बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

सौराहामा बाँधेर राखिएको हात्तीको सुँड काटियो

बुधबार, २२ चैत २०७९, १५ : ४७
बुधबार, २२ चैत २०७९

चितवन । पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ । पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो । 

सौराहास्थित रेष्टुराँ एण्ड बार एशोसिएशनका पूर्वअध्यक्ष समेत रहेका खतिवडाका अनुसार गएराति ११ः३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको थियो । हात्ती पीडाले कराएपछि हेर्न जाँदा यस्तो घटना देखिएको उनको भनाइ थियो । 

हात्तीलाई मार्ने उद्देश्यले  नै सुँड काटिएको हुनसक्ने खतिवडाले बताए । उनका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सुँड छ इन्च काटिएको छ । बाघमारा सामुदायिक वन जाने बाटोमा तीन वटा हात्ती एकै ठाउँमा बाँधेर राखिएकामा  चन्चलकलीको सुँड काटिएको थियो । काटिएको सुँडको भाग जोड्न नमिल्ने अवस्थामा रहेको र उपचारका बारेमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक तथा प्राविधिकहरुबीच छलफल भइरहेको खतिवडाले बताए ।

हात्तीले खानका लागि आहारा तान्न र  कुनै कुरा टिप्न सुँडको प्रयोग गर्दछ । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रामेश्वर कार्कीले नेपाल प्रहरी र निकुञ्ज प्रशासनको सहयोगमा घटनाबारे अनुसन्धान भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप