बालकथा : चिल्लीको मूर्खता
अघि कुनै बेला भारतवर्षमा शेख चिल्ली नामका मानिस थिए । यो छुट्टै कुरा हो कि पछि गएर उनी ठूलै विद्वान् बने तर बाल्यकालमा भने उनको स्वभाव निकै विचित्रको थियो । अल्छीको त एक किसिमले राजा नै थिए । काम धाम केही गर्दैनथे तर सपना भने ठूलै देख्थे । दिउसै निदाएर सपना देख्ने त उनको मूलभूत विशेषता नै थियो । साँझ बिहान खानलाई उठ्थे अघिपछि सुतेरै बिताउँथे । परिवार गरीव थियो । बाबु सानैमा बितेका उनी कुनै काम नगर्ने । विचरी बुढी आमाले ज्याला मजदुरी गरी साँझ बिहानको छाक टार्दै आएकी थिइन् ।
एक दिन उनकी आमाको दुःख देखेर गाउँकै एक सहृदयी महिलाले दूधको दुई वटा घडा दिँदै भनिन्–
‘बहिनी ! तिम्रो दुःख देखेर म आफैँ दुःखित हुँदै आएको छु । धेरै त छैन घर खर्चबाट बचाएर यी दुई घडामा दूध ल्याइदिएकी छु । एकै छिनको भए पनि भोक मेट्नेछ । गाह्रो नमानी राख । अप्ठ्यारो मान्नु पनि पर्दैन र पैसा दिनु पनि पर्दैन । सानो कोसेली हो कोसेलीकै रूपमा स्वीकार गर ।’
छिमेकी महिलाको सद्भाव देखेर उनको मन भरिएर आयो । केही बोल्न खोजेकी थिइन् तर सकिनन् । मनमनै धन्यवाद दिँदै दूध लिएर घर गइन् । चिल्ली भने अहिले पनि सुतिरहेका थिए । आमाले उठाएर उनको हातमा दूधको घडा दिँदै भनिन्–
‘कतिसम्म सुत्छस् अल्छी ! उठ, दुई घडा दूध ल्याइदिएकी छु भोक लाग्यो भने तताएर खानु । घाँस दाउराका लागि वनतिर लाग्दैछु । बेलुकासम्म फर्कने छु ।’
यति भनेर उनी जङ्गलतिर लागिन् । चिल्लीलाई भोक त लागेकै थियो । आमा मजदुरीका लागि गएकीले उनले बिहानैदेखि केही खान पाएका थिएनन् । त्यसैले दुवै घडाको दूधलाई तताएर एउटा घडाको दूध तत्कालै सिनित्त पारे अर्को घडाको दूधलाई दही जमाउन ठेकीमा हाले । यति गर्दागर्दै हाई आएकाले पुनः सिरक तानेर पलङमा पल्टिए । तातो दूधले भोक मेटिएकाले सुत्ने बित्तिकै निद्राले छोपिहाल्यो । उनी मस्तसँग निदाएर सपना देख्न लागे ।
सपना त सँधै देख्थे । सपना देख्नु नै उनको काम थियो तर यस दिनको सपना भने सोही दूधसित सम्बन्धित थियो । उनले ठेकीमा हालेको दूध हेर्दाहेर्दै जमेर दही बन्यो । दहीबाट मखन निकाले, मखनबाट घ्यु बन्यो । ध्युलाई बजारमा लगेर बेचे । यसबाट आएको पैसाले एउटा कुखुराको पोथी किने । उसले निकै अन्डा कोरली । अन्डाबाट कुखुराको चल्लाहरू निस्केर आँगनमा खेल्न लागे ।
चाँडै नै चल्लाहरू बढेर भालेहरू बास्न थाले पोथीहरू कोरकोराउन । त्यसपछि तिनै भाले तथा पोथीहरू बेचेर प्रशस्तै धन जम्मा गरे । ती धनबाट दुुधालु गाईहरू किनेर दूधको व्यपार गर्न लागे । यसबाट निकै फाइदा भयो । यसैका कारण उनी चाँडै नै गाउँको नामी साहुकार बन्न पुगे ।
उनको धन देखेर गाउँका ठूलठूला सेठहरू छोरी दिन आए । आएका प्रस्तावमध्ये छानेर एउटी सुन्दरी कन्यासित धूमधामले विवाह गरे । विवाहमा गाउँलेहरू नाचेको देखेर उनी पनि नाचे ।
घरमा सुशील दुलही भित्रेपछि उनको दिनचर्या नै बदलियो । उनी दिनभर साहु महाजनहरू भेट गरी फर्कन्थे । घर आउनासाथ पत्नीले मीठो मसिनो खान दिएर सेवा गर्थिन् । बिस्तारै घरमा अर्को सदस्य पनि भित्रियो छोराको रूपमा । उनी छोरालाई निकै माया गर्थे । निकै होसियारीले छोराको पालन पोषण गरे, हुर्काए, बढाए तर भइदियो के भने छोरो निकै बदमास भएर निस्क्यो । यद्यपि उनले सम्झाउने बुझाउने काम नगरेका होइनन् तर केही लागेन । उमेरसँगै झन्झन् बदमास र अटेरी बन्दै गयो ।
आफैँले जन्माएको छोराले भनेको नमानेको देखेर उनलाई रिस उठ्यो र हातमा लठ्ठी लिएर पिट्न लागे तर विडम्बना भइदियो के भने छोरालाई पिट्छु भनेको सोही दही जमाएको माटाको घैँटोमा हिर्काउन पुगेछन् । फलत दही पोखिएर मझेरीभरी छताछुल्ल भयो ।
ठीक यही समयमा आमा घाँस र दाउरा लिएर आइपुगिन् । घरमा हेर्छिन् त छोरा हातमा लठ्ठी लिएर माटाको घैँटोमा हानिरहेको छ भने दही जति पोखिएर ताल बनिसकेको छ । छोराको यस्तो हर्कत देखेपछि उनले रिस थाम्न सकिनन् र त्यही लठ्ठी खोसेर उनैलाई हान्न थालिन् । जब लठ्ठी बर्सिन थाल्यो त्यसपछि पो झल्याँस्स भए ।
यद्यपि उनले भाग्ने प्रयास नगरका होइनन् तर केही लागेन । उल्टै आमाले कठालो समातेर खाँबोमा बाँधेर दुई दिन खान पिउन दिइनन् । त्यसपछि उनको स्वभावमा यति ठूलो परिवर्तन आयो कि एक दिन देशको ठूलै विद्वान्मा गनिन पुगे । भनिन्छ मुगल बादशाहको दरवारमा समेत उनको चर्चा तथा स्वागत र सम्मान हुने गथ्र्यो ।