मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

शुक्रबार, २४ चैत २०७९, २२ : ३७
शुक्रबार, २४ चैत २०७९

आज मिति २०७९ चैत महिनाको २४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

१. संसदमा नयाँ व्यवस्था

सरकारले प्रतिनिधि सभामा दर्ता गरेको कुनैपनि विधेयकमाथि अब आम सर्वसाधारण नागरिकले पनि सुझाव दिन सक्ने भएका छन् । संघीय संसद् सचिवालयले शुक्रबारदेखि यो व्यवस्थाको सुरुवात गरेको हो ।

संघीय संसद् सचिवालयको वेवसाइटमा गएर दर्ता भएको विधेयक पढ्न सकिने र त्यही रहेको फर्म भरेर बढीमा २५० शब्दमा सुझाव दिन सकिने व्यवस्था गरिएको छ ।

संघीय संसद्का सचिव डा.रोजनाथ पाण्डेले एक महिनाअघि निर्णय गरेर शुक्रबारबाट विधेयकमाथि सुझाव माग्न थालिएको जानकारी दिए ।  

२. प्रधानमन्त्री–कोइरालाबीच भेट

मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

नेता कोइराला शुक्रबार विहान नेता मिनेन्द्र रिजाललाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच मन्त्रिपरिषद बिस्तारबारे छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले रातोपाटीलाई बताए । उनले भने, ‘प्रधानमन्त्रीले कांग्रेस र जसपाले मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेकाले पार्टीभित्र मिलाएर चाँडो मन्त्रीको नाम पठाइदिन भन्नुभयो ।’

३. मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार चार डीआइजीलाई एकआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।

४. समाजवादी छाड्ने तयारीमा न्यौपाने

नेकपा एकीकृत समाजवादीमा अध्यक्षपछिको तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपानेले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाड्ने तयारी गरेका छन् ।

न्यौपानेले शनिवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर औपचारिक रूपमा पार्टी छाडेको घोषणा गर्ने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।

नेकपा एमालेले पार्टी विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हदको प्रावधान हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । काठमाडौँ बल्खु निवासी निमकान्त पाण्डेले एमाले विधानमा राखिएको ७० वर्षे प्रावधान संविधान विपरित रहेको भन्दै निष्कृय बनाउन आयोगमा शुक्रबार निवेदन दिएका हुन् ।

५. मिटरब्याजी पीडितको मागबारे अर्को समिति

गृह मन्त्रालयले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। मन्त्रालयले शुक्रबार मिटरब्याज पीडितहरूसँग वार्ता गर्न समिति गठन गरेको हो ।

६. नागरिक उन्मुक्तिमा समस्या

नागरिक उन्मुक्ति पार्टीको विहीबारदेखि दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलमा चलिरहेको छ । आज शुक्रवार सकिने बैठकमा भने अरू छलफलभन्दा केन्द्रीय नेता सुरेन्द्र चौधरीले पार्टी परित्याग गरेको घोषणाले चर्चा पाएको छ ।

राजनीतिक समितिका संयोजक सुरेन्द्र चौधरीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘आजबाट नागरिक उन्मुक्ति पार्टीबाट औपचारिक रूपमा अलग भएको जानकारी गराउँदछु । नयाँ राजनीतिक यात्राको लागि सबै जिल्लाका नेता तथा अभियन्ताहरूसँग छलफलको लागि मेची महाकाली यात्रामा भेट हुने नै छ ।’

उत्तरदायी, समावेशी, सहभागितामूलक लोकतन्त्रको लक्ष्य र ध्येयको लागि नयाँ शिराबाट राजनीतिक यात्राको लागि तयार रहन भन्दै सम्पूर्ण शुभचिन्तक अभियन्ता, नेताहरूमा उनले अपिल समेत गरेका छन् ।

७. ठगी प्रकरण

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका मध्ये ३ जनाको बयान सकिएको छ । शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा चैत १२ मा प्रहरीले मोरङका केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पनि पक्राउ परेका थिए ।

मरेका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको गोङ्गबुका रामबहादुर तामाङसहित ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले वैदेशिक रोजगारीमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् ।

८. घाटामा सरकार

सरकारी आयव्ययको स्थिति झण्डै २ खर्ब रुपैयाँ घाटामा पुगेको छ । चालु आर्थिक वर्षको चैत २४ गतेसम्ममा मुस्किलले ६ खर्ब ७४ अर्ब ७८ करोड रुपैयाँ बराबरको मात्र राजस्व संकलन हुँदैगर्दा सार्वजनिक खर्च ८ खर्ब ६४ अर्ब ७८ करोड रुपैयाँमाथि पुगेको हो । आय र व्ययलाई हेर्दा समीक्षा अवधिमा सरकार १ खर्ब ८९ अर्ब ९९ करोड रुपैयाँ घाटामा देखिन्छ । लक्षित राजस्वको ५० प्रतिशत पनि उठ्न नसक्दा सरकारी कोष घाटामा गएको हो ।

आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माण तथा तयारीको टिम बनेको छ । अर्थ मन्त्रालयले शुक्रवार सहसचिव भूपाल बरालको संयोजकत्व रहने गरी ६ सदस्यीय ‘बजेट मस्यौदा लेखन समिति’ गठन गरेको हो ।  बरालको नेतृत्वमा सहसचिव उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा समितिमा रहेका छन् ।

९. सामाजिक सुरक्षा कोषको सम्झौता

सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता भएको हो ।

१०. यो पनि

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले  जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन चुनावी कमाण्डर खटाएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा यादवलाई हराउन भूमिका खेलेको सो पार्टीले वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनमा भने यादवलाई सघाउन चुनावी कमाण्डर खटाएको हो । लोसपाले पार्टीका मधेशप्रदेश अध्यक्ष जितेन्द्र सोनललाई सो क्षेत्रका लागि चुनावी कमाण्डरको रुपमा खटाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीचमा पार्टी एकता गर्ने निर्णय भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका विभागीय प्रमुखलाई पाँच दिनभित्र लिखित रूपमा सुझाव दिन निर्देशन दिएका छन् ।

नेपाल वायुसेवा निगमको संरचनागत तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी सुझाव पेस गर्न पाँच सदस्यीय अध्ययन समिति गठन भएको छ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको हो ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप