नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पाले कुल भूभागको ५.३६ प्रतिशत ओगटेको छ । समुद्री सतहबाट १५२५ मिटरदेखि अधिकतम ७७५४ मिटरको उचाइसम्म फैलिएको छ ।
डोल्पाको सिमाना धौलागिरि (८,१६७ मिटर) शृङ्खलाले दक्षिण र उत्तरमा घेरिएको छ । पश्चिममा सिस्ने हिमाल र कान्जिरोवा (६८८३ मिटर) हिमाल र उत्तरमा तिब्बती पठारले डोल्पा क्षेत्रलाई घेरेको छ ।
प्राकृतिक सुन्दरता, सम्पदा, जैविक विविधता, भाषिक विविधता र ऐतिहासिकताले भरिपूर्ण भए पनि राज्यको पछौटेपनको कारणले अझै पनि हरेक क्षेत्रमा पछाडि नै परेको छ । यहाँका ठूली भेरी, सुलीगाड, तराप खोला र जगदुल्ला नदीमा धेरै पानी बगे पनि डोल्पाको अवस्थामा तात्त्विक सुधार भएको छैन ।
डोल्पामा तीन हजार मिटरभन्दा माथिको उचाइमा रहेको भूभागको हिस्सा सबैभन्दा बढी छ । यहाँको भू–बनावटलाई उपल्लो डोल्पा, मध्य डोल्पा र तल्लो डोल्पामा विभक्त गर्न सकिन्छ ।
उपल्लो डोल्पाले जिल्लाको क्षेत्रफलको ७० प्रतिशतभन्दा बढी भू–भाग ओगटेको छ । जसमा छार्का ताङसोङ गाउँपालिका ३४५.५८ वर्ग किमि, डोल्पो बुद्ध गाउँपालिका ३७७.३८ वर्ग किमि, शे फोक्सुण्डो गाउँपालिका १२३.१ वर्ग किमि र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज ३५५५ वर्ग किमि रहेका छन् ।
उपल्लो डोल्पाको आफ्नै विशिष्ट पहिचान र इतिहास छ । ११औँ शताब्दीमा स्थापना भएको शे–गुम्बा उपल्लो डोल्पाको आध्यात्मिक हृदयका रूपमा रहेको छ । भूतात्मा र राक्षसी शैलीका विरुद्ध जितको प्रतीकका रूपमा हरेक बाह्र वर्षमा मनाइने शे–मेलाले यहाँको विशिष्टतालाई झनै उजागर गरेको छ ।
डोल्पो जनजातिहरूले माथिल्लो डोल्पा, मध्य डोल्पा, तल्लो डोल्पा र अन्य जिल्लाका पहाडी क्षेत्रमा रहेका जातिहरूसँग सम्बन्ध जोड्ने काम तिनीहरूको परम्परागत भोटे नुन र ऊनको व्यापारबाट भएको पाइन्छ ।
डोल्पो हिमाल र डोल्पो जातिसँग डोल्पा जिल्ला अन्तर सम्बन्धित छ । ३६०० मिटर भन्दा उचाइमा उपल्लो डोल्पामा मुख्यतः ४ वटा उपत्यका रहेका छन् । जसमा छार्कामा सार्का भ्याली, धोमा तराप भ्याली, तिन्जेमा पाञ्जाङ भ्याली र साल्दाङमा नाङखोङ भ्याली रहेका छन् ।
यी भ्यालीहरूले उपल्लो डोल्पाको सौन्दर्यमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । डोल्पासम्मको पदयात्राले बेदाग प्राकृतिक सौन्दर्य र पुरानो संस्कृति परम्परा भएका निर्दाेष भोटे समुदायहरूको वास्तविकता अनुभव हासिल गर्न सकिन्छ ।
कला, संस्कृति, सभ्यता र वेशभूषाको खानीका रूपमा रहेको तिब्बती बौद्ध बोन र हिन्दू संस्कृति तथा परम्परासँग सम्मिश्रण रहेको जीवनशैली उपल्लो डोल्पामा पाइन्छ ।
डोल्पाको प्राकृतिक मनोरमता र हिउँको च्यादर ओढेका हिमालहरूको दृश्य संसारको जुनसुकै परिदृश्यमा अतुलनीय छ । यहाँको प्राकृतिक सौन्दर्य र संस्कृति, जीवनशैली र आर्थिक गतिविधिले सबैलाई सधैँ आकर्षित गर्दछ ।
सन् १९९९ मा फ्रान्सेली चलचित्रकर्मी एरिक भ्यालीद्वारा निर्देशित ओस्कारमा मनोनीत चलचित्र ‘हिमालय क्याराभान’ले उपल्लो डोल्पाको सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशलाई चित्रण गरेको छ । यसले डोल्पालाई विश्वमा परिचित गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
सन् १९५९ सम्म नेपाल र तिब्बतको सीमा खुला भएकाले मानिसहरू सजिलै वारपार गर्दथे । त्यतिबेलादेखि नै उपल्लो डोल्पाका डोल्पो जनजातिहरूको तिब्बतसँग सामाजिक, व्यापारिक तथा सांस्कृतिक सम्बन्ध रहेको छ ।
उपल्लो डोल्पाको परिदृश्य, भाषा र संस्कृति तिब्बती पठारसँग मिल्दोजुल्दो भएकाले तिब्बतसँग अन्योन्याश्रित सम्बन्ध रहेको प्रमाणित हुन्छ । बोन धर्मको बाहुल्यताका कारणले पनि यहाँका मानिसहरू तिब्बतबाट आएका हुन् भन्ने अनुमान गर्न सकिन्छ ।
उपल्लो डोल्पाको पदयात्रा मुस्ताङको कागबेनीबाट सुरु भई धुलुङपाडाँडा पास भएर उपल्लो डोल्पा ग्रेट हिमालयन ट्रेल पछ्याउँछ । उपल्लो डोल्पा क्षेत्रका प्रमुख आकर्षणहरू शे गुम्वा, शे फोक्सुण्डो ताल, शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र विश्वकै अग्लो उचाइमा रहेका मानव बस्ती हुन् । यहाँ धार्मिक पर्यटनको उत्तिकै सम्भावना छ ।
धार्मिक आकर्षण र सम्भावना
उपल्लो डोल्पाको प्रमुख धर्म तिब्बती बौद्ध बोन धर्म हो । बोन अनुयायीहरूले बोनलाई बुद्ध धर्मभन्दा छुट्टै धर्म मान्ने गर्छन् । बोन धर्म तिब्बतमा बुद्ध धर्मको आगमनको पूर्व नै रहेको पाइन्छ, यो ११ औँ शताब्दीमा बौद्ध धर्मको पुनरुत्थानसँगै सुरू भएको थियो ।
उपल्लो डोल्पा तिब्बतसँग जोडिएको हुनाले त्यहाँको धर्म र जीवनशैलीले निकै प्रभाव पारेको छ । यसले धार्मिक पर्यटकहरूका लागि थप आकर्षक बनाएको छ ।
त्यस्तै, ४,२०० मिटरमा रहेको शे गुम्बा ११ औँ शताब्दीको तिब्बती बौद्ध विहार हो, जुन उपल्लो डोल्पाको नाङखोङ उपत्यकाको मुटुमा अवस्थित छ । यहाँ आउनको लागि पदयात्रा गर्दै कांगा ला (५,१५१ मिटर) पास पार गरेर ट्रान्स हिमालयन क्षेत्रको सबैभन्दा अग्लो बाटोको यात्रा गर्ने साइत जुर्छ । गुम्बाबाट हिउँले ढाकिएका सेता हिमालहरू र टाढा टाढाका मनोरम परिदृश्यको दृश्यावलोकन गर्न सकिन्छ ।
पर्यटकीय आकर्षण र सम्भावना
उपल्लो डोल्पा नेपालीमन र नेपालीपन, प्राकृतिक सौन्दर्य र संस्कार, मौलिकपन, भेषभुषा, रहनसहन र संस्कृति मौलिक स्वादको खानाको कारणले पर्यटकलाई आकर्षित गर्ने क्षेत्र हो । यसका साथै यहाँ विभिन्न तालतलैया, हिमताल, उपत्यका, पठार र चौरीचरण क्षेत्र रहेका छन् ।
क) शे फोक्सुण्डो ताल
३,६११.५ मिटर (११,८४९ फिट) को उचाइमा रहेको १६७ मिटर गहिरो अल्पाइन ताजा पानीको शे फोक्सुण्डो ताल डोल्पाको प्रमुख आकर्षणमध्ये एक हो । यो ताल अल्पाइन हावापानी क्षेत्रमा रहेको र पानी निकै चिसो भएकाले कुनै पनि जीवजन्तुहरू पाइँदैनन् । तालको किनारमा ९ सय वर्ष पुरानो बोन्पो अनुयायीहरूको ऐतिहासिक त्शोवा गुम्बा रहेको छ । हरेक वर्ष बोन्पो धर्मका अनुयायीहरूले आ–आफ्ना देवताको यहाँ पूजा–आराधना गर्न आउने गर्छन् ।
ख) हिमाली वन्यजन्तु र वनस्पति
उपल्लो डोल्पा पदयात्राको केही भाग शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्छ, यहाँ धेरै वनस्पति र जीवहरू छन् । यहाँ रोडोडेन्ड्रन, सेतो हिमालयन बर्च, नीलो पाइन, भोजपत्र, तालिसपत्र, खस्रु, सुनपाती, देवदार, हेमलक, जुनिपर र स्प्रससहित सयौँ विभिन्न प्रजातिका बोटबिरुवा र वनस्पति छन् ।
निकुञ्जमा धेरै लोपोन्मुख वन्यजन्तुका प्रजातिहरू नाउर, हिउँ चितुवा, खैरो ब्वाँसो र कस्तुरी मृग आदि छन् । अन्य वन्यजन्तुहरूमा पहेंलो गलाको मार्टेन, हिमालयन तहर, चितुवा, स्याल र हिमालयन कालो भालु आदि रहेका छन् । साथै यहाँ २ सय प्रजातिका चरा, २९ प्रजातिका पुतली र ६ प्रजातिका सरीसृप पनि रहेका छन् । यो क्षेत्र यार्सागुम्बाको लागि घर हो ।
ग) छार्का भोट र धो तराप बस्ती
उपल्लो डोल्पाको अद्भुत आकर्षण पृथ्वीको सबैभन्दा अग्लो बस्ती छार्का भोट (कतै धो तराप लेखिएको) हो । यो गाउँ ४,४१० मिटर उचाईमा छ । यो गाउँमा सन् १४०० मा निर्माण गरिएको साचेनलगायत अन्य गुम्बा रहेका छन् । मुस्ताङबाट उपल्लो डोल्पा आउने प्रवेश विन्दुको रूपमा रहेको छार्का भोटले मुस्ताङबाट सुरु हुने हिमालयन ट्रेललाई जोड्दछ ।
धो तराप समुद्री सतहबाट ३,९०० मिटरदेखि ४,२०० मिटरको उचाइमा रहेको, १७ औँ शताब्दीसम्म नेपाल एकीकरण हुनु पूर्व उपल्लो डोल्पाको केन्द्रको रूपमा रहेको थियो भन्ने जनश्रुति छ । डोल्पोका विभिन्न नौवटा गाउँबाट एक दिनको यात्राको दुरीमा पुग्न सकिने धो तराप निकै रणनीतिक केन्द्रमा रहेको छ । यहाँ बोन संस्कृतिलाई अनुशरण गरिने हुँदा विभिन्न मठ रहेका छन् ।
यहाँ आलु, जौ, उवा, तिते फापरको खेती गरेर जीवन निर्वाह गरिन्छ । ऊनको उत्पादन गर्न र मासुका लागि याक, भेडा च्याङ्ग्रा पालन गरिन्छ । याकको दूधबाट छुर्पि पनि बनाइन्छ । नुन र ऊन तथा अन्य सामानको व्यापार तिब्बतसँग गरिन्छ । यो क्षेत्र पदयात्राको लागि विश्वमै उत्कृष्ट रहेको छ ।
घ) सुलीगाड झरना
सुली गाड झरना डोल्पामा हेर्ने अर्काे आकर्षण हो। फोक्सुण्डो तालको दक्षिणी छेउमा रिङ्मो गाउँको छेउ भएर बाँध बाँधेसरि तालबाट पानी बगेको छ । यो झरनाको उचाइ १६७ मिटर छ ।
ङ) शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
हिमालय पार क्षेत्रमा अवस्थित एउटा मात्रै शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले डोल्पाको अधिकांश भूभाग ओगटेको छ । तल्लो डोल्पादेखि उपल्लो डोल्पा क्षेत्रमा फैलिएको यो निकुञ्ज उच्च उचाइमा पाईने वनस्पति र जीवजन्तुका लागि आश्रयस्थल हो। निकुञ्जको पदयात्राले दुर्लभ जनावर, चराचुरुङ्गी, पुतली हेर्ने अवसर पनि दिन्छ।
अलौकिक संस्कृति र संस्कारहरू
डोल्पो क्षेत्रमा एक महिलाले एकभन्दा बढी पति राख्ने बहुपति प्रथा प्रचलन छ । यहाँ खेती किसानीले नधानेर लामो समयसम्म व्यापारमा खटिनुपर्ने बाध्यताका कारणले उपल्लो डोल्पामा धेरैले बहुपतिप्रथा अबलम्बन गरेको थिए । सबै भाइकी पत्नी एउटै हुँदा घरपरिवार केन्द्रमा रहने तथा अतिरिक्त अन्न जोहो गर्नु नपर्ने सहजता थियो ।
बहुपति प्रथाले यहाँका बासिन्दालाई भौतिक स्रोतको व्यवस्थापन गर्न सघाएको थियो । यो प्रथा रहर भन्दापनि बाध्यताको रूपमा रहेको थियो । समय र सरोकारवालाको ज्ञानसँगै यो अनौठो संस्कृति क्रमशः परिवर्तन हुँदै गइरहेको छ ।
उपल्लो डोल्पा क्षेत्रको अर्काे विशिष्ट संस्कृति भनेको अन्त्येष्टि प्रथा हो, जुन अन्य क्षेत्रभन्दा फरक छ । यहाँ कसैको मृत्यु हुँदा लामा –पूजारी)ले मृतकको कुण्डली हेरेर अन्त्येष्टि गर्ने विधि तय गर्ने गरिन्छ। कतिपय शवको दाहसंस्कार गरिन्छ भने कतिपयलाई जलाएर खरानी बनाइन्छ । कसैको टुक्रा टुक्रा पारेर गिद्धलाई खुवाउने गरिन्छ ।
त्यस्तै, हरेक वर्ष भदौ पूर्णिमामा शे मेला लाग्ने गर्दछ । भूतात्मा र राक्षसी शैलीका बिरुध्द जितको प्रतीकको रूपमा हरेक बाह्र वर्षमा विशेष रूपमा मनाइने क्रिष्टल शे मेलाले यहाँको विशिष्टता र मौलिकतालाई उजागर गरेको छ ।
जडिबुटी र पशुपालनको सम्भावना
डोल्पामा जटामसी, पाँचऔले, पदमचाल, चिराईतो कटुके, सुगन्धवाल, हिमाली लसुन, गुछी च्याउ, रातो च्याउ र यार्सागुम्बा लगायतका बहुउपयोगी र बहुमूल्य जडीबुटीहरू पाइन्छन् । यार्सागुम्बा यहाँको प्रमुख आर्थिक स्रोतको रूपमा रहेको छ ।
भोटे नुनको व्यापार हुने बेलादेखि नै उपल्लो डोल्पामा पशुपालन मूख्य पेशाको रूपमा रहदै आएको छ । यो क्षेत्रमा नून, अनाज बोक्नको लागि याक, जोपा, घोडा, भेडाच्याङ्ग्रा पाल्ने गरिन्थ्यो । सन् १९५९ सम्म तिब्बतबाट नुन ल्याएर भेरी नदी वरपरका मध्य पहाडी क्षेत्रहरूमा अन्नसँग सट्टापट्टा गर्थे ।
अहिले पनि पशुपालनले यहाँको जीविकोपार्जनको लागि उल्लेख्य योगदान पुर्याएको छ । भेडापालनबाट ऊन उत्पादन गरी बख्खु, दोचा, कम्बल जस्ता लत्ताकपडा बनाइन्थ्यो । यी पोशाक हाल लोप हुँदै गएका छन् ।
प्रमुख समस्या
डोल्पामा शिक्षा, स्वास्थ्य, सडक सञ्जाल र विद्युतीकरणको पहुँच, सम्पदाको संरक्षण नहुनु लगायत समस्या छन् ।
डोल्पामा २०३२÷३३ सालमा स्थापना भएका विद्यालयहरू अहिलेसम्म पनि ५ कक्षाभन्दा माथि उक्लिन सकेका छैनन् । उपल्लो डोल्पामा व्यवस्थित रूपमा सञ्चालन भएका विद्यालयह दाताहरूको सहयोगमा निर्भर छन् । डोल्पो (भोटे) समुदायको भाषा, लिपि, संस्कृति, कला, साहित्य र सम्पदाहरूको संरक्षण र विकास गर्नुपर्ने देखिन्छ ।
स्वास्थ्य संस्था भन्दा धेरै टाढा छरिएका बस्ति र स्वास्थ्य संस्थामा हुने औषधी उपकरण औजारहरूको अभावले गर्दा सधैँजसो आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ । अकालमा सुत्केरी, गर्भवती र नवजात शिशुले ज्यान गुमाउनु पर्ने बाध्यता छ ।
परम्परागत बोन बौद्ध धर्मालम्बीहरूको आम्ची उपचार प्रणाली प्रतिको विश्वासले गर्दा पनि स्वास्थ्य सेवा प्राथमिकतामा परेको छैन ।
उपल्लो डोल्पा लगायतका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको कारणले हिमपात कम हँुदा जौ, फापर, आलु खेतीमा असर पुगेको छ। पानीको मात्रामा कमी आएको छ ।
नाउर र हिमचितुवा लोप हुने अवस्थामा पुगेका छन् । यार्सागुम्बा लगायतका बहुमूल्य जडिबुटीहरू कम मात्रामा पाइने र लोप हुने अवस्थामा पुगेका छन् ।
उपल्लो डोल्पा सडक सञ्जालसँग अझैसम्म नजोडिदा र पूर्वाधारहरूको विकास नहुँदा त्यसको प्रत्यक्ष असर जनजीवनमा परेको छ । सडक सञ्जाल नपुग्नाले सामान ढुवानीका लागि घोडा खच्चड र चौरीमा निर्भर हुनु परेको छ । हाल स्थानीय सरकारबाट वातावरणीय प्रभाव मूल्याङ्कन विना सडक खन्ने, अन्य संरचना निर्माण गर्ने प्रक्रियाले थप विपद् निम्त्याउने देखिन्छ । विद्युतीकरणमा सिंगो डोल्पा जिल्ला राष्ट्रिय प्रसारणसँग जोडिएको छैन ।
उपल्लो डोल्पामा भएका परम्परागत धार्मिक र ऐतिहासिक पुरातात्विक सम्पदाको संरक्षण भएको छैन । वुद्ध धर्मका दर्जनौँ धार्मिक ग्रन्थहरू र प्राचीन मूर्तिहरू चोरी भएका छन् ।
निष्कर्ष
सन् १९६० मा राजा महेन्द्रले मनाङेहरूलाई विशेष राहदानीको व्यवस्था गरेजस्तै उपल्लो डोल्पालीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पहुँचको लागि विशेष राहदानीको व्यवस्था गर्नुपर्ने र व्यापार व्यवसायको प्रबद्र्धन, कृषि बस्तुको बजारीकरण गर्नुपर्ने देखिन्छ ।
त्यस्तै, राज्यका विभिन्न निकायमा उपल्लो डोल्पाको प्रतिनिधित्वका लागि आरक्षण र सकारात्मक विभेदको रणनीति अबलम्बन गरि कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
मुस्ताङ–कागबेनी, साङ्ट–याकखर्क, छार्का–तिन्जे, धो हँुदै साल्दाङ सम्मको सडक मार्गलाई प्राथमिकता दिई ट्रयाक खोल्नु पर्ने र राष्ट्रिय करिडोरको रूपमा विकास गर्नुपर्ने अर्को आवश्यकता हो ।
पर्यटन विकास र प्रवद्र्धनको लागि उपल्लो डोल्पाको रैथाने खानासहित होम स्टेको प्रवद्र्धन, भएको पदमार्गको व्यवस्थापन र नयाँ पदमार्गको पहिचान र खोजी गर्नुपर्ने देखिन्छ ।
अन्तमा, वैविध्यपूर्ण प्राकृतिक छटा, विपुल जैविक विविधता र जीवन्त संस्कृतिको धनी डोल्पा पर्यटकको लागि रोजाईको केन्द्र बन्नुपर्छ । यस क्षेत्रको प्राकृतिक पक्ष र संस्कृति परम्पराको संरक्षण गर्दै हिमाली पाखा, पखेराको जीवनशैली, सुखदुःख, संस्कृतिको अनुभव र अनुभूति गर्दै उपल्लो डोल्पाको विकास र सम्वृद्धिमा सहयोग गर्नु जरुरी भएको छ । विशिष्ट भूगोल र क्षेत्रको विकासका लागि तीनै तहको सरकार, नागरिक समाज, निजी क्षेत्र र गैरसरकारी संस्थाहरूको समन्वय र सहकार्य अपरिहार्य छ ।
लेखक छार्का ताङसोङ गाउँपालिका, डोल्पाका प्रमुख प्रशासकीय अधिकृत हुन्
प्रतिक्रिया