आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

घट्दै एलपी ग्याँसको खपत, विद्युतीय उपकरणले विस्थापन गर्दै

जाडोयाममै घट्यो, गर्मीमा झनै घट्न सक्छ : निगम
शनिबार, १८ चैत २०७९, १३ : ०२
शनिबार, १८ चैत २०७९

काठमाडौँ । २०७८ को जनगणना अनुसार नेपालमा खाना पकाउन ४४.३ प्रतिशत घरपरिवारले एलपी ग्याँसको प्रयोग गर्छन् । नेपालमा रहेका कूल ६६ लाख ६० हजार ८४१ व्यक्तिगत परिवारमध्ये ४४.३ प्रतिशत परिवारले खाना पकाउन एलपी ग्याँसको प्रयोग गर्ने गरेका हुन् । यसको अर्थ नेपालका २९ लाख ५० हजार घरपरिवारले खाना पकाउन आयातित एलपी ग्याँसको प्रयोग गर्दै आएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पछिल्लो जनगणनाले एउटा परिवारमा औसतमा ४.३७ जना बसोबास गर्छन् ।

यसअनुसार नेपालको कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७ जनामध्ये १ करोड २८ लाख ९१ हजार जनाको खान्की एलपी ग्याँसमार्फत पाक्छ । यसबाहेक, ५१ प्रतिशत (३३ लाख ९७ हजार) परिवारले दाउरा र काठको प्रयोग गरेर खाना पकाउँछन् भने बिजुलीको प्रयोग गरेर खाना पकाउनेको सङ्ख्या ०.५ प्रतिशत छ । अर्थात् नेपालका करिब ३३ हजार ३०४ घरपरिवारले खाना पकाउन विद्युतीय उपकरण प्रयोग गर्छन् । यस्तै, यसबाहेक ४.२ प्रतिशत घरपरिवारले खाना पकाउन बायोग्याँस, मट्टितेल र अन्य इन्धनको प्रयोग गर्छन् ।

अघिल्लो जनगणना २०६८ सालमा नेपालका ६४.८ प्रतिशतभन्दा धेरै घरपरिवारले खाना पकाउन दाउरा र काठको प्रयोग गर्थे । हाल यो सङ्ख्या ह्वात्तै घटेर एलपी ग्याँसको प्रयोग बढेको पाइएको छ । पछिल्लो १० वर्षको तथ्याङ्क केलाउँदा एलपी ग्याँसको खपत ह्वात्तै बढेको छ । तर, चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकअनुसार भने एलपी ग्याँसको खपत नै घट्न थालिसकेको छ । चालू आर्थिक वर्षको यस अवधिमा ५ प्रतिशत एलपी ग्याँसको आयात र खपत घटेको छ ।

निगमका प्रवक्ता विनितमणी उपाध्यायले गत वर्षको ८ महिनाको तुलनामा एलपी ग्याँसको खपत ५ प्रतिशतले घटेको जानकारी दिए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘जाडोयाममा सबैभन्दा धेरै माग बढ्नुपर्ने हो । तर, यसपटक जाडोयाममै माग घट्यो ।’ जाडोयाममै ५ प्रतिशतले माग घटेपछि वर्षभरिमा झनै माग घट्ने आङ्कलन निगमले गरेको उनको भनाइ छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुन महिनासम्म ३४ करोड ८ लाख ५६ हजार किलोग्राम एलपी ग्याँस आयात भएको छ ।

यसअवधिमा उक्त परिमाण बराबरको ३८ अर्ब ७२ करोड रुपैयाँको एलपी ग्यास आयात भएको छ । जबकि, गत आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा ३६ करोड ३४ हजार किलोग्राम एलपी ग्याँस आयात भएको थियो । उक्त परिमाणको एलपी ग्याँस आयातमा गत वर्ष ४० अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको थियो । गत वर्षको तुलनामा २ करोड किलोग्राम एलपी ग्याँसको आयात घटेपनि मूल्य बढ्दा धेरै रकम बाहिरिएको छ । यद्यपि, गत वर्षको तुलनामा २ अर्ब हाराहारी रकमले न्यून आयात भएको छ ।

विद्युतीय उपकरणको बढ्दो प्रयोग

खासगरी, नेपाली सर्वसाधारणले विद्युतीय उपकरणको प्रयोग उल्लेख्यरुपमा बढाएका छन् । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीले पूर्ण क्षमतामा उत्पादन थालेपछि नेपाल करिब ७ महिनालाई बिजुलीमा आत्मनिर्भर बनेको छ । यस्तै, बाँकी समय नेपाल विद्युत् प्राधिकरणले भारतबाट बिजुली ल्याएर उपभोक्तालाई लोडसेडिङ गरेको छैन । यस्तै, हाल नेपालको जडित क्षमता २५ सय मेगावाट पुगिसकेको छ । विदेशबाट आयातित ग्याँसको मूल्य बढ्दै जानु र २४ सै घण्टा विद्युत्को प्रवाह भइराख्दा एलपी ग्याँसको खपत घटेको देखिन्छ ।

ग्याँसको आयात घटिरहेको तथ्याङ्क सार्वजनिक भइरहँदा इन्डक्सन, इन्फ्रारेड चुलोका आयात भने बढिरहेको देखिन्छ । यस्तै, पानी तताउने रड, राइस कुकर, माइक्रोवेभ ओभन लगायतका वस्तुको आयात समेत उकालोतर्फ छ । २४ घण्टा नै बिजुलीको आपूर्ति भइरहँदा चालू वर्षको फागुन महिनासम्ममा २७ करोड २१ लाख रुपैयाँको माइक्रोवेभ ओभन, १९ करोड २५ लाखको इन्डक्सन चुलो र १२ करोड ७८ लाख रुपैयाँको इन्फ्रारेड चुला भित्रिएको छ । यस्तै, २७ करोड २४ लाखको राइस कुकर भित्रिएको छ भने २६ करोड ९८ लाख रुपैयाँको विद्युतीय कित्ली–जग भित्रिएको छ ।

अन्य प्रकारका ओभन र कुकिङ प्लेटको आयातमा ८ करोड ५६लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, १४ करोड १९ लाख रुपैयाँको विद्युतीय चिया–कफी मेकर आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । विद्युत्मार्फत खाद्यान्न तताउने टोस्टरको आयातमा ४ करोड २१ लाख रुपैयाँ बाहिरिएको तथ्याङ्क छ । विद्युतबाट पानी तताउने रड (हिटर) आयातमा ४ करोड ९२ लाख रुपैयाँ बाहिरिएको छ । यी वस्तुहरूको प्रयोग विद्युत्मार्फत खाना पकाउन, खाना तताउन र पानी तताउन प्रयोग गरिन्छ । जबकि, अघिल्ला वर्षहरूमा खाना पकाउन, तताउन र पानी तताउनका लागि एलपी ग्याँसमै निर्भर हुन्थ्यो ।

बढ्दै विद्युत्को खपत

यसैबीच विद्युत्को खपत समेत उकालो गतिमा रहेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार विद्युत्को खपत प्रतिवर्ष २० प्रतिशतसम्म उकालो लागिरहेको छ । यससँगै, यतिबेला नेपालको ‘पिक डिमाण्ड’ १८ सय मेगावाट आसपास छ । जबकि, केही वर्ष अघिसम्म यो १५ सय मेगावाटसम्म थियो । यस्तै, यतिबेला नेपालको औसत माग १२ सय मेगावाट छ । घरायसी उपकरणको माग बढ्दै जाँदा र उद्योगहरूले मागेअनुसारका विद्युतीय लोड उपलब्ध गराउँदा विद्युत्को खपत बढेको घिसिङ बताउँछन् । यही आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको कूल जडित क्षमता ३ हजार मेगावाट पुग्ने आङ्कलन प्राधिकरणको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप