बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

गन्तव्य पाँच पोखरी

शनिबार, १९ फागुन २०७४, १३ : ४१
शनिबार, १९ फागुन २०७४

२०६५ सालमा पोखराबाट भक्तपुर दरबार परिसरभित्र रहेको एक होटलमा मैले ३ जनाका लागि कोठा बुकिङ गरेकी थिएा तर जब हामी साँझमा कोठामा आइपुग्यौा होटल सञ्चालकले सबै जना नेपाली भनेर साँझमा हाम्रो बुकिङ रद्द गरेका थिए  । पछि २०७२ सालको भूकम्पमा राहात वितरण गर्न जाँदा थाहा भयो, त्यो होटल केही वर्ष अगाडि नै बन्द भएको रहेछ  । २०६७ सालमा पर्वतको रम्जा गाउँमा हामी होमस्टेमा बस्न गएका थियौँ  । त्यो ठाउँमा पाहुनाहरूलाई फूलमाला लगाएर स्वागत गर्ने चलन रहेछ, त्यो स्वागत हामीले पनि पायौँ  ।

कुराकानीका क्रममा होमस्टेका सञ्चालकले विदेशी आएमा २ र ४ टुक्रा पाउरोटी र चकलेटको भरमा रात कटाउने  तर नेपालीहरू आएमा खसीसम्म काट्ने गरेकोले विदेशी भन्दा नेपाली पाहुनाहरू नै आइदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेका थिए  । थाहा छैन, अहिले त्यो पर्यटन व्यवसाय कस्तो भएको छ  । तर मैले भन्न खोजेको प्रसङ्ग चाहिँ केही समय अगाडि काठमाडौँमा पनि पर्यटक भनेको विदेशी गोरा नै हुनुपर्छ भन्ने थियो  ।

अहिले आर्थिक विकास र समृद्धि भन्ने नारा धेरै सुनिरहैका छाँै र नवनिर्वाचित सरकारको प्राथमिकता पनि यसैमा छ  । मित्र राष्ट्र चीनले अगाडि सारेको महत्वकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभमा नेपालले हस्ताक्षर गरिसकेको छ  । यो अवस्थामा नेपालले अघिसार्न सक्ने एउटा प्रोजेक्ट पर्यटन पनि  हो  । नेपालको पशुपतिनाथ – मुक्तिनाथ हुँदै मानसरोवरसम्म भारतीय हिन्दू पर्यटक र बौद्ध (लुम्बिनी हुँदै बोधगया कुशिनगरसम्म जाने चिनियाँ बौद्ध धर्मालम्बी पर्यटकका लागि आवतजावतको केन्द्रको रूपमा पनि  नेपालमा पर्यटनको विकास हुन सक्छ  । धार्मिक, प्राकृतिक मनोरम दृश्यावलोकन, पुरातात्विक महत्वका ठाउँहरूको भ्रमण, सहासिक खेल, अध्ययन अनुसन्धान तथा जुनसुकै प्रयोजनका लागि भए पनि नेपालमा पर्यटनको सम्भावना असाध्यै ठूलो सम्भावना रहेको छ  । भर्खरै मात्र चिनियाँ नयाँ वर्षको अवसरमा एक हप्तामा तीस हजार चिनियाँ पर्यटकले नेपाल भ्रमणका लागि भिसा आवेदन दिएको कुराले पनि नेपालमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कंदै गरेको छ भन्न सकिन्छ । अस्ति फागुन ४ गते बाट ७ गतेसम्म हामीले सिन्धुपालाञ्चोक जिल्लामा अवस्थित धार्मिक एवम् पर्यटकीय क्षेत्र पाँच पोखरीको भ्रमण  गरेका थियौँ । 

समुद्री सतहबाट लगभग ४१ सय मिटर उचाइमा रहेको धार्मिक एवम् प्राकृतिक मनोरम दृश्यको केन्द्र पाँच पोखरी क्षेत्र इन्द्रावती नदीको मुहान पनि हो, जुन सिन्धुपाल्चोक जिल्लाको साविकको  भोटाङ् गाउँ विकास समिति र हाल पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ३ मा रहेको छ । राजधानी काठमाडाँैबाट सिन्धुपाल्चोक सदरमुकाम चौतारा हुँदै वा काठमाडाँैको जोरपाटी –मेलम्ची–भोटाङ हुँदै वा चर्चित पर्यटकीय क्षेत्र लाम्टाङ केन्जिङ उपत्याकाबाट तिलमान्स भञ्ज्याङ हुँदै पनि आउन सकिन्छ । उपलब्ध समय र हिमाली क्षेत्रसँगको आफ्नो अनुभवको आधारमा जुनसुकै बाटोको छनौट गर्न सकिन्छ तर सबैभन्दा छोटो बाटो भने जोरपाटी–मेलम्ची–भोटाङ नै हो ।

फागुन ३ गते अन्तिम समयमा सुरज पौडेल र भतिजी डायनाले भ्रमण क्यान्सिल गरे, जो अहिले उक्त क्षेत्रको तस्बिर हेर्दै पश्चातप गरिरहेका छन् । तर दीपक घले, युवराज खड्का, रन्जन बस्नेत, म, गङ्गा र सुमी गरी छ जनाको जोसिलो टिम फागुन ४ बिहान ६ः३० बजे नै जोरपाटी अवस्थित आमाह्याल्मो बस पार्कमा पुगिसकेको  थियो । गाउँमा जाने एक मात्र बसमा विभिन्न ठाउँमा ओर्लने यात्रुहरू खचाखच चडेका थिए भने काठमाडौँबाट नै लागभग  पूरै बाटो कच्ची थियो । ११ बजेतिर मेलम्ची बजारमा इन्द्रावती नदीका असला माछासँग भात खएर उकालो लागेका थियौँ । मेरीआम्मै सडक ! सडक पनि के भन्नु गल्ली तर अनुभवी चालकले सुरक्षित साथ गाडी चालाएका थिए । लोकल बस, मान्छे र सामान  चड्ने र झार्नेको कुनै ठेगान नभएको बसले ७० किमि  दूरी करिब ८ घन्टामा पुरा गर्दै करिब ४ बजेतिर  स्थानीयहरू आफैले बनाएको बाटो हुँदै छुम्दी बस पार्कमा पुग्यौँ ।

मान्छेहरू झुरूप्प उभिएका थिए । पछि थाहा भयो घर निर्माणका क्रममा एकजना व्यक्ति लडेछन् र सबै गाउँलेहरू मिलेर बाँसको स्टेचरमा उनीलाई स्वास्थ्यचौकीतर्फ लान लागेका रहेछन् । कठै बरा ! अहिले उनलाई कस्तो भयो होला ? सहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा हुन्छन् तर गाउँमा घरहरू टाढा टाढा भए पनि मनहरू नजिक हँुदारहेका रहेछन । एक जनालाई विपत्ति पर्दा सबै जनाले सहयोग गरेका ।

बसबाट ओर्लेर करिब एक घण्टाको नाक ठोकिने ठाडो उकालो चडेर देउराली भन्ने ठाउँमा एक मात्र घर सिङ्गे तामाङको घरमा बास बसियो ।  उमेरले तीन बीस पार गरिसकेका पाँच सन्तानका धनी  तामाङ दम्पती हाल एक्लै बस्ता रहेछन् । कोही सन्तान वैदेशिक रोजगार त कोही काठमाडौँमा रोजगारी गर्दा रहेछन् । साँझका पाहुना त्यो पनि उनीहरूका सन्तानको उमेरका  हामी, सायद छोरा छोरीको बढी नै याद आयो होला त्यो दिन, खाना दिने बेला झन्नै झन्नै आँसु झरेकी थिइन् तामाङनी आमाले । 

पाँच पोखरी भएकै स्थानमा होटल सञ्चालन गर्ने सुरेश लामालाई देउरालीबाट गाइडका रूपमा लिएर पाँच गते बिहान छ बजे हाम्रो यात्रा पाँचपोखरीतर्फ उकालियो । तारानाथ शर्मालाई घनघस्याको उकालो चड्दा निकै गाह्रो परेको हामीले थाहा पाएका छौँ तर हाम्रो मुस्किल हामीलाई मात्र थाहा थियो तथापि प्राकृतिक र जैविक विविधतायुक्त त्यस क्षेत्रमा प्राकृतिक सुन्दर दृश्य अवलोकन,  मनमोहक झरना कति त पूरै जमेका, भर्खर फक्रन लागेका गुराँसका कोपिला, हिउँले ढाकेको बाटोमा हिँड्दा जुत्ताको चरप चरप एकनास आवाज, धार्मिक आस्थाले बाटोमा बनाइएका कलात्मक मानेहरूको दर्शन, ढुङ्गे ठाउँमा आस्था लिएर बसेका देउराली, लेकतिर हिउँ परेको कारण तलतिर झर्दै गरेका चौरीका बथानहरू र हेर्दै सेता फेटा गुथेझैँ लाग्ने हिमालतर्फ चुलिएको हाम्रो यात्रामा थकानको पत्तै भएन ।

बाटोमा पानीका मुहान धेरै कम छन्, भएका अलि अलि पनि पूरै जमेका, भाद्र शुक्लपूर्णिमा बेला ३ दिनसम्म मेला लाग्ने हुनाले बाटोका गोठहरू पनि त्यही बेला मात्र खुल्ने रहेछन्, आफैले बोकेको चिसो न चिसो पानी तामाङ दाइले राखिदिएको भुटेको मकै  र काठमाडौँबाट बोकेर लगेको केही खाने कुरा खादै २ बजेतिर हामी निषिम पाटी भञ्जाङमा पुग्याँै । बाटोमा बनेपातिरबाट घुम्न आएका ३ जना भाइहरू पनि हामीसँग मिसिन आई पुगेका थिए तर एक जनालाई निषिम पार्टीमा आइपुग्दा नराम्रोसँग लेक लागिसकेको रहेछ । आगो बालेर हिउँ पगालेर केही पानी र औषधी खुवाएर हाम्रो टिम अगाडि बढ्यो तर उहाँहरू भने तिनै जना फर्कनुभयो । 

लेक त हो २ बजेपछि नै अलि अलि हिउँ पर्न सुरु गरिसकेको थियो अनि साउन भदौमा जस्तो बाक्लो कुहिरो लागेको थियो । यसले गर्दा सँगै हिँडेका हामी छ जनालाई पनि एकआपसमा देख्न सकिन्न थियो । पुग्ने पुग्ने बेलामा लौरी विनायक भञ्ज्याङको उकालो चड्नुपर्ने रहेछ । यहाँसम्म पुग्दा यात्राका लागि सधँै हुटहुटी लगाउने म आफै लखतरान परिसकेकी थिएँ । मेरो झोला साथीहरूले पालो पालो बोकिदिनुभएको थियो, दुईवाट  लौरो टेकेर पत्येक ढुङ्गा गन्दै हिँडेकी मैले एक पटक त अब कहिलै लेक आउदिनँ पनि भनेकी थिएँ तर पाँचपोखरीको सौन्दर्यले त्यो सबै भुलाइदियो । करिब पाँच बजे सुरेश लामाको होटलमा हामी पुग्दा बाक्लो हिउँ पर्न थालिसकेको थियो । उनै सुरेश दाइले तयार गरिदिएको खाना र विस्तारमा हामीले रात काट्यौँ ।

रातमा असाध्यै हिउँ पर्यो, हावा पनि अति जोडले चलेको थियो । टिनले छाएको गोठ हावाले हल्लाइदिँदा हिउँ हामी सुतेको ठाउँमा पनि पर्यो । हामी प्रत्येकले तीन तीन जोर लुगाका थियौँ अनि तीनवटै सिरक खापेर ओडेका थियौँ । सुन्दा पत्याउन पनि गाह्रो  र रमाइलो कुरा २ बजे राति पानी खान खोज्दा पानी भाडोमा नै जमिसकेको रहेछ र सिरकको बाहिरी भागमा पनि पुरै हिउँ परेको थियो । बिहान घाम नझुल्केसम्म कसैले बाहिर निस्कने हिम्मत गरेन । सात बजेतिर मात्र हामी पाँच पोखरी भ्रमणमा निस्क्यौँ ।

पाँच पोखरी घुम्न जाने भनेपछि हामी सबै जना सकेसम्म उक्त स्थानको बारेमा जानकारी सङ्कलन गर्न जुटेका थियौँ । इन्टरनेट, गाडीमा टेक्नो नेपालमा  काम गर्ने शिक्षिका, बसमा अन्य स्थानीयहरू, सिङ्गे तामाङ र सुरश लामाहरूले  हामीलाई पाँचपोखरीका बारेमा केही तथ्यगत त केही किंवदन्तीका जानकारीहरू दिनुभयो । किंवदन्ति अनुसार पाँचपोखरी क्षेत्रलाई भगवान शिव पार्वती वासस्थानको रूपमा लिइदो रहेछ र पाँचवाट पोखरीलाई उहाँहरूको छोरीको रूपमा लिइँदो रहेछ  । दाहिनाबाट नाम पनि  क्रमशः जेठी, माहिली, साँहिली, काँइली र कान्छी पोखरी भनेर राखिएको रहेछ । पाँच पोखरी इन्द्रवती नदिको शिर (मुहान) हो । भगवानकै पालमा स्वर्गका राजा इन्द्र राजकाजदेखि दिक्क भएर यसै स्थानमा आई तपस्या गर्नुभएको थियो रे र यस ठाउँमा आइपुगे पछि शान्ति प्राप्त गर्नु भएको थियो रे । वास्तवमा अहिले पनि सहरको कोलाहल, भीडभाड, धुलो धुवाँ र स्वार्थको प्रतिस्पर्धामा अशान्त मनहरूलाई शान्ति प्रदान गर्ने ठाउँ रहेछ पाँचपोखरी ।

उनै देवराज इन्द्रले तपस्या गरेको ठाउँबाट बग्ने भएको हुनाले इन्द्रावती नदी नाम रहन गएको किंवदन्ती रहेछ । पौराणिक कालमा विश्वामित्रको तपोवन पनि पाँच पोखरी क्षेत्रमा रहेको जनविश्वास रहेछ । नेपाली समाज विश्वासले अडेको छ, आगो, पानी, माटो, ढुङ्गा, बोट बिरुवा, ओडार, ताल, हिमाल, गुफा, पोखरी आदिमा भगवानले बास गर्नु हुन्छ भन्ने जनविश्वास छ । भगवानप्रतिको अटल आस्था र विश्वासले पनि प्रकृति संरक्षणमा सकरात्मक प्रभाव पारेको छ तर अध्ययन अनुसन्धान कमी, जिम्मेवार निकाएको उदासिनता तथा आधुनिकीकरणका नाममा यस्ता जनविश्वासहरू लोप भएमा प्रकृति संरक्षणमा समेत नकरात्मक प्रभाव पर्न सक्छ ।

धार्मिक आस्थाको केन्द्र पाँचपोखरीमा भाद्र शुक्ल पूर्णिमाको दिन ठूलो मेला लाग्ने रहेछ । डाँफे चराको पुच्छारमा भएको प्वाँखले सजाएको पगरी सेतो जामा, रुद्रक्षको माला र सर्पको हड्डी जडित विशेष पहिरनका साथमा धामी झाँक्रीहरू, ढोले, भरिया, दूधे नानी बोकेका आमाहरू, केटाकेटी, बुढाबुढिको लावालस्कर खलिखुट्टै पाँचपोखरीसम्म जाने  रहेछ । हिन्दु र बुद्ध धर्मको समान आस्थाको केन्द्र पाँचपोखरीमा जनैपूर्णिमामा हिन्दुहरू शिवपार्वतीको मन्दिर छेउको पोखरीमा नुहाएर नयाँ जनै लागउने प्रचलन रहेछ ।

पाँचपोखरी क्षेत्र धार्मिक, सांस्कृतिक साथै  जैविक विविधताको क्षेत्र पनि हो । पवित्र इन्द्रवति नदि मेलम्चिमा मिसाएर काठमाडौँ बासिलाई पानी खुवाउने योजना पनि छ । यो क्षेत्र कस्तूरी मृग, रतुवा, घोरल, झारल र विभिन्न किसिमका चराचुरुङ्गीहरूको वासस्थान हो । बस्नादार सुनपाती, भैरुङ्गपाती, पदमचाल, भुतकेश, पाँचऔँले यार्सागुम्बा आदिको स्रोत पनि हो पाँचपोखरी ।

बिहान असाध्यै चिसो भए पनि घाम लागेपछि भने कही न्यानो भयो । पाँचैवाट पोखरीलाई दाहिना पार्दै हामी ४४ सय मिटरमा रहेको डाँढातर्फ लाग्याँै । पाँचपोखरी क्षेत्रमा सेतो हाँस देखेमा भाग्यमानी हुने जनविश्वास रहेछ । हामीले हाँस देखेनौँ तर आँखाले देखे जति पहाड, बोटविरुवा र पोखरी पनि सेतै देख्यौँ । सुरेश दाइ भन्थ,े प्रत्येक वर्ष यसरी हिउँ नपर्न पनि सक्छ । यो मानेमा हामी अझ धेरै भाग्यमानी थियौँ । ४४ सय मिटर उचाइ चडिसकेपछि  एकातर्फ लाक्पा दोर्जी र जुगल हिमाल देखिने रहेछ भने अर्कोतर्फ ५ वटै पोखरी एकसाथ देख्न सकिने रहेछ । मैले हिउँमा बसेर हिमाल हेरेको यो पहिलो पटक थियो । प्राकृतिक सुन्दरताको दृश्यावलोकनको अनुभव शब्दमा भन्दा कति पो बुझाउन सकिन्छ । अझ जसले हिउँ टेकेकै छैन र नजिकबाट हिमाल देखेकै छैन । नौ बजे फर्किने हाम्रो योजना थियो तर झन्डै २ घन्टा ढिलो ११ बजेतिर मात्र हामी पाँच पोखरी क्षेत्रबाट फिर्ता भयौँ । बाटो पूरै हिउँले ढाकेको हुनाले धेरै ठाउँमा हामीले बाटो विरायौँ । सायद सुरेश दाइलाई गाइडको रूपमा हामीले नलगेको भए हामीले बाटो विर्सने पनि थियौँ होला । बेलुका पाँच बजेतिर पुन सिग्गे दाइकोमा बास बसेर भोलिपल्ट बसमा हामी ४ बजे जोरपाटी आमाह्याल्मो बसपार्कमा आई पुगेका थियौँ ।

फेसबुक, इन्स्टाग्राम र टुइटरमा फोटो देखेपछि आहा कति राम्रो ठाउँ ! अर्को ठाउँ जाने बेलामा मलाई पनि भन है भन्ने अनि ल जाउँ भन्दा केही न केही बाहाना गरेर नजाने साथीहरूको सङ्ख्या पनि ठुलै छ मसँग । हिमाल टाढाबाट हेर्दा सुन्दर लाग्छ तर नजिकै पुग्दा चिसो हुन्छ । मलाई कति मान्छेहरू हिमाल पनि जस्तै लाग्छन् टाढाबाट हेर्दा सुन्दर तथा नजिकमा असाध्यै चिसा । पाँच पोखरी क्षेत्रको यात्रा पनि केही कस्टकर नै छ । गाडीको बाटो फराकिलो छैन, दिनमा एउटा मात्र गाडी चल्छ, होटलहरू राम्ररी विकसित भैसकेका छैनन् । सुविधाहरू कम छन्, छुम्दीभन्दा माथि खाने कुरा र पानीसमेत आफैले बोकेर  लानुपर्दछ, स्वास्थ्यसम्बन्धी कुनै समस्या भयो भने उपचारको कुनै व्यवस्था छैन । प्रचार प्रसारको अभाव छ । मानिसहरू बाटोमा फोहोर गर्दै हिँड्छन, जैविक सम्पदाको संरक्षणमा कम ध्यान दिइएको छ । काठमाडौँबाट यति नजिकै भए पनि उचित व्यवस्थापनको पर्खाइमा छ पाँच पोखरी।

पाँच पोखरीमा एउटा परम्परा छ, मनमा लागेको भित्री कुरा  जेठी पोखरीसँग माग्नुपर्छ । अन्यत्मा हे, जेठी पोखरी देवता ! म पनि माग्छु, मेरो पनि एउटा माग छ नेपालमा रहेका यस्ता धार्मिक, साँस्कृतिक र प्राकृतिक सबै क्षेत्रहरूमा पर्यटनको विकास होस । भर्खर बिहे गरेकी श्रीमती, नाबालक सन्तान, बुढा भएका बुबाआमा सबैलाई यो सुन्दर भूमिमा छोडेर मरुभूमिमा कुनै पनि नेपाली युवा विदेशिनु नपरोस । हिमाली जडीबुटी प्रशोधित औषधी बनुन, अमृत खाएर नेपालीको उपचार होस् । गाउँगाउँका सिङ्गे तामाङहरू ठूला  होटल रेस्टुरेन्टका मालिक बनुन् । वैदेशिक रोजगार र सहरमा भएका सबै सन्तान घर फर्किऊन् । हे हिमालका देउता ! जानी जानी नराम्रो गरेको छैन् । नराम्रो सोचेको छैन, नजानी गल्ती भएको भए माफ पाऊँ । जति सकौला विकास र संरक्षण गराँैला । सुख दिनु, खुसी दिनु, अन्न दिनु, पानी दिनु, धन दिनु, स्वास्थ्य दिनु, बरदान दिनु आशीर्वाद दिनु...।

से बोम्बो से, से, पाँच पोखरी ला झ्याल्वा, हिमाली ला झ्याल्वा, से बोम्बो से, से।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मी घले
लक्ष्मी घले
लेखकबाट थप