बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
पुस्तक परिचय

सरल तर गहन कृति : नेपाली वर्ण व्याकरण

शनिबार, १८ चैत २०७९, ०७ : २९
शनिबार, १८ चैत २०७९

नेपाली भाषामा हिज्जे विवाद निकै लामो समयदेखि चल्दै आएको छ । यसको मूल कारण भाषा व्याकरण क्षेत्रमा अनुसन्धान नगरेका भाषा प्रयोक्ताहरूले आफ्नो अनुकूल व्याख्या गरेका कारणले पनि हो । 

नेपाली भाषाको प्रारम्भ र विकासका क्रममा प्रयोक्ताहरूले संस्कृत, हिन्दी, मैथिली लगायतका भाषाबाट आएका शब्दहरू जस्ताको त्यस्तै प्रयोग गरे । देवनागरी लिपि प्रयोग हुने ती अन्य भाषाका शब्दहरू नै नेपाली भाषामा मानक मान्न थालियो । 

नेपाली भाषाको विकास र विस्तार हुँदै गएपछि यस भाषाका वर्ण, व्याकरण र उच्चारणबारे अध्ययन हुन थाले । त्यसपछि नेपाली भाषाका वर्णहरू देवनागरी लिपिबाट छुट्टिए अर्थात् नेपाली भाषामा उच्चारण हुने वर्णहरू निर्धारण भए । 

नेपाली भाषाका वर्ण, व्याकरण र हिज्जेबारे अध्ययन गर्ने सीमित व्यक्ति छन्, ती मध्येका एक हुन् भाषाविद् हुन् डा माधव पोखरेल । उनले नेपाली भाषाका वर्णहरूको आधारसहित देवनागरी लिपिमा लेखिने वर्णहरूबाट नेपाली भाषाका वर्णहरूलाई छुट्याउने काम गरे । 

‘नेपाली वर्ण व्याकरण’ यस्तै विविध पक्षबारेमा गहन अध्ययन गरी तयार पारिएको कृति हो । डा. माधव पोखरेल र डा. अपर्ण पोखरेलले तयार पारेको यो पुस्तक आठ शीर्षकमा विभाजित छ । 

यस कृतिभित्र ‘प्रचलित नेपाली वर्णमाला’ शीर्षकमा नेपाली भाषाका स्वर र व्यञ्जन वर्णमालाका प्रचलित क्रमलाई उदाहरणसहित दिइएको छ । यस्तै यसभित्र स्पर्श व्यञ्जन, स्पर्श वर्ण, उच्चारणका क्रममा हुने नाकेस्वर (अनुनासिक), उच्चारण स्थान, उच्चारण प्रयत्न, घोषत्व र प्राणत्वका आधारमा वर्णहरूको वर्गीकरणका साथै उदाहरणसहित चर्चा गरिएको छ । 

यस्तै, नेपाली वर्ण निर्धारण गर्ने आधार लघुतम युग्मका सम्बन्धमा चर्चा गरिएको छ । नेपाली भाषामा ह्रस्व, दीर्घ र प्लुतका बारेमा केही जानकारी दिइएको छ । नेपाली भाषामा ह्रस्व, दीर्घ र प्लुतले उच्चारण र अर्थमा फरक पार्ने, नपार्नेबारे उल्लेख छ । 

यस खण्डमा वर्ण व्याकरणका सामान्य कुरा राखिएका छन् । सर्वसाधारण नेपालीले बुझ्ने गरेको वर्ण र भाषाविज्ञान (वर्णविज्ञान)ले परिभाषित गरेको बुझाइमा के छ भन्ने कुराबाट सुरु गरेर भाषा विज्ञानले चिनाउने वर्णसँग सम्बद्ध भएर आउने कुराहरू छन् । 

सामान्यतः नेपालीहरूले कखरा, वर्ण र अक्षर एउटै ठान्ने गरेका छन् । तर भाषावैज्ञानिक वर्णविज्ञानअनुसार यी एकदमै फरक हुन् भन्ने कुरा पहिलो खण्डले प्रष्ट पार्छ । 

यसैगरी, नेपाली सन्धिका नियमबारे उदाहरणसहित प्रस्तुत गरिएको छ । जसमा आन्तरिक सन्धि र बाह्य सन्धि, सन्धिका पाँच प्रक्रिया लोप, आगम, वर्णविकार, प्रकृतिभाव, अनुलोम सन्धि जस्ता पक्षहरूका बारेमा उदाहरणसहित प्रस्तुत गरिएको छ । स्वरमा व्यञ्जन ध्वनिको प्रभाव, नेपाली अक्षर संरचना, नेपाली अक्षरका किसिम, संस्कृत र नेपाली सन्धिमा फरक आदिबारे उदाहरणसहित दिइएको छ । 

देवनागरी लिपिको वर्ण व्याकरण शीर्षकमा विश्वका लिपिको भाषावैज्ञानिक परिचय दिइएको छ । यसमा विविध भाषाको वर्णवैज्ञानिक लेखन प्रणालीका बारेमा उल्लेख गरिएको छ । यी लेखनप्रणाली अन्तर्गतका कखरात्मक लेखन प्रणाली, अब्जद लेखन प्रणाली र आबुगिदा लेखन प्रणालीबारे चर्चा गरिएको छ । 

पुस्तकमा देवनागरी लिपि र नेपाली भाषाको वर्णविन्यासमा तालमेल, नेपाली अनुस्वरको समस्याका बारेमा चर्चा गरिएको छ । यसैगरी देवनागरी लिपि प्रयोग हुने मुख्य भाषा, कम्प्युटरमा प्रयोग हुने फन्टहरू र यस लिपिको समाज भाषाविज्ञानबारे चर्चा गरिएको छ । 

नेपाली र हिन्दी देवनागरी प्रयोगमा फरक शीर्षका यस लिपिको विकासबारे जानकारी दिइएको छ भने नेपाली र हिन्दीका हिज्जेका फरकहरूको उदाहरणसहित दिइएको छ । 

नेपाली भाषाका कतिपय प्रयोक्ताले संयुक्त अक्षर सही तरिकाले उच्चारण गर्न जान्दैनन् । कुन कुन अक्षर कसरी जोडिएर संयुक्त अक्षर निर्माण भएको हो भनेर ठम्याउन सक्तैनन् । यही समस्यालाई मध्यनजर गरेर पोखरेलद्वयले ‘संयुक्ताक्षर फुटाउनु ठिक छ ?’ शीर्षकमा लेखेका छन् । 

यस क्रममा संयुक्त अक्षरलाई फुटाउनुपर्छ भन्ने आवाज कहिलेदेखि सुरु भयो, ककसले सुरु गरे, त्यसबारे लेख्ने विद्वान्हरू को को थिए भन्ने उल्लेख गरिएको छ । त्यसभित्र लिपि विज्ञानको मूल्याङ्कन, व्याकरण विज्ञानको मूल्याङ्कन, शिक्षा वैज्ञानिक मूल्याङ्कन, मनोवैज्ञानिक, स्नायु वैज्ञानिक, संज्ञात्मक अर्थ वैज्ञानिक र साना कक्षाको सिकाइको आधार कोश वैज्ञानिक आधार जस्ता पक्षबाट यसको निरुपण गर्ने प्रयास गरिएको छ । 

नेपाली भाषामा देवनागरी लिपिको प्रयोग र परम्परा कहिलेदेखि सुरु अनि विकास भयो भनी खोज्ने कार्य ‘नेपाली हिज्जे÷वर्णविन्यासको इतिहास’ शीर्षकमा गरिएको छ । यसमा नेपाली हिज्जेमा कस्ता कस्ता व्यक्तिले कसरी फरक पार्छन् भन्ने कुरा दिइएको छ । जसमा हिज्जे नजान्ने तर नेपाली लेख्न जान्नेले गर्ने गल्ती, हिज्जे अलि अलि जान्ने तर लेख्ने बेलामा वास्ता नगर्नेले गर्ने गल्ती, हिज्जे जान्ने तर आफ्नै नियम र अनुशासन पालन गर्ने विद्वान्का लेखाइमा अनेकरुपता र अभिलेखहरूमा भएको अनेकरुपता जस्ता पक्षहरूलाई केलाइएको छ । 

साथै, हिज्जे लेखाइमा गरिएका प्रयासहरूको इतिहासलाई पनि सङ्क्षिप्त रुपमा प्रस्तुत गरिएको छ । यसैगरी नेपाली वर्णविन्यास र हिज्जेमा फरक छ भन्ने आधारहरू दिँदै ‘नेपाली हिज्जेको समीक्षा’ शीर्षकमा चर्चा गरिएको छ । 

‘वर्ण व्याकरणको इतिहास’ शीर्षक ध्वनिको अनुसन्धान कहिलेदेखि सुरु भयो, त्यसको इतिहासलाई समेटिएको छ । यसभित्र नेपालको मात्र नभई विदेशी व्याकरणको समेत इतिहास प्रस्तुत छ । 

अतः नेपाली भाषाका वर्ण र व्याकरणका प्रकृति र प्रवृतिबारे अध्ययन अनुसन्धानका लागि यो कृति उपयोगी छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको करिब २४० पृष्ठको यो कृतिको मूल्य ३१० रुपियाँ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप