तीनवटै क्षेत्रको उपनिर्वाचनमा हेभिवेट भिडन्त निश्चित, कांग्रेसलाई स्वर्णिमको बाईबाई !
काठमाडौँ । आज मिति २०७९ चैत महिनाको १६ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समेटिएको छ–
उपचुनाव सरगर्मी
वैशाख १० गते हुने उपनिर्वाचनमा हेभिवेट भिडन्त हुने देखिएको छ । उपचुनाव हुने बारा २ मा जसपाका उपेन्द्र यादव, लोसपाका राजेन्द्र महतो र माओवादी परित्याग गरेर जनमत प्रवेश गरेका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यसैगरी चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र कांग्रेसका जीतनारायण श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै एमालेले भने हालसम्म उम्मेदवार खडा गरिसकेको छैन ।
यसैगरी तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार हुने भएका छन् । कांग्रेसको बिहीबार बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यता रास्वपाले कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
कांग्रेसलाई स्वर्णिमको बाइबाइ
वाग्लेले बिहीबार नै कांग्रेस परित्यागको घोषणा गरेका थिए । वाग्लेलेले २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने घोषणा गरेका छन्
‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु।’
बिहीबार मन्त्रिपरिषद् विस्तार हुन सकेन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति सरेको हो ।
बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्नेगरी छलफल गरिएपनि सहमति जुट्न ढिलाइ भएपछि शुक्रबारसम्मका लागि समय सरेको हो ।
यद्यपि अझैपनि सबै पार्टीले पाउने मन्त्रालयको टुंगो लागिसकेको छैन । शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको एक नेताले बताए ।
उपनिर्वाचनमा आयोगको प्रक्रिया
निर्वाचन आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले बिहीबार उपनिर्वाचन हुने निर्वाचन क्षेत्रहरू चितवन २ बारा २ र तनहुँ १ लाई समेत समेटेर देशभरको अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको हो ।
निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । न्याय परिषद्को परामर्शमा आयोगले आज मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको हो । चैत १८ गतेदेखि लागु हुने गरी चितवन क्षेत्र नं २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश वासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन् ।
यस्तै बारा क्षेत्र नं २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं १ का लागि कोमलप्रसाद आचार्य नियुक्त भएका छन् । मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
अदालतको आदेश
सर्वोच्च अदालतले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णयविरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।
यसअघि सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दरपिठ गरेकामा निवेदकहरु अर्को रिट बोकेर सर्वोच्च पुगेकामा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले दर्ता गर्न आदेश दिएको हो ।
ओलीको अभिव्यक्ति
नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन चार सूत्र अपनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चार सूत्रका आधारमा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनुपर्ने बताएका हुन् ।
मिटरब्याजी पीडित सरकार वार्ता
सरकार र मिटरब्जाजी पीडितहरुबीचको वार्ता भोलि बिहान साढे सात बजे हुने तय भएको छ। बिहीबार बिहान एक चरणको वार्ताबाट निष्कर्ष नआएपछि साँझ ६ बजे बस्ने तय भएपनि मिटरब्याजी पीडितका समस्याका कारण शुक्रबार बिहान बस्ने गरी समय सरेको हो।
थप समाचार
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त भएका छन् । राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा।सुरेश चालिसेले पूर्व मन्त्री थापा राजनीतिक सल्लाहकार नियुक्त भएको रातोपाटीलाई बताए । कांग्रेसका पूर्व सहमहामन्त्री थापा अहिले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य छन् । राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए ।
न्यायिक समिति राष्ट्रिय सम्मेलनले ११ बुँदे न्यायिक समिति काठमाडौँ घोषणापत्र २०७९ जारी गरेको छ ।
बुधवार र बिहीबार दुई दिने काठमाडौँ महानगरपालिकाले काठमाडौँमा आयोजना गरेको न्यायिक समिति राष्ट्रिय सम्मेलनले संविधानतः गठित न्यायिक समितिको भूमिकालाई थप प्रभावकारी बनाई सर्वसाधारणको न्यायमा सहज पहुँच कायम गरी जनउत्तरदायी न्याय व्यवस्था कायम गर्न स्थानीय तहको न्यायिक समिति काठमाडौँ घोषणापत्र २०७९ जारी गरेको हो ।
आगामी वैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै हुने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने भएको हो ।
नेपाली बैङ्किङ इन्ड्रस्टिमा भइरहेको चौतर्फी आक्रमणमा नेपाल बैंकर्स संघ (एनबीए) ले आपत्ति जनाएको छ । नियमसंगत तरिकाले पारदर्शी भएर काम गर्दा गर्दै पनि बैंकमाथि प्रहार हुनु दुःखद भएको सङ्घका अध्यक्ष सुनिल केसीले बताए ।
। भारतको आसाम घर भएकी ५६ वर्षीया भनल्वामी फागुन १४ मा कोकिन सहित पक्राउ परिन् । अफ्रिकाबाट काठमाडौँ ल्याएको २ किलो ८८७ ग्राम कोकिन भारत लैजान लागेको अवस्थामा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी विकाश राज खनालले रातोपाटीलाई बताए ।