अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ । छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो । आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमार वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
विसं २०४६ मा मुअब्जा वितरण भएको तर २०५१/५२ मा नापी हुँदा सरकारी स्वमित्वमा लगत कट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएपछि विसं २०६६/६७ मा लगत कट्टा हुदाँको छुट जग्गाको मुआब्जा दिइने भएको हो । छुट जग्गाको मुआब्जा दिन १५ दिने सूचनासमेत प्रकाशन गरिसकिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । पन्ध्र दिने सूचना प्रकाशनपछि मुआब्जा निर्धारण समितिको बैठकले मूल्य तोकेपछि मुआब्जा वितरण सुरु हुने बताइएको छ । प्रवेशमार्गको ‘एलाइमेन्ट चेन्ज’ हुँदा कतिपय मुआब्जा नै नलिएका व्यक्तिको जग्गाबाट समेत सडक खनिएको थियो । छुट भएको चार सय ५१ रोपनी जग्गाको मुआब्जा दिइने मुआब्जा निर्धारण समितिका संयोजक सहायक प्रजिअ मोहनमणि घिमिरेले बताए ।
मुआब्जा निर्धारण समितिको प्रतिवेदनका आधारमा विसं २०७८ चैत १७ गतेको मन्त्रिपरिषद् बैठकले छुट जग्गाको मुआब्जा दिने निर्णय गरेको थियो । छ्याङ्कुटीबाट विद्युत्गृह पुखुवासम्मको छुट जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयले पटक–पटक अवरोध गर्दै आइरहेका छन् ।
अरुण तेस्रो आयोजनाको करिब ६५ प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेशमार्गको मुआब्जा विवाद अझै समाधान हुनसकेको छैन । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधस्थल निर्माणधीन छ भने चिचिला गाउँपालिका–३ पुखुवामा विद्युत्गृह निर्माण भइरहेको छ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सतलज कम्पनी (एसजेभिएन)ले गरिरहेको छ । आयोजनाको कुल लागत रु एक खर्ब चार अर्ब हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?