रातोपाटी ब्रिफिङ : तीन जिल्लामा उपनिर्वाचनको चहलपहल बढ्यो
आज २०७९ चैत १९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा उपनिर्वाचनको चहलपहल बढ्यो, प्रतिनिधिसभा नियमावली पारित, ओलीले गरे ‘प्रचण्डपथ’ को आलोचना, गोविन्दराज जोशी र विकास कोइरालामाथिको कारवाही फिर्ता लियो कांग्रेसले, नयाँ अर्थमन्त्री आए पनि सेयर बजारको अवस्था उस्तै, ऋण प्रवाहमा कर्णाली विकास बैंकभित्र बेथिति, उपराष्ट्रपति पत्नी अझै गोठमै लगायत छन् ।
१. उपनिर्वाचनको चहलपहल बढ्यो
प्रतिनिधिसभा अन्तर्गत तीन वटा क्षेत्रमा हुन गइरहेको उपनिर्वाचनको चहलपहल बढेको छ । बारा–२, तनहुँ–१ र चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ । यीमध्ये कतै उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारप्रसारका कार्यक्रमसमेत सुरु भएका छन् भने कतै उम्मेदवारी टुङ्ग्याउने कसरत भइरहेको छ ।
२. प्रतिनिधिसभा नियमावली पारित
प्रतिनिधिसभाको आइतबार बसेको बैठकले प्रतिनिधिसभा नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै संसदीय समिति बनाउने बाटो खुलेको छ ।
३. ओलीले गरे ‘प्रचण्डपथ’ को आलोचना
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘प्रचण्डपथ’ को आलोचना गरेका छन् । उनले प्रचण्डपथले जातजातिबिच भिडन्त बढाउने काम गरेको आरोप लगाए ।
४. गोविन्दराज जोशी र विकास कोइरालामाथिको कारवाही फिर्ता लियो कांग्रेसले
नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्व सभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले उनीहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । यद्यपि, जोशीले कारबाही फुकुवाको निर्णय अस्वीकार गरेका छन् ।
५. नयाँ अर्थमन्त्री आए पनि सेयर बजारको अवस्था उस्तै
नयाँ अर्थमन्त्री आएसँगै सेयर बजारले कोल्टे फेर्ने अपेक्षा गरिए पनि त्यसो हुन सकेन । शुक्रबार अर्थमन्त्रीमा डा.प्रकाश शरण महत नियुक्त भएका थिए । तर, नयाँ अर्थमन्त्री आएको पहिलो कारोबार दिन नै नेप्सेमा २० अंकको गिरावट आएको छ ।
६. ऋण प्रवाहमा कर्णाली विकास बैंकभित्र बेथिति
कर्णाली विकास बैंकमा ऋण प्रवाहका क्रममा निकै बेथिति रहेको तथ्य उजागर भएको छ । चलनचल्तीको तुलनामा धितोको अत्यधिक मूल्यांकन गरी ऋण प्रवाह गरेकोमात्र होइन, जग्गा धनीले पत्तो नै नपाई अन्यले नै धितो राखेर ऋणबापतको रकम लिएको पाइएको छ ।
७. रवि लामिछानेविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च पुगे युवराज सफल
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च अदालत पुगेका छन् । अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै पौडेल अदालतमा पुगेका हुन् ।
८. उपराष्ट्रपति पत्नी अझै गोठमै
दुई पटक संघीय सांसद, पार्टीको केन्द्रीय सदस्य, संसदीय दलको नेता, ९ महिना संघीय सरकारको वन तथा वातावरण मन्त्री भएर हाल उपराष्ट्रपतिमा निर्वाचित भएका रामसहायप्रसाद यादवका परिवार अहिले पनि गोठमै बस्छन् भन्दा धेरैलाई पत्यार लाग्दैन । कलैया उपमहानगरपालिका वडा नं ५ बयलबजारको गौचरन छेउमा उपराष्ट्रपति यादवको सानो कच्ची घर छ जसमा उनकी धर्मपत्नी चम्पादेवी र वस्तुभाउ एउटै छानामुनि बस्दै आएका छन् ।
९. एसियन फुड स्टोरमा छापा
चन्द्रागिरि नगरपालिका–१४ स्थित ढुंगेअड्डामा सञ्चालित ‘एसियन फुड स्टोर’मा प्रहरीले छापा मारेको छ । आर्किड कोलोनीमा रहेको स्टोरमा छापा मारेर म्याद गुज्रिएको हरियो केराउ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।
१०. लुम्बिनी प्रदेश : अन्तिम समयसीमामा विश्वासको मत लिने रणनीति
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीले अन्तिम समयसीमामा मात्र विश्वासको मत लिने रणनीति बनाएका छन् । चैत १२ गते सत्ता साझेदारसहितका साना दलले समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी
-
सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व
-
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो