बालनिबन्ध : समन्वयवाद
संसारमा अध्यात्मवादको कुरा गर्ने पनि छन्, भौतिकवादको कुरा गर्ने पनि छन् । द्वन्द्वात्मक भौतिकवाद भन्ने पनि छन्, द्वन्द्वात्मक आध्यात्मिकवाद भन्ने पनि छन् । अध्यात्मवादीहरू चेतनलाई महत्व दिन्छन् । चेतन ठूलो जड सानो, चेतन जेठो, जड कान्छो, जड बनाउने काम चेतनले गरेको हो, चेतन विना जडको अस्तित्व नै छैन भन्छन् ।
आदि शङ्कराचार्यले चेतन मात्र सत्य हो अरु सबै मिथ्या हुन् भन्ने घोषणा नै गरेका छन् । उता भौतिकवादीहरू पनि कहाँ कम छन् र । एक पाइलो अघि सरेर भनिरहेका छन्– ‘यी सबै बकबास हुन्, जडसूत्रवादी चिन्तनका उपज हुन् । वास्तविकता के भने चेतनले जड बनाउने नभई जडबाटै चेतनको उत्पत्ति भएको हो ।’ यस अनुसार अध्यात्मवादीका दृष्टिमा चेतन पहिलो देखिन्छ भने भौतिकवादीका दृष्टिमा जड पहिलो देखिन्छ ।
तथापि वास्तविकता के हो भने यी दुई न कुनै नयाँ हुन् न पुराना नै । न कुनै पहिलो हुन् न कुनै दोस्रो । उनीहरू दुवै सँगसँगै छन्, सँगसँगै आएका हुन्, सँगसँगै बसेका छन् । एकले अर्कोलाई बनाएका छन्, एकले अर्कोलाई सघाएका छन् । यस्तो अवस्थामा कसलाई पुरानो भन्ने कसलाई नयाँ भन्ने, कसले कसलाई बनायो भन्ने, कसले कसलाई चलायो भन्ने । एकले अर्को बनाए, एकले अर्कोलाई चलाए, एकले अर्कोलार्ई उठाए, एकले अर्कोलाई चिनाए । जडको उत्पत्ति चेतनको गर्भबाट भएको छ, चेतनको उत्पत्ति जडको गर्भबाट भएको छ । कसलाई ठूलो भन्ने कसलाई सानो भन्ने । दुवै वराबरी छन् र दुवै सँगसँगै छन् ।
न द्वन्द्वात्मक अध्यात्मवाद, न द्वन्द्वात्मक भौतिकवाद । गर्नुपर्ने त द्वन्द्वात्मक समन्वयवाद चर्चा हो, भन्नुपर्ने त द्वन्द्वात्मक समन्वयवाद हो तर त्यसको भने सुरुवात नै भएको छैन । सुरुवात नै गरेका छैनन्, त्यसतर्फको चिन्तनलाई महत्व नै दिएका छैनन्, आवश्यक नै ठानेका छैनन् । उनीहरू आ–आफूलाई नै सत्य सावित गर्न लागिपरेका छन् ।
झन् पछिल्लो समयलाई हेर्ने हो भने त अध्यात्मवादी र भौतिकवादीहरूका आ–आफ्नैबीचमा समेत तालमेल हुन सकिरहेको छैन । अध्यात्मवादीबीच पनि अनेक वाद छन्, सिद्धान्त छन् । सौर, शैव, शाक्त, गाणपत, वैष्णव, अद्वैत, विशिष्टाद्वैत, द्वैत, द्वैताद्वैत, शुद्धाद्वैत, अनित्य भेदाभेद केके हो केके । सबै आफ्नै वाद र सिद्धान्त ठीक भनिरहेका छन् । के सही र के गलत आफैँ कुहिराको काग बनिरहेका छन् । भौतिकवादीहरूका बीचको अवस्था पनि त्यस्तै छ । उनीहरू आपसमै मेरो सिद्धान्त नै सही हो, मैले भनेको कुरा तथा देखेको संसार नै ठीक हो भनिरहेका छन् । सही देखाउन मरिमेटिरहेका छन् । अन्ततः उनीहरूबीचको त्यही वाद र सिद्धान्तले मतभेदको खाडल यति फराकिलो बनाएको छ कि सम्भवतः सितिमिति यिनीहरू मेटिन्छन् वा मेटिएलान् जस्तो लाग्दैन ।
फलतः द्वन्द्वात्मक समन्वयवादको भूण भू्रणकै अवस्था छ । उसले टुसाउनै पाएको छैन, हुर्कने र बढ्ने भन्ने कुरा कति हो कति टाडा । लाग्छ सुरुवातसम्मकै लागि पनि ठूलै चिन्तन आवश्यक छ, ठूलै क्रान्ति गर्नुपर्ने अवस्था छ ।
दुवै शक्ति बराबर भएको अवस्थामा आपसमा द्वन्द्व मात्र हुने र नतीजा केही पनि ननिस्कने प्राकृतिक नियम नै हो । दुई शक्तिबीचको शक्ति सन्तुलनमा दुवै बराबरी हुन्छ भने उसले थप समस्या निम्त्याउने गर्छ, जुन हाल भइरहेको छ, जुन हामीले भोग्दै आएका छौं । कालो र सेतोबीच जसको शक्ति भारी हुन्छ अर्को स्वरूप पनि त्यस्तै हुन्छ, त्यस्तै बन्नुपर्छ । कालोको शक्ति बढी हुँदा सेतो पनि कालो हुन पुग्छ । सेतोको शक्ति बढी हुँदा कालो पनि सेतो हुन पुग्छ । बराबरा भएको अवस्थामा तेस्रो वर्णको उत्पत्ति हुन्छ । यहाँ पनि भएको त्यस्तै हो । अव पनि यत्तिकै छाडिदिने हो भने हुने त्यस्तै हो । त्यसैले सबै वाद र सिद्धान्तलाई समन्वय गर्न त्यस्तै वाद र सिद्धान्तको आवश्यकता देखिन्छ, जसलाई तपाईँ द्वन्द्वात्मक समन्वयवाद भन्न सक्नुहुन्छ ।
अहिलेसम्म सबैले म र मेरो मात्र भने, भनेका छन् । हामी भन्न कसैले पनि जानेनन्, कसैले पनि सिकाएनन् । कुरा गर्नुपर्ने समन्वयवादको थियो, देखाउनुपर्ने धरातल पनि समन्वयवादकै थियो तर त्यसतर्फ भने कसैको पनि ध्यान गएन । अथवा भनौं ध्यान दिन चाहेनन्, आवश्क ठानेनन्, जसले गर्दा अहिलेसम्म त्यसको गर्भाधान नै हुन सकेको छैन ।
दुई शक्तिबीच जुद्धा आपसमा जुन टकराव हुन्छ, जुन ठक्कर हुन्छ, जुन सङ्घर्ष हुन्छ त्यही नै द्वन्द्व हो । यो आफँैमा नराम्रो होइन, न खराब हो, न अनावश्यक नै । यो प्रकृतिको धर्म हो । प्रकृति यसैमा खेलेको हुन्छ, यसैमा नाचेको हुन्छ । द्वन्द्व विना एक दानो अन्नसम्म उम्रिँदैन । सारा सृष्टि द्वन्द्वकै उपज हो, तपाईँ हाम्रो जीवनकै कुरा गर्ने हो भने पनि यसलाई बनाउने द्वन्द्व नै हो, उठाउने र बचाउने द्वन्द्व हो । मतभेदकै कुरा गर्ने हो भने पनि ठीकै छ । मतभेद हमेशा निरर्थक हुन्छ भन्ने होइन । मतभेद कहिले, किन र कुन विषयमा रहेको हो त्यसले भने अर्थ राख्छ तर मतभेद आपैmँमा निरर्थक हुन्न, हुँदैन, हुनै सक्दैन । रूपमाथिको, सिद्धान्तमाथिको मतभेद निरर्थक हो, विषयवस्तु र सारमाथिको मतभेद सार्थक हो ।
प्रकृतिका यावत पक्षमा द्वन्द्व हुन्छ, झगडा चल्छ । यो प्रकृतिको गुण हो । द्वन्द्व विना ऊ न फल्न सक्छ न फुल्नै । यसैले नै उसलाई चलाएको छ, बनाएको छ । प्रकृतिको स्वभाव द्वन्द्व हो, जसलाई जस्ताकोतस्तै छाडिदिनुपर्छ मानिसको स्वभाव द्वन्द्व होइन समन्वय हो । प्रकृतिको धर्म निर्वाह गर्ने जिम्मा प्रकृतिलाई नै दिनुपर्छ । छुन पाइन्न, हस्तक्षेप गर्न पाइन्न । मानिसको धर्म आफैँले निर्वाह गर्नुपर्छ, छाड्न पाइन्न । प्रकृतिको धर्म निर्वाह गर्ने जिम्मा उसैलाई दिनुपर्छ । मानिसको धर्म निर्वाह गर्ने जिम्मा मानिस आफैँले लिनुपर्छ ।
तथापि वर्तमान हेर्नुभयो भने स्थिति त्यसको ठीक उल्टो पाउनुहुन्छ । मानिसले आफ्नो धर्म त यसै पनि छाड्दै गएका छन्, मानिसकै कारण प्रकृतिले समेत निर्वाध आफ्नो धर्म निर्वाह गर्ने अवसर पाइरहेको छैन । सारा समस्याको जड यही हो, यहीँबाट उत्पत्ति भएको छ । त्यसैले अवको चिन्तन न द्वन्द्वात्मक अध्यात्मवाद न द्वन्द्वात्मक भौतिकवाद अपितु द्वन्द्वात्मक समन्वयवादतर्फ उन्मुख हुनुपर्ने देखिन्छ । होइन भने नदीनालामा पानी बगिरहन्छ तर जति पानी बगे पनि मानवीय धरातलको दुरी घट्ने होइन बढ्ने छ, बढी नै रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल
-
चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ