नारायणकाजी श्रेष्ठ : १५ वर्षमा एसएलसी पास गरेका गृहमन्त्री
काठमाडौँ । नारायणकाजी श्रेष्ठले दोस्रो पटक गृह मन्त्रालयको कमाण्ड समालेका छन् । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ यसअघि २०६८ मा केही दिन गृहमन्त्री भएका थिए । २०६८ मा २८ दिन गृह मन्त्री बनेका श्रेष्ठले शुक्रवार दोस्रोपटक गृह मन्त्रालयको नेतृत्व समालेका हुन् ।
पुस ११ मा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका श्रेष्ठलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनको क्रममा गृहको जिम्मेवारी दिए । गृह मन्त्री श्रेष्ठले सुराकीको नाममा मन्त्री र सचिवले खर्च गर्ने प्रचलन खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेका छन् । उनले मिटरब्याज समस्या समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठनको प्रस्ताव पनि मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेका छन् ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ १८ वर्ष भूमिगत भए । भूमिगत हुँदा ‘प्रज्ज्वल’, ‘नरेन्द्रमान’, ‘दिपक’, र ‘प्रकाश’ नामबाट उनले राजनीतिक गतिविधि गरेका थिए । श्रेष्ठ २०६५ मा सार्वजनिक भएका हन् । गोरखाको जौबारीमा जन्मे हुर्केका नारायणकाजी काठमाडौँको बालाजु स्थित सिद्धार्थ वनस्थलीको पूर्व शिक्षक हुन् । केही समय उनले हेल्थपोष्टमा पनि काम गरेका थिए । श्रेष्ठसँग पत्रकारिताको पनि अनुभव छ । राजनीतिसँगै उनले मूल्याङ्कन र गर्जन पत्रिकाको सम्पादन गरेका थिए ।
त्यतिवेला ‘फलामे ढोका’ मानिने एसएलसी परीक्षामा सहभागी हुने बेलामा श्रेष्ठको उमेर पुगेन । उमेर नपुगेपछि उनको जन्ममिति थप गरिएको थियो । उनले १५ वर्षमै एलएलसी पास गरेका हुन् ।
नारायणकाजी श्रेष्ठको चार पुस्ता अगाडिको पुर्खा उपत्यकाको पाटनबाट जौबारी पुगेको थियो । पाँच दाजुभाई मध्ये उनी ठुलोकान्छो हुन् । श्रेष्ठले १० कक्षासम्म गाउँकै स्कुलमा पढेका थिए । उनले जनप्रशासन विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिएका छन् । अर्थशास्त्रमा स्नातक गरेका नारायणकाजीले मेडिकल साइन्सको पनि प्रारम्भिक शिक्षा लिएका छन् ।
निकटस्थहरुका अनुसार उनी अनौपचारिक अध्ययनलाई बढी जोड दिन्छन् । श्रेष्ठले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादबारे गहिरो अध्ययन गरेका छन् । लेनिनले लेखेको ‘राज्य र क्रान्ति’ उनलाई मनपर्ने पुस्तक हो ।
उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले ४ वटा पुस्तक लेखेका छन् । उनको क्रान्तिकारी माक्र्सबाद र नेपाली क्रान्ति भाग—१, माघ १९ र क्रान्तिकारी कार्यनीति, माओवादी र माओवादी जनयुद्घबारे तथा क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति –भाग २ पुस्तक प्रकाशित छन् ।
श्रेष्ठ सानोदेखी नै विद्रोही स्वभावका थिए । शुरुवाती राजनीतिक जीवनमा नेपाली कांग्रेसका सक्रिय श्रेष्ठ कांग्रेसले सामन्तवादसँग सम्झौता गरेको भन्दै कम्युनिस्टमा आन्दोलनमा लागेका हुन् ।
कलिलो उमेरमै जेल
श्रेष्ठ सानो उमेरमै जेल परे । २०३६ सालमा पञ्चायतविरुद्ध विद्यार्थी गतिविधिमा लागेको भन्दै उहाँलाई पक्राउ गरेर सेन्ट्रल जेलमा राखिएको थियो । त्यहाँबाट छुट्नासाथ उनलाई फेरि पक्राउ गरेर गोरखा जेलमा राखिएको थियो । २०४५ मा राजकाज मुद्दामा उनलाई ललितपुरस्थित डिएसपी कार्यालयको हिरासतमा राखिएको थियो ।
नेकपा चौथो महाधिवेशन (चौम)मा संगठीत श्रेष्ठलाई गोरखाका कम्युनिस्ट नेता श्रीनाथ अधिकारीले २०३८ सालमा पार्टी सदस्यता दिएका थिए । मोहनविक्रम सिंह र निर्मल लामाबीचको मतभेदले ०३९ सालमा पार्टी विभाजन भएपछि उनी चौमको काठमाडौँ जिल्ला समिति सदस्य भए । श्रेष्ठ २०४३ सालतिर केन्द्रीय सदस्य भएका हुन् ।
२०४८ सालमा प्रचण्ड नेतृत्वको मोटो मशाल, निर्मल लामा नेतृत्वको चौम, रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन र हरिबोल गजुरेल नेतृत्वको विद्रोही मसालबीच एकता हुँदा श्रेष्ठ एकता संयोजन समितिको सदस्य थिए । एकतापछि ०४७ मा भएको एकता महाधिवेशनबाट उनी नेकपा(एकताकेन्द्र)को पोलिटब्युरो सदस्य चुनिए । २०५१ सालमा पार्टी विभाजित हुँदा श्रेष्ठले एकताकेन्द्रको सचिवको जिम्मेवारी पाए । पछि महासचिव भए ।
नेकपा(मसाल)सँग पार्टी एकता हुँदा मोहनविक्रम सिंह नेकपा (एकताकेन्द्र–मसाल)को महामन्त्री र उनी सह–महामन्त्री भए । २०६३ सालमा सो पार्टीमा विभाजन भएपछि श्रेष्ठ एकताकेन्द्र–मसालको महामन्त्री भए ।
२०६२–०६३ को जनआन्दोलन अघि भारतको सिलगुडीमा वाम पार्टीहरूको मिटिङ गराउन र १२ बुँदे सहमति गराउन श्रेष्ठले संयोजनकारी भूमिका खेलेका थिए । जनआन्दोलनको सफलतासँगै नेकपा एकता केन्द्र–मसाल र नेकपा माओवादीको एकतासँगै श्रेष्ठ नेकपा माओवादीको उपाध्यक्ष भए ।
श्रेष्ठ राष्ट्रियसभा सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो