रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज मिति २०७९ साल चैत महिनाको १७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–
१. मन्त्रिपरिषद् विस्तार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो कसरतपछि मन्त्रिपरिषद् पुनगर्ठन गरेका छन् । प्रधानमन्त्री भएको तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नेक्रममा एकै पटक १२ जना मन्त्रीले शपथ लिएका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री गरेर १७ जना उनको सारथि भएका छन् । सत्ता साझेदार दलभित्रै समझदारी बन्न नसक्दा ६ मन्त्रालय अझै रिक्त रहेका छन् ।
कांग्रेसको भागमा परेका ४ मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबाट एक–एक मन्त्रालय रिक्त भएका छन् । यद्यपि जनमत पार्टीका खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएकाले अन्योल भएको छ ।
२. को–को बने मन्त्री ?
नवनियुक्त १२ जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री छन् । त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।
जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । त्यस्तै लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
३. कांग्रेसमा विवाद
मन्त्रीको भागबण्डाको विवाद कांग्रेसमा देखिएको छ । सभापति शेरबहादुर देउवाले इतर पक्षलाई दुई वटा मात्रै मन्त्री दिएपछि विवाद भएको हो । जसका कारण आज इतर पक्षका कोहीपनि मन्त्री बनेनन् ।
४. नवनियुक्त मन्त्रीले सम्हाले पदभार
नवनियुक्त मन्त्रीहरुले शुक्रबार शपथपछि पदभार ग्रहण गरेका छन् । सिंहदरबारमा पुगेर नवनियुक्त मन्त्रीहरुले पदभार सम्हालेका हुन् ।
५. नेपाल विजयी
नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ। खेलको अन्तिम समयमा मनिष डाँगीले गरेको निर्णायक गोलको सहयोगमा नेपालले लाओसलाई हराउँदै विजय हासिल गरेको हो ।
शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ८७ औं मिनेटमा डाँगीले गोल गरेपछि नेपाल २–१ ले विजयी भएको हो ।
६. जनमतका मन्त्रीको राजीनामा
जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामाबुझाएका छन् । मन्त्री खानले शुक्रबार राजीनामा दिएका हुन् । मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्षा गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिएका जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए ।
७. कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेसभाको नवौँ बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् ।
८. एसईई परीक्षा
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । पहिलो दिनको परीक्षा निकै शान्त वातावरणमा सम्पन्न भएको छ । विगतको जस्तो परीक्षार्थीलाई निष्कासन गर्नुपर्ने, केन्द्राध्यक्ष, निरीक्षकलाई निलम्बन गर्नुपर्ने जस्ता घटना भने न्यून रहे ।
केही जिल्लामा सामान्य घटनाबाहेक देशभरको परीक्षा शान्त वातावरणमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालय उप–परीक्षा नियन्त्रक भक्त बहादुर गोदारले यो वर्ष पहिलो दिनको परीक्षा एकदम सहज वातावरणमा सम्पन्न भएको बताए ।
९. स्वास्थ्यको बजेट घट्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षभन्दा बजेटको सिलिङ कम पाएको छ । मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८०– ८१ का लागि जम्मा ४१ अर्ब ४५ करोड ७१ लाख बजेटको सिलिङ तोकिएको हो । राष्ट्रिय योजना आयोगले हाल स्वास्थ्य मन्त्रालयका लागि तोकिएको बजेटको सिलिङ चालू आवभन्दा करिब २८ अर्ब कम हो । बजेट सिलिङ तोक्दा ९ वटा मन्त्रालयको बजेट घटाइएको छ ।
१०. थप समाचार
नेकपा एमालेको ‘ग्रास रुट’ अभियानका बिच सुदूरपश्चिम प्रदेशमा आन्तरिक द्वन्द्व चुलिएको छ । पार्टीको आन्तरिक सुदृढीकरण र जनजागरणको उद्देश्यले सुरु गरिएको अभियानमै पार्टीभित्र फुट देखिनुका साथै आन्तरिक कलहलाई सतहमा ल्याएको हो ।
केही दिन यता सुदूरपश्चिममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र डा। भीम रावल पक्षबीच कडा टकराबको स्थिति सिर्जना भएको छ । अन्ततः एमाले नेता रावल र उपाध्यक्ष विष्णु पौडेलले धनगढीमा पत्रकार सम्मेलन नै गरेर एक अर्काप्रति कडा टिप्पणी गरे ।
राष्ट्रिय मानवअधिकार आयोगले गृह मन्त्रालयद्वारा गत साउन २७ गते गठित मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलबाट प्रस्तुत प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।
पत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि २९ वटा संशोधन प्रस्ताव परेको छ । गत फागुन २५ गते प्रतिनिधि सभामा दर्ता भएको यो विधेयकमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल भइसकेको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा ठूलाठूला समस्या र चुनौतीहरू बढिरहेको बताएका छन् ।
शुक्रवार रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि ठूलाठूला समस्याहरु र चुनौतीहरू खडा भइरहेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महिनाको बीचमा आर्थिक र सुशासनमा गुणात्मक सुधार आएको बताएका छन् । शुक्रवार रिपोर्टस क्लबको रजत महोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले समृद्धि र सुशासनमा गुणात्मक सुधार आएको दाबी गरेका हुन् ।