सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

मध्यनेपालका तीन क्याम्पसमा अझै हुन सकेन स्ववियु निर्वाचन

आइतबार, १९ चैत २०७९, ०८ : ३१
आइतबार, १९ चैत २०७९

लमजुङ ।  लमजुङको मध्यनेपाल नगरपालिकास्थित ३ वटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले नेतृत्व पाउन सकेको छैन ।

चैत ५ गतेको लागि चुनाव तोकिएको ती क्याम्पसहरूमा राजनीतिक दलबीचको सहमतिलाई विद्यार्थी संघसंगठनले नमान्दा स्ववियु गठन प्रक्रिया अनिश्चित बनेको छ । 

मध्यनेपाल नगरपालिकामा रहेको ३ वटा क्याम्पसमा राजनीतिक दलबीच मध्यनेपाल नगरपालिका ६, भोर्लेटारमा रहेको ईशानेश्वर क्याम्पसको नेतृत्वमा एमाले भातृसंगठन अनेरास्ववियुको नेतृत्व, वडा नं. ४, दुइपिप्लेस्थित पुष्पलता जनएकता क्याम्पसको नेतृत्वमा कांग्रेस भातृसंगठन नेविसंघको नेतृत्व र वडा नं. ३, सोतीपसलस्थित मंगला क्याम्पसको नेतृत्वमा माओवादी केन्द्रको भातृसंगठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा स्ववियु गठन गर्ने सहमति भएको थियो । 

चैत ५ गतेको निर्वाचन रोक्न अघिल्लो दिन नै पत्र लेखेकोमा विद्यार्थीबीच सहमति नजुट्दा स्ववियु गठन प्रक्रिया नै अन्यौल बनेको छ ।

ईशानेश्वर र पुष्पलतामा समस्या नदेखिए पनि मंगलामा समस्या देखिएको छ । विद्यार्थी संगठनबीच मंगलमा सभापतिमा नेविसंघ, उपसभापतिमा अनेरास्ववियु क्रान्तिकारी, सचिवमा नेविसंघ र सहसचिवमा अनेरास्ववियुबीच सहमति भइसकेको अवस्थामा राजनीतिक दलबीचको सहमतिले सभापति अनेरास्ववियु क्रान्तिकारीको भागमा पारेपछि विवाद बढेको हो ।

निर्वाचन अधिकृत उदय कँडेलका अनुसार राजनीतिक दल र विद्यार्थी संगठनले सहमति गर्ने भने पनि हालसम्म सहमति हुन सकेको छैन । उक्त क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका एकजना मात्रै विद्यार्थी रहेको र यसअघि नै सहमति भइसकेको अवस्थामा अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व स्विकार्न नेविसंघका विद्यार्थी तयार छैनन् । मनोनयन भने नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले संगै गरेको र अनेरास्ववियुले भने एकल गरेका थिए ।

पुष्पलता क्याम्पसका निर्वाचन अधिकृत टीकाराम अधिकारीले सङ्गठन दर्ता भए पनि सहमति गर्ने भनेपछि नोमिनेशन नै दर्ता नभएको बताए । बाहिरै सहमति गर्ने भनेर भनेकोमा अहिलेसम्म कुनै सहमति लिएर नआउँदा निर्वाचन प्रक्रिया नै अनिश्चित बनेको उनले बताए । विद्यार्थीहरू सहमति गर्छु भनेर गएका कारण उम्मेदवारी दर्खास्त नै नहालेको जनाउँदै उनले भने त्यसपछि सहमति लिएर विद्यार्थी नफर्केको उनले बताए  ।

उता, ईशानेश्वर क्याम्पसका निर्वाचन अधिकृत प्रदीपराज घिमिरेले सहमति गरिएको भनिए पनि विद्यार्थीले यसको ठोस निर्णय ल्याउन नसकेको बताए  ।  मतदान गर्ने बेलामा सहमति गर्छु भनेपछि मतदान कार्य स्थगित गरेकोमा अहिलेसम्म सहमति लिएर कोही पनि नआएको उनले बताए  । अनेरास्ववियु क्रान्तिकारी मध्यनेपाल नगरपालिका अध्यक्ष सुरेश लामिछानेले राजनीतिक दलबीचको सहमतिलाई नेविसंघले नमान्दा समस्या आएको बताए । 

उनले निर्वाचन प्रक्रिया रोकिएको र त्यसपछि कसैले यसबारे पहल पनि नगरेको बताए ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप