बेदुराम भुसाल : जसले धुलोमा ‘कखरा’ लेखे, ल्यापटपमा पीएचडी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष डा. बेदुराम भुसाल कृषि मन्त्री बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार गरेको मन्त्रीमण्डल विस्तारमा भुसाललाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
भुसालसहित एकीकृत समाजवादीबाट उपमहासचिव प्रकाश ज्वालाले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
लामो समय माले हुँदै एमालेमा राजनीति गरेका भुसाल दुई वर्ष अघिमात्रै एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीका संस्थापक महासचिव समेत हुन् ।
२०११ साल असारमा गुल्मी जिल्लाको धञ्चौरमा जन्मेका भुसालले २०२७ सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । २०२९ कम्युनिस्ट पार्टीको सदस्यता लिएका भुसाल २०३० सालमा भएको वर्रे संघर्षमा संलग्न रहेका कारण पक्राउ परेका थिए । त्यसक्रममा भुसालले २०३० देखि २०४३ सालसम्म यातनापूर्ण जेल जीवन बिताएका थिए ।
मार्क्सवादी दर्शनको विशेष अध्ययन र प्रशिक्षण सञ्चालनको अनुभव सँगालेका भुसाल जेलबाट छुटेपछि भूमिगत राजनीति र २०४३ पछि माले र २०४७ पछि एमालेमा रहेर राजनीतिमा सक्रिय थिए ।
भुसालका मार्क्सवादी दर्शन, दर्शनशास्त्र परिचय लगायत झण्डै एक दर्जन कृति प्रकाशित छन् । २०५८ सालमा राष्ट्रिय सभा सदस्य, २०६३ मा अन्तरिम व्यवस्थापिका संसद् सदस्य र २०७६ देखि राष्ट्रिय सभा सदस्य रहेका उनी २०६५ सालमा नेकपा एमालेको पार्टी स्कुल विभाग प्रमुख, संगठन विभाग लगायतमा रहेर काम गरेका थिए । एमालेको स्कुल विभागमा मात्रै उनले झण्डै ५ वर्ष काम गरेका थिए ।
२०२६ सालमा स्कुले शिक्षा (कक्षा ८ मा) पढ्दापढ्दै राजनीतिक आन्दोलनमा होमिएका भुसाललाई आन्दोलनमा लागेकै कारण तत्कालीन पञ्चायती सरकारले जेलमा राखेको थियो । त्यसबेला बर्रे संघर्ष समितिमा लागेर राजनीतिक आन्दोलन चर्काएको आरोप भुसालमाथि थियो । त्यसैको बहानामा भुसाललाई तत्कालीन शासकले साढे १२ वर्ष जेलमा राख्यो ।
‘मैले जेलभित्रै बसेर एसएलसी, आईए, बीए र एमए सकेँ,’ भुसालले स्मरण गरे । तीन वर्ष अघिमात्रै ६६ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालयबाट जनताको बहुदलीय जनवाद (जवज)मा विद्यावारिधी (पीएचडी) हासिल गरेका भुसाल धुलोमा कखरा लेखेर अक्षर चिने पनि पीएचडी गर्दासम्म ल्यापटपबाटै अध्ययन गर्ने भइसकेका थिए ।
‘त्यो बेलाको समय, त्यसमाथि केटाकेटी उमेर । धुलोमा लेखेर कखरा सिकेँ, त्यसबेला कपी, कलम, मसी भन्ने त कुरै भएन, लेख्नका लागि काठको पाटीसमेत दुर्लभ मानिन्थ्यो तर पछि पीएचडी गर्दा ल्यापटपबाटै लेख्नेपढ्ने भइयो’, उनले भने, ‘अहिले त सरकारी कामसमेत धेरैजसो ल्यापटपमै हुन्छ ।’
पढ्दापढ्दै जेल जान बाध्य भएका भुसालका लागि गुल्मीको तम्घास जेल नै मुख्य पाठशाला बन्न पुग्यो । एमालेमा रहँदा स्कुल विभाग प्रमुखसमेत रहेका भुसालले जीवनको उत्तरार्द्धमा कृषि मन्त्रीको जिम्मेवारीसहित पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् । त्यसो त भुसालको रोजाई शिक्षा मन्त्रालय थियो तर धेरै दल सरकारमा सहभागी हुने भएपछि उनले रोजेको मन्त्रालय पाउन सकेनन् । भन्छन्, ‘सबै कुरा रोजेको पाइन्न, जे पाइयो त्यसैमा रहेर राम्रो काम गर्न सकौं भन्ने नै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने
-
पशुपति विकास कोष र ट्रान्सफर्मरको दुई ठुला भ्रष्टाचार मुद्दा पेसीमा
-
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन
-
दुई जिल्लाले धानेको सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र
-
कपिल शर्मा, राजपाल यादव, सुगन्ध मिश्रा र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
-
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल