रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार
काठमाडौँ । आज मिति २०७९ साल चैत महिनाको २३ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–
१. सरकारको साझा न्युनतम कार्यक्रम सार्वजनिक
प्रचण्ड नेतृत्वको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरुको उपस्थितिमा बिहीबार सञ्चारमन्त्री रेखा शर्माले ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेकी हुन् ।
साझा न्यूनतम कार्यक्रममा सरकारका ९ प्राथमिकता तय गरिएको छ। यस्तै संयुक्त सरकारका आर्थिक्क नीति, सामाजिक रुपान्तरण, गुणस्तरीय सेवा प्रवाह गर्नेलगायतका विषयलाई कार्यक्रममा समेटिएको छ। यस्तै शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने, सन्तुलित अन्तररष्ट्रिय सम्बन्धमा जोड दिने जस्ता विषय पनि समेटिएको छ ।
२. नीति तथा कार्यक्रममा एमालेको प्रतिक्रिया
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलगायत सरकार संसद्प्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिरहेकै समयमा सदनबाहिर कार्यक्रम प्रस्तुत गरिनु गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको भन्दा अझ व्यवस्थित र परिमार्जित रूपमा साझा न्यूनतम कार्यक्रम ल्याएको बताएका छन् ।
साझा न्यूनतम कार्यक्रम ल्याउन निक्कै मेहनत भएकाले कार्यान्वयन गरेर जानुपर्ने उनले बताए ।
३. कार्यव्यवस्था परामर्श समिति गठन
सभामुख देवराज घिमिरेले सङ्घीय संसद् प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिमा गठन गरेका छन् । बिहीबारको बैठकमा सभामुख घिमिरेले समितिमा रहने सदस्यहरूको नाम घोषणा गरेका हुन् ।
समितिमा अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो।शी। (चौधरी), लीलानाथ श्रेष्ठ, विद्या भट्टराई रहेका छन् । त्यसैगरी सन्तोष परियार, सरिता प्रसाईँ, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन पनि सक्ने बताएका छन् । बिहीबार एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान गठबन्धन र सरकारले जे पनि गर्न सक्ने भन्दै कुनै लाज शरम नभएको बताए ।
४. आचारसंहिता
प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी दिए ।
आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आगामी आगामी वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।
हाम्रो नेपाली पार्टीले बारा २ मा जनमतलाई समर्थन गर्ने भएको छ ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी हाम्रो नेपाली पार्टीका उम्मेदवार चन्द्रप्रकाश सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई समर्थन गरेको जनाएका हुन् ।
५. स्ववियु निर्वाचनको अल्झन
४ विद्यार्थी संगठनहरूबीच यही चैत ३० गते स्ववियु निर्वाचन गराउने सहमति भएको छ । यसअघि निर्वाचन हुन बाँकी रहेका कलेजहरूले छुट्टाछुट्टै मितिमा निर्वाचन गराउने तयारी गरेका थिए । तर, नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूका अध्यक्षहरूबीच पाटन संयुक्त र अस्कल बाहेकका क्याम्पस तथा कलेजहरूमा चैत ३० गते निर्वाचन गर्ने भएको हो ।
६. प्रदेश समाचार
बुधबार कर्णाली प्रदेशसभा बैठकमा कांग्रेसका सांसदहरुले अर्थमन्त्री विनोदकुमार शाहले करोडौँ रकम मनमौजी तरिकाले गाउँमा पठाएको आरोप लगाए । अर्थमन्त्री शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत पत्तै नदिई चुनावी खर्च उठाउने नियतले गाउँमा बजेट पठाएको भन्दै कांग्रेस सांसदले सदनमा त्यसबारे जानकारी गराउन माग गरे । यद्यपि शाहले संसदमा यसबारे जवाफ भने दिएका छैनन् ।
मन्त्री शाहले गत फागुन १६ गते २३ करोड २० लाख बराबरको रकम गाउँगाउँमा पठाइसकेका छन् । रातोपाटीलाई उपलब्ध विवरण अनुसार शाहले विभिन्न ६७ वटा योजनामा उक्त रकमको अख्तियारी पठाएका हुन् ।
७. नेपाल गौतम एकतामा अड्को
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताका लागि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा वामपन्थी नेता वामदेव गौतमले गरेको प्रस्तावलाई बेवास्ता गरेका छन् । एकीकृत समाजवादीले पार्टी एकताका लागि सुरुमा दुवै तर्फबाट प्रस्ताव र छलफल गरे पनि पछिल्ला दिनमा एकताबारे कुरै गर्न छोडेको नेता गौतमको भनाइ छ ।
८. फेरि बढ्दै कोरोना
नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड सङ्क्रमण पुष्टि भएकालाई आइसोलेसनमा बस्न आग्रह गरेको छ ।
९. क्रिप्टोकरेन्सीको अवैध कारोबार
कानुनतः ‘क्रिप्टोकरेन्सी’ नेपालमा प्रतिबन्धित भए पनि आर्थिक मन्दीका बीच यसको अवैध कारोबार भइरहेको हुन सक्ने आशंका केन्द्रीय बैंकले गरेको छ ।
बिटक्वाइन, ईथर, टीथर, बीएनबीजस्ता सयौँ अभौतिक मुद्रालाई प्रयोग गरी सट्टेबाजीमा गिरोहहरूले नेपालबाट लगानी बाहिर लगिरहेको हुन सक्ने आशंका नेपाल राष्ट्र बैंकले गरेको हो ।
१०. यो पनि
मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आगामी वैशाख १८ गते पार्टी एकता गर्ने भएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर दुई पार्टी एकता गर्न लागेका हुन् ।
जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सारेको छ । जसपाले उपनिर्वाचनको कारण देखाउँदै जेठ १ गतेको लागि अधिवेशन सारेको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाएका छन् । जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने जनाएको छ ।
रामेछापको मन्थली नगरपालिका–७ को कौछिनीमा भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछपका अनुसार थप मृत्यु हुनेमा मन्थली नगरपालिका–७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन् ।
चिकित्सा शिक्षा स्नातकोत्तर तहको म्याचिङ प्रणालीप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । योग्यताक्रम मिच्ने गरी म्याचिङ गर्न लागिएको भन्दै संघले आपत्ति जनाएको हो । आयोगले प्रवेश परीक्षामा उत्तीर्ण भएर म्याचिङ प्रणालीबाट विद्यार्थीहरूलाई योग्यता तथा प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित गराउने काम गरेको संघको आरोप छ ।
ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ ।
नेपाल राष्ट्र बैंकले यस विषयमा चासो व्यक्ति गरेको समाचार प्रकाशन पश्चात सो सम्बन्धमा खोजी अभियानमा लागेको जिल्ला प्रहरी परिसरले यसरी भिडियो बनाउने व्यक्ति महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने सुलभ आचार्य रहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी
-
सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व
-
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो