सांसद विराजभक्तको प्रस्ताव :‘संसदको सिट भर्न माइक्रोबसका ‘खलाँसी’लाई पनि मर्यादापालकसँगै राखौँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदमा सांसदहरुको उपस्थिति कम भएकोप्रति ब्यङ्ग्य गर्दैै माइक्रोबसका सहचालकलाई पनि संसद बैठकमा राख्नुपर्ने टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सांसदहरुले संसदको शून्य समयमा बोलेको कुरा कसैले सुन्छ कि सुन्दैन भनेर समेत प्रश्न गरे । प्रतिनिधिसभा नियमावलीको मस्यौंदामाथि बोल्ने क्रममा उनले भने– ‘नियमावलीको किन आवश्यकता भन्ने प्रश्नबाट हामी अगाडि बढ्नुपर्छ होला । यसको मर्म भनेको सरकार संसदप्रति जवाफदेही होस, उत्तरदायी होस भन्ने हो । अहिलेसम्म संसद चलेको ४ महिना भयो तर संसदमा उठेको प्रश्नको सरकारले जवाफ नै दिएको छैन । यहाँ सबैले आफ्नो क्षेत्रको प्रश्न उठाइरहने तर सरकारले जवाफ नै नदिने हो भने त यो संसदको काम पनि छैन र यसको गरिमा मा नै आँच पनि आँउछ ।’
उनले सार्वजनिक महत्वमाथि उपत्यकाका धेरै कुरा उठाएपनि सुनुवाई नभएको बताए । उनले बत्ति गएकोदेखि लिएर मूर्ति चोरेकोसम्मका कुरा संसदमा उठाएको तर अहिलेसम्म जवाफ केही पनि नआएको बताए । उनले रास्वपाका सांसदहरुले उठाएको संसदीय क्यालेन्डरको कुरा राख्ने हो भने पूर्व योजना बनाउन सहयोग पुग्ने बताए ।
उनले भने– ‘हामीले हाम्रो संसदीय दलभित्र नबोलेको साथीले पनि बोल्नुपर्छ भनेर योजना बनाइरहेका हुन्छौँ तर कार्यसूचीमा त्यो विषय समावेश नै हुँदैन । क्यालेन्डरमै भयो भने त्यो महत्वपूर्ण कुरा यहाँ कसरी राख्ने भन्ने तयारी गर्न पाइन्थ्यो ।’
उनले राज्यले संसदका लागि खर्च गर्ने तर सांसदले गरेको प्रश्नको उत्तर नआउने कारणले गर्दा खर्च गर्नुको अर्थ नभएको बताए । उनले भने– ‘अहिले पनि क्यामेराम्यान साथीहरुलाई यतातिर घुमाइदिनुस् भन्छु कि कति सिटहरु खाली छ । चुटकिला भन्ने कि के भन्ने यहाँ मर्यादापालक साथीहरुसँगै पाँच सात जना खलाँसी साथीहरु पनि राख्नुपर्छ जस्तो लाग्छ, त्यो माइक्रोबसमा खलाँसी साथीहरु हुनुहुन्छ नी उहाँले बसमा कोची कोची हाल्नुहुन्छ । यो संसदको सिट भर्न पनि मर्यादापालक साथीसँग ५ जना खलाँसी साथीहरु राखिदिने हो भने एउटै सिटमा दुई दुई जना सांसद राख्न सकिन्छ जस्तो लाग्छ । नत्र राज्यलाई यत्रो व्ययभार खर्च गराएर खाली संसद चलाएर के काम ?’
उनले अगाडि भने– ‘धन्न आज त यतिजना भएपनि मन्त्रीज्यूहरु उपस्थित हुनुहुन्छ । सञ्चारकर्मी साथीहरुले पनि देखाइदिनुस् कति जना मन्त्री आउनुभएको छ भनेर । मैले पहिला पनि कुरा उठाउँदा संसदमा राज्यमन्त्री मात्र हुनुहुन्थ्यो राज्यमन्त्री मन्त्रिपरिषदको सदस्य हुँदैन भनेपछि उहाँले यहाँको कुरा मन्त्रिपरिषदमा कसरी लाने ? म त प्रदेशसभाको पनि अभ्यास गरेर आएको बरु त्यहाँको अभ्यास चाँही राम्रो थियो कम्तिमा सम्बोधन मात्र भएपनि हुन्थ्यो । बरु सामाजिक सञ्जालमा आएको कुराहरु कर्मचारीले सुन्ने गर्छन् तर यो संसदमा बोलेको कुरा त नसुन्ने रहेछन् । सुन्ने समय हो कि नसुन्ने समय हो यो ?’
उनले रास्वपाका सांसदहरुले प्रतिनिधिसभा नियमावलीको मस्यौंदा संशोधनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा संसदमा भएका कुराहरुलाई उठाएकोले त्यसलाई समावेश गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा