आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

किन जोगाउन आवश्यक छ लोकपरम्पराका सकारात्मक पक्ष ?

मङ्गलबार, २१ चैत २०७९, १५ : ४२
मङ्गलबार, २१ चैत २०७९

लोकजीवनमा व्याप्त अनेक विश्वास आस्था र परम्परा हुन्छन्, जसको प्रभाव लोक जीवनमा जानेर नजानेर परिरहेकै हुन्छ । कतिपय रीतिरिवाज परम्परा श्रुतिस्मृतिमा आधारित हुन्छन् । जीवनका थुप्रै अनुभव, अनुभूति, प्रयोग, अनुसरण परम्पराको रूपमा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गरिँदै आएको हुन्छ । लोकले आफ्नो जीवनपद्धतिलाई सञ्चालन गर्न परम्परादेखि विश्वास र आस्थालाई एक शक्ति भक्ति र निष्ठाको रूपमा ग्रहण गरेको हुन्छ । परम्परा सामाजिक आदत हो । आत्मिक सुख र शान्तिको मार्ग हो । सामूहिक र व्यक्तिगत अनुशासन पनि हो । 

लोकजीवनको व्यवहारिक अभिव्यक्ति नै लोकतत्त्व हो, जसलाई जनमानसले आफ्नो बनाएको हुन्छ । लोकविश्वास लोकको शक्ति हो, साधना हो, जीवनको लय हो । निरन्तर अभ्यासद्वारा खारिएको संस्कृति हो । समाजको बृहत्तर अनुशासन हो । मानव र प्राणी जगतलाई मात्र होइन, मनावेतर वस्तु वनस्पति ढुङ्गा, माटो, हावा, पानी, सूर्य, चन्द्र, पृथ्वी आदि प्रकृतिका यावत वस्तुमा कतै न कतै प्राण तत्त्व छ वा ईश्वरको अस्तित्व विद्यमान हुन्छ भन्ने भावना लोकविश्वास हो । लोकविश्वासहरू लोकले नै संरक्षण गर्दै आएको हुन्छ । 

लोकगीत, लोकसंस्कृति, लोकविश्वास र लोकपरम्परा जीवनका अभिन्न अङ्ग हुन् । हाम्रा विश्वास परम्परा र आस्थासँग कृतज्ञभाव गजबसँग गाँसिएको परम्परा जीवित छ । भलै कतिपय परम्परा नामेट भए, कति अस्तित्वमा छन् । कति अस्तित्वको सङ्कट धानिरहेका छन् । सकारात्मक पक्षको मात्रै चर्चा गर्नु सान्दर्भिक भएकाले हाम्रो समाजले अवलम्बन गरेको नकारात्मक र सामाजिक रूपमा कुनै वर्ग समुदाय विशेषलाई आघात पार्ने लोकपरम्परा खारेजीको लागि त्यो पक्षमा यहाँ मौनता प्रकट गरिएको छ । खारेजयोग्य चिजको चर्चा गर्नु आवश्यक छैन । 

  हाम्रा चलन परम्परा, विनयी स्वभाव, सहयोगी भाव, प्रार्थना र कृतज्ञता यस्ता थिए, जुन लोकविश्वास र परम्परामा आधारित छ । आजको समय र समाज विज्ञान र प्रमाणका कुरा गर्छ । लोकविश्वास, विश्वास नै प्रमाण भएको जिकिर गर्छ, जसलाई हामी भुल्दै त्याग्दै गइरहेका छौँ । घरबाट निस्किदा र घरभित्र पस्दा चौकोस ढोगेर शिर निहुराएर पस्ने कुरामा आफ्नो वासस्थान ओत लाग्ने छानोप्रतिको बफादारिता झल्कन्छ । 

पानी लिएर आउँदा घैला र गाग्रीबाट अलिकति पानी ढोकाबाहिर छर्कने, सवारी चलाउनु अघि र चढ्नु अघि सिट ढोग्ने, मन्दिर मस्दिज, गुम्बा देख्दा शिर झुकाएर नमन गर्ने परम्परा छ हाम्रो । खोला र नदी तर्दा ढोगेर तर्ने,या त्रामा निस्किदा वरपिपल र समीलाई दाहिने पारेर हिँड्ने संस्कारमा धार्मिक सहिष्णुता प्रकट हुन्छ । 

यी विविध विश्वासले समाजको धार्मिक विविधतालाई स्वीकार गर्दै सहअस्तित्वको भाव प्रस्फुटित गर्न सहयोग पुर्याउँछ । प्रकृतिको शक्ति र साधन स्रोतलाई आदर गर्न सिकाउँछ । साधु, सन्तलाई आदर सम्मान गर्नुको उदेश्य शान्त र सरल समाजको निर्माणसँग सम्बन्धित छ । 

बाटोमा शव देख्दा आफ्नो अपशकुन लैजान र मृत्युवरण गर्नेको स्वर्गबासको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्ने, मासु काट्नुअघि अचानोसँग क्षमा मागिन्छ । यदाकदा हिँड्दा नाघ्नुपर्ने हुन्छ । कुनै सिँढी चढ्दा तलमाथि पर्ने अवस्था हुन्छ, त्यस्तो बेला उक्लनेले नाघ्न पुगेकालाई नरिसाउन अनुरोध गर्ने र नाघिनेले नाघ्नेलाई क्षमा दिने, कसैको पारिस्थितिक असहजता बुझिदिने भावले समाजको आस्था आदर निर्मितिमा मद्दत गर्छ । 

जान अनजानमा कसैको गोडा छुँदा क्षमा माग्ने, बिहान ओछ्यानबाट उठ्दा पृथ्वीमा आफ्ना पैताला परेकोमा क्षमा माग्ने, ढुङ्गा खानीबाट ढुङ्गा निकाल्नु अघि र जङ्गलमा रुख ढाल्नु अघि क्षमा पूजा गर्ने चलनले त्रुटि स्वीकार गरेर सामाजिक मान्छे बन्ने यत्नलाई सघाउँछ । यी र यस्ता यावत प्रार्थना, विनयशील र नम्रता क्षमाभाव, कृतज्ञता र शिष्टाचारलाई कुरीति भनेर हामीले छोड्दै गएका छौँ । प्रार्थनालाई व्यक्तिगत र सामाजिक जीवन पद्धतिबाट निकालेर अधम, नक्कली, बनावटी कृत्रिम व्यवहारले जीवन धान्नेहरू समाजको मनोवैज्ञानिक पक्षभन्दा आफ्नो आदर्श र सिद्धान्तलाई महान् सम्झन्छन्, जसको परिणाम समाज अभद्र, अशिष्ट, अनिष्ट, हिंस्रक र अराजक अनि उत्तेजित भएको छ । अनुशासनहीन बनेको छ । 

हुन त प्रार्थना गर्नेहरूबाट पनि अन्याय, हिंसा, अत्याचार, छोइछिटो भएका हुन्छन् । तर क्षमादान, क्षमायाचना, क्षमाभाव, प्रायश्चित कृतज्ञता, आभार धन्यवाद आदिले मान्छेको दयालु भाव सँगै मिलेर बस्ने स्वभाव, प्रकृति र प्राणीप्रति कृतज्ञता र मानवताको उदाहरण दिन्थ्यो । कुरीति, कुसंस्कार र अन्धविश्वासका नाममा जुन समाजले समाजपयोगी र सर्वजन हिताय, प्रकृति हितायको कुरा त्याग गरेको छ । विनयशील हुन छोडेको छ । भौतिक वस्तु उपभोगको लागि मात्र भन्ने आसुरी प्रवृत्ति हाबी भएको छ । यही भएर मानवीय मूल्यमा निरन्तर ह्रास आइरहेको पाइन्छ । विनयशीलता र कृतज्ञता गुमाएको समाजमा मानवीयपनको खडेरी पर्ने सम्भावना अधिक रहन्छ । 

अन्धविश्वास जसले समाज भत्काएर विखण्डित गर्न सघाउँछ । आपसी द्वैष र वितृष्णा बढाउँछ, जातीय र धार्मिक घृणा फैलाउँछ । ती त्याज्य छन् ।

अवैज्ञानिक प्रचलन भन्दै जब हामी अमानवीय नभएका संस्कार, परम्परा र संस्कृति भत्काउन थाल्छौ । उहिलेका कुरा खुइले भनेर हजारौँ वर्षदेखि अभ्यस्त परम्परा तोड्न थाल्छौ । समाजलाई हानी नगर्ने रीत तोडेर समाज विरोधी मानवाधिकार विरोधी र अत्यन्त अमानवीय घिनलाग्दो जातीय छुवाछूतलाई चै प्रश्रय दिन्छौ । अझ जातीय छुवाछूतलाई विश्वव्यापीकरण गरिरहेका छौँ । 

जबकि जातीय छुवाछू्रत दक्षिण एसियाली देशहरू विशेष गरी नेपाल, भारत, भुटान, अफ्गानिस्तान, म्यान्मारलगायत देशमा रहेको गलत परम्परा हो । अहिले विश्वव्यापी बनेको छ यो । छुवाछूत नेपाली र भारतीय मूलका मान्छे पुगेको संसारको जुनसुकै भूगोलमा पनि अनेकौ रूपमा विस्तारित छ । छुवाछूत ग्लोबलाइज भएको छ र शंकुचन र निर्मुल पार्नुपर्ने प्रथा जगाई राख्नुपर्ने ध्याउन्नमा छौँ, यसको अन्त्यको लागि नवसंस्कृति प्रवर्द्धन गरौँ । 

आफ्ना गर्व गर्न लायक मौलिक सम्पत्ति र चलन भने मास्न हामी उद्धत छौ । अवैज्ञानिक नै भए पनि समाजलाई हानी नोक्सानी नगर्ने परम्परा हाम्रा विरासत गौरव र कृतज्ञताका उदाहरण र शैली हुन्  । जीवन बाँच्ने पद्धति हुन् । सामाजिक लय बसाल्ने थिति हुन्, अनीतिलाई कुल्चने नीतिका पदचाप हुन् । 

हरेक समाज र समुदाय अनि देशका आफ्ना मौलिक स्वरूप, लय र तरिका हुन्छन् । समाजका आफ्नै अनुभव, जीवन भोगाइका शैली र निरन्तरता हुन्छन् । हाम्रा पिता पुर्खा र अग्रजले अवलम्बन गरेका कतिपय परम्परा अन्धविश्वास नै भए पनि त्यो समाजको लागि अहितकर होइन । त्यसले केही बिगार्दैन, बरू समाजमा अनुशासन कायम राख्न सहयोगी सिद्ध देखिएको छ । मर्यादाको बाटो देखाउने परम्परा बनेको छ । 

यी विविध विश्वासमा सामाजिक जीवनका आफ्नै रङ्ग पाइन्छ । अपनत्व बोध गराउने यस्ता मौलिक स्वत्व र सामाजिक निजत्व समाप्त गर्नुपर्ने कुनै वैज्ञानिक र सामाजिक कारण छैनन् । आज जति पनि सामाजिक विकृति र विसङ्गतिका रूपमा जातीय विभेद छुवाछूत भेदभाव, असमानता, अमर्यादा त्याग्नुपर्ने समुल नष्ट पार्नुपर्ने विषय हुन् । मानव मर्यादाको ख्याल राखेर बनाइएका परम्परा, आस्था विश्वास र गतिविधि समाजका आफ्ना गहना हुन्, हाम्रा जीवन पद्धतिका अन्योन्याश्रित पक्ष हुन् । 

नकारजन्य, सामाजिक, घृणाजन्य, मानव मर्यादा विपरीत कसैको आत्मसम्मानमा चोट पुर्‍याउने, सामाजिक विद्वेष फैलाउने घातक परम्परा त्यागेर मानवीय मूल्यसहित सामाजिक अस्तित्व ग्रहण गर्ने परम्परा अवैज्ञानिक नै सही अवलम्बन गरौँ । न्याय, नैतिकता, मानवाधिकार, सामाजिक, विश्वास, आस्था र परम्परा हाम्रा वैभव हुन् । परम्परामा समाजको दर्शन र वैचारिकी हुन्छ । 

सामाजिक सहयोगका नमुना 

कुनै पनि नयाँ घरको तला छाप्दा र छानो छाउँदा गाउँभरिका मान्छे गएर सहयोग गरिदिने चलन, कुनै पनि धार्मिक कार्य र मरौँ परौमा सबै गाउँले छिमेकी मिलेर दाउरा चिरिदिने, सालको पात खोजेर टपरी गाँसी दिने, भोज भतेरको सबै प्रबन्ध गाउँलेले गरिदिने जस्ता काम कति सहयोगी थिए । जबकि आज सबै यस्ता काम क्याट्रिङले गर्ने गरेका छन् । आर्थिक भार कम गर्न गाउँले सहयोग र एकता सौहार्दता कायम राख्न कामयावी हुन्थ्यो । 

कुनै विषयमा मनमुटाब र झैझगडा गरेका दाजुभाइ आफन्त र छिमेकी पनि मर्दा पर्दा नजिक हुने र पुनः सम्बन्ध नवीकरण गर्ने स्थिति बन्थ्यो । कुनै मृतकको अन्त्येष्टि गर्दा अन्तिमसम्म नै सहभागी भएर किरियापुत्री घरमा पुर्‍याई दिने, शोकमा समाजसँगै रहने परम्परा थियो । 

आजकल त शोकमा फेसबुकबाट श्रद्धाञ्जली र समवेदना अनि अन्त्येष्टिमा मुखसम्म देखाएर हिँड्ने चलन बसेको छ, जसलाई पुरानै स्थितिमा पुर्‍याउनुपर्ने देखिन्छ । 

हाम्रा सामाजिक विश्वास, परम्परा र चलनमा रहेका कर्तव्य, सोसियल हार्मोनी, नीति र नैतिकताको बाटो हिँड्न सिकाउने विनयशीलताले कसैको हानी नोक्सानी गर्दैन । अन्धविश्वास जसले समाज भत्काएर विखण्डित गर्न सघाउँछ । आपसी द्वेष र वितृष्णा बढाउँछ, जातीय र धार्मिक घृणा फैलाउँछ । ती त्याज्य छन् । समाज जोड्ने र समाज बसाउने परम्परा सदा स्तुत्य छन् । 

सकारात्मक पुरातन परम्पराले समाजलाई क्षति पुर्याउँदैन भने ती अनुशरणयोग्य हुन्छन् । प्रार्थनाले सकारात्मक ऊर्जा जागृत गराउँछ । नित्य ईश्वर वन्दनाले ध्यानस्थ गर्न सघाउँछ भने ईश्वर बन्दना किन अस्वीकार गर्ने ? अलौकिक शक्तिको डरले यो लोकमा गलत गर्न मन लाग्दैन भने त्यो अदृश्य ईश्वरप्रतिको सकारात्मक धारणा भएन र ? 

लेखक त्रिवि, कीर्तिपुरमा एमफिल–पिएचडी अनुसन्धाता हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप