डकैती पछि हत्या गर्ने ‘अपराध शैली’
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा ३ जना र काभ्रेको हिरासतमा २ जना लुटेरा छन् ।
ती लुटेराबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । उनीहरू लुटेपछि हत्या गर्ने पुराना घटनाहरुमा संलग्न हुनसक्ने केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरुको निष्कर्ष छ । त्यस्ता घटनाबारे ब्युरोले अनुसन्धान गरिरहेको छ ।
२०७९ माघ १४ मा गुल्मीको वामिटक्सारमा होटल सञ्चालिकाको हत्या भयो । ‘गंगा होटल’ सञ्चालन गर्ने गोपाल कुमारी शेरचनलाई बास बस्ने निहुँमा पुगेका आरोपीहरुले लुटेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । शेरचनको हातखुट्टा टेपले बाँधेर आरोपीहरुले सुनका गहना लुटेर हत्या गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) सञ्जय सिंह थापाले रातोपाटीलाई बताए ।
गुल्मीको मुसिकोट नगरपालिका–७ न्वारा घर भएकी गोपाल कुमारी शेरचनको होटलबाट आरोपीहरुले १० तोला सुनका गहना लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सो लुटमा संलग्न आरोपमा ब्युरोले सिन्धुपाल्चोक घर भएका शिव बहादुर तामाङ, मकवानपुरका लोक बहादुर दर्लामी र बाग्लुङ्ग घर भएका थम्मन घर्तीलाई पक्राउ गरेको छ ।
बाग्लुङ्गको बडीगार्ड गाउँपालिका–७ असारे घर भएर गल्कोटस्थित दुधीलाभुटी बस्दै आएका ३५ वर्षीय थम्मन फागुन २२ मा बाग्लुङ्गबाट पक्राउ परेका हुन् । ३७ वर्षीय शिव कुमार तामाङ उर्फ चमेरे र ४९ वर्षीय लोक बहादुर दर्लामी उर्फ गोरे फागुन २३ मा काठमाडौँबाट पक्राउ परेका हुन् । शिव तामाङ चैत १ मा काभ्रेको धुलिखेलबाट पक्राउ परेका हुन् ।
लोक बहादुर मकवानपुरको बागमती गाउँपालिका–९ का स्थानीय हुन् । उनीहरू अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीको हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसन्धान अधिकृतहरुले ५८ वर्षीया शेरचन हत्याबारे अनुसन्धान गरिरहेका छन् । आरोपीहरुले डकैती गरेर हत्या गर्ने ‘अपराध शैली’ अपनाउने गरेको ब्युरोका एसपी थापाले बताए । उनी भन्छन्,‘सो समूहले लुटेर हत्या गर्ने अपराध शैली पछ्याएका छन्, थप अनुसन्धान हुँदै छ ।’
गुल्मीको लुट र हत्यामा संलग्न मध्येका एकजना फरार छन् । आरोपीहरुले वामीटक्सारमा सिक्री, औंठी र रिङ लुटेको स्विकार गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
काभ्रेमा पनि ‘लुट’
स्थानीय मजदुरहरुलाई ‘साथी’ बनाएर सुराकको रुपमा प्रयोग गर्ने आरोपीहरुले काभ्रेस्थित फस्कोटमा पनि लुटेर भागेको अनुसन्धानबाट थाहा भएको छ । सुन र गहनाको सुचना लिएर ठेक्का–पट्टा काम गर्ने नाममा उनीहरू व्यक्तिको घरमा छिर्ने र लुटेपछि हत्या गरेर भाग्ने गरेको थाहा भएको छ ।
आरोपीहरु २०७९ कार्तिक २७ मा काभ्रेको फस्कोट स्थित बेली तामाङको घरमा गए । घरमा दुईजना बच्चा र बेली तामाङकी सासू थिइन् । चुनावको माहोल भएकाले साँझ भोट माग्ने निहुँले पुगेका उनीहरूले बेलीलाई आक्रमण गरेर पैसा र गहना लुटे । लुटेराहरुको आक्रमणबाट बेली घाइते भइन् ।
अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार उनीहरू लुट र अपहरणका घटनामा पहिलेदेखि नै संलग्न थिए ।
काभ्रेमा भएको लुटमा संलग्न आरोपमा प्रहरीले लोक बहादुर पन्त उर्फ राजु र प्रकाश पहरीलाई पक्राउ गरेको छ । चैत ७ मा पक्राउ परेका उनीहरू अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतका छन् ।
काभ्रेको लुटमा सङ्लन मध्येका ३७ वर्षीय शिव कुमार तामाङ उर्फ चमेरे गुल्मी प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले आरोपीहरुलाई ‘डाँका चोरी’ मुद्दा चलाएको छ ।
काभ्रे र गुल्मीको घटनामा समूहका सदस्यहरु संलग्न देखिएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको ब्युरोका अधिकारीहरु बताउँछन् । पीडितलाई कार्टुन टेपले हातखुट्टा बाँधेर लुट्ने र लुटेपछि कुटपिट तथा हत्या गरेर भाग्ने आरोपीहरुको ‘अपराध शैली’ देखिएको छ । सिआईबीका एसपी भन्छन्–‘टेपले मुख र हातखुट्टा बाँधेर लुट्ने अपराध शैली देखिन्छ ।’
बुढापाका र एकान्त बस्तीमा लुट्न जाने र लुट्नुअघि उनीहरुले ठाउँको बारेमा जानकारी लिन्थे । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘एक ठाउँमा प्रयोग गरेको सूचकलाई अन्यत्र प्रयोग नगर्ने उनीहरूको शैली देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति