शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

दुर्गमलाई फेर्दै होमेस्टे

बिहीबार, १६ चैत २०७९, २१ : ३७
बिहीबार, १६ चैत २०७९

दाङ । मल्लागिरी सामुदायिक होमेस्टे ग्राम ईकाई नं. ५ लेखिएको यो घर दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, छिल्लीकोटका पूर्णबहादुर पुनको हो । पुनको परिवार यही घरमा बस्छन् । यो घरभित्र चार वटा कोठा छन् । जसमा एउटा कोठा होमेस्टेका पाहुनाका लागि छुट्याइएको छ ।

छिल्लीकोटमा पाहुनाका लागि भनेर कोठा छुट्याइएका यस्ता १० वटा घर छन् । ती १० घरको १० वटा कोठाले दुर्गम छिल्लीकोटको अवस्था फेर्ने प्रयास गरिरहेका छन् ।

छिल्लीकोट तुलसीपुर उपमहानगरपालिकाको दुर्गम पहाडी गाउँ हो, जहाँ सडकदेखि खानेपानी, विद्युत, सिँचाई लगायतका पूर्वाधारको अभाव छ ।

तर त्यो पीडा र अभावलाई होमेस्टे ग्रामले फेर्ने प्रयास गरिरहेको छ । छिल्लीकोट दाङको ऐतिहासिक एवं धार्मिक पर्यापर्यटकीय क्षेत्र हो । तर पूर्वाधार अभावका कारण छिल्लीकोटले पर्यटक एवं भक्तजन भित्र्याउन नसके पनि पछिल्लो समय होमेस्टे ग्रामले आन्तरिक पर्यटकहरु भित्र्याउन सुरु गरेको स्थानीयवासी ओमप्रकाश पुनको भनाइ छ ।

होमेस्टे ग्रामले ग्रामको घरमात्रै होइन, गाउँकै मुहार फेर्ने प्रयास गरिरहेको उनले सुनाए । उनले भने, ‘दुर्गम गाउँको मुहार फेर्ने प्रयास होमेस्टेले गरिरहेको छ ।’

होमेस्टे ग्राम गाउँलेहरुले सुरु गरेसँगै गाउँमा आन्तरिक पर्यटकहरुको केही चहलपहल पनि सुरु भएको उनी सुनाउँछन् । जसले स्थानीय कृषिजन्य उत्पादनको बिक्रीवितरणबाट धेरथोर आम्दानीसमेत भित्र्याउन सुरु गरेको उनको भनाइ छ । उनले भने, ‘यहाँको उत्पादनले न बजार पायो, न मूल्य । होमेस्टे सेवा सुरु भएदेखि कुखुराका चल्लादेखि अदुवा बेसारसम्मको बिक्री वितरणका लागि बजार खोज्नु परेको छैन ।’

336558969_776060640473050_6243267125686378825_n

होमेस्टेमा भित्रिने पाहुनालाई गाउँघरमै उत्पादित कृषिजन्य उत्पादन खुवाउने, छिल्लीकोटको ऐतिहासिक चिनारी सुनाउँदै गाउँलेहरुले यसको लोकप्रियता बढाउने पहल गरेका छन् । उनले भने, ‘अझ यहाँको पूर्वाधार विकास गतिलो भइदिएको भए दुर्गम छिल्लीकोट स्वर्ग बन्न सक्थ्यो कि भन्ने लाग्छ ।’

पाहुनालाई उपहारमा टिमुर

दुर्गम छिल्लीकोटको मुख्य आम्दानीको स्रोत टिमुर हो । अदुवा, बेसार समेत उत्पादन भए पनि छिल्लीकोट भित्रिने पर्यटकहरु टिमुर र सुगन्ध कोकिला उपहार लैजाने गर्दछन् । जसले छिल्लीकोटको प्रचारमात्रै होइन, आम्दानीसमेत भित्र्याएको स्थानीय पूर्ण पुन बताउँछन् ।

उनले भने, ‘सुगन्ध कोकिला र टिमुर हाम्रो चिनारी र बाँच्ने आधार बनेको छ ।’ एक घर एक उत्पादन अन्तर्गत टिमुर र सुगन्ध कोकिला यहाँ उब्जनी हुनछ । धेरथोर भए पनि पाहुनाले उपहार स्वरुप लैजाने गरिरहेकाले यसले ती वस्तुले बजार पाउनका साथै गाउँको परिचय फेरिएको उनी बताउँछन् ।

होमेस्टे ग्रामले दुर्गम गाउँको मुहारमा धेरथोर राहत थपे पनि विकास अभावका कारण छिल्लीकोटले वास्तविक परिवर्तन महसुस गर्न नपाएको पीडा पनि उनले सुनाए । उनले भने, ‘पाहुनालाई जसोतसो सेवा त दिन्छौं । तर हामीलाई खानेपानी, सडक र विद्युतको पीडाले भने कहिल्यै छोड्न सकेन ।’

छिल्लीकोटको पूर्वाधार विकासका लागि थुप्रै आश्वासन र आशा सरकार, मन्त्री र नेताहरुले दिए पनि त्यो अझै पूरा हुन नसकेको गुनासो उनको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप