एमालेमाथिको आक्रमण राष्ट्रमाथिकै प्रहार हो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमाथि भइरहेको चौतर्फी प्रहार राष्ट्रमाथिकै प्रहार भएको बताएका छन् ।
आइतबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा अघि बढाउन सकेमात्रै मुलुकको रक्षा र नेपालीको सम्मृद्धिको सपना पुरा हुने बताए ।
‘यतिवेला राष्ट्रिय राजनीतिमा एमाले र एमाले नेतृत्वका विरुद्ध जस्तो प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । त्यो आक्रमणको उद्देश्य के हो ? यो नेकपा एमालेलाई मात्रै कमजोर बनाउने उद्देश्य होइन’, पोखरेलले भने, ‘यथार्थतामा नेपाल राष्ट्रलाई नै कमजोर बनाउने उद्देश्यका साथ एमालेमाथि प्रहार भइरहेको छ ।’
उनले नेपालको एउटा देशभक्त शक्तिमाथिको प्रहार राष्ट्रमाथिको प्रहार हो भन्ने कुरा सबैले बुझ्नु र आत्मसाथ गर्न जरुरी रहेको पनि बताए ।
महासचिव पोखरेलले मुलुक ३ प्रकारका संकटबाट गुज्रिरहेको भन्दै त्यसको कारक कांग्रेस माओवादी नेतृत्वको गठबन्धन र सरकार भएको दाबी समेत गरे ।