बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय थारु सम्मेलन

नेपाल र भारतका थारुबीच सहकार्यका के के छन् आधार ?

शनिबार, १८ चैत २०७९, १२ : ०८
शनिबार, १८ चैत २०७९

बर्दियाको भुरीगाउँमा प्रथम अन्तर्राष्ट्रिय थारु सम्मेलन २०७९ चैत ४ र ५ गते सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय थारु सम्मेलन भनिए पनि सम्मेलनमा खास गरी नेपाल र भारतका थारुहरूको मात्र उपस्थिति थियो । कार्यक्रम आयोजक ‘थारु अन्तर्राष्ट्रिय महासभा’का पदाधिकारीहरूले विश्वका थारुहरूलाई एकजुट गराउने प्रयासको थालनीस्वरुप पहिलो कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

सीमा जोडिएको नेपाल र भारतका थारुबीच घनिष्ट सम्बन्ध हुन नितान्त जरुरी छ । कारण सीमा जोडेका जंगली जीवजन्तुहरूले त एकापसमा सम्बन्ध जोडिरहेका छन् भने हामी त मनुष्य हौं । नेपाल र भारतका थारुबीच घनिष्ट सम्बन्ध ल्याउने के के हुन सक्छ आधार, यो लेखमा त्यसको उत्तर खोजिएको छ । 

दुई देशका थारुबीच घनिष्ट सम्बन्ध ल्याउने प्रमुख कडी हो उनीहरूको संस्कृति । यस आलेखको सुरुवातमा नेपाल र भारतका थारुबीच सम्बन्धका केही प्रयासबारे चर्चा गरिन्छ । 

१.सम्बन्धका केही प्रयास

नेपाल र भारतका थारुबीच संस्थागत रुपमा सम्बन्धको औपचारिक थालनी कहिलेबाट भयो, यो खोजको विषय हो । 

पहिले नेपालमा विद्यालय, कलेजको राम्रो व्यवस्था नभएकाले अध्ययनको सिलसिलामा धेरै थारु युवाहरू भारत गएको देखिन्छ । जस्तो कि भारत, बलरामपुरमा अध्ययनरत दाङ देउखुरीका थारु विद्यार्थीहरूले ‘दाङ देउखुरी थारु छात्र संघ’ गठन गरेका थिए (सर्वहारी, २०७३) । दाङ देउखुरी गोवरडिहाका भक्तनारायण चौधरीको संयोकत्वमा खुलेको संघले २०२२ सालमै ‘श्री कृष्ण जन्माष्टमी गीत’ प्रकाशित गरेको थियो । तर यो संगठनमा  भारतीय थारु विद्यार्थीहरूको संग्लग्नता खुल्दैन । 

खास गरी २०७२ भदौ ७ को टीकापुर घटनापछि प्रशासनको धरपकडका कारण धेरै थारु अगुवाहरूको भागाभाग भयो । तिनीहरू छिमेकी भारतमा शरण लिए । सांसद रेशम चौधरीले त्यसबेला भारतमा आश्रय लिंदा त्यहाँका थारु समुदायबाट धेरै सहयोग पाएको आफ्नो पुस्तक चिरफार (२०७३) मा सबिस्तार उल्लेख गरेका छन् । 

टीकापुर घटनापछि नेपाल–भारतका थारुहरूको भारत सिमाना छेउछाउमा संयुक्त सभा हुन थाल्यो । यसले दुई देशका थारुहरूलाई जोड्ने काम ग¥यो । 

२०७३ वैशाख १४ र १५ गते सामाजिक अभियन्ता दाङ देउखुरीका सुरेन्द्र चौधरीको संयोजनमा चितवनको सौराहामा नेपाल–भारत थारु अन्तर्राष्ट्रिय प्रथम सम्मेलन भएको थियो । 

उक्त भेलाको समुद्घाटन गर्दै तात्कालीन नेपालस्थित भारतीय राजदूतावासका कन्सुलर अन्जु रन्जनको भनाइ थियो, ‘नेपालका मधेसी समुदायमा मात्र होइन, थारु समुदायमा पनि भारतसँग रोटीबेटी सम्बन्ध छ ।’ त्यसैले अबका दिनमा दुबै देशका थारुहरूबीच एकता र सद्भाव कायम गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव थियो । 

सम्मेलनमा दुई देशबीचका थारुहरूको राजनीतिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रको पहिचान गरी एक अर्कालाई सहयोग प्रदान गर्ने उद्देश्यले सुरेन्द्र चौधरीको संयोजकत्वमा नेपाल–भारत सहकार्य संघ गठन भएको थियो (सर्वहारी, २०७६ः ङ) । 

संघको सदस्यमा महावीर चौधरी (दाङ), मीनराज चौधरी (बर्दिया), इन्दु चौधरी (कैलाली), लक्ष्मी चौधरी र ललित चौधरी (चितवन), मदन चौधरी (बारा), लक्ष्मी चौधरी (उदयपुर), नन्दु सरदार (मोरङ) थिए । भेलाले नेपालबाट सांसद तेजुलाल चौधरी, गोपाल दहित र पूर्व सांसद कृष्णकुमार चौधरी, पत्तु थारु तथा भारतबाट राजकिशोर चौधरी, राममनोहर चौधरी, शैलेन्द्र गढवाल, दिपनारायण महतो र विजय पावेलाई सल्लाहकार चयन गरेको थियो । 

विडम्वना नेपाल–भारत सहकार्य संघको पछि कुनै छलफल, बैठक बस्न सकेन । संघ दर्ताको लागि प्रक्रिया अगडि बढाउन खोज्दा ठूलै शक्तिबाट रोक्न खोजिएपछि अभियान थाँती राखिएको सुरेन्द्र चौधरी बताउँछन् । 

२०७३ वैशाख २७ गते भारत उत्तर प्रदेशको चन्दनचौकीमा तथा जेठ १५ र १६ गते भारत उत्तर प्रदेशकै एकलव्य विद्या निकेतन, विशनपुर विश्राम, बलरामपुरमा नेपाल–भारतका थारुहरूको ऐतिहासिक सम्मेलन सम्पन्न भएको थियो (सर्वहारी, २०७४ः ४३) । 

२०७४ सालमा दुइ देशका थारुहरूवीच संयुक्त रुपमा कुनै कार्यक्रम नभएपनि २०७५ सालमा भने थाकसले यसको कडी जोड्ने काम ग¥यो । पञ्चायत अघि तथा यसपछि पनि सरकार प्रमुखहरूलाई नै महाधिवेशनको समुद्घाटनको लागि प्रमुख अतिथिको रुपमा निम्त्याउने थाकसको परम्परा देखिन्छ । यद्यपि पछिल्लो पटक २०७५ असोजको दोस्रो साता काठमाडौमा भएको थाकसको २२औं महाधिवेशनमा सरकार प्रमुखलाई प्रमुख अतिथि नबनाई महाधिवेशनमा भारतीय थारु कल्याण महासंघका अध्यक्ष दीपेन्द्र प्रसादलाई प्रमुख अतिथि बनाइयो । यसले दुइ देशका थारुहरूको सम्बन्ध सुधारको ढोका खोलियो (सर्वहारी, २०७६ः च) । 

थाकसका पदाधिकारीहरू भारतीय थारु कल्याण महासंघको निमन्त्रणामा पहिलो पटक आधिकारिक रुपमा २०७५ सालको तिहार लगत्तै भारतको चम्पारनमा गरिएको अन्तक्रिया कार्यक्रममा सहभागी भए । 

त्यसै गरी थारु जनजाति समाज श्रावस्ती, उत्तराखण्ड भारतको आयोजनामा नेपालका थारु कलाकारहरूलाई सांगीतिक कार्यक्रममा निम्ट्याएर कला प्रस्तुति गराउनुका साथै सम्मान गरियो । २०७५ मंसिर १५ र १६ गते पूर्व मावि रनियापुर (मोतीपुर) सिरसिया, श्रावस्ती, उत्तराखण्ड भारतमा थारु विकासका लागि गरिएको कार्यक्रममा नेपालका थारु गायक समिक्षा दहित, खेम चौधरी, सत्यनारायण फेटारा लगायत कलाकारले प्रस्तुति दिएका थिए । दुबै देश बीचको यस्तो सांस्कृतिक आदान प्रदानले भाइचाराको सम्बन्ध प्रगाध हुँदै गयो (सर्वहारी, २०७६ः च) ।

२०७८ जेठ १० मा भारतीय थारु कल्याण महासंघको आयोजनामा भारत, विहारको पश्चिम चम्पारणअन्तर्गत हरनाटाँडमा ‘थारु अन्तर्राष्ट्रिय महासभा’ गठन भयो । अन्तर्राष्ट्रिय रुपमै थारुहरूलाई जोड्ने प्रयास गरिए पनि यस संगठनमा भारत र नेपालकै पदाधिकारीहरूको बाहुल्यता छ । 

त्यसो त ‘थारु अन्तर्राष्ट्रिय महासभा’ मा थारु कल्याणकारिणी सभा (थाकस) का आधिकारिक प्रतिनिधि नराखिएको भनेर असन्तुष्टि जनाउँदै थाकस केन्द्रले बर्दियाको भुरीगाउँमा यही चैत ४ र ५ गते आयोजित अन्तर्राष्ट्रिय थारु सम्मेलन एक विज्ञप्ती जारी गरी वहिष्कार गर्ने दुःखद निर्णय गरेको थियो ।

सम्बन्धको केही प्रयासको यो सामान्य सूची हो । यसमा अन्य थप सहकार्य भएको हुन सक्छ । मूल कुरा कुनै पनि जातिलाई जोड्ने भनेको त्यसको जातिगत पहिचान नै हो । नेपाल र भारतका थारुबीच अन्य के के पक्षमा सहकार्यको थप आधार हुन सक्छ त ? यहाँ यसबारे बुँदागत चर्चा गरिन्छ ।

२. भाषाको अन्तर्घुलन तथा सांस्कृतिक आदान प्रदान

नेपालकै सबै क्षेत्रका थारुहरूको भाषामा एकरुपता छैन,  यस्तोमा भारतका थारुहरूको भाषासँग नेपालका थारुहरूको भाषाको सामञ्जस्यता खोज्नु कठिन कार्य हो । तर खोजी पस्ने हो भने सीमा वारि र पारीका थारुहरूको भाषा मिल्छ । जस्तो कि कैलाली, कञ्चनपुरका राना थारुहरूको भाषा भारतको सिमा जोडिएको चन्दनचौकीका गाउँलेसँग मिल्छ । बर्दियाका कठरिया थारुहरूको भाषा, पारी बलै गाउँ वरपरका कठरिया थारुभाषीसँग मिल्छ । देउखुरीका थारुहरूको भाषा, पारी भामरका थारुभाषीसँग मिल्छ । बारा, पर्साका थारुहरूको भाषा, पारी पश्चिम चम्पारणका थारुभाषीसँग मिल्छ । यसरी भाषाको अन्तर्घुलनले अन्य संस्कृतिमा पनि सामञ्जस्यता देखिन्छ । 

भाषामा धेरथोर फरक परे पनि समुदायलाई जोड्ने कडी संगीत पनि हो । विभिन्न अवसरमा सांस्कृतिक आदान प्रदान गरेर नेपाल र भारतका थारुहरूको सम्बन्ध सुमधुर बनाउन सकिन्छ । 

३. रोटीबेटी सम्बन्ध

एउटा आम बुझाई के छ भने नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध मधेसी समुदायमा मात्र छ । तर नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध थारु समुदायमा पनि वर्षौदेखि रहेको छ । तर वैवाहिक सम्बन्ध अहिले आएर निकै कम हुन गएको छ । 

२०७९ चैत २ मा गोरखापत्रमा प्रकाशित अविनाश चौधरीको समाचारको पेटबोलीले रोटीबेटी सम्बन्ध कम हुनुको धेरै कारण बोल्छ । कैलाली, धनगढी उपमहानगरपालिका–१०, घुइयाघाटका ७० वर्षीय सालिकराम रानाको सानैमा मगनी भए पनि विवाह २०४१ सालमा भारतको मसानखामकी सिट्ठादेवी रानासँग भएको थियो । आवतजावत निर्वाध हँुदा जन्ती लिएर जाँदा सालिकरामलाई फरक देशमा पुगेको जस्तो लागेन । अहिले भारत छिर्न नागरिकता देखाउनु पर्छ । 

कैलाली, घुइयाघाटकै रामकिसन रानाको भारतको सरियापाराकी रामप्यारी रानासँग विवाह भएको छ । उनका अनुसार त्यतिबेला यता वनजङ्गल प्रशस्त थियो । वनजङ्गलमा काठ, दाउरा र नदीमा माछा पाइने गरेका कारण उनी दुलही बनेर आउन सजिलै तयार भइन् । 

तीन दशक अघिसम्म नेपालका रानाथारु र भारतका रानाथारु समुदायबीच विवाह सम्बन्ध वल्लो पल्लो छिमेकी गाउँको जस्तै थियो। घुइयाघाटका भलमन्सा चन्दर रानाका अनुसार अहिले आएर नेपाल र भारतका रानाबीच विवाह लगभग शून्यजस्तै भएको छ । भलमन्सा रानाका अनुसार खाना पकाउन नेपालमा दाउरा नपाउने गरेका कारण भारतका युवती अचेल यता विवाह गर्न मान्दैनन्। त्यस्तै भारतमा विवाह गरेपछि उखु धेरै काट्नुपर्ने डरले यताका युवती उता विवाह गर्न मान्दैनन्। भारतमा उखु खेती बढी हुने गर्दछ (चौधरी, २०७९ः ८) । तर हाल आएर गाउँ गाउँको भान्सामा खाना पकाउने ग्यास अनि उखु कटानमा मेशिनको प्रयोगले विवाह सम्बन्ध घट्नुमा यो कारक देखिन्न ।

नेपालको कैलाली, कञ्चनपुर जिल्ला जोडिएको भारतको सीमावर्ती गाउँ वनकटी, सरियापारा, भुरा, सुँडा, छेदिया अग्लापट्टि, छेदिया पिछ्लापट्टि, पिपरौला, बजाही, ढकिया, बिरिया, नझोटा, मसानखाम, जेनङ्ग्रा, चन्दनचौकी, ढुस्कियालगायतका गाउँसँग नेपालीको ‘रोटीबेटी’ सम्बन्ध छ। 

युवा रञ्जित राना थारुका अनुसार पछिल्लो पुस्ता शिक्षित बन्दै अन्तरजातीय विवाहसमेत गर्न थालेकाले भारतबाट बेहुली ल्याउने वा छोरी भारतमा दिने क्रम घटेको हो । जबकि विगतमा रानाथारु समुदायका महिला पुरुषले आफ्नै समुदायभित्र मात्रै विवाह सम्बन्ध गाँस्नुपर्ने परम्परा भएकाले भारतसम्म पुग्नुपर्ने बाध्यता थियो । 

नेपाल र भारतका रानाथारुबीच वैवाहिक सम्बन्ध लगभग शून्यजस्तै भएको अवस्था  नेपालको कैलाली, कञ्चनपुर जिल्ला जोडिएको भारतको सीमावर्ती गाउँको मात्रै समस्या होइन । झापादेखि कञ्चनपुरसम्म तराईमा वारिपारि थारु समुदायकै बसोबास रहेको छ । यो सबै क्षेत्रको समस्या हो । 

दुवै देशका थारुहरूको सभासम्मलेन भएपछि एकापसमा घनिष्टताले मात्रै वैवाहिक सम्बन्ध लगायतका कुरा पनि जोडिने हो । त्यसैले, नेपाल र भारतका थारुहरूको संयुक्त कार्यक्रम नियमित हुनु जरुरी छ । 

४. नागरिकता प्राप्तीमा समस्या

अहिलेको नागरिकता प्राप्ती लगायत कानुनले पनि नेपाल र भारतका रानाथारुबीच विवाह सम्बन्धमा फरक पारेको अवस्था छ । धनगढी उपमहानगरपालिका–१०, जुगेडाका भलमन्सा भिख्खु रानाका अनुसार अहिले दुवै देशको कानुन परिवर्तन भएको छ। उताबाट भित्र्याएका महिलालाई यहाँ नागरिकता प्राप्त गर्न त्यति समस्या छैन तर हाम्रोतिरबाट गएकालाई भारतमा धेरै समस्या छ ।

कतिपय थारु अभियन्ताले नागरिकता प्राप्ती थारु समुदायको समस्या नरहेको बताउने गरेका छन् । तर दुई देश वीचको वैवाहिक सम्बन्धले नागरिकता प्राप्तीमा समस्या रहेको इंगित गर्दछ । त्यसैले, दुई देशका प्रबुद्ध थारु वर्गले यो समस्या सल्टाउन छलफल गर्नुपर्ने देखिन्छ । 

५. माघलाई मानक पर्व

अहिले माघ अर्थात् माघी पर्वलाई थारु समुदायको नयाँ वर्ष मानिएको छ । खास गरी पश्चिम थरुहटमा सीमित थियो माघी । २०५९ सालमा नेपाल सरकारले माघी पर्वको अवसरमा विदा दिने निर्णय गरेपछि यो पूर्वी भेगमा मात्र होइन, देश विदेशमा रहने थारु समुदायमा समेत माघ मनाउने लहर चलेको छ । 

नेपाल र भारतका थारुहरूले माघलगायत पर्वलाई संयुक्त रुपमा मनाउन सके पर्वको माध्यमबाट, गीतसंगीतको माध्यमबाट भाइचाराको सम्बन्ध अझ प्रगाध हुने देखिन्छ । 

६. बरघर/गुमस्ता प्रणालीलाई जीवन्तता 

माघ पर्वको अवसरमा नेपालमा प्रत्येक थारु गाउँमा बरघर चयन गरिन्छ । एसएनभीका लागि गरिएको एक अध्ययन (सन् २००६–२००८) को सिलसिलामा भारतको विहारअन्र्तगत पश्चिम चम्पारण, जमुनिया, हरनाटाँड क्षेत्रमा यो पंक्तिकार घुम्दा त्यहाँ थारु गाउँको अगुवा गुमस्ता रहेको पाइयो, जसको काम यहाँका बरघरसँग मिल्दो जुल्दो देखियो । 

भारतका थारुहरूको मरुवा, भुँइहार थान, पूजापाठ गर्ने शैली पनि नेपालकै थारुहरूको झैं देखियो । यसले नेपाल र भारतका थारुहरूलाई सिमानाले मात्रै छुट्याएको तर जीवनशैली एकै देखिन्छ । यहाँका बरघर तथा उताका गुमस्ताहरूको संयुक्त भ्रमण गराई गाउँ सञ्चालन प्रक्रियामा आआफ्ना अनुभव आदानप्रदान गर्न सके समग्रमा दुबै देशका थारु गाउँको थप विकास हुने देखिन्छ । 

७.अन्य संस्थागत सम्बन्ध

नेपालमा विभिन्न पेशा, व्यावसायीहरूको संगठन छ । जस्तो कि थारु विद्यार्थीहरूको संगठन थारु विद्यार्थी समाज अस्तित्वमा रहेको छ । त्यस्तै, पत्रकार, लेखक, कानुन व्यावसायी, आर्ट व्यावसायी, स्वास्थ्य कर्मचारी लगायतको संगठन छ । भारतमा पनि त्यस्ता विभिन्न पेशा, व्यवसायीहरूको संगठन होला, नभए गठन गर्न सकिन्छ । र, पेशा, व्यवसायीहरूको संगठनको संयुक्त कार्यक्रम गरेर विभिन्न फलदायी काम गर्न सकिन्छ । 

यहाँ थारुहरूको छाता संगठन थारु कल्याणकारिणी सभा रहेझैं कठरिया समाज, राना थारु समाज पनि अस्तित्वमा रहेको छ । अहिले भारतीय थारु कल्याण महासंघ र थाकसबीच सहकार्य भएझैं नेपालका कठरिया समाज, राना थारु समाजलाई पनि भारतमा रहेका कठरिया समाज, राना थारु समाजसँग संयुक्त रुपमा जोड्न जरुरी छ । यसबारे प्रयास पनि हुन थालेको छ । यसले पनि वैवाहिक सम्बन्ध बढाउनेलगायत धेरै क्षेत्रमा एकापसमा काम गर्ने वातावरण बन्छ । 

८. शिक्षामा छात्रवृत्ति 

शिक्षामा पछि पर्नाले नै थारु समुदाय पछि परेका हुन् । चाहे ती भारतका हुन् या नेपालका । नेपालमा थारु आयोग गठन भएको छ, तर यसले खासै केही अधिकार पाएको छैन । निजामती ऐन नबन्दा थारुलाई लोकसेवा आयोग लगायतमा छुट्टै कोटा छुट्टिन सकेको छैन । भारतमा थारुहरूलाई उच्च शिक्षाका लागि विभिन्न छात्रबृत्ति रहेको छ । ती छात्रबृत्तिमा नेपालका थारुहरूको पनि पहुँच पुर्याउन सके यसले पनि दुइ देशका थारुबीच सम्बन्ध दिगो बनाउन थप भूमिका खेल्नेछ । 

९. वातावरण संरक्षणका लागि सम्बन्ध

वातावरण संरक्षणका लागि पनि सीमा जोडिएको नेपाल र भारतका थारुबीच घनिष्ट सम्बन्ध हुन अत्यावश्यक छ । सीमा जोडिएका कारण दुइ देशका पशुपंक्षी निर्वाध ढंगले एक अर्काको सिमानमा ओेहोरदोहोर गर्छन् । त्यसैले, वन, वातावरण, पशुपंक्षी संरक्षणका लागि पनि होस्टेमा हैंसे जरुरी छ ।

१०. निष्कर्ष

नेपाल र भारतका थारुबीच सहकार्यका आधारहरूबारे माथि चर्चा गरिएका यी केही प्रतिनिधि सामान्य बुँदा हुन् । मुख्य कुरा सिर्जनात्मक क्रियाकलापका लागि विभिन्न बहानामा नेपाल र भारतका थारुबीच संस्थागत ढंगले नियमित भेटघाट, अन्तक्रिया हुनु जरुरी छ । नेपाल र भारतका थारुबीच के के कुरामा समानता, भिन्नता छ, यसबारे बृहतर अध्ययन जरुरी छ । यसका लागि थारु अध्ययन केन्द्रको खाँचो देखिन्छ । किनकि थारुहरूले आफ्नो इतिहास आफै लेख्न सकिरहेका छैनन् ।

सुगौली सन्धिले दुई देशका थारुहरूलाई छुट्याए पनि सुगौली सन्धि अगाडि एकै परिवार थिए । त्यसैले, संस्कृतिको माध्यमले सम्बन्ध बढाई सहकार्य दिगो बनाउन सकिन्छ । थारुहरूको हक, अधिकारका लागि यो समयको माग पनि हो । 

प्रस्तुत आलेख २०७९ चैत ४ र ५ गते बर्दियाको भुरीगाउँमा ‘थारु अन्तर्राष्ट्रिय महासभा’को आयोजनामा भएको प्रथम अन्तराष्ट्रिय थारु सम्मेलनको अवसरमा प्रस्तुत अवधारणापत्रको संशोधित सार हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी
लेखकबाट थप