बागमतीमा मन्त्रालय भागबन्डाको सकस, कार्यदलको बैठकसमेत बस्न सकेन
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय बाँडफाँटका विषयमा सत्ता गठबन्धन दलहरुबीच सहमति हुन नसक्दा समस्या देखिएको छ । दलहरुबीच मन्त्रालय भागबन्डाको विषयमा सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन ।
मन्त्रालय भागबन्डा मिलाउन प्रदेश स्तरमा कार्यदल गठन गरे पनि त्यसले प्रभावकारी काम गर्न सकेको छैन । सत्ता साझेदार दलहरुबीच कुरा नमिल्दा मन्त्रालय भागबन्डाको विषयमा ठोस निर्णय गर्न बिहीबार आह्वान गरिएको बैठक २ पटक स्थगित गर्नु परेको थियो ।
बिहीबार बिहान ९ बजेका लागि काठमाडौँको वानेश्वरमा बस्ने तय भएको बैठकमा एकीकृत समाजवादी अनुपस्थित हुँदा कार्यदलको बैठक रोकिएको थियो । पहिलो बैठक रोकिएपछि दिउँसो ३ बजेका लागि पुन: बैठक बस्ने तयारी गरे पनि एकीकृत समाजवादी बैठकमा सहभागी भएन ।
एकीकृत समाजवादी बैठकमा उपस्थित नभएपछि कार्यदलको बैठक औपचारिकतामा नै प्रवेश नगरी स्थगित गरिएको थियो । यद्यपि कार्यदलका सदस्यहरूले मन्त्रालय बाँडफाँडको विषयमा अनौपचारिक छलफल गरेका थिए ।
अनौपचारिक बैठकमा कांग्रेस प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्ले, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्री, मुख्य सचेतक रत्न ढकाल, हाम्रो नेपाली पार्टीका शैलेन्द्रराज बज्राचार्य उपस्थित थिए ।
अनौपचारिक बैठकले समाजवादीलाई बैठकमा आउन आह्वान गरे पनि उपस्थित नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
पार्टी केन्द्रको निर्देशनअनुसार हिजोको बैठकमा उपस्थित नभएको एकीकृत समाजवादी कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । शर्माले भने, ‘भागबन्डाका विषयमा कुरा मिल्दैन, त्यसैले पनि बैठकमा नजान भनिएको छ ।’
कार्यदलको बैठक आज पुनः बस्नेछ । बागमती प्रदेशमा ११ मन्त्रालयमध्ये एकीकृत समाजवादीले ३ वटा मन्त्रालयको दाबी गरेको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित हाल कायम रहेका ४ मन्त्रालय पाउनुपर्ने र कांग्रेस ६ तथा हाम्रो नेपाली पार्टीले एउटामा लबिङ गर्दै आएका छन् ।
तत्कालीन सत्ता गठबन्धन भत्किएपछि नेकपा एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिएका थिए । राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको सत्ता समीकरण अनुसार राप्रपा र एमाले सरकारबाट बाहिरिएका थिए । केन्द्रमा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतको सत्ता समीकरण बनेपछि प्रदेशमा पनि एमाले र राप्रपा सरकारबाट अलग्गिएको थियो ।
जस अनुसार गत फागुन १३ गते प्रदेश सरकारबाट राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै आफ्ना ३ मन्त्रीलाई राजीनामा गराएको थियो भने एमालेले गत चैत १० गते मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई समर्थन दिन नसक्ने भन्दै सरकार छाडेको थियो । एमालेले सोही दिन आफ्ना ४ मन्त्रीलाई राजीनामा समेत गराएको थियो । प्रदेशको ३ मन्त्रालय गत फागुन १३ र ४ मन्त्रालय गत चैत १० गतेबाट रिक्त रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्टको नाममा लेखियो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको खराब कीर्तिमान !
-
अफगानिस्तानमा गाडी दुर्घटना, ६ जनाको मृत्यु
-
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल
-
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे देउवा : चीन हाम्रो मित्र राष्ट्र हो, त्यहाँ किन नजाने ?
-
राजनीतिक अस्थिरताका कारण व्यवसायी मारमा : महासचिव पोखरेल
-
बबाल बुमराह, निरीह अस्ट्रेलियाको टप अर्डर !