कर्णालीका अर्थमन्त्रीले चुनावी खर्च उठाउन गाउँ गाउँमा रकम पठाएको आरोप

सुर्खेत । कर्णालीका अर्थमन्त्री विनोदकुमार शाहमाथि करोडौँ रकम मनमौजी तरिकाले गाउँमा पठाएको आरोप लागेको छ । नेपाली कांग्रेसका सांसद सुरेश अधिकारीले शाहमाथि करोडौँ रकम मनमौजी तरिकाले गाउँमा पठाएको भन्दै प्रश्न उठाएका हुन् । कर्णाली प्रदेशसभाको ११ औँ बैठकमा बोल्दै अधिकारीले करोडौं रकम चुनावी खर्च उठाउने नियतले पठाएको आरोप लगाए ।
उनले भने,‘ मुख्यमन्त्री राजकुमार शर्मालाई समेत कुनै जानकारी नदिएर विविध शीर्षकको बजेटमाथि रजाइँ गर्नु राम्रो होइन । कि सबै जिल्लालाई समेट्नुपर्यो ।’ अधिकारीले मुख्यमन्त्रीलाई थाहै नदिएर अर्थमन्त्री शाहले राज्यको करोडौँ रकमको दुरुपयोग गरिरहेको बताए । उनले अन्य सांसदलाई समेत नसोधी चुनावमा भएको रकम उठाउने नियतले कार्यकर्तामुखी बजेट पठाएको आरोप लगाए । शाहले आफ्नो गृह जिल्ला दैलेखमा २३, सुर्खेतमा १८, जुम्ला ४, रुकुम १, हुम्ला १ गरी झन्डै ६८ वटा योजनामा बजेट पठाएका छन् । उनले पठाएका योजना रातो किताबमा आएका नभई शाहले आफैँ पठाएको कांग्रेसको आरोप छ । यद्यपि सल्यान र मुगुमा भने कुनै योजना परेको छैन । सांसद अधिकारीले सल्यान र मुगु कर्णालीमा पर्दैनन् भन्दै प्रश्न समेत उठाए ।
‘विविध खर्च भनेको बाढी, पहिरो आपत् विपद्को समयमा खर्च गर्ने होला ,’ उनले थपे,‘ कि बजेट फिर्ता गरेर राखियोस्, होइन भने सबै जिल्लालाई समेट्नुपर्यो ।’ छुटेका जिल्लामा समेत बजेट विनियोजन गर्नुपर्ने र यदि त्यसो नभएको खण्डमा त्यसका विरुद्धमा आफूहरू उत्रिने अधिकारीको भनाइ छ ।
मन्त्री शाहलाई रुलिङ गरेर बजेटबारे जवाफ दिनुपर्ने उनले माग समेत गरे ।
अर्थमन्त्री शाहले २३ करोडभन्दा बढी रकम आफू खुसी विभिन्न योजनामा पठाएका छन् । अझ आफ्नो निर्वाचन क्षेत्रमा उनले मनमौजी तरिकाले बजेट पठाएका छन् । शाहले दैलेखमा पठाएको बजेटमा आफू निकट नेता कार्यकर्ताको नामै उल्लेख गरेको तस्बिर सामाजिक सञ्जालमा आइरहेको छ । सांसद बेदराज सिंहले पनि शाहको नियतमाथि शङ्का गरे । एकाएक कसैलाई पत्तो नै नदिएर करोडौं रकम ट्रान्सफर गर्ने यही हो सङ्घीयता ? उनले प्रश्न उठाएका छन् ।
उनले भने,‘ यो बजेट अर्थमन्त्रीले अमेरिका, लन्डनबाट छुट्टै आफैँ ल्याएर निजी रूपमा बाँड्नुभएको हो ? सरकारले तर्जुमा गरेको बजेटमा सबै जनप्रतिनिधिको हक होला नि ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा
-
को बन्ला मोरङ एमाले अध्यक्ष ? बहुमत पुग्ने दुवै पक्षको दाबी
-
अभिनेत्री सुपुष्पा भन्छिन्– फेरि रेशम फिरिरिमा मेरो भूमिका बोल्ड छ
-
इटलीकी प्रधानमन्त्रीले वामपन्थी नेताहरूलाई भनिन्– ‘पाखण्डी’
-
प्रतिपक्षमा रहेका पार्टीका दलित जनसंगठनको संयुक्त विरोधसभा
-
कोहलीको नाममा अर्को कीर्तिमान