कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ

बैतडी । भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका नाकामा कडाइ गरिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ समर्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
यहाँका भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो । भारतमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको जोशीको भनाइ छ । चैत महिनायता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ५८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण जारी रहेको कोभिड–१९ समर्पक व्यक्ति जोशीले बताए । सुदूरपश्चिमका यी सबै नाकामा नियमित कोरोना परीक्षण कार्य जारी रहेको छ । उनले भने, “भारतबाट फर्किने अधिकांशमा सङ्क्रमण देखिन थालेपछि नाकामा थप कडाइ गरेका हौँ ।”
सीमा नाकामा परीक्षण गर्दा दैनिकरूपमा कोरोना सङ्क्रमण देखिरहेको समुदायस्तरमा पनि यसको जोखिम बढेको छ । भारतमा सङ्क्रमण देखिएका सहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक छ । उनले भने, “भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि जोखिम बढ्दै गएको छ, त्यसको रोकथाम र नियन्त्रणका सीमाक्षेत्रमै परीक्षणमा कडाइ गरेका छौँ ।”
नाकामा हेल्थडेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका सबै नाकामा स्वदेश फर्किनेको क्रम पनि बढेको छ । स्वदेश फर्किनेको सङ्ख्या बढिरहेकाले जोखिम बढेकाले सीमामै परीक्षणपछि मात्रै आउन दिइएको जोशीले बताए । उनले भने, “भारतमा दिनप्रतिदिन सङ्क्रमण फैलिरहेकाले सुदूरपश्चिम पनि जोखिममा छ । सीमामा स्वास्थ्य परीक्षण गरेरमात्रै भित्रिन दिएका छौँ ।”
सङ्क्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होमआइसोलेसनमा बस्न भन्ने गरिएको छ । जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नुका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ । प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ ।
जोखिम बढेपछि सीमा नाकाबाट स्वदेश फर्कनेलाई परीक्षणसँगै अनिवार्य मास्क लगाएरमात्रै भित्रिन दिने नियम बनाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४४ हजार चार सय ५४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय २७ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।
पछिल्लो समयमा कोरोना सङ्क्रमण दर बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउनसमेत आग्रह गरिएको छ । कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट