मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद पुनर्गठन

मन्त्रिपरिषद् पुनर्गठन, ६ मन्त्रालय रिक्त

शुक्रबार, १७ चैत २०७९, १८ : ४१
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो कसरतपछि मन्त्रिपरिषद् पुनगर्ठन गरेका छन् । प्रधानमन्त्री भएको तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नेक्रममा एकै पटक १२ जना मन्त्रीले शपथ लिएका हुन ।

प्रचण्ड नेतृत्वको सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री गरेर १७ जना उनको सारथि भएका छन् । सत्ता साझेदार दलभित्रै समझदारी बन्न नसक्दा ६ मन्त्रालय अझै रिक्त रहेका छन् ।

जसमा कांग्रेसको भागमा परेका ४ मन्त्रालय, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबाट एक/एक मन्त्रालय रिक्त भएका छन् । यद्यपि जनमत पार्टीका खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएकाले अन्योल भएको छ । 

नवनियुक्त १२ जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।  

कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री छन् । त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । त्यस्तै लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  

त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रिक्त ६ मन्त्रालय  

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा अझै ६ मन्त्रालय रिक्त छन् । प्रधानमन्त्री प्रचण्डले तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा समेत ६ मन्त्रालय रिक्त छन् ।

सत्ता साझेदार दलमा भएको सहमति बमोजिम चार मन्त्रालय नेपाली कांग्रेस, एक जनता समाजवादी पार्टी (जसपा) र एक जनमत पार्टीको भागमा परेको मन्त्रालय हो । 

जनमत पार्टीले कृषि र उद्योगमध्ये एक मन्त्रालयमा दाबी गरेको थियो । उद्योगमा कांग्रेस नेता रमेश रिजाल र कृषि मन्त्रालयमा एकीकृत समाजवादीका बेदुराम भुसाल मन्त्री भएपछि जनमत पार्टीका खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । 

कांग्रेसका परराष्ट्र, स्वास्थ्य, कानुन र खेलकुद गरेर चार मन्त्रालय हुन । कांग्रेस संस्थापन र इतरपक्षका नेताहरुबीच समझदारी बन्न नसक्दा कांग्रेसको भागमा परेको मन्त्रालय समेत रिक्त हुन पुग्यो । कांग्रेसभित्र आपसी समझदारी भएपछि प्रधानमन्त्रीले शपथ गराउने तयारी गरेका छन् । यस्तै जसपाको भागमा परेको वन तथा वातावरण मन्त्रालय समेत रिक्त हुन पुग्यो । जसपाका ११ जनै सांसद मन्त्री हुन कुद्न थालेपछि शिक्षा मन्त्री अशोक राईले मात्रै शपथ लिएका छन् । 

यस्तै माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले ६ मन्त्रालय तीन पार्टीबाट पूर्ति हुने बताए । ‘अझै ६ मन्त्रालय रिक्त छन् । जसमा चार कांग्रेस, एक जनमत र एक जसपाको भागमा परेका मन्त्रालय हुन्’ रातोपाटीसँग कुरा गर्दै शर्माले भने, ‘कांग्रेसको भागमा परेको चार मन्त्रालय र जसपाको भागमा परेको एक मन्त्रालय उनीहरुको पार्टीभित्रैको झगडाले शपथ हुन सकेन ।’ 

जनमत पार्टीले चित्त बुझ्दो मन्त्रालय नपाएकाले राजीनामा दिएकाले चित्त प्रशन्न हुनेगरी मन्त्रालय दिएर मनाउनुपर्ने शर्माले बताए । ‘जनमत पार्टीले उद्योग वा कृषि मन्त्रालयमध्ये एक मन्त्रालय मागेको थियो । दुवै मन्त्रालय दिन नसकेपछि जनमतका मन्त्रीले राजीनामा दिए’ शर्माले भने, ‘प्रधानमन्त्री ज्यू जनमत पार्टीको चित्त बुझ्नेगरी समेट्ने प्रयासमा हुनुहुन्छ ।’ जनमत पार्टीलाई चित्त बुझ्नेगरी मन्त्रालय दिएर सरकारमा समेटिने शर्माले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप