उपप्रधानमन्त्री श्रेष्ठद्वारा मिटरब्याजी पीडितको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अनामनगरस्थित मिटरब्याजी पीडितहरू बसिरहेको एक गुम्बामा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । त्यसक्रममा श्रेष्ठले यो विषयलाई सरकारले गम्भीरताका साथ लिएको बताए । ‘पहिला कार्यान्वयन नभएकाले या समस्या भएकाले नै हामीले यसलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा लैजान लागेका हौँ, अब कार्यान्वयन हुन्छ,’ श्रेष्ठले भने, ‘आयोग बनाउने प्रक्रिया अगाडि बढिसकेको छ । आयोग बनेर यसले लिने न्यूनतम समयमै कार्यान्वयनमा लान्छौँ ।’
यसअघि शनिबार मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको छ । सरकारसँग सहमति गरेसँगै मिटरब्याजी पीडितहरू आन्दोलन फिर्ता लिएर घर फर्कने तयारीमा छन् । बर्दीबासबाट ११ दिन हिँडेर काठमाडौं आएपुगेका मिटरब्याजी पीडितहरू घर फर्कने तयारीमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले उनीहरूको स्वास्थ्य उपचारको लागि पहल लिएका थिए । ११ दिनसम्म हिँडेर काठमाडौं आइपुगेका धेरै मिटरब्याजी पीडितहरू बिरामी परेका थिए ।
सोहीकारण उपप्रधानमन्त्री श्रेष्ठले उनीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पहल लिएका थिए। जसअनुसार उपप्रधानमन्त्री श्रेष्ठको पहलमा स्वास्थ्य मन्त्रालयले मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षणलगायतका कार्यहरू गरिरहेको छ । स्वास्थ्य मन्त्रालयमार्फत चिकित्सकहरूले मिटरब्याजी पीडितहरूको स्वस्थ्य अवस्थाबारे जानकारी लिइरहँदा उपप्रधानमन्त्री श्रेष्ठ सोही स्थानमा पुगेका हुन् ।
अनुगमनका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितको स्वास्थ्य परीक्षण र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए । ‘उहाँहरूसँग वार्ता भएर सहमति गरेका छौँ । सरकारसँग भएको सहमतिपछि उहाँहरू फर्कने तयारीमा हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘उपचार प्रक्रिया के छ भन्ने निरीक्षण गर्न आएको हुँ ।’
यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले शुक्रबार पदबहालीका क्रममा दुईवटा निर्णय गरेका थिए । त्यसमध्ये एउटा गृहमन्त्री र सचिवले पाउँदै आएको सुराकी खर्च कटौती गर्ने र अर्को मिटरब्याजी पीडितहरूको समस्या समाधानका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा हस्ताक्षर गरेका थिए । मन्त्री श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधान गर्न पहल लिएको एकदिन पछि नै मिटरब्याजी पीडितसँग सहमति भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना