आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

सामान्य सुधारबाट पर्यटन क्षेत्रमा गर्न सकिने कायापलट

बिहीबार, २३ चैत २०७९, ११ : ३३
बिहीबार, २३ चैत २०७९

पर्यटन क्षेत्रको विकास नेपालको आर्थिक विकासका लागि मूल आधार हो । भौगोलिक विविधता, प्राकृतिक स्रोत र सांस्कृतिक विविधताले विश्वका कुनै पनि मुलुकका पर्यटकलाई नेपालमा भरपुर मनोरञ्जन दिन सक्ने अवस्था छ । तर खाँचो केवल प्रचार प्रसारको मात्र छ । गौतम बुद्धले भनेझैँ “आशावादी व्यक्तिहरू कठिन परिस्थितिमा पनि अवसरको खोजी गर्दछन् भने निराशावादीहरू हरेक समय बहाना” । हो हामीलाई पनि हाम्रै राजनीतिक प्रणाली, परिस्थिति र अवस्थाभित्र बहाना नखोजी अवसरहरू खोजेर अगाडि बढ्नु छ । हाम्रो सुन्दर भूमिलाई गर्व गर्न लायक बनाउनु छ ।

केही समयअघि विदेश  भ्रमणको अवसर मिल्यो । त्यो देशमा उनीहरूले पर्यटनको क्षेत्रमा गरेको विकास देख्दा नेपालमा यस्तो व्यवस्थापन गर्न किन सकिएन भन्ने लाग्यो । नेपाल एयरलाइन्सबाट फर्कने बेला जहाज कुर्ने क्रममा बैङ्ककमा कृषि क्षेत्रमा काम गरेका नेपाल सरकारका एक जना पूर्वकर्मचरी भेटिए । उनले हाम्रो देशमा पनि यस्तै विकास गर्न के गर्न पर्ला भनी प्रश्न गरे । 

मैले पनि व्यङ्ग्य शैलीमा उनलाई जवाफ फर्काएँ ‘सरजस्तै नेपालका ८० प्रतिशत जिम्मेवार कर्मचारीलाई अवकाशपछि मात्र देश विकास र प्रणाली सुधारकोे भूत किन चड्छ ?’ त्यो भूत आफू जिम्मेवार पदमा हुँदा ब्युँताउने वातावरण बनाउन सकेको भए यो प्रश्न गर्नुपर्ने अवस्था आउँदैन थियो । 

हरेक जिम्मवार निकायमा रहने कर्मचारीले आफ्नो कर्तव्य बोध गर्नुपर्छ । कहीँ न कहीँबाट कसै न कसैले जिम्मेवारी बोध गरेर काम सुरु नगरी कुनै पनि विषयले मूर्त रूप लिँदैन । त्यसमा पनि जिम्मेवारी लिएर बसेका वा जिम्मेवारीमा पुगेकाहरू बढी संवेदनशील हुनुपर्छ । पर्यटन क्षेत्रमा गर्नुपर्ने र गर्न सकिने कामलाई आम नागरिकले हरेक पाइलामा म नेपालजस्तो सुन्दर भूमिको नागरिक हँु भनी गर्व गर्ने बनाउन सकिने केही विषय यहाँ उल्लेख छ ।

हिमाली देशको चिनारी

सर्वोच्च शिखर सगरमाथासहित विश्वका १० ठूला हिमालमध्ये ८ वटा हिमाल नेपालमा छन् । सानाठूला गरी १,३१० र आरोहणका लागि ३२६ वटा हिमाल खुला छन् । 

नेपाल हिमालहरूको देशका रूपमा परिचित छ । नेपाल आएर, काठमाडौँ, भैरहवा वा पोखरा झर्ने वित्तिकै पर्यटकले म हिमालयन देशमा प्रवेश गरिरहेछु भन्ने अनुभूति गर्न सकेका छन् त ? के काठमाडौँ, पोखरा नारायणगढ, जनकपुर, लुम्बिनी, सुर्खेत, धनगढी र विराटनगर वा कतै कृत्रिम हिउँ खेल्ने स्थानहरू छन् । बालबालिका र पर्यटकलाई मन बहलाउन हिमाल पर्यटन केन्द्रहरू निर्माण भएका छन् त ? जहाँ हिउँ खेल्दै नेपालका हिमाली क्षेत्रको पदयात्रा गर्न सकून्, हेलिकप्टरबाट दृश्यावलोकन गर्न सकिने व्यवस्था, चौँरीको चिज, दूध र अन्य विविध पक्षको जनकारी लिन पाइयोस् । 

नेपालको हिमालय चिनारीका लागि हिमाल चढ्नुका अलवा पनि अन्य विशिष्ट महत्त्वका विविधता छन् भन्ने कुरा के हाम्रा मुख्य सहरका मानिस, पदयात्री र सवारीचालकहरू नेपालका हिमालका बारेमा ताजा र गर्विलो इतिहास बताउन सक्छन् ? 

हामीले मे २९ का दिन सगरमाथा दिवस मनाउँछौँ । वर्षमा हजारौँ हिमालयन समिटहरू पनि गर्दछौँ । यस्ता कार्यक्रमले हाम्रो देशको चिनारी थप प्रगाढ बनाउन सकेको छ कि छैन ? सबैले मनन् गर्नेबेला आएको छ । 

सर्वोच्च शिखर सगरमाथासहित विश्वका १० ठूला हिमालमध्ये ८ वटा हिमाल नेपालमा छन् । सानाठूला गरी १,३१० र आरोहणका लागि ३२६ वटा हिमाल खुला छन् । 

बुद्ध जन्मेको देश

शान्ति, अहिंसा र सत्यताका लागि गौतम बुद्ध संसारभरिका मानव समुदायका लागि परिचित छन् । उनको जन्म इसापूर्व ५६३ नेपालमा भयो । विश्वको करिब ७–८ प्रतिशत जनसङ्ख्या बुद्ध धर्मका अनुयायीहरु छन् अर्थात करिब ५६ करोड मानिस यो धर्म मान्छन । यो विश्वको चौथो ठूलो धर्म हो । 

बुद्ध धर्म मान्ने अधिकांश मानिस एसिया महादेशमा बसोबास गर्छन् । हामीले बुद्ध वाज बर्न इन नेपाल भनेर नेपालभित्र राजनीति गर्ने नारा बनायौँ तर यो विशाल जनसङ्ख्यासम्म पुग्न पर्ने कर्म गर्न सकेका छैनौँ । हामीले थाइल्यान्डमा १२ जना सवारी चालकसँग कुरा गर्दा बुद्ध धर्म मान्ने बताए । तर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरामा अनविज्ञता प्रकट गछन् । यो त प्रतिनिध घटना भयो । 

हाम्रा दूतावास, मन्त्री, पालिका प्रमुखहरू ती बौद्धमार्गीहरूलाई एक पटक बुद्ध जन्मेको मुलुकमा पुग्छु भन्ने इच्छा जागृत गराउने कार्यक्रम गर्न असफल भए । तर पर्यटन प्रवद्र्धन गर्न भनेर २०–२५ जना नेपाली र केही विदेशी जम्मा पारी नेपाली झन्डा ओडेर सामाजिक सञ्जालमा बेला बेला झुल्कने गर्छन् । यस्तो कार्यले मात्र प्रचार प्रसार लक्षित समूहसम्म पुगेकै छैन । नेपालमा बन्ने सम्पूर्ण मूर्तिहरूमा बुद्ध वाज बर्न इन नेपाल लेख्न अनिवार्य गर्ने र दूतावासमार्फत लक्षित वर्ग केन्द्रित कार्यक्रम गर्न सके मात्र पनि पर्यटन क्षेत्रका लागि थप इँटाहरू थपिँदै जाने थिए । बुद्ध जन्मिएको ठाउँको विषयमा राजनीतिक लडाइँ गर्नु छैन् हामीलाई । लक्षित समूहसम्म प्रचार प्रसार गरी पर्यटन क्षेत्रको विकास र विस्तार मात्र गर्नु छ । 

सांस्कृतिक सहरको चिनारी

हाम्रा मौलिक संस्कृति, कला, प्रकृतिक स्वछन्दतामा रमाउने संस्कृति अहिले बढ्दै गएको छ । हाम्रा आन्तरिक वा विदेशी पर्यटक काठमाडौँ छिर्ने वित्तिकै उपत्यकाका मुख्य हुख्य ठाउँहरू पशुपति, स्वयम्भू, पाटन, बुङ्मती वसन्तपुर, भक्तपुर, कीर्तिपुर जस्ता कला संस्कृतिले भरिपूर्ण ठाउँहरुमा जाने गर्छन् । तर धार्मिक, सांकृतिक र स्थानीय मौलिक खानाका लागि प्याकेजहरू प्राप्त गर्न सकेका छैनन् । निजी क्षेत्रले केही धार्मिक संस्था र अन्तर्राष्ट्रिय भ्रमणका प्याकेज ल्याए पनि साना प्याकेज ल्याउने आँट गरिरहेका छैनन् । 

पालिकाहरूले अहिलेलाई आफ्ना क्षेत्रका रङ्गीन पोस्टर र आर्टहरू टाँसेर आकर्षक कम्तीमा २–४ वटा भ्यानहरूबाट प्रचार प्रसारको कार्य गर्न सक्छन् । माग बढी भएमा निजी क्षेत्रका भ्यानहरू भाडामा लिएर भए पनि सेवा भने राम्रो दिन सक्नुपर्छ । पालिकाहरूले यस्तो कार्यका लागि आँट गर्ने हो भने १–२ वर्षमा निजी क्षेत्रले नै मागअनुसारको प्याकेज निमार्ण गर्ने आँट गर्छन् । 

यस्तै पोखरामा फेवाताल, वेगनासताल, माझीकुना, रूपाताललगायतका अन्य पर्यटकीय स्थलका लागि ३, ४ प्याकेज बन्न सक्छन् । नारायणगढ, लुम्बिनी र इलाम जस्तो धेरै पालिकाले यस्ता प्याकेज निर्माण गरी पोस्टर बनाई आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न सक्छन् । यसले रोजगारीका अवसरसमेत सिर्जना होलान् । यस्ता प्याकेज र सुविधा तथा सम्बन्धित ठाउँका आन्तरिक नीति र शुल्कलगायतका विषयमा पर्यटकले घरैबाट जानकारी प्राप्त गर्न सके भने अझ प्रभावकारी हुन्छ ।

विगत केही वर्षदेखि अध्यागमन र एअरपोर्ट क्षेत्रको सरसफाइ, सजावटमा केही सुधार भएको देखिन्छ । सुधारको क्रान्तिकारी छाल हान्ने हो भने अध्यागमनका कर्मचारीको छनोट परारष्ट्र सेवाको जस्तै छुट्टै गर्नु पर्छ । 

मुख्य सहरका सवारीचालक र सहचालहरूलाई, नेपालका मुख्य पर्यटकीय स्थल, धर्म, संस्कृति, खाना, होटल आदिका बारेमा अङ्ग्रेजीमा बोल्न सक्ने भाषा, अनुशासन र सरसफाइका विषयमा तालिमहरू आयोजना गर्दा यस्ता कार्यक्रमहरू थप प्रभावकारी बन्छन् । पर्यटकीय जानकारी, पर्यटकीय नक्साहरू सार्वजनिक यातायात र टेक्सीहरूमा पोस्टर बानाई जानकारी दिन सके थप राम्रोे होला ।

अध्यागमनमा सहज 

विगत केही वर्षदेखि अध्यागमन र एअरपोर्ट क्षेत्रको सरसफाइ, सजावटमा केही सुधार भएको देखिन्छ । सुधारको क्रान्तिकारी छाल हान्ने हो भने अध्यागमनका कर्मचारीको छनोट परारष्ट्र सेवाको जस्तै छुट्टै गर्नु पर्छ । भाषाको कमान्ड राम्रो हुनुपर्ने मापदण्डसहित छनोट गर्नुपर्ने देखिन्छ । ५० वर्षभन्दा माथि उमेर समूहका कर्मचारीलाई अन्य सेवामा वा विभागमा स्थानान्तर गर्नु वाञ्छनीय हुन्छ । चस्मा मिलाउँदै कम्प्युटर र पासपोर्ट हेर्नुपर्ने बुढ्यौलीले सताएका अङ्कलहरूलाई अध्यागमनबाट बिदा गर्नुपर्ने अवस्था छ । विदेशबाट झर्नेवित्तिकै पहिलो पटक ठोक्किने कर्मचारीको हाउभाउ समग्र राष्ट्रको पहिचानसँग जोडिन पुग्छ । विमानस्थलका र एयरलाइन्सका अन्य कर्मचारीहरू, सुरक्षाकर्मी, गार्ड र लगेज हेन्डल गर्ने कर्मचारीको पोसाक, सरसफाइ र व्यवहारले देशको अवस्था बोलिरहेको हुन्छ । यसमा आमूल परिर्वतनको खाँचो देखिन्छ । 

नेपालकै विमानस्थलमा एक जना कर्मचारीले थाइल्यान्ड जाने गेट कता हो भन्दा विपरीत दिशातर्फ देखाए । मैले बैङ्कक त्यहाँ लेखेको छ भनेपछि बैङ्कक हो भने त त्यतै जानुहोस् भने । कहिलेकाहीँ यस्ता घटना मानवीय त्रुटिले पनि हुन्छन् । तर धेरैजसो यस्ता घटना सही ठाउँमा सही मानिसको व्यवस्था गर्न नसकेर भएका हुन् । 

राष्ट्रिय ध्वजावाहकको व्यवस्थापन

राष्ट्रिय ध्वजावाहकमा चढ्दा मेरो देशको गौरव बोल्नुपर्छ । अनि मात्र आफ्नो छाती चौडा हुन्छ । त्यति मात्र होइन आरएमा पो जान लाग्नुभएको भन्ने साथीहरूका लागि जहाजभित्र देखाइने स्क्रिनहरूले नै जवाफ फर्काइदिऊन् जस्तो लाग्छ । हाम्रा नदीनाला, हिमाल, पर्यटकीय स्थल, धार्मिक स्थल र संस्कृतिको गौरवहरू स्क्रिनमा देख्न पाइयोस् जस्तो लाग्छ । जहाजभित्र एक पटक लगानी बोर्डको विज्ञापन बजेपछि दर्जनौँ पटक कलकत्ताको बारेमा सामाग्री देखाइयो भने अन्त्यतिर एक पटक पशुपति, स्वयम्भूलगायत केही पर्यटकीय र धार्मिक स्थलहरू देखाइएको थियो । जहाजभित्र देश बोलाउन सकिएको थिएन । हामीले प्रण गर्नुपर्छ, जहाजभित्र देश बोलाउन सक्नुपर्छ ।  

मेरो सिटसँगै एक जना बिरामी अधबैँसे यात्री थिए । जहाजमा खाना दिइयो । पाकेट खोलेर एक चम्चा खाएपछि त्यतिकै अलपत्र छोडे । अन्य ज्येष्ठ नागरिकसमेत खानामा देखिने कडा मसलाको रङ्गका कारण खान सकेनन् । अन्तर्राष्ट्रिय उडानमा सबैलाई मिल्ने खाना वितरण गरी अन्य अतिरिक्त सामग्री प्याकेटमा वितरण गर्न सके राम्रो हुने थियो । आरएको जहाज केही कारणले रद्द भयो र कनेक्टिङ फलाइटसहितको व्यवस्थापन पुनः गर्नुपर्ने अवस्था भएमा १० देखि ५ बजेसम्म मात्र खुल्ने अफिसबाट काम बनाउन धेरै गाह्रो छ भन्ने भुक्तभोगी र अफिस परीसरबाट रुँदै हिँडेका यात्रुलाई मात्र थाहा छ । व्यवस्थापनमा छलाङ्ग मार्न राजनीतिको उपरी तहका नेताको वा मन्त्रीको चेत नखुलेसम्म कर्मचारीले सम्हाल्न सक्छन् भन्ने आशा नै गर्न नसकिने अवस्था छ । 

बैङ्ककमा भेटिएका तिनै रिटार्यड ‘सर’लाई फेरि सम्झिँदै छु । कुराकानीका क्रममा आफ्नो झोलाबाट गाँजाको तेल निकाल्दै भनेका थिए– हेर्नुस् त गाँजाबाट यात्रो आम्दानी गरिरहेका छन् यहाँ ! हाम्रो देशमा पनि गाँजा खाने निश्चित क्षेत्र हुनुपर्दछ । यस्ता औषधीय सामग्री उत्पादन गर्न पाउनुपर्छ । पर्यटकहरूले दिल खोलर मनोरञ्जन गर्न पाउने स्थान हुनुपर्छ । खुलेर डलर खर्च गर्ने स्थान हुनुपर्दछ । तर ती सरले आफ्नो कार्य अवधिमा यसको वकालत गरे वा गरेनन् थाहा भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत अधिकारी
अमृत अधिकारी
लेखकबाट थप