शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

राष्ट्रिय हित कुण्ठित हुनेगरी कुनैपनि गतिविधि नगर्न नवनियुक्त गृहमन्त्री श्रेष्ठको निर्देशन

शुक्रबार, १७ चैत २०७९, १९ : ४२
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्र राष्ट्रिय हित कुण्ठित हुनेगरी कुनैपनि गतिविधि गर्न नदिन निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयमा पदबहालीपछि मातहतका सुरक्षा निकाय र कर्मचारीहरुलाई मन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हित कुण्ठित हुनेगरी कुनै काम गर्न नदिन निर्देशन दिएका हुन् ।  

उनले सीमा सुरक्षामा अब्बल साबित हुनेगरी काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।   उनले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने आफ्नो पहिलो कर्तव्य ठानेर काम गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले राष्ट्रिय हित विपरीतका गतिविधि रोक्ने र त्यसप्रकारको गतिविधि हुन नदिनेगरी काम गर्न निर्देश गरे ।  

मन्त्री श्रेष्ठले नागरिकहरुको शान्ति, सुरक्षा र अमनचयनमा मन्त्रालयको तर्फबाट कुनैपनि कमजोरी हुननहुने बताए । उनले शान्ति सुरक्षा कायम गर्न मन्त्रालयको तर्फबाट कुनैपनि नकारात्मक परिणाम आउन नदिन सचेत गराए । आम सर्वसाधारणले स्वतन्त्रतापूर्वक जीवनयापन गर्न, हिँड्डुल गर्न, व्यवसाय गर्न र संविधानले दिएको अधिकार उपभोग गर्न पाउनुपर्ने भन्दै त्यसमा पनि कमी कमजोरी हुन नदिन उनले निर्देशन दिए ।  

मन्त्री श्रेष्ठले देशका सच्चा नागरिकले छिटोभन्दा छिटो नागरिकता पाउने कुरालाई सुनिश्चित गर्ने बताए । उनले नागरिकलाई नागरिकताको प्रमाणपत्र दिन ढिलाइ नगर्ने बताए ।  

मन्त्री श्रेष्ठले महिला हिंसा अन्त्य गर्न नयाँ ढंगले तीव्रताका साथ अघि बढ्नुपर्ने भन्दै सोही अनुरुप कार्ययोजना बनाउन निर्देशन दिएका छन् । त्यस्तै भ्रष्टाचारमा आफूले शुन्य सहनशिलता अपनाएको भन्दै भ्रष्टाचारको छिटा कतै पर्न नदिन मातहतका कर्मचारीहरुलाई आग्रह गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप