बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

‘बिना परीक्षण अन्य आमाको दूध बच्चालाई खुवाउनु हानिकारक’

‘ह्युमन मिल्क ब्याङ्क’को सेवा हाललाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमै सीमित
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा ‘ह्युमन मिल्क ब्याङ्क’ अर्थात् ‘अमृत कोष’ स्थापनाको सात महिना पुग्यो । विविध कारणले आमाको दूध खानबाट वञ्चित भएका बालबालिकाका अभिभावक प्रसूति गृहमा दूधका लागि सम्पर्क गर्छन् । यस्तै दूध दान गर्न पनि आमाहरू पनि पुग्ने गरेका छन् । प्रसूति गृहमा दान गरिएको दूध कस्ता शिशुले खान पाउँछन् ? कस्तो अवस्थामा आमाहरूले दान गर्न सक्छन् ? दान गरिएको दूध कति समयसम्म शिशुहरूले ख्वाउन मिल्छ ? प्रस्तुत छ, यस विषयमा केन्द्रित रही परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी बृहत् स्तनपान व्यवस्थापन केन्द्रकी व्यवस्थापक स्मृति पौडेलसँग रातोपाटीका लागि माया श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंशः   

परोपकार प्रसूति अस्पतालको ‘ह्युमन मिल्क ब्याङ्क’ मा दूधको भण्डारण कसरी गरिएको छ ?  

दानबाट आएको दूधलाई २४ घण्टाभित्र बच्चालाई खुवाउने भए माइनस २० डिग्री सेल्सियसमा फ्रिजमा राखिन्छ । यस्तै, फ्रिजमा दूध राख्दा समय अगावै बच्चा जन्माएका आमाहरूले दिने दूध छुट्टै, ४० हप्ता पुगेर बच्चा जन्माएका अर्थात्, समय पुगेर जन्मेको बच्चाको आमाको दूध छुट्टै राखिन्छ जसलाई ‘टम मिल्क’ भनिन्छ । 

३७ हप्ताभन्दा अगाडि प्रसूति भएका आमाबाट दान भएको दूधलाई पनि छुट्टै राखिन्छ । यसलाई ‘फ्रि टम मिल्क’ भनिन्छ । 

बच्चाहरूलाई दूध दिँदा पनि जन्मका आधारमा दिइने भएकाले छुट्याएर राखिन्छ । त्यसपछि प्रसूति वार्डबाट प्रसूति भएका महिलाहरूले दान गरेको दूध परीक्षणका लागि रिपोर्ट आउन बाँकी भएका दूध पनि छुट्टै राखिन्छ । दूध दान गरेका प्रत्येक आमाको दूध छुटाछुट्टै माइनस २० डिग्री सेल्सियसमा राखिन्छ ।

Capture

दान दिने आमाको दूध स्वस्थ भए नभएको कसरी थाहा पाउने ? 

सुरुमा दूध दान गर्न आमा तयार हुनुपर्छ । तर,  दूध दान गर्न चाहने आमाले दान गर्न सक्छिन् वा सक्दिनन् भनेर परीक्षण गरिन्छ । दूध दान गर्न चाहने आमाको हेपटाइटिस ‘बी’, एचआईभी, रगतको जाँच, यौनजन्य रोग परीक्षण गरेर मात्रै दूध सङ्कलन गरिन्छ । यी परीक्षणमा सकारात्मक नतिजा आएपछि डोनरबाट लिएको दूध ‘कल्चर’ समेत गरिन्छ । 

दान गरिएको दूध कति दिनसम्म बच्चालाई ख्वाउन सकिन्छ ?

यसरी दानबाट आएको दूध २० डिग्री सेल्सियसमा भण्डारण गर्ने र पास्चराइजेसन अर्थात् निर्मलीकरण अगाडि ६ महिनासम्म राख्न सकिन्छ ।  पास्चराइजेसनपछि आमाले दूध निकालेको मितिबाट तीन महिनासम्म राख्न मिल्छ । 

यसरी भण्डारण गरिएको दूध कस्ता शिशुहरूले खान मिल्छ ?

समय अगावै अर्थात् ३७ हप्ता अघि जन्मिएका शिशु, जन्मँदा कम तौल भएका, शारीरिक रूपमा पूर्ण विकास नभएका, आन्द्राको समस्या भएका बच्चाहरू यस्ता दूध खाने प्राथमिकता पर्छन् । 

यस्तै, आमाको स्वास्थ्य अवस्थाका कारण शिशुलाई दूध ख्वाउन नमिल्ने अवस्था, शिशुको आमाको मृत्यु भएमा त्यस्तालाई प्राथमिकताको आधारमा दूध दिइन्छ । 

सङ्कलन गरिएको दूध प्रसूति अस्पतालमा भर्ना भएका बच्चाहरूले मात्रै पाउँछन् कि अन्य अस्पतालमा उल्लेखित समस्या भएकाले पाउँछन् ?

हाल दानबाट आएको दूध प्रसूति गृहका शिशुले मात्रै पाउँछन् । अहिले आईसियू सेटिङका बच्चाहरूलाई दानबाट आएको दूधले पुग्छ । कम तौल भएका बच्चा मध्येपनि २८ हप्ताभन्दा कम समयमा जन्मिएको बच्चा, चिकित्सकको सल्लाहमा अस्पताल बाहिरका बच्चालाई पनि दूध दिने योजना बनाइँदै छ ।

सङ्कलन गरिएको दूध बच्चालाई कति दिनसम्म दिइन्छ ?

धेरैजसो बच्चालाई तीन दिनसम्म दूध दिनुपर्ने अवस्था रहन्छ । पहिलो पटक गर्भवती आमाबाट तीन दिनसम्म दूध आउन ढिला पनि हुन सक्छ । कहिलेकाहीँ एक हप्तासम्म दूध दिनुपर्ने शिशु पनि हुन्छन् । अपवादको रूपमा कुनै कुनै केशमा एक महिनाभन्दा बढी दूध दिएको अवस्था पनि छ । केश हेरेर फरक फरक समयसम्म दिनुपर्ने हुन्छ ।  

329826920_276460121371301_3826087590039150887_n

यस अस्पतालमा पनि प्रसूति शल्यक्रिया गर्ने दर बढेको छ । शल्यक्रिया गरेर जन्माएका आमाले तत्काल स्तनपान गराउँदैनन् । शल्यक्रियामार्फत जन्मिएका बच्चालाई दान गरिएको दूध दिइन्छ कि बट्टाको ?

दान गरेको दूध दिइने भनेको प्राथमिकताको आधारमा मात्रै हो । जन्मिदा कम तौल भएका बच्चा नै प्रसूति गृहमा बढी हुन्छन् । यस्तै, समय अगावै जन्मिएका बच्चा, आन्द्रामा समस्या भएका बच्चाहरू बढी हुन्छन् । यदि प्राथमिकतामा रहेका शिशुलाई दूध पुगेको खण्डमा प्रसूति शल्यक्रिया गरिएका आमाको दूध नआएमा र त्यसरी जन्मिएको बच्चामा स्वास्थ्य समस्या भएमा केश हेरेर दूध दिन सकिन्छ । 

शल्यक्रिया गरिएको एक घण्टाभित्र गई स्तनपान अनिवार्य गराउनुपर्छ भनेर काउन्सिलरबाट बुझाउने गरिन्छ । प्रसूति शल्यक्रियापछि पोष्टम वार्डमै गएर आमाहरूलाई शिशुलाई दूध ख्वाउन सहयोग समेत गर्छौँ । त्यसरी सहयोग गर्दा पनि दूध नआउने भएमा दान गरिएको दूध खुवाउँछन् । तर शल्यक्रियाबाट जन्मिएका बच्चाहरूलाई दान गरेकै दूध दिनुपर्छ भन्ने छैन ।

आमाको दूध आफ्ना बच्चाबाहेक अन्य बच्चालाई दिनुहुँदैन भन्ने विभिन्न खालका परम्परागत धारणा छन् । परामर्शविना दूध दान गर्न आमाहरू तयार हुन्छन् त ?

हालसम्म दूध दान गर्ने ९५ प्रतिशतभन्दा बढी महिलाले आफ्ना बच्चालाई खुवाएर पुगेपछि वा दूध खुवाउनै नमिलेको अवस्थामा दान गर्न तयार भएका छन् । एक दुई जनाबाहेक धेरैजसो आमाहरू दूध दान गर्न तयार हुन्छन् । अमृत कोष स्थापनाको सुरुवाती समयमा नेपालको परम्परागत धार्मिक मान्यताका कारण दूध दान गर्नुहुन्न भन्ने डर थियो, अहिले त्यो हट्दै गएको छ ।   

एक दिनमा कति पटकसम्म दूध दान गर्छन् ?

यति पटकसम्म दूध दान गर्नुपर्ने भन्ने छैन । बच्चा बिरामी भएर स्तनपान गराउन नपाएका आमाले तीन–तीन घण्टाको फरकमा दूध दान गर्ने गर्छन् । अस्पतालमा बसुन्जेल शिशुले आमाको दूध कति खान्छ र अस्पतालमा आमाहरू कति बस्नुहुन्छ भन्ने कुरामा भर पर्छ  ।

336623901_609158224020369_667818646418350807_n

दूध दान गर्दा आमालाई पनि फाइदा हुन्छ ?

दान गर्दा दूध पाउने बच्चालाई त फाइदा नै हुने भयो । साथै, आमालाई  पनि फाइदा हुन्छ । बच्चा जन्मिएपछि दूध चुस्न सुरु नगरे पनि दूध बन्ने प्रक्रिया भइराखेको हुन्छ । आफ्नो बच्चाले दूध नखाए गानिने समस्या हुन सक्छ । 

कतिपय आमालाई दूध धेरै गानिएर निकाल्नुपर्छ भन्ने थाहा नभएर गानिएर अपरेसन गर्नुपर्ने बाध्यता समेत सिर्जना हुन्छ, इफेक्सन हुन सक्छ । नियमित रूपमा ६ महिनासम्म दूध ख्वाएमा गर्भ रोक्नेदेखि आमाको तौल कम गर्न सहयोग गर्छ । नियमित रूपमा दूध ख्वाएमा आमा र बच्चा दुवैको सामीप्य पनि बढ्छ । 

अस्पतालमा दान गरिएको दूध परीक्षण गरी मात्रै अन्य बच्चालाई दूध खुवाइन्छ । समुदायमा विविध कारणले आमाको दूध नआएमा अन्य आमाहरूको दूध ख्वाएको पाइन्छ, के यसरी दूध ख्वाउन सुरक्षित रहन्छ ?

गाउँघरमा आमाको दूध नआएका अन्य कुनै आमाको दूध ख्वाउने चलन छ । यसरी विना परीक्षण अन्य आमाको दूध बच्चालाई ख्वाउनु हुँदैन । किनभने दूधबाट सर्ने रोगहरू सङ्क्रमण हुन सक्छ । 

त्यसैले, प्रसूति गृह अस्पतालमा दूधबाट सर्न सक्ने रोग भए नभएको थाहा पाएर मात्रै दूध अन्य बच्चालाई दिने गरिन्छ । सँगै अन्य विभिन्न खालका हिस्ट्रीहरू लिएपछि मात्रै दानबाट आएको दूध अन्य शिशुलाई दिइन्छ । त्यसरी परीक्षण नगरी अन्य आमाको दूध बच्चालाई ख्वाउँदा सङ्क्रमणजन्य रोग सर्न सक्छ ।  

अस्पतालमा प्रसूति गराउन आएका आमाबाहेक अन्य बाहिरका महिलाले दूध दान गर्न पाउँछन् कि पाउँदैनन् ?

यहाँ दूध दान गर्न पाइन्छ भनेर आमाहरू अस्पताल आउँछन् । दूध दान गर्दा गरिने सम्पूर्ण परीक्षण सकारात्मक भएको खण्डमा मात्रै दानबाट आएको दूध सङ्कलन गरिन्छ । अस्पताल बाहिरबाट आमाहरूले दूध सङ्कलन गरेर ल्याएका दूध भने अस्पतालले लिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया