मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

मङ्गलबार, २१ चैत २०७९

आज २०७९ चैत २१ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

एमालेका मन्त्रीहरूको राजीनामा

मधेस प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूले बुझाएको राजीनामा स्वीकृत भएको छ । सरकारमा एमालेबाट सहभागी भएका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, प्रदेशसभा मामिला तथा कानुन मन्त्री राजकुमार लेखी, गृह तथा सञ्चार मन्त्री शत्रुधन सिंह, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलम र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले बुझाएको राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेका हुन् ।

नेपालको आर्थिक वृद्धिदर

विश्व बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । आयात प्रतिबन्ध, मौद्रिक नीतिमा कडाइ, उच्च मुद्रास्फीति र कम सरकारी राजस्व प्रतिबिम्बित गर्ने सरकारी खर्चको प्रभावका कारण यो वर्ष नेपालको आर्थिक वृद्धिदर कम हुने विश्व बैंकको अनुमान छ । 

हवाई फ्यूल सर्चार्ज घट्यो

 हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार फ्यूल सर्चार्ज घटेसँगै हवाई कम्पनीहरुलाई भाडा समायोजन गर्न निर्देशन दिएको हो । 

बैंकहरुको कर्जा लगानी हुन छाड्यो

तरलता अभावलाई देखाएर ब्याजदर वृद्धि गरेका बैंकहरुलाई लगानीका लागि सकस पर्न थालेको छ । खासगरी वाणिज्य बैंकहरुमा पछिल्ला दिनमा लगानी योग्य रकम थुप्रिन थालेको हो । पछिल्लो समय बैंकहरु सुरक्षित लगानीको क्षेत्र खोज्न थालेका छन् । २२ वटा वाणिज्य बैंकमा मात्र २ खर्ब रुपैयाँ बराबरको लगानी योग्य तरलता थुप्रिएको छ । तरलता अभावकाबिच बैंकहरुले कर्जा लगानीमा कडाईका साथै ब्याजदर समेत बढेपछि लगानी हुन छाडेको हो ।

न्यायाधीशपत्नी रावललाई पक्राउ गर्न अनुमति

कपिलवस्तुका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलविरुद्ध बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा न्यायाधीशपत्नी रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको हो ।

जसपा र जनमतको सहयात्रा

सीके राउत नेतृत्वको जनमत पार्टीले संघीय सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाएपनि समर्थन भने फिर्ता लिएको छैन । त्यसैले, ऊ सत्ता गठबन्धनमा रहन्छ कि रहन्न चर्चाको विषय बनेको छ । संघीय सरकारबाट मन्त्री फिर्ता बोलाए पनि जनमत पार्टीले मधेस प्रदेश सरकारको मन्त्रीलाई कायमै राखेको छ । गठबन्धनमा रहने नरहने विषयमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’संग एक चरण कुरा गरेर टुंगोमा पुग्ने स्रोतले जनाएको छ ।

मस्यौदा काटछाँट गरिँदै

सत्तारुढ गठबन्धनले केही दिनभित्रै सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेको छ । गठबन्धनमा रहेका दलहरूबाट प्राप्त सुझावहरूलाई समायोजन गरी  न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने तयारी गरिएको हो ।

मतगणना पुनः गर्न उच्च अदालतको आदेश

गत वैशाख ३० मा भएको स्थानीय तहको चुनाव अन्तर्गत पोखरा महानगरपालिका १८को मतगणना पुनः गर्न अदालतले आदेश दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ को मतगणना पुनः गर्न उच्च अदालत पोखराले मंगलबार आदेश जारी गरेको हो ।

एलन मस्कले चरा उडाए

ट्विटर निरन्तर परिवर्तन भइरहेको छ । एलन मस्कले ट्विटर खरिद गरेपछि यो स्पष्ट भयो कि यो सोसल मिडिया प्लेटफर्म द्रुत रूपमा परिवर्तन हुनेछ । यसै अन्तर्गत ट्विटरमा नयाँ परिवर्तन देखिएको छ । परिवर्तन यो हो कि केही प्रयोगकर्ताहरूले डेस्कटपमा ट्विटर खोल्दा जहाँ चरा देख्थे भने अहिले त्यहाँ कुकुर देखिन थालेको छ ।

अर्थमन्त्रीसँग अपेक्षा

सङ्क्रमणकालीन आर्थिक स्थितिमा मुलुकको अर्थतन्त्रको बागडोर काँग्रेस नेता डा. प्रकाशशरण महतले सम्हालेका छन् । अर्थशास्त्रमा पिएचडी (विद्यावारिधि) समेत गरेका डा. महतलाई नै अर्थमन्त्रीका रूपमा पाउनु मुलुकका लागि खुसीको विषय हो । यसअघि अर्थतन्त्रमा खासै दक्खल नराखेका र राजनीतिक भागबन्डाका आधारमा अर्थमन्त्री बन्दै आएकामा पछिल्लो पटक मुलुकले विज्ञ व्यक्ति नै अर्थमन्त्रीका रूपमा पाउँदा निजी क्षेत्र उत्साहित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया