बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

दुई चरणको छलफलपछि पनि टुंगिएन सेन्ट जेभियर्सको विद्यार्थी भर्ना ‘विवाद’

आइतबार, १९ चैत २०७९, १७ : ४३
आइतबार, १९ चैत २०७९

काठमाडौं । ललितपुर महानगरपालिकाले पत्र पठाएर रोकेको सेन्ट जेभियर्स स्कुलको विद्यार्थी भर्ना विवाद टुंगिन सकेको छैन । जावलाखेलमा सञ्चालित सेन्ट जेभियर्स स्कुलले व्यवस्थापन समितिको निर्णयअनुसार कोटा निर्धारण गरेर फागुन १८ देखि भर्ना प्रक्रिया सुरु गरेको थियो ।

कक्षा १ मा भर्ना हुने सिट संख्या १५० मा ४ हजार ५ सय विद्यार्थीको दरखास्त बुझाएको स्कुल प्रशासनले जनाएको छ । दरखास्त दिएका मध्ये ३ हजार ७ सयको सर्टलिस्ट गरेर ३ हजारको अन्तरक्रिया सकेपछि चैत ६ मा महानगरपालिकाले भर्ना प्रक्रिया रोक्न निर्देशनात्मक पत्र पठाएको थियो ।

महानगरको निर्देशनपछि फारम भरेका करिब ४ हजार विद्यार्थीका अभिभावक अन्योलमा परेका छन् । सेन्ट जेभियर्समा १ कक्षामा भर्ना हुन साढे ५ देखि साढे ६ वर्ष उमेर समूहका बालबालिकाले मात्र दरखास्त दिन पाउँछन् ।

भर्ना प्रक्रिया रोकेपछि स्कुल प्रशासन र महानगरपालिकाका प्रतिनिधिको बिचमा दुई चरण छलफल भैसकेको छ । तर, छलफलबाट निकास निस्केको छैन ।

जेसिट साेसाइटी र सेन्ट जेभियर्सका कर्मचारीलाई भर्ना गरेर बाँकी रहेको संख्यामा मात्रै कोटा तोकेर गोलाप्रथाबाट विद्यार्थी भर्ना लिएको महानगरको आरोप छ । सेन्ट जेभियर्सले पूर्व विद्यार्थीका बालबच्चाका लागि १० प्रतिशत, पढिरहेका विद्यार्थीका भाइबहिनीका लागि १० प्रतिशत, ललितपुरको वडा नम्बर ४ का विद्यार्थीका लागि ५ प्रतिशत र ललितपुर महानगरभित्रका विद्यार्थीका लागि १० प्रतिशत कोटा दिने गरेको छ । त्यसबाहेकको कोटामा स्कुलले गोलाप्रथा गर्ने गरेको छ । महानगरले सो शर्त परिवर्तन गर्नुपर्ने अडान राखेको छ ।

३ वर्षअघि शिक्षा मन्त्रालयले परीक्षा लिन रोकेपछि सेन्ट जेभियर्सले गोलाप्रथा लागु गरेको थियो । महानगरपालिकाका एकजना अधिकृतका अनुसार स्थानीय निकाय र सेन्ट जेभियर्सको बिचमा ‘इगो’ देखिएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल महानगरले भर्ना बन्द गर्नु नभनेको बताउँछन् । ‘कानुनले निर्धारण गरेअनुसार आरक्षित कोटा देउ भनेर महानगरले भनेको हो’, प्रमुख प्रशासकीय अधिकृत अर्याल भन्छन्, ‘छिट्टै छलफल गरेर यो समस्यालाई टुंग्याउँछौं ।’

शिक्षा मन्त्रालयले यस पटकबाट कक्षा १ मा प्रवेश परीक्षा नलिन स्कुलहरूलाई परिपत्र गरेको छ । सो परिपत्रपछि सेन्ट जेभियर्सले फारमको आधारमा सर्टलिस्ट तयार गरेर अन्तरक्रिया मार्फत विद्यार्थी भर्ना गर्ने निर्णय गरेको थियो । ७० वर्षदेखी गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएकोले सेन्ट जेभियर्स अभिभावकको रोजाइको स्कुल बन्ने गरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप