आयुर्वेदमाथि जनविश्वास : धादिङदेखि ६३ वर्षीया शान्तादेवी वैद्यखाना आइन्
६३ वर्षीया शान्तादेवी थपलिया अघिल्लो साता (३ चैतमा) सिंहदरबार वैद्यखानामा उपचारका लागि आएकी थिइन् । युरिक एसिड र बाथरोगबाट पीडित उनलाई उनको गाउँ (धादिङको बेनीघाट रोराङ गाउँपालिका– ७) का एक जानकारले सुझाएका थिए– सिंहदरबार वैद्यखानामा जानू, त्यहाँ राम्रो आयुर्वेदिक औषधि पाइन्छ ।
वैद्यखानामा चिकित्सकले चेकजाँच गरी उनलाई एक हप्ताका लागि औषधि दिए, शुक्रबार (१० चैत) पुनः चेकजाँचका लागि आएकी उनले भनिन्, ‘यहाँको औषधिले मलाई धेरै बिसेक भएको छ, तर पेट दुख्ने समस्या देखियो । यहाँ म पहिलोपटक आएकी हुँ । सिंहदरबार वैद्यखाना भनेको ठूलै हस्पिटल होला, धेरै डाक्टर होलान् भन्ने सोचेकी थिएँ, त्यस्तो रहेनछ । यहाँ टिकट निःशुल्क र औषधि सस्तो रैछ । तर, यसलाई अझ विस्तार गरेर प्रभावकारी बनाइनुपर्छ भन्ने मलाई लाग्यो ।’
सात वर्षअघि उनलाई घुँडा–जोर्नीहरू दुख्ने समस्या देखिन थालेको थियो । सानैदेखि आयुर्वेदमा विश्वास गर्ने उनले धादिङबेसीमा आयुर्वेद चिकित्सकसँग चेकजाँच गराई आयुर्वेदिक औषधि किनेर खाइन्, केही बिसेक त भयो, पूर्ण निको भएन । पूर्ण निको हुने आशाले उनी उपचारका लागि धादिङदेखि वैद्यखाना आएकी हुन्, उनकी छोरी काठमाडौंमै बस्छिन् ।
‘मलाई आयुर्वेदमा विश्वास छ । मैले सानैदेखि घरमा तुलसीको पात, घोडताप्रे आदि खाँदै आएकी हुँ,’ उनी भन्छिन्, ‘मेरो हजुरबुवा वैद्य हुनुहुन्थ्यो रे, मैले त देख्न पाइनँ । मलाई आमाले सानोतिनो बिमारीमा जडिबुटी नै खुवाउनहुन्थ्यो ।’
आयुर्वेदमा उनको रुचि र विश्वास एकातिर होस्, तर उनले आफ्नो जीवनका २७ वर्ष गाउँकै स्वास्थ्यचौकीमा जागिरे भएर बिताइन्, अवकाश लिएको दुई वर्ष मात्रै भयो । गाउँमै कक्षा ८ सम्म पढ्ने अवसर पाएकी उनले स्वयंसेविकाबाट जागिर सुरु गरेकी थिइन्, पछि तालिमहरू लिँदै गएर अनमी भइन् । स्वयंसेविका हुँदा उनले मातृशिशु कार्यकर्ताको तालिम लिने अवसर पाएकी थिइन्, जसमा प्रसूतिसम्बन्धी ज्ञान बढी दिइन्थ्यो । ‘मेरो गाउँमा बढी चेपाङहरू छन्, उनीहरूले हस्पिटलको औषधिभन्दा झारफुक र जडिबुटीमा बढी विश्वास गर्छन् । त्यसैले मैले आयुर्वेद औषधिको जोहो गर्नुपथ्र्यो । धादिङबेसी आएर अशोकारिष्ट लगायत औषधि लैजान्थेँ,’ उनी भन्छिन्, ‘एकपटक गाउँकी एउटी महिला पिसाबसम्बन्धी समस्या लिएर मकहाँ आइन् । विभिन्न हस्पिटलमा औषधि खाए पनि निको नभएको उनको गुनासो थियो । मैले आफूसँग भएका जडिबुटी औषधि दिएँ, उनलाई निको भयो ।’
उनका अनुसार, सुत्केरी व्यथा लाग्दा चेपाङ महिलाहरू स्वास्थ्यचौकीमा जान मान्दैनथे । उनले सम्झाउँदा–सम्झाउँदा पछि उनीहरू प्रसूतिका लागि स्वास्थ्यचौकी जाने भए । ‘म आफ्नो जागिरे जीवनदेखि सन्तुष्ट छु,’ शान्ता भन्छिन्, ‘अझै पनि गाउँलेहरू मसँग आयुर्वेदको औषधि सोध्न र खोज्न आउँछन् ।’
शान्तादेवीको कुरा सुन्दा यस्तो लाग्छ, सर्वसाधारण आयुर्वेदमा विश्वास गर्छन् तर सरकारी अस्पतालमै एलोप्याथिक औषधि दिइन्छ । सरकारले यसमा सोच्न र योजना बनाउन आवश्यक छ ।
शान्तादेवीलाई खासगरी वातदोषसँग सम्बन्धित समस्या छ । उनको उपचारका लागि वैद्यखानासँग औषधि होला त ? वैद्यखानाका कार्यकारी निर्देशक डा. रामदेव यादव भन्छन्, ‘त्रिदोषका कारण हुने अधिकांश समस्यामा हामीसँग औषधि छ ।’
उनका अनुसार, त्रिदोष (वात, पित्त र कफ)माथि आधारित उपचार पद्धति हो आयुर्वेद चिकित्सा ।
वैद्यखानाबाट १६ प्रकार औषधि उत्पादन
देशकै पुरानो आयुर्वेद औषधिको उत्पादन कारखाना ‘सिंहदरबार वैद्यखाना विकास समिति’ पछिल्लो समय धराशयी अवस्थामा थियो । यहाँ ६ महिनाअघि कार्यकारी निर्देशक भएर आएका डा. यादवका अनुसार, अहिले वैद्यखानाले १६ प्रकारका औषधि उत्पादन गरिसक्यो, ६ प्रकारका औषधि उत्पादन प्रक्रियामा छन् ।
‘पहिले त यहाँबाट निकै धेरै औषधि उत्पादन हुन्थ्यो, तर म आउँदा यहाँको अवस्था बिजोग थियो । कर्मचारीलाई तलब खुवाउनै समस्या छ,’ डा. यादव भन्छन्, ‘अहिले औषधि उत्पादन गर्न थालेको छु ।’
उनी २०७९ को १४ असोजदेखि यहाँ आएका हुन्, १५ गतेदेखि दशैं बिदा भयो, त्यसपछि तिहार र चुनाव आइहाल्यो । चुनावमा समितिका कर्मचारी पनि खटिएका थिए । ‘तैपनि म आएर १६ प्रकारका औषधि बनाएँ,’ उनले भने, ‘अश्वगन्धा, त्रिफला, अविपत्तिकर, सन्दिपन, हिङवाष्टक, कैशोर गुग्गुल, पञ्चसकार, षड्बिन्दु तेल, तुलसी चिया, सिलाजित, हरिद्राखण्ड र विभिन्न प्रकारका च्यवनप्राशको उत्पादन भइसकेको छ ।’
चर्चा गरौँ, वैद्यखानाबाट उत्पादित औषधिका गुणहरूका सम्बन्धमा ।
सिलाजित
डा. यादवका अनुसार, वैद्यखानाबाट उत्पादित सिलाजित गुणवान छ । पिसाबसम्बन्धी रोग, सुगरसम्बन्धी रोग, दुर्बलता, थकावट आदिमा यसको सेवन गर्न सकिन्छ । ‘यसलाई जनरल टोनिकका रूपमा मात्रै पनि सेवन गर्न सक्छौँ,’ डा. यादव भन्छन्, ‘थोरै सिलाजितलाई आधा गिलास मनतातो दूध वा पानीमा घोलेर बिहानमा खान सकिन्छ ।’
च्यवनप्राश
डा. यादवका अनुसार, वैद्यखानाले उत्पादन गरेको च्यवनप्राश एकपटक खानेले अन्य कम्पनीको च्यवनप्राश खान चाहँदैन । वैद्यखानाले तीन प्रकारका (सुगर फ्री, स्पेसल र साधारण) च्यवनप्राश बनाएको छ ।
‘प्रमुख घटक अमला रहेको च्यवनप्राश एक किसिमको रसायन औषधि हो । जसले शरीरका सम्पूर्ण अंगलाई पोषण गर्छ, त्यो रसायन हो,’ डा. यादव भन्छन्, ‘सप्तधातु अर्थात् रस, रक्त, मांस, मेद अस्थि, मज्जा र शुक्रलाई पोषण गर्ने काम रसायनले गर्छन् । रसायन विभिन्न प्रकारका हुन्छन् । च्यवनप्राशले शरीरका अंग–प्रत्यंगलाई लाभ गर्छ, रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । रुघाखोकी लाग्दा च्यवनप्राश खाने हो भने यसले हित गर्छ, अरु औषधि नै खानुपर्दैन ।’
अविपत्तिकर चूर्ण
मुख्य घटक निशोध रहेको अविपत्तिकर चूर्ण खासगरी ग्यास्ट्रिकका बिरामीलाई प्रयोग गरिन्छ । निशोथ सुख विरेचक औषधि हो । ‘विरेचक तीन प्रकारका हुन्छन्– सामान्य विरेचक, तीव्र विरेचक र सुख विरेचक,’ डा. यादव भन्छन्, ‘ग्यास्ट्रिकसँगै यो कब्जियतमा पनि उपयोगी छ । साथसाथै शरीरमा वायु बन्ने, गोला बन्नेमा पनि यसको प्रयोग गरिन्छ । पछिल्लो समय ग्यास्ट्रिकको समस्या भएका व्यक्तिले यो औषधिको महत्त्व बुझेर बजारबाट आफैँ किनेर पनि खाइरहेका छन् ।’
वैद्यखानाले अविपत्तिकर चूर्णलाई सुगररहित र सुगरसहित बजारमा ल्याएको छ । खासगरी पेटसम्बन्धी रोगमा बिहान–बेलुका खानाअघि एक–एक चम्चा यस चूर्णलाई आधा गिलास मनतातो पानीमा घोलेर खानुपर्छ ।
सन्दिपन र हिङवाष्टक चूर्ण
वैद्यखानाले उत्पादन गरेको सन्दिपन चूर्ण पनि पेटसम्बन्धी रोगमा लाभदायक छ । यसले पाचनको वृद्धि गर्छ । यो औषधि ग्यास्ट्रिकको समस्यामा पनि हितकर छ । यस्तै पेटसम्बन्धी रोगमा लाभदायक हिङवाष्टक चूर्णको पनि वैद्यखानाले उत्पादन थालेको छ । हिङ, मेथी, ज्वानो आदि मिसाइएको यो औषधिले पेटमा ग्यास भरिएको समस्या हटाउँछ, दिसा खुलाउँछ ।
अश्वगन्धा र वात
अश्वगन्धा चूर्ण रसायन औषधि हो, जो खासगरी वातसम्बन्धी रोगमा लाभदायक छ । ‘नसा, मांसपेसीमा यो औषधिको प्रयोग गरिन्छ, यसले शारीरिक दुर्बलता हटाउँछ र बलमा वृद्धि गराउँछ,’ डा. यादव भन्छन्, ‘कुनै रोग नभएका व्यक्तिले पनि यसलाई जनरल टोनिकका रूपमा सेवन गर्न सक्छन् । यसले अनिद्राको समस्या पनि हटाउँछ । आधा गिलास मनतातो पानी वा दूधमा बिहान–बेलुका एक–एक चम्चा अश्वगन्धा घोलेर खान सकिन्छ ।’
षड्बिन्दु तेल
वैद्यखानाबाट उत्पादित षड्बिन्दु तेल घाँटीदेखि माथिका समस्या (टाउको दुख्ने, पिनास लगायत)मा उपयोगी छ ।
त्रिफला
आयुर्वेदमा त्रिफलाको ठूलो महत्त्व छ । हर्रो, बर्रो र अमलाबाट बन्ने यो औषधि अन्य औषधिमा पनि मिसाइन्छ । राति सुत्ने बेला एक वा दुई चम्चा त्रिफला चूर्ण आधा गिलास मनतातो पानीमा घोलेर सेवन गर्दा कब्जियतको समस्या हट्छ । बिहान–बेलुका खानापछि सेवन गर्दा त्रिफलाले रसायनको काम पनि गर्छ । त्रिफलाघृत अर्थात् घिउमा बनाइएको त्रिफला आँखासम्बन्धी रोगमा उपयोगी हुन्छ । यद्यपि त्रिफलाघृत वैद्यखानाले उत्पादन गरेको छैन, निकट भविष्यमा उत्पादन गर्ने योजना रहेको यादव बताउँछन् ।
अमला स्वयंमा एक रसायन हो । आयुर्वेदका धेरै औषधि (त्रिफला, अविपत्तिकरचूर्ण, च्यवनप्राश आदि)मा अमलाको प्रयोग हुन्छ । अमलाको मात्र चूर्ण पनि वैद्यखानाले उत्पादन गरेको छ ।
‘कब्जियतमा त्रिफला चूर्ण, ग्यास्ट्रिकमा अविपत्तिकर चूर्ण, वात वा नसासम्बन्धी समस्यामा अश्वगन्धा चूर्ण खानुपर्छ भन्ने ज्ञान सर्वसाधारणमा बढ्दो छ,’ डा. यादव भन्छन्, ‘म आएपछि म लगायत सबै यहाँका चिकित्सकले बिरामी जाँच्ने गरेका छौँ । बिरामी जाँचेको शुल्क लाग्दैन, औषधि किन्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारलाई यातायात व्यवस्थापनको जिम्मेवारी संविधानले नै दिएको छ : मन्त्री दाहाल
-
डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति
-
सरकारको तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र कम्बोडियासहितका देशमा जाँदा सावधानी अपनाउनू
-
तारकेश्वर नगरपालिकामा एनएनआईपीएल स्पोर्ट अवार्ड कार्यक्रम
-
मधेसवादी दललाई सहकार्यका लागि हृदयेश त्रिपाठीको आह्वान, वार्ता समिति पनि गठन
-
नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छ : प्रचण्ड