‘कम्प्याटिबल थट्स’सहित कलाकार जोडीको आलिंगन
कलाकार जोडी (इशान परियार र सविता डंगोल)ले भर्खरै (मार्च ३–३१ मा) सिद्धार्थ कला दीर्घामा ‘कम्प्याटिबल थट्स’ शीर्षक दिएर युगल कला प्रदर्शनी गरे । पछिल्लो समय हरेक वर्षजस्तो कला प्रदर्शनी गर्दै आएको यस जोडीको यो चौथो युगल प्रदर्शनी हो ।
बेग्लाबेग्लै ठाउँमा तर एउटै वर्षमा (सन् १९८४) जन्मिएको यो जोडी सहपाठी भई एकै ठाउँमा अध्ययन पनि गरे । सन् २०१३ मा कलामा सँगै स्नातकोत्तर गरेको, २१ माघ ०७२ मा विवाह गरेको यो जोडीले मिलेर काम गर्दै आएकाले यसपालिको शीर्षक (कम्प्याटिबल थट्स) सार्थक देखिन्छ । कम्प्याटिबल थटको सिधा अर्थ मिल्ने वा मिलेर बस्न सक्ने विचार भन्ने लाग्छ । खासगरी मान्छे, समाज र कलालाई हेर्ने दृष्टिकोण एकैजसो हुनु भन्ने यसको सोझो आसय निक्लन्छ । कला सिर्जना समाजसँग जोडिएको र समाजमा संचेतना जगाउने खालको हुनुपर्छ, यस सन्दर्भमा यस जोडीको एकैजसो परिकल्पना हुनुलाई पनि यस शीर्षकले संकेत गर्छ ।
कलाकारको स्वभाव (सादगीको सन्दर्भमा)लाई हेर्दा, व्यवहारलाई (सौहार्दताको सन्दर्भमा) हेर्दा र यी दुवैको कलाकृति (पे्रमाभावका आकृति अनि कमलो रंगको सन्दर्भमा) हेर्दा शीर्षक अनुरुपकै भाव र अर्थलाई छाम्न सकिन्छ । यी जम्मै कुराहरूको संगति हुन जाँदा यो जोडीको यसपालिका कलाकृतिहरू स्वयं शान्त, सौम्य, सरल, सहज र मनमोहक रुपमा प्रकट भएका छन् । माया र प्रेमकै विषयवस्तुले यिनीहरुका कलालाई छपक्कै छोपेको हुनुले थप सुगन्धको आभास हुन्छ । यी चित्र अवलोकन गर्दा कलाले व्यक्त गर्ने मन्द–मन्द ध्वनि समेत महसुस गर्न सकिन्छ ।
हरेक वर्ष यस जोडीले आफ्नो एनिभर्सरी (वैवाहिक वर्षगाँठ) मनाउने अवसरमा कला प्रदर्शनी गर्ने गर्छन् । यसपल्ट भने ठाउँ खोज्दाखोज्दै अलिकता समय बितेछ । आ–आफ्नै ढंगले यस्ता कलाकार जोडी मिली गर्ने गरेका यस्ता दुई व्यक्तीय कला प्रदर्शनीलाई हिजोआज ‘डुएट आर्ट एक्जिबिसन’ (युगल कला प्रदर्शनी) भन्ने सुहाउँदो नामाकरण हुन थालेको छ ।
पोखराबाट कला अध्ययनका लागि काठमाडौँ आएका इशानको भेट सबितासँग भयो । सँगै कलाको अध्ययन गर्दै जाँदा मन मिल्यो र दुवै लगनगाँठोमा बाँधिए । यी दुवै कलाकारको धेरै कुरामा मेल छ । दुवै पर्फर्मेन्स कलामा शक्तिशाली अनि मूलधारका युवा कलाकार हुन् ।
सन् २०१३ देखि हालसम्म सविताले कलाका २० वटा जति शक्तिशाली ‘सोलो पर्फर्मेन्स’ गरिसकेकी छन् । इशानले सन् २०१४ देखि सुरु गरेर आजसम्म १२ वटा पर्फर्मेन्स कला गरे । यसै पनि नेपाली समसामयिक कलाको क्षेत्रमा सोलो पर्फर्मेन्स कला गर्ने थोरै कलाकार छन् । यसो हुँदा यिनीहरूको सोलो पर्फर्मेन्स कलाको संख्या निकै धेरै हो ।
अर्को मिल्ने कुरा भनेको, यी दुवैको सिर्जन–प्रक्रिया आकारमूलक छ र आकारमूलक संरचनामा दुवैको विश्वास छ । संयमका साथ तुलिकालाई अनुशासनबद्ध भएर सही गन्तव्यतर्फ हिँड्न, हिँडाउन मन गर्ने ताल पनि यी दुईको एकैजसो छ । डिटेलमा महिनौँ लगाएर अति विस्तारमा रेखा र रंगहरूसँग खेल्ने दुवैको कलागत स्वभाव छ । स्वभावतः यसबाट यी कलाकारले कलामा खर्चिएको मिहिनेत पनि स्पष्ट देखिन्छ, झल्कन्छ । आफ्नै जीवनका अवयवसँग जोड्दै, जोडिँदै खास अर्थका साथ कला सिर्जना गर्ने तरिका पनि यी दुईको एउटै छ । अहिलेसम्म सविताले ६ वटा एकल सो गरिसकिन् भने इशानले पाँच वटासम्म गर्न भ्याएका छन् ।
विशेष गरेर सामाजिक सवालमा कला सिर्जना गर्न रुचाउने यी दुवै मूलतः ‘कन्सेप्चुल’ कलाकार पनि हुन् । वैकल्पित कलालाई सर्लक्कै अँगाल्ने दुवैको स्वभाव छ । यसैको प्रकृति, विशेषता अनि मूल्य–मान्यतालाई समेत यी दुवै कलाकारले समान रूपमा अनुशरण गर्ने गरेका छन् । धेरैजसो ठाउँमा प्रेमालापका मोटिफ क्यानभासमा सजाउन आतुर हुन्छ यो जोडी । यसर्थ यी दुवै कलाकार राम्रा फिगरेटिफ कलाकार पनि हुन् । साउथ एसियामा लामो इतिहास बोकेको एसियन आर्ट बाइनाले ढाका, बंगलादेशको १८औँ संस्करणमा दुवै नेपालबाट एकैपल्ट छानिएका थिए । सन् २०१२ मा बिन्दु (पर्फर्मेन्स कलामा काम गर्ने कला–संस्था)बाट र सन् २०१४ मा एमक्युब (वैकल्पिक कलामा काम कला संस्था) बाट आयोजना भएको ‘आर्टिस्ट रेसिडेन्सी प्रोग्राम’मा समेत यी दुई एकैपटक सेलेक्सन भएका थिए ।
नेपालमा यस्ता रेसिडेन्सी कार्यक्रमको लामो इतिहास छैन । आयोजना गरिदिने संघ–संस्था कम छन् । यसको व्याख्या विश्लेषण गर्ने, कसले कस्ता नयाँ धारमा कलाहरू सिर्जना गरे आदिलाई विधिवत अभिलेखनमा राख्ने, विश्लेषण गर्ने परिपाटी बस्न नसक्दा ठ्याक्कै यसको इतिहास र यसमा संलग्न भएका नेपाली कलाकारका बारेमा थाहा पाउन गाह्रो छ । तथापि बाहिर झट्ट हेर्दा भने अग्रपंक्तिको पहिलो लहरमै यो जोडी देखिन्छ । यसो हुँदा यी कलाकार संलग्न भएका यस्ता रेसिडेन्सी कार्यक्रम पनि महत्त्वका साथै देखिन्छ ।
कलाको गुणस्तर खुट्ट्याउने सन्दर्भमा आज विश्वमा चलनचल्तीमा भइरहेका यस्ता वैकल्पिक कलामा कलाकारको संलग्नतालाई पनि मुख्य मापनका सूचक बनाएको पाइन्छ । कलामा कलाकारले कसरी भावाभिव्यक्ति गर्छ, आफ्ना विचार र अवधारणा पस्कन्छ भन्ने पनि कलाको गुणस्तर नापिने कसी हो । यसैले त हिजोआज समसामयिक कलाको सन्दर्भ निकाल्दा पर्फर्मेन्स र इन्स्टलेसनका अनेक धार चर्चामा आएको देखिन्छ ।
प्रयोगात्मक हुने सन्दर्भमा, इशान र सविताले यसपालि एउटै क्यानभासमा दुवै मिली एउटै कला सिर्जना गर्नसम्म भ्याएका छन् । यो फेरि एउटा छुट्टै विषय हो, एक अलग्ग धार पनि हो । मिल्ने भन्ने सन्दर्भमा त यो एक नमुना हो । छुट्ट्याउनै नसकिने गरी क्यानभासमा छरिएका दुवैका सँगसँगै कुदेका तुलिकाघात एउटा समष्टिगत अर्थका साथ प्रकट भएको देखिन्छ । यी र यस्तै थुप्रै विशेषताले गर्दा अहिले युवा कलाकारको जमातमा यी दुवै अब्बल कलाकारका रूपमा स्थापित भएका छन् ।
शैली
हुन त यी दुवै कलाकारका आ–आफ्नो एक अलग्ग शैली स्थापित भइसकेको हुँदा जहाँ–कहीँ कला प्रदर्शनी गर्दा, हुँदा पनि कलागत शैलीमा खासै फरक देखिन्न । झट्ट हेर्दा उस्तै–उस्तै देखिने, देखिरहेको जस्तो हुने, यी कलाकारको कलागत लक्षण हो, जसकारण यिनीहरुको कला पुरानैजस्तो हुनु वा देखिनु भावकलाई स्वाभाविक लाग्छ । प्रदर्शनीमा केही पुराना काम पनि राखिने प्रचलन हुँदा, राखिँदा नयाँ–नौलो केही छैन जस्तो पनि लाग्छ । तथापि हरेकपल्ट चित्रपटमा छरपस्टिएर बसेका मोटिफ संगठन र संरचनागत प्रस्तुतिमा भने फरक देखिन्छ । यसो हुँदा, यसपल्ट यस जोडीको केही नयाँ ढंगका काम छन् भन्नुपर्ने हुन्छ ।
नेपालमा समसामयिक कला कसरी विकसित भइरहेको छ भनी हेर्ने, बुझ्ने र अवलोकन गर्ने ठाउँ छैन । कुनै विशेष कला संग्रहालय वा कलाका ग्यालरी नहुँदा छोटो समयका लागि हुने यस्ता कला प्रदर्शनीमा जुनसुकै, जस्तोसुकै कला प्रदर्शनी हुँदा पनि जायज लाग्छ । किनकि धेरै खर्च र मिहिनेतबाट तयार पारिएका यस्ता कलाको प्रदर्शनी एकपल्ट गरेपछि उही कलाकारको अर्को कला हेर्न भावकलाई कैयौँ वर्ष पर्खिनुपर्ने हुन्छ । कैयौँ कलाकारले यस्ता एकल कला प्रदर्शनी गर्न सक्तैनन्, निरन्तर गरिराख्नेले पनि एउटा निश्चित अवस्था आएपछि स्वतः बन्द हुने अवस्था हुन जान्छ । यो अर्थमा यो कला प्रदर्शनी महत्त्वका साथ देखापरेको छ ।
समष्टिगत रूपमा हेर्दा मूलतः सविताले सामाजिक सवाल (लैंगिक विभेदसहित)मा बढी मात्रामा खेल्ने गर्छिन् । इशानले नेपाली सम्पदामाथि चासो र चिन्ता प्रकट गर्छन् । सम्पदा चोरी भई बिदेसिएको सन्दर्भमा कलागत बुनावट गर्न उनी बढी चाख राख्छन् । यही नै यी दुई कलाकारको अलग–अलग विशेषता हुन् ।
इशानका कला
इशान एकताका करेलाको सिरिजमा धेरै गहिरिएर काम गर्थे । फिगरेटिभ आर्टिस्टको रूपमा देखापरेका इशान मिहिनेती पनि हुँदा उनका करेला–कलाहरू कति ठाउँमा त सुपर–रियालिस्टिक (यथार्थवादी कलाकै नयाँ रूप, अझ विस्तारमा कला सिर्जना गर्ने आजको कलाको नयाँ धार) कलाको रूपमा समेत दृष्टिगोचर हुने गर्थे । सीधा–सादगी स्वभावका इशानको कलागत लगनशीलतामा विश्वास गर्ने निकै ठूलो जमात उसैवेला तयार भइसकेको थियो । ओपन एयर पेटिङ (आउटडोर पेन्टिङ) कलामा उनको दख्खल, संलग्नता बच्चै बेलामा भएकाले यस्ता यथार्थपरक कला गर्न उनको हात राम्ररी नै बसिसकेको थियो । पोखरामा जन्मे–हुर्केका कारण उनले फेवातालको डुंगा, माछापुच्छ«े अनि पर्यटकको सन्दर्भलाई राम्ररी बुझेका थिए । फेवातालसँगै उभिएका माछापुच्छ«ेको आकर्षण आदि इत्यादिले गर्दा उनी एकताका नेपालका नाम चलेका ल्यान्डस्केप चित्रकार पनि बन्न पुगेका थिए । जलरङ्गी प्रभाववादी दृश्यचित्रमा यसर्थ उनी खप्पिस छन् ।
जीवनयापन, दैनिकी आदिलाई कलामा जोड्ने उनको कलागत स्वभाव छ । कलामा सामाजिक, राजनीतिक सवाल प्रयोग गर्नु, देखिनु फेरि उनको अर्को विशेषता रहेको छ । करेला तितै भए पनि यसका धेरै गुण छन् भन्ने सोचले उनलाई गहिरो गरी अँगालेको देखिन्थ्यो त्यसबखत । सम्भवतः अहिले पनि यसले नछोड्दा उनको क्यानभासको पृष्ठभूमिमा यी करेलाका अवयव सदैव छद्मभेषमा उपस्थित भइरहेको देखिन्छ । राज्यले कलाको महत्त्व नबुझेको, कलाकृति चोरी भई बाहिर जाँदा पनि वास्ता नगरेको राजनीतिक चिन्ता समेत उनले कलामा व्यक्त गर्दै आएका छन् ।
करेलाको बाह्य कलेवर (काँडेदार स्वरूपलाई) टेक्चरको रूपमा क्यानभासभरि छर्कनु उनको विशेषता थियो । यसैमा थोरै प्रकाश र छायाको लेपन लगाउने उपक्रम गर्दा आज यसको स्वरूपमा अझ चहक थपिएको देखिन्छ । सन् २०१९ मा भएको उनको ‘रेमिनिसन्सेज’ नामक एकल कला प्रदर्शनीमा प्रदर्शित हरेकजसो कलामा पृष्ठभूमिमा यही टेक्चरले सिँगारिएको छ । सोझो अर्थमा ‘सम्झनाहरू’ भन्ने अर्थ लाग्ने गरी उनले त्यस बखतका चित्रमा स्वैरकाल्पनिकतालाई परकाष्ठामा व्यक्त गरेका थिए । उनका कलागत पात्र कल्पनाको सागरमा गहिरो गरी डुबेको देखिन्थ्यो । कतै तैरिँदै गरेका कतै डुबुल्की मार्दै गरेका र कतै शून्य आकाशमा उडेजस्तो, उफ्रँदै हावा र बादलसँग लुकामारी खेलेजस्तो पनि देखिन्थ्यो । तथापि करेलाको टेक्चरले सौन्दर्यताको अथाह भू–भागलाई समेटेको थियो । यसकारण यस खालको सौन्दर्यतामा वशीभूत कल्पना अनि समसामयिक अवस्थाको समिश्रण नै उनको कलाको मूल विशेषता बन्न गएको देखिन्छ ।
फरकफरक कलामा कतै स–साना, कतै अलि ठूल्ठूला विम्बको रूपमा उदाएका यस्ता टेक्चरले कतै महासागरको बोध गराउँथ्यो । कतै गहिरो समुद्रको पिँधमा अवस्थित चट्टानका टुक्रासम्म पु¥याउँथ्यो । कतै पानी छछल्केर ज्वारभाटा आएजस्तो, कतै खोलाको किनारमा फालिएका साना–ठूला ढुंगा भएजस्तो अनेक परिदृश्य उनका कलामा देखिन्थ्यो । यी आदि थरीथरीका स्वरूपले उनको कल्पना क्षमता अनि शिल्प दक्षतामा घनीभूत सिर्जनशीलता रहेको देखिन्थ्यो ।
अर्को कुरा, उनको कला यसरी रंगिदा अचानक मिठो स्वाद सम्प्रेषण हुने गर्दथ्यो । इशानको पछिल्लो कलागत इतिहासलाई बेवास्ता गर्दै यसलाई मात्र एक टेक्चरका रूपमा हेरियो भने उनीमाथि न्याय गरेको ठहरिँदैन । किनकि यही टेक्चरभित्र करेला अनि करेलाभित्र अदृश्य रूपमा रहेको उनको कलागत दर्शन नै उनको विशेषता हो ।
करेलाबाहेक उनका अन्य पात्रमा पर्छन्– नाउँ (डुंगा,) स्तुपा र देवी–देवता । यसपल्ट उनले थोरै नयाँपनसहित सन्देशमूलक दृश्यचित्रका रूपमा काष्ठमण्डपको विशाल मन्दिर (वास्तुकला)लाई ल्याएका छन् । जसलाई नियाल्दा यथार्थ भएर पनि भावनात्मक अनि गौरवको अनुभूतिलाई समेत पस्किएको अनुभूत अनि आभास हुन्छ ।
उनको अर्को चित्र अझ गज्जबको छ । हावामा उडेजस्तो भएर एउटा नाउमा थुप्रै पशुपक्षी समेटिएका छन् । यसैमा नेपालको न्यातपोल मन्दिर, अमेरिकाको लिबर्र्टी स्ट्याचु, चाइनाको ग्रेटवालदेखि माउन्ट एभरेस्टसम्म अटाएका छन् । पशुमा हात्तीदेखि वनमान्छे, स्याल गोही, घोडा, गैँडा, बाघ, पाण्डादेखि पक्षीमा सारस, मयुर समेतलाई समावेश गराइएको छ । मूल विषयको वरिपरि अन्य ग्रहले चक्कर काट्दै गरेको दृश्य अनि डुंगाको छेउमा सोचमग्न रूपमा बसेको आदि मानवदेखि विश्वको सर्वांग भू–क्षेत्र समेटिएको म्याप, कलात्मक प्रतीकात्मक समुद्र, माछा, कछुवा लगायत पानीभित्र देखिने अनेकौँ जीवजन्तुलाई समेट्ने उनको कोसिस छ । यो अनौठो चित्रमा रहेको स्वैरकाल्पनिकता, भावकका लागि भने रोमाञ्चित रूपमा देखापर्न गएको छ ।
१६औँ शताब्दीका इटालियन विश्वविख्यात कलाकार द भिन्चीको मोनालिसा इशानको मनपर्ने पात्र हो । प्रतीकात्मक विम्बको रूपमा यसले उनको धेरै चित्रमा प्रवेश पाएको छ । भिन्दाभिन्दै रूप र भूमिकामा यो विम्बलाई एउटा अर्थका साथ उनले उभ्याएका छन् । पुनव्र्याख्याको सन्दर्भमा वैकल्पिक कलाको प्रवृत्तिलाई अनुशरण गर्दा पनि इशान नेपाली समसामयिक कलाको मूलधारमा सशक्त कलाकार भएर उभिएका हुन् । यही सिरिजको एउटा चित्र यो कला प्रदर्शनीमा समावेश गरिएको छ । मोनालिसाको महत्त्व बढेको वा मूल्यवान भएको सन्दर्भमा हाम्रा मूर्ति पनि अझ यसभन्दा बढी मूल्यवान रहेको सन्दर्भ उनले आफ्ना कलामा उठाउन खोजेका छन् ।
सन् २००६ मै इशानको पहिलो सोलो कला प्रदर्शनी दक्षिण कोरियाको सिओलमा भएको थियो । यसपछिका उनका घतलाग्दा एकल सोहरूमा ‘रेमिनिसेन्सेज’, ‘इथोस अफ सराउडिङ’, ‘बेटर द्यान बिटर’, ‘कलर अफ एक्सपेरियन्स’ आदि सबैजसो चर्चाका कला प्रदर्शनी बन्न पुगेका थिए ।
सविताका कला
यसपल्ट पनि सविताले सधैँजस्तो काइँयोलाई मूल विम्बका रूपमा लिएकी छन् । यसो हुँदा उनका जुनसुकै जस्तोसुकै चित्रमा काइँयो आएको देखिन्छ । मूलतः उनले बांगाटिंगा वा सीधा रुखका हाँगा र फेदतिर, मान्छेको जिउतिर– जताततै काइँयोलाई जोडेकी छन् । काइँयोलाई आफ्ना चित्रको एक अभिन्न अंगको रूपमा समावेश गर्नु नै उनको खास विशेषता बन्न गएको छ ।
अर्को विशेषता भनेको, सपाटपनामा जताततै बुट्टाहरू बनाउनु र क्यानभासको कुनै पनि स्पेसलाई खाली नराख्नु हो । उनका कलामा फूलबुट्टा यसरी खप्टिएर र गुजुल्टिएर बसेका हुन्छन्, जसले गर्दा उनको कलामा सौन्दर्यता यथेष्ट मात्रामा रहेको अनुभव गर्न सकिन्छ ।
यसपल्ट अलिकता फरक भनेको, अधिकांश चित्रहरू जोडीको रूपमा दृष्टिगोचर हुन्छन्– नाउमाथि पनि जोडी (आफूसहित इशान पनि), टाउको खप्टिएर सुत्दा पनि जोडी, राधाकृष्ण बने पनि जोडी, पे्रमालापमा देखिँदा जोडी । जताततै जोडीलाई ल्याइएका यी चित्रमध्ये अधिकांशलाई यी दुवै दम्पतीले मिलेर बनाएका हुन् । बीच भागमा जोडी बनाइसकेपछि एकातर्फ काठमाडौं र अर्कोतर्फ पोखराको दृश्यचित्रलाई आफ्नै जन्मस्थलको प्रतीकात्मक विम्बका रुपमा ल्याइएको छ, जुन उपक्रम यसपल्टको रमाइलोपन हो । महादेव–पार्वतीको अर्धनारीश्वर (एउटै अनुहारलाई दुई भागमा बाँडेर बनाउने परम्परालाई हटाएर अलग–अलग अनुहारसहितका टाउका समावेश गरेर बनाइएको आकृति), सूर्य–चन्द्रका विम्ब ल्याउँदा रातो गरम रंगको प्रयोग गरिएको छ, जसकारण यो कला प्रदर्शनीले एक अलग्ग रौनक ल्याएको महसुस हुन्थ्यो । तथापि धेरै चित्र दुवैले बनाएको हुँदा दुवैलाई अलग्गाएर वर्णन गर्न गाह्रो जस्तो भएको छ ।
सविताका चित्रलाई अलि गहिरिएर हेर्ने हो भने, नेपाली लोककला अनि नेपाली परम्परागत कलाका सुगन्धलाई मज्जाले रसास्वादन गर्न सकिन्छ । परम्परागत कलाको तौर–तरिका अनि मोटिफलाई विम्बको रूपमा उभ्याएकी छन् । जसले गर्दा लोककलाका र परम्परागत कलाको समिश्रणमा नयाँ कला शैलीको विकास भएको देखिन्छ । यो उनको मूल कलागत विशेषता बन्न गएको छ ।
उनका कलाका मोटिफलाई छाम्न सकिने हुँदा पनि उनी आफ्नै संस्कृति र संस्कारमा आबद्ध छन् भन्ने सन्दर्भ हेर्न र महसुस गर्न सकिन्छ । सुरुको बेलादेखि उनले काइँयोको विम्बलाई गुजुल्टिएको कपाललाई फुकाउने (समस्याको समाधान गर्ने सन्दर्भमा) अस्त्रको रूपमा लिएकी थिइन्, यसो हुँदा उनले सुरुदेखि अहिलेसम्म एउटा निश्चित बाटो अँगालेको देखिन्छ । यसले उनलाई स्थायी रूपमै समाएका छन् । डेकोरेटिभ फर्ममा काम गर्ने हुँदा उनको कलामा अनेक बुट्टा स्थायी रूपमै देखिन्छन् । यो उनको अर्को थप परिचय बनिसकेको छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल प्रयोगबारे टिकटकले चलायो छलफल
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो
-
नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्यमा के छ ?
-
कर्णाली याक्सबाट एनपीएल खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा