सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोहोर व्यवस्थापन

फोहोरको मल बनाउने काठमाडौँ महानगरको योजना होला त पूरा ?

कम्पोस्ट मल बनाउन महानगरपालिकालाई आवश्यक जग्गा अनिश्चित
बिहीबार, २३ चैत २०७९, १० : १५
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । काठमाडौँ महानगरलाई यहाँको फोहोर व्यवस्थापन सधैँ टाउको दुखाइको विषय बनेको छ । यसै सिलसिलामा गत मङ्सिरमा चीनको युनान प्रान्तको वाणिज्य प्रतिनिधि तथा नेपाल ऊर्जा, वातावरण केन्द्रबीच काठमाडौँको फोहोर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । 

चीनको युनानमा दैनिक उत्पादन हुने फोहोरबाट ११.७१ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । सन् २००९ मा यहाँ १८ प्रतिशत मात्र फोहोर नष्ट गरिएको थियो भने २०१९ सम्म आइपुग्दा बढेर ५४ प्रतिशतमा पुगेको छ । उसले घरेलु फोहोरबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले २०२३ सम्म शून्य ल्यान्डफिल गर्ने योजना बनाएको छ । 

solid waste management kathmandu (8)

विश्व बैंकले सन् २०२० मा सार्वजनिक गरेको एक रिपोर्टअनुसार नेपालको सहरी क्षेत्रबाट दैनिक ४ हजार ९ सय टन फोहोर उत्पादन हुने देखाएको छ । त्यसैगरी, ६ सय टन प्लास्टिक फोहोर उत्पादन हुने गर्दछ । यो भनेको वर्षको करिब १.८ मिलियन टन फोहोर उत्पादन हो । 

यसअन्तर्गत ५६  प्रतिशत जैविक फोहोर, १६ प्रतिशत सिसा, १३ प्रतिशत प्लास्टिक र ८ प्रतिशत कागजको फोहोर उत्पादन हुने गरेको छ । जसमा आधा फोहोर मात्र सङ्कलन हुने अनुमान गरिएको छ भने बाँकी सहरी वा प्राकृतिक वातावरणमा प्रशोधन नगरी नै फ्याँकिने गरेको अध्ययनले देखाएको छ ।

तर, नेपालमा तिलोत्तमा नगरपालिकाले मात्र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा सहकारीको माध्यमबाट फोहोरमैला व्यवस्थापन गर्ने र बायोग्यास उत्पादन गर्दै आएको छ । प्रशोधनमा ल्याइएका बोरा, प्लास्टिक, सिसा, फलाम, टिन जस्ता पुनः प्रशोधन गर्न मिल्ने फोहोर अलग–अलग गरी छुट्याउदै आएको छ । यसरी फोहोर सङ्कलन गर्ने र छुट्याउने कामकै लागि ४० जनाले रोजगारी पाएका छन् ।

solid waste management kathmandu (5)

प्रशोधन गरिएको फोहोर प्रतिकेजी ६ देखि ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने फोहोर प्रशोधनबाटै वार्षिक एक करोड भन्दा बढी आम्दानी गर्ने तिलोत्तमा नगरपालिकाको लक्ष्य छ। 

फोहोर सङ्कलन र व्यवस्थापन सँगै सहकारीले युएनडीपीसँगको सहयोगमा कम्पोस्ट र गँड्यौला मल बनाउने तालिम, मल बनाउन बिन वितरण र गँड्यौला वितरण गर्दै आएको छ। उता भक्तपुर नगरपालिकाले पनि कुहिने फोहोरको मल बनाउँदै आएको छ । 

काठमाडौँ महानगर अझै अन्योलमै

तर, सबैभन्दा बढी उत्पादन हुने काठमाडौँ महानगरपालिकाले भने बल्ल पहिलो चरणमा १२ टन फोहोरको कम्पोस्ट मल बनाउँदै छ । तर, यसलाई पनि पूर्णता दिने वा नदिने भन्नेमा महानगर अझै अन्योलमा छ। किनकि फोहोरलाई वर्गीकरण गरी कम्पोस्ट मल बनाउन महानगरपालिकाले आवश्यक जग्गा पाउन सकेको छैन । 

महानगरले अहिले पहिलो चरणमा परीक्षणका लागि १२ टन मात्र कम्पोस्ट मल बनाउन लागेको काठमाडौँ महानगरपालिकाको प्रवक्ता नवीन मानन्धरले बताए । कम्पोस्टिङ गरिरहेको मल तयार भएपछि कुन ठाउँमा प्रयोग गर्न सकिन्छ, निर्क्योल गरिनेछ । यो कार्य सफल भएमा मात्र अर्को चरणमा जाने नजाने तय हुनेछ । 

solid waste management kathmandu (7)

काठमाडौँ महानगरले मल बनाउनुअघि साउनदेखि फोहोर वर्गीकरण गर्न योजना ल्याए पनि प्रभावकारी हुन सकेको छैन । नगरबासीलाई कुहिने र नकुहिने फोहोर छुट्याउन उर्दी जारी गर्दै नछुट्याए कारबाही गर्ने चेतावनी दिएको थियो। तर, महानगरको यो निर्णय अझै कार्यान्वयन हुन सकेको छैन । 

महानगरले फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसूर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गर्ने सूचना जारी गरेको थियो । 

solid waste management kathmandu (2)

महानगरको निर्णयअनुसार केही टोलवासीले केही समय फोहोर छुट्याएर पनि राखे तर, फोहोर उठाउन आउनेले सबै फोहोर एकैपटक सङ्कलन गर्न थालेपछि उनीहरूले पनि वर्गीकरण गर्न छाडे।  

महानगरका अनुसार कम्तीमा सात लाख डस्टबिन किन्न धेरै खर्च हुने भएकाले महानगरले किनेर दिन तत्काल सम्भव नभएको प्रवक्ता मानन्धरले बताए । उपत्यकामा दैनिक १२ सय मेट्रिक टन फोहोर उत्पादन हुने गर्छ। जसमध्ये सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाबाट मात्रै दैनिक ५ सय १६ टन फोहोर निस्किन्छ । 

हाल काठमाडौँ उपत्यकाका दुई महानगरपालिकासहित १८ पालिकाले नुवाकोटको बञ्चरे डाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्दै आएका छन् । 

solid waste management kathmandu (4)

महानगरको अलपत्र परियोजना

८ वर्षअघि काठमाडौँ महानगरले फोहोर व्यवस्थापन गर्न भन्दै २०७१ सालमा नै बायोग्यास प्लान्ट जडान गरेको थियो । १ करोड ८६ लाख रकम लागतमा जडान भएको उक्त प्लान्ट अहिलेसम्म टेकुको एक कुनामा अलपत्र छ । 

बायोग्यास प्लान्टबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने र फोहोरबाट मोहोर कमाउने उद्देश्य महानगरको थियो तर उक्त प्रविधि हालसम्म पनि सञ्चालन हुन सकेको छैन  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप