शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
हास्यव्यङ्ग्य निबन्ध

दूध खाने भूत

शनिबार, १८ चैत २०७९, ०८ : ०८
शनिबार, १८ चैत २०७९

आज म “दूध खाने भूतको कथा” कथुर्दैछु । यसलाई गाउँमा “भाले खाने सालेको कथा” पनि भन्दा रैछन्  ।  दूध खाने भूत भनेपनि, भाले खाने साले भनेपनि दुवैचिज खाने पात्र एउटै भएकाले पाठकलाई यो कथा बुझ्न एकरत्ति अलमल पर्दैन भन्ने मेरो विश्वास हो ।

एउटा गाउँमा घटेको साँच्चैको कथा हो यो । तर, आजभन्दा तीस वर्ष अघिको घटना हो । अहिलेको गाउँपालिका सो बखत गाविस याने कि गाउँ विकास समितिको नाममा क्रियाशील थियो । गाउँको शासन प्रशासन चलाउन टुप्पोमा एक थान अध्यक्ष र सचिव रहने व्यवस्था थियो । 

पहाडी कुनै गाविसको कुरा हो, अचम्म आदतका एक सचिव थिए । तराईबाट जागिर खान पहाड उक्लेका ती सचिव अध्यक्षकै घरमा बास बस्थे । उनको खास नाम त लोकनाथ हो तर लोकले दिलग्गी दिलग्गीमै लोर्के सचिवको उपमा पहि¥याइदिएको थियो । कहिलेकाहीँ हप्ता दश दिनको लामो छुट्टीमा मात्रै लोर्के तराईको घरतिर ओर्लिन्थे ।

    सचिवको एक विचित्रको बानी थियो– बिहान बिहान काँचो दूध पिउनुपर्ने, बेलुका बेलुका भालेको सिठनसित दुरुङपानी लिनुपर्ने । तताएको दूध होइन, काँचो दूध मनपर्ने कारण दूध तताएपछि दूधमा निहीत भिटामिन तत्व आगोले नष्ट पार्छ भन्ने मान्यता थियो उनको । फेरि उनी किनेर दूध खान नसक्ने एक नम्वरको कन्जुस लोभी थिए । 

अध्यक्षको लाल्मु नाम गरेकोे अति सुवानी लैनो गाई थियो । बिहान बेलुका जुन मान्छे ढुङ्ग्रो लिएर बसेपनि दुहुन दिइहाल्थ्यो । दुहुनमात्र होइन कि कहिलेकाहीँ केटाकेटीहरुले गाईको फाँचोमा मुखै जोडेर थुन चुस्थे, त्यसो गर्दापनि गाई टसमस नगरी दूध चुचार्न दिइराख्थ्यो । बाछासितै बच्चाहरुले कहिलेकाँही मुखैले चुस्तापनि केही गर्दैनथ्यो । त्यति सुधो गाई थियो ।

   गाईको यस किसिमको भोलाभाला चाल देखेर एकदिन सचिवले दूधको औडाहा लागेर थलैमा गएर गाईको थुनमा मुख लायो र चुस्न थाल्यो । गाई टसको मस भएन । आनन्दका साथ दूध चुस्न दियो । गाईको सुधो चाल देखेर ऊ नित्य बिहान बिहानै धर्तीमा उज्यालो खस्नु अघि गोठ पसेर दूध खान थाल्यो । 

घरबेटी अध्यक्ष बिहान ढिलढिलै उठ्थ्यो र ढुङ्ग्रो लिएर गाई दुहुन बस्थ्यो । दुहुन त बस्यो तर एकमानो दूधपनि नझर्ने । यस्तो असल गाई के चाल पा¥यो यस्तो ? भनी जोखाना हेराउन धामी भए ठाउँमा गयो । धामीले बोक्सीले टुनामुना गरेको भन्यो । टुनामुना काट्न झारफुक गरायो र पनि गाईको फाँचाबाट दूध आउँदै आएन ।

अर्काे दिन मझुवा गाउँको अर्काे विजुवाको घरमा ढोका ढक्ढक्याउन पुग्यो । जंगलीले दुःख दिएको छ, यसलाई फूलफलेदले मन्छाउनु पर्छ भन्यो । त्यो विधि पनि गरियो । तर, कुनै सुधार भएन । घरबेटी अध्यक्ष आजित भएर अन्फनाइरहेको बेला सचिवले भन्यो– होइन, सानोतिनो जोखाना त म पनि हेर्थें अध्यक्षज्यू । के खोज्छस् काना ? आँखो भयो उसलाई । काँशे थालमा अक्षता गन्दै समस्याको चुरो कारण र उपचार विधि बतायो । 

“भूतले दुःख दिएकोले यस्तो भएको हो, भाले काटी पूजा ग¥यो भने ठिक हुन्छ ।” 

बेलुकी नै रातो भाले पूजा गरेपछि भोलिपल्टबाट गाईले एक पाथी दूध दियो । अब ऊ गाउँमा नम्बरी धामीको रुपमा कहलियो र दिनभरि गाविसको काम गथ्र्याे । साँझ परेपछि झारफुक गर्न र मधौरुको उपचारमा गाउँतिर पस्थ्यो । अब उसलाई रक्सी–भाले, पाठी–परेवा कति खानु ? औलपौल हुन थाल्यो ।

दिन चारेक पछि फेरि लाल्मुले दूध दिन छोड्यो । कारण काँचो दूधको तलतलले फेरि लोर्के सचिवलाई छोडेन । फेरि आफ्नो आदतअनुसार गाईको फाँचो निखारी दिन थाल्यो । पुनः अध्यक्षले गुनासो गरे । फेरि पुरानै पूजाको जाल फाल्यो । नभन्दै साँझमा पोहोरो पूजा गरेपछि भोलिपल्ट बिहान ढुङ्ग्राभरि गाईको दूध झ¥यो । यसरी केही दिन दूध झर्ने, केही दिन बन्द हुने क्रम चलिरह्यो । घरका आठ दशवटा भालेपोथीका घँसौटी र कलेजोको सिठन बनाएर कति बोतल तीनपाने घुट्क्यायो, कुनै गन्ती भएन ।

एकदिन छेरपाटे लागेर घरबेटी अध्यक्ष झिसमिसेमै खोल्सातिर निस्कन लाग्याथ्यो; गुवालीको छेउबाटै चर्पीस्थल जानेबाटो भएकाले गाईतिर एक नजर फाल्यो । टर्चको प्रकाश सामु लोर्के सचिवको असली स्वभाव छ्याङ्छयाङ्ती देखियो । अर्थात् ऊ बाछो बनेर दूध चुसिरहेको थियो ।

घरबेटीको दिमागमा आगाको झुवाँलो फुट्यो । 

‘‘एस्सिमा ठाँस्ने ! दूध खाने भूत त यही लोर्के बज्या पो रहेछ । तेरीमा हरामी लोर्के ! दूधपनि तैँ खाने । भालेपनि तँै खाने...।” गोरु कुट्ने घँगरुका लौराले डँडाल्नामा सुम्ला उठ्ने गरी बेस्सरी सुम्ल्यायो । 

गुवालीको हल्लीखल्ली सुनेर घरबेटी आमैपनि गोठमा झरिन् । लोर्के सचिव बाछो बनेर गाईको फाँचो निखारेरको कुराले कतै नभाको पारो तातेर आयो ।

गर्नुसम्म गाली गरिन् । छानामा सिउरेको सिमलीको लठ्ठी निकालेर सुम्ल्याउन थालिन्–“जसको जौ खानु, उसकै जुँगा मोल्नु लाज पचेको नकच्चरा ! गाईको फाँचैबाट दूधपनि तैँ खाने, खोरका कुखुरापनि तैँ खाने ! भाले खाने साले ! लु खा दूध ! लु खा भाले !” बूढी सुम्ला उठ्ने गरी ढाडमा सुम्ल्याइन् । 

बूढाबूढीले मार्धूस गोदेपछि चेतबाबा काँसी हुँदै त्यहाँबाट झोला टिपेर सचिव लापत्ता भयो ।

यो कुरा एक कान दुई कान मैदान भएर जिल्लाभरि नै फैलियो । अब लोर्केको नाम कतै दूध खाने भूतको रुपमा चर्चित भयो त, कतै भाले खाने सालेका रुपमा प्रचारित भयो । एक महिनापछि सुनियो– दूध खाने भूतले जिल्लामा बसि नसक्नु भएपछि बेजिल्ला सरुवा मिलाएर उत्तैबाट टाप ठोकी हिँड्यो अरे ।

दूध खानेको कुरामात्रै किन गरुँ ? कुत खानेका कथा पनि छन् यहाँ । मूत खानेका कथा पनि छन् यहाँ । सूद खानेका कथा पनि छन् । सबैका कथा त यो सानो बसाइँमा वर्णन गर्न सकोइन । तथापि आर्थिक रुपमा अति विपन्न मुलुकको बासिन्दा भएको हुनाले सूद खाने भूतहरुको सानो चर्चा गर्दा उचितै होला । 

सयकडा साठी प्रतिशत गरिब जनता बसोबास भएको मुलुकमा ऋण खाने मान्छेको कुनै कमी छैन यहाँ । छोराको बिहे गर्न ऋण, छोरीलाई पिए बनाउन ऋण, घरको छानो टाल्न ऋण, भुँडीमा मानो हाल्न ऋण, पेटको दवाई खान ऋण, कोटको नपाइ दिन ऋण, ऋणका तरेलीहरु हिसाब गर्ने हो भने सत्र तरेलीका ऋणले नेपालीको ढाड खुस्काएको छ । ऋण दिने साहुले पनि आखिर सित्तैमा ऋण दिने होइन; सूदकै याने कि व्याजकै लोभले त ऋण दिने हुन् । 

बेलामा आसामीबाट सूद याने कि  व्याज असुल्न पाएनन् भने सूदखोरहरुले सयकडा दशले पेनाल्टी हान्ने हुन् कि हर्जाना हान्ने हुन्, त्यसको यथोचित गर्जना पैले नै गरिसकेका हुन्छन् । 

   पहिले पहिले गाउँमा कोदे साहु, धाने साहु, जिम्वाल, मुखिया, काजी सापहरुले ऋण लाउने ठेक्का पाएका हुन्थे । अहिले तिनका ठाउँ लम्बरी खालका मिटरब्याजी साहुहरुले लिएको कुरा छापाहरुमा बाक्लै पढ्न पाइन्छ । गणतन्त्र नेपालमा सूदखोर सामन्तहरु मासिए भनेको झन्झन् नवीन कलेवरमा सूदखोरहरुको उदय भैरहेको छ, यो साह्रै चिन्ताको विषय हो । 

मालिक महाजन पनि मासिएको छैन यहाँ, चाकर गुलाम पनि मासिएको छैन । बरु यी दुवै पात्र नव नव अवतार धारण गरी आआफ्नो चित्र र चरित्र उद्घाटन गर्दैछन् । अहिले सूद खाने भूतको कोटीमा छप्के ब्याजमा पैसा लाउने लाउकेदेखि घरानिँया मिटरब्याजी साहुसम्म, अनेकथरि लघुवित्त अफिसदेखि सर्वसाधारणलाई पित्तपानी हगाउने भीमकाय बैंकसम्म बदनामी कमाइरहेका छन् । 

सर्वसाधारण अकिञ्चन सोझा प्राणीको घाँटीमा गलपासो कसेर आठ प्रतिशतको लालचामा ऋण दिने र असुल गर्दा अठारदेखि अठ्ठाइस प्रतिशतसम्म पु¥याउने यिनका हुँडार–बुद्धिको खेल बुझी नसक्नुमात्र होइन कि ताज्जुब लाग्ने खालको छ । त्यसैले, यी सबै नयाँ कलेवरका नव–सूदखोरहरुलाई सूद खाने भूतको कोटीमा राख्दा कुनै फरक परोइन ।

अर्काे भूतको कुरा गर्दा मेरो दिमागमा मूत खाने भूतको सम्झना आउँछ । एकदिन राजनीतिको आँगनबाट अन्तरध्यान भएका भूतपूर्व नेताजी मूतको महिमा गाउँदै मेरो ढोकामा हाजिर भए । पहिले उनी राजनीतिक नेता थिए । प्राचीन कालको सनातन साम्यवाद ल्याउन प्रचार बाँडी हिँड्थे । आठ दश वर्ष त्यस अभियानमा लिट्टी कसेर हिँडे, त्यसबाट आशातित सफलता नमिलेपछि अहिले मूत्र–चिकित्साको महिमा गानमा लागेका रहेछन् । 

   स्व–मूत्रपानबाटै प्रत्येक नेपालीलाई स्वस्थ, तन्दुरुस्त र निरोगी राख्न सकिने एकसूत्रीय कार्यक्रम बोकेर हिँडँका रहेछन् । झोलाबाट प्रचार पम्पलेटका सामग्रीहरु देखाउँदै मलाई भने –“हेर्नुस् मित्रजी ! मूत्रपान जस्तो ठूलो महाऔषधि जगत्मा अरु के नै रछ र ? आफ्नै पिसाबमा औषधिय गुण रहेछन् । नत्र भारतका पूर्व प्रधानमन्त्री मोरारजी देसाइ किन आफ्नै पिसाब पिएर दीर्घ जीवन बाँचे ? आफ्नै मूत पिएर मेक्सिकोका मुक्केवाज म्यानुयल मार्खे किन तन्दुरुस्त बने ?” 

मोरारजी देसाइदेखि म्यानुयल मार्खेसम्म मात्र होइन कि बेलायतकी हिरोनी सराह मिलदेखि साहित्यिक स्रष्टा लेडी सालिन्गरसम्मले स्व–मूत्रपान गरेर आरोग्यता हासिल गरेका कथाहरु सुनाउन भ्याए । 

यतिमात्र होइन उनले भने– यसमा थाइराइडलाई थाल बसाउने शक्ति छ । सुगरलाई सुर्कनो कस्ने सामथ्र्य छ । किड्नी रोगलाई कच्चाक कुचुक चबाउने बल छ यसमा । त्यसैले स्व–मूत्रपान गरौँ ! निरोगी हौँ मित्र ! 

  उनका चित्ताकर्षक कुराले म जिल खाएँ । तर पनि विज्ञानले चमत्कार रचेको यो समयमा मेरो चित्तमा केही प्रश्नहरु मडारिए । मैले उनलाई सोधेँ– होइन मेरो लाटो बुद्धिले देखेको के भनेदेखि गुमूत भनेको शरीरले फालेको विकार तत्व हो । हाम्रो भोजन–पानीबाट शरीरलाई आवश्यक पर्ने तत्व यसले लिन्छ । दूषित, हानिकारक र शरीरलाई अनावश्यक पर्ने चिज दिशा, पिसाब, पसिना आदिको माध्यमबाट बाहिर निष्काशन हुन्छ । पिसाब पनि एक विकार तत्व हो । यस्तो दूषित विकार तत्व सेवनले शरीरलाई कसरी निरोग राख्ला र महोदय ?

सायद मबाट यस खालको प्रश्नको आशा गरेका थिएनन् क्यारे !

“फलामलाई काट्ने फलामै हुन्छ खोइ कुरो बुझेको त ! रोगको विकार काट्ने सामथ्र्य विकारयुक्त पदार्थ पिसाबमै हुन्छ मित्र !” सायद उनीसित मूत्रपानको अर्काे वैज्ञानिक व्याख्या थिएन कि कसो आनेकाने आनेकाने गर्दै मेरो दैलाबाट ओझेल परे ।

मूत्र महिमाकै कुरा गर्दा अर्का एक स्वघोषित योगाचार्य छन् । उनी गाउँबस्तीमा योगका आसनहरु पनि सिकाउँछन् । स्वासका अनेक आरोह–अवरोहका विषयमा भाषण पनि पिलाउँछन् । अर्थात् प्रणायामका थुप्रै पद्धतिका बारेमा भलिभाँती थाहा छ उनलाई । अनि जडीबुटीको विषयमा  धेरै थाहा छैन उनलाई । तर, गोमूत्रपानको विषयमा रिठ्ठो नबिराइ ब्याख्यान दिन भने सक्छन् । 

एकदिन बिहानै उनी पल्सर कुदाउँदै योग सिकाउन आए । उनले आसन प्रणायाम सुरु गर्न पनि भ्याएका थिएनन् । एक अल्सरपीडित मनुवा उठेर त्यसबाट मुक्त हुने उपाय सोध्यो ।

उनले धाराबाहिक रुपमा गोमूत्रपानको बखान गाउन थालिहाले । अर्की अस्थमा पीडित महिलाले पनि त्यै पाइतो आपूm दम फुलेर मर्ने हालतमा पुग्छु, के छ उपचार विधि गुरुवर ? सोधनी गरिन् । 

उनको उपचारमा पनि उनले उही गोमूत्रपानकै किस्सा हाले । कलेजोको कष्ट भगाउने कामपनि गोमूत्रपानले गर्छ अरे । मधुमेहलाई खँलास गर्ने कामपनि यै गोमूत्रपानले गर्छ अरे । उनले आखिरमा जोड दिएर सिफारिस गरे– सबै सबै रोगको अचुक ओखती गोमूत्रपान ! गोमूत्रपान ! गोमूत्रपान !! 

भारतका योगी आदित्यनाथ जो उत्तरप्रदेशमा मुख्यमन्त्रीको पदमा पनि आसिन छन् । यी गेरुवाधारी नेताले रातोगाईको सूतबाटै मूत पिएको फोटो सामाजिक सञ्जालमा भाइरल भयो । हामीले पहाडतिर ढुङ्गेधाराको पानी तिर्खा लागेको वखतमा जसरी धाराको मुखमै मुख जोडेर पिउँछौ, ठिक सोही प्रकारले योगीले योनीमा मुख गाडेर गोमूत्रपान गरेको देखियो । हुन त उनी गोरक्षाको लागि जीवन समर्पित गरेका व्यक्ति हुन् । जसले जे भनेपनि योगीको गोमूत्रपानप्रतिका आस्था र भरोसालाई यस दृश्यले किञ्चित घटाएको छैन, बरु बढाएकै छ ।

सक्रिय राजनीतिमा जानु अघि उनी गोरखपुर मठका मठाधीशै थिए । गाईको सेवा संरक्षणका जति उनी दत्तचित्त देखिन्छन् । गोमूत्रपानमा पनि उत्तिकै विश्वास रहेको देखिन्छ । गोमूत्रमा जरुर केही औषधीय तत्व हुँदो हो; नत्र यसप्रति मान्छेको भरोसा किन चरमचुलीमा पुग्दो हो र ? 

शोधको साइनो हराएको देशमा छौँ हामी । खोजको खै–खबरै नभएको देशमा बाँचेका छौँ हामी । हामी ती लाटागाँडा मनुवा हौँ, जो अरुको नक्कल गर्नमा महारथ हासिल गरेका छौँ । कार्यकारण सम्बन्ध नबुझीकनै लैबरी तालमा नाचिदिन सिपालु छौँ । अनुसन्धानमा भन्दा अनुकरणमा रम्छौँ बढी । 

त्यसैले त अझपनि खाल खालका कुरीतिबाट दंशित छौँ । किसिम किसिमका अन्धविश्वासबाट पीडित छौँ । बाउले बिरालो बाँधेर सराद गरेको देखेर, छोराले पनि त्यही क्रम दोहो¥यायो । नाति पुस्ताले पनि त्यो चलनलाई कायमै राख्यो । हाम्रा पूर्खाले के कारणले बिरालो बाँधेका थिए ? र, अहिले हामीले त्यो चलन नदोहो¥याँउदा पनि हुन्छ भन्ने कुरा मान्छेले सोच्नै सकेन । 

चाहे गाईको मूत होस्, चाहे मान्छेको मूत होस्, मूत मूतै हो । मूत खाने परम्परा, मूत छर्केर शुद्ध चोखो हुने परम्परा पनि यस्तै कुसंस्कारको गोरेटोबाट टुकुटुकु हिँड्दै हामीसम्म आइपुग्यो होला भन्ने लख काट्न सकिन्छ ।   

    यदि त्यसभित्र बैज्ञानिक कुरा छ भने त्यसलाई मान्नैपर्छ । हिन्दू धार्मिक संस्कारका अनुयायीहरुलाई हरेक संस्कारमा पुरेत बाले गहुँत पिलाउने कुरा, नौलो होइन । यो एक सनातन रीतको रुपमा घर घरमै कायम छ । न्वारान–सुतकमा गहुँतले चोख्याउने, मृत्यु– किरियामा गहुँतले शुद्ध पार्ने काम परापूर्व कालदेखि चलिआएको छ ।

हाम्रो परम्पराले तर्क–बुद्धिलाई बर्जित गर्दछ । आलोचनात्मक दृष्टिचेतलाई खोपामा थन्क्याउन निर्देश गर्छ । कोही बागीचेतले विद्रोह बोल्यो भने समाजले उसलाई उठ्नै नसक्ने गरी छाला काढ्छ । यस्तो संगीन युगसन्धिमा छौँ हामी । वैज्ञानिक विश्लेषण र त्यसको अनुशरण गर्ने कुरामा अझै कठोर बर्जना छ । जसोजसो बाहुन बाजे तसोतसो स्वाहाको होहोरेमा कुदिराखेका छौँ; नजाने कति युग अझै कुदिरहनु पर्ला । 

हैट ! दूध खाने भूतको कथा हाल्न तम्सिँदा मूत खाने भूतको बखान गाउने पो भएछु । हस् आजलाई यति नै । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप