आसन्न उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका आकाङ्क्षी हुन्, उमेशलाल प्रधान । ढिला गरी प्यानल घोषणा गरेका प्रधानको अबको २, ४ दिनमा सबै सदस्य टुङ्गो लगाउने तयारी गरिरहेका छन् । यसै सन्दर्भमा प्रधानसँग निकेश खत्रीले गरेको कुराकानी :
वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासीभन्दा ढिला गरी प्यानल घोषणा गर्नुभयो । यसबीचमा टिम निर्माणमा व्यस्त हुनुभयो ?
यसबीचमा टिम निर्माणमा भन्दा पनि देश भ्रमणमा व्यस्त थिए । पछिल्लो डेढ वर्षको अवधिमा करिब सबै जिल्लामा कम्तीमा दुई पटक पुगिसकेको छु । अन्तिम समयमा फेरि एक पटक पुगौँ भनेर पुनः देश दौडाहामा गएको हुँ । टिम त पहिलादेखि नै तयार थियो ।
आफ्नो प्यानलबाट चुनाव लड्ने उपाध्यक्षहरूको सूची त सार्वजनिक गर्नुभयो । सदस्यहरू पनि तय भइसकेका हुन् ?
उपाध्यक्षहरूसँगै सदस्यहरू पनि लगभग सुनिश्चित भइसक्नुभएको छ । १४ जना सदस्य हुने वस्तुगतमा लगभग निश्चित भइसक्यो । २५ जना सदस्य हुने जिल्ला, नगरतर्फको टिम पनि करिब टुङ्गो लागिसकेको छ । १८ प्लस १ हुने एसोसिएटतर्फ पनि करिब टुङ्गो लागिसकेको छ । अबको २, ४ दिनमा सबै सदस्य टुङ्गो लगाउने तयारी भइरहेको छ ।
महासङ्घका सबै प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ । केही समयअघि प्रदेश अध्यक्षमा आफ्नो प्यानलका अध्यक्ष आएको दाबी तपाईंले गर्नुभएको थियो । खास कुरो के हो ?
कोसीदेखि सुदूरपश्चिम प्रदेशसम्म मेरा अत्यन्त निकट मित्रहरू प्रदेश अध्यक्ष चुनिनुभएको छ । यस्तै बागमती, गण्डकी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशमा समेत मेरा अनन्य मित्र अध्यक्षका रूपमा चयन हुनुभएको छ । प्रदेश अध्यक्षमा मेरा मित्र आएको भनी यसअघि मैले गरेको घोषणा सही नै हो । यही कारण चुनावमा कति भोट आउला भन्ने विषय चाहिँ देखिन बाँकी नै छ ।
यसअघि वरिष्ठ उपाध्यक्षको आकाङ्क्षा देखाइरहनुभएका दिनेश श्रेष्ठलाई आफ्नो प्यानलबाट दोस्रो पटक उपाध्यक्षको उम्मेदवार बन्न राजी गराउनुभयो । ‘बिहाइन्ड द सिन’बारे बताइदिनु न ?
हामी पहिलादेखि नै मिल्ने साथी हौँ । यही कारण, ३, ४ महिना समय खर्चेर हामी आआफ्नो आकलन गरौँ भन्ने सहमति भएको थियो । यसबीचमा उहाँ पनि लाग्नुभयो र म पनि लागेँ । यसपछि बसेर कुरा गर्दा बजारको अवस्थाअनुसार छलफल गर्दा मेरो चान्स बेटर देखियो । तर उहाँको चान्स खराब भनेको चाहिँ होइन । यही कारण उहाँ दोस्रो पटक उपाध्यक्षमा लड्न राजी हुनुभयो ।
आसन्न निर्वाचनमा बैङ्कविरुद्धको आन्दोलनले प्रभाव देखाउने देखिएको छ । यसबीचमा दिनेश श्रेष्ठ बैङ्कविरुद्धको आन्दोलनमा निरन्तर खटिनुभएको थियो । दिनेश श्रेष्ठ आफ्नो प्यानलमा हुँदा प्यानल बलियो बनेको अनुभव गर्नुभएको छ ?
बैङ्क ब्याजदरविरुद्धको आन्दोलनमा म स्वयं धेरै स्थानमा पुगेर चर्काचर्का भाषण गरेको छु । राष्ट्र बैङ्क र मण्डला पुगेर धर्नासमेत गरेको छु । यसबाहेक मोफसलमा समेत पुगेको छु ।
दिनेश श्रेष्ठ भएकै कारण ‘प्यानल स्ट्रङ’ बन्छ भन्ने विषय समयले नै बताउला । तर दिनेश श्रेष्ठ भन्ने मान्छे जिल्लामा पपुलर मान्छे हो । त्यसकारण उहाँको सहयोग मेरा लागि ठूलो आड भरोसा हो । व्यक्तिगत रूपमा भन्ने हो भने हामी आन्दोलनकारी शक्ति नभएर समन्वयकारी भूमिका खेल्ने शक्ति हौँ । त्यसैले हामीले सिधै बैङ्कविरुद्ध आन्दोलन नगरेर राष्ट्र बैङ्कविरुद्ध आन्दोलन गर्नुपर्छ भन्ने मेरो मान्यता छ । बैङ्कहरूको नियामक त राष्ट्र बैङ्क हो । बैङ्क तथा वित्तीय संस्थाहरूले पैसा कमाएको देखेर त्यसको विरोध गर्नु हुँदैन ।
–यसअघि उपाध्यक्षमा दोहोरिन खोज्दा तपाईंले पराजय बेहोर्नुपर्यो । दिनेश श्रेष्ठ पुनः उपाध्यक्षमा दोहोरिने सम्भावना कत्तिको छ ?
महासङ्घमा एउटै मान्छे लगातार चार पटक उपाध्यक्ष बनेको छ । चार पटक उपाध्यक्ष बनेर वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेको उदाहरण छ । यसअघि म दुई पटक एउटै पदमा उठेर पराजय बेहोरेको हैन । त्यसमा अन्य विविध कारणहरू थिए । चुनावमा केही गल्तीका कारण पराजय बेहोरिन्छ । ती कमीकमजोरी हेरेर अहिले अघि बढेको छ । यस पटक म पराजय हुने छुट छैन र यो मेरो अन्तिम प्रयास हो । म जित्नलाई हदैसम्म प्रयास गर्नेछु । म एकदमै सिम्पल र हम्बल मान्छे हो । यस्तै म पारदर्शी मान्छेसमेत हो ।
यसअघि एउटै प्यानलबाट उपाध्यक्षमा लड्नुभएका अर्का व्यवसायीसमेत वरिष्ठ उपाध्यक्षको आकाङ्क्षी हुनुहुन्छ । यसले तपाईंलाई कतिको असर पार्ला ?
यसअघि दिनेश श्रेष्ठ र म छुट्टा छुट्टै प्यानलमा थियौँ । तर अहिले साथी छौँ र एउटै प्यानलमा समेत छौँ । वरिष्ठ उपाध्यक्षका आकाङ्क्षी रामचन्द्र सङ्घाई र म यस पटक पनि एउटै प्यानलबाट लड्न पाएको भए राम्रो हुन्थ्यो । उहाँ र म फरक समूहबाट लड्दा दुईवटै समूहमा प्रभाव पर्छ । हामी दुई जनामै केही गर्ने चाहना र व्यक्तिगत महत्त्वकाङ्क्षा मिसिएको छ । मेरा प्रतिस्पर्धीहरूलाई शुभकामना छ ।
हालसम्म एक जनाले उम्मेदवारी घोषणा गरिसके पनि अर्का आकाङ्क्षीले गरिसक्नुभएको छैन । सहमतिका लागि केही प्रयास गर्दै हुनुहुन्छ ?
मैले व्यक्तिगत रूपमा सहमतिको प्रयास गरेको छैन । तर साथीहरूले गर्दै हुनुहुन्छ । उम्मेदवारी घोषणा गरिसक्नुभएका र तयारीमा रहनुभएका दुवै जना साथीसँग कुराकानी भइरहेको छ । तर म स्वयंले सहमतिको प्रयास गरेको छैन । यद्यपि त्यो प्रयास भने जारी छ । आर्थिक रूपमा जर्जर भएको समयमा किन लड्ने भन्ने साथीहरूको एउटा जमात पनि छ । उहाँहरू प्रयत्न गर्दै हुनुहुन्छ ।
सहमतिको प्रयास गर्दा ‘गिभ एन्ड टेक’को सम्झौताको सम्भावना पनि होला नि ?
मलाई यसबारे प्रश्न नसोध्दा नै उचित हुन्छ । हामीले सहमति गरेर मात्रै महासङ्घको राजनीति चल्दैन । हाम्रो सहमतिका बाबजुद अर्को साथी आइदिनुभयो भने ? यसअघिका निर्वाचनमा ‘गिभ एन्ड टेक’को मेथोड पनि प्रयोग भइसकेका छन् । मलाई नै एक जनाले अर्कोपालि भन्ने आश्वासन दिएर आफैँ चुनाव लड्नुभएको अनुभव पनि छ ।
महासङ्घको भावी अध्यक्षका रूपमा तपाईं नै किन ? अर्थात् केका लागि तपाईं महासङ्घमा भावी अध्यक्ष बन्ने ?
महासङ्घको लामो इतिहासमा सानो परिवारबाट उठेर व्यवसायमा छिरेका व्यक्ति अध्यक्ष बनेका छैनन् । यसका साथै महासङ्घको कुर्सीको प्रयोग गरेर ‘क्रोनी क्यापिटालिजम’को साथ लिएर व्यक्तिहरू अघि बढिरहेका छन् । यो कसैलाई गाली गरेको होइन । यो व्यवस्थालाई अन्त्य गर्नुपर्छ भन्ने मेरो मान्यता छ । एउटा मुख्य कारण यो हो भने अर्को सरकारको नीतिको स्थिरता भएन । प्रत्येक अर्थमन्त्रीले पटक पटक नीतिलाई अस्थिरता तुल्याइदिएका छन् । मैले गर्ने भनेर गरेको प्रतिबद्धता गर्न त्यति सहजचाहिँ छैन । यद्यपि म नीतिगत स्थिरताका लागि पहल गर्नेछु ।
महासङ्घको अध्यक्ष बनेपछि गर्ने काम यिनै दुईवटा हुन् वा अरू पनि छन् ?
हामी निजी क्षेत्रले अहिलेसम्म सरकारलाई हाम्रो महत्त्व बुझाउनै सकेका छैनौँ । हाम्रो अर्थतन्त्रको करिब ३० प्रतिशत हिस्सा ठुला उद्योगले धानेको भए पनि अर्थतन्त्रको ‘ब्याक बोन’ साना–मझौला उद्योग हुन् । यही कारण साना, मझौला उद्योगलाई ध्यान दिनुपर्छ । यसबोहक नेपालको आयातलाई व्यवस्थित पनि गर्नुपर्छ । विदेशी मुद्राको सञ्चितिलाई आयातमा सक्ने नभई सही ठाउँमा प्रयोग गरेर अर्थतन्त्र सुधार्न पर्छ । देशको अर्थतन्त्र सुधार्ने र साना–मझौला उद्योगको अवस्था सुधार्नेसमेत मेरो मुख्य काम हुनेछन् ।
तपाईं र निजी क्षेत्रबीच धेरैवटा छाता सङ्गठन छन् । सरकार समक्ष आफ्ना माग राख्दासमेत छुट्टा छुट्टै माग हुन्छन् । एक ढिक्का बनेर सरकार समक्ष माग राख्ने योजना छैन ?
म उपाध्यक्ष हुँदासमेत यो प्रयास गरेको थिएँ । महासङ्घ, परिसङ्घ र चेम्बर मिलेर काम गर्ने गरी उक्त समय जमर्को गरेको थिएँ । उद्योग चाहिँदैन भन्ने विषय नै रहेन । आयात पनि व्यवस्थित गर्नुपर्छ भन्ने मेरो माग छ । नेपाल बिस्कुट उत्पादनमा आत्मनिर्भर हुँदा हुँदै नेपालीले बुझ्दै नबुझ्ने भाषामा लेखिएका बिस्कुटसमेत आउँछन् । यस्ता अनावश्यक र विश्व व्यापार सङ्गठनको न्यूनतम मापदण्ड पूरा नगरेका वस्तुको आयात रोक्नुपर्छ वा भन्सार शुल्क उच्च बनाउने मेरो चाहना छ ।
महासङ्घको नेतृत्वले नीतिगत अस्थिरताका लागि कहिल्यै आवाज उठाएन भन्ने आरोप सुन्नुभएको छ, छैन ?
सरकारले एकापट्टि बिमा कम्पनीहरूको सङ्ख्या घटाउने भन्दै चुक्ता पुँजी २ अर्बबाट ५ अर्ब पुर्याउन मर्जरको नीति लियो । हतार हतार बिमा कम्पनीहरूबीच मर्जरको कुरा चल्दै गर्दा ७ वटा लघुबिमाको लाइसेन्स वितरण गरियो । तर महासङ्घले यो नीतिमाथि प्रश्न गर्नुपर्नेमा तँछाडमछाड गरेर एकएकवटा लाइसेन्स लियौँ । यो के गरेको भन्ने नै मेले बुझिनँ ।
महासङ्घको आउँदो निर्वाचनमा आफ्नो जित्ने आधार के–के हुन् भनेर पहिचान गर्नुभएको छ ?
पहिलो मेरो टिम एकदमै प्रभावकारी छ । यही मेरो जित्ने मुख्य आधार हो । यस्तै मेरा स्पष्ट विचार, स्पष्ट धारणाहरू नै मेरा जितका आधार हुन् ।
महासङ्घको चुनावमा राजनीति र आर्थिक रूपमा प्रभाव पर्छ भन्नेमा कत्तिको विश्वास गर्नुहुन्छ ?
महासङ्घको चुनावमा राजनीतिक प्रभाव त पर्दैनजस्तो लाग्छ । आजसम्मको इतिहासमा महासङ्घको अध्यक्ष वा उपाध्यक्षमा राजनीतिक प्रभाव परेको छैन । तर राजनीतिक व्यक्तिसँगको व्यक्तिगत सम्बन्ध भने रहन्छ । यसबाहेक, चुनावमा धेर थोर खर्च त भइहाल्छ । देश दौडिनै पर्यो, भोट माग्नै पर्यो । यही कारण धेरथोर खर्च नहुने भन्ने हुँदैन ।
प्रतिक्रिया