन गरी पुनस्र्थापना गरियोस् । जीविकाका लागि हरवाचरवालाई १० कट्ठा जमिन प्रदान गरियोस् । शिक्षा र स्वास्थ्य निःशुल्क होस् । रोजगारी पाइयोस् । ऋण मिनाहाको कार्यक्रम सरकारले ल्याओस्’ दशन भन्छन्, ‘यही माग लिएर हामी आन्दोलनमा छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन