सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
शिक्षा

जब बाबुराम भट्टराईले एसएलसीमा बोर्ड फस्ट भएको खबर रेडियोबाट सुने

बिहीबार, १६ चैत २०७९

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई २०२६ सालको एसएलसी ‘बोर्ड टपर’ हुन् । सानैदेखि पढिरहने र शान्त स्वभावका बाबुरामका लागि त्यो क्षण निकै अकल्पनीय थियो ।

उनले माघमा अमरज्योति जनता स्कुलबाट एसएलसी दिएका थिए । त्यसको नतिजा वैशाखमा आउने थियो । बीचमा बचेको तीन महिना उनी घर नजिकैको स्कूलमा पढाउन थाले । कक्षा ८ सम्मको पढाई हुने स्कूललाई त्यो बेला मिडिल स्कूल भनिन्थ्यो ।

परीक्षामा राम्रो लेखेकाले नतिजा पनि राम्रै आउँछ भन्ने थियो । सधैँ कक्षामा प्रथम हुने भएकाले उनलाई अरूले पनि बोर्डमा राम्रै हुन्छ भन्थे । त्यो बेला रिजल्ट आएको सूचना रेडियोबाट थाहा हुन्थ्यो ।

रेडियोमा समाचार सुनिरहेका बेला रिजल्टसँगै बोर्ड फस्ट भनेर उनको नाम सार्वजनिक भयो । जुन उनको कल्पना बाहिरको विषय थियो । त्यो अघिसम्म बोर्ड फस्ट काठमाडौंका सीमित विद्यालयका विद्यार्थीमात्र हुन्थे ।

एसएलसीमा बोर्ड फस्ट भएको कुरा भने घरमा कसैलाई थाहा थिएन । गाउँतिर भने अलि–अलि चर्चा भइसकेको थियो । बेलुका उनी अबिर लाएर रातै भएर घर पुगे । घर परिवारले त कतै लड्यो कि, चोटपटक लागेछ भन्ठाने । र, पछि आफू बोर्ड फस्ट भएको कुरा आमाबुबालाई उनले जानकारी गराए । त्यसपछि घरमा पनि खुसीको सीमा रहेन ।

एसएलसीमा आफ्नै गाउँको केटो बोर्ड फस्ट भएपछि गाउँले पनि रमाए । ‘बोर्ड फस्ट हुने विद्यार्थी थिएँ । कक्षामा सधैँ प्रथम हुन्थेँ । परीक्षामा राम्रै नतिजा आउँछ भन्ने त थियो तर बोर्ड फस्ट नै हुन्छु भन्ने कल्पना नै थिएन,’ बाबुरामले भने, ‘पढाउने क्रममा रेडियोबाट म बोर्ड फस्ट भएको कुरा सुनेँ । त्यो अप्रत्यासित थियो । मेरो जीवनको ठूलो घुम्तीचाहिँ बन्यो ।’

त्यो बेला एसएलसीको महत्त्व र चर्चा खुबै हुन्थ्यो । एसएसलीलाई ‘आइरन गेट’ अर्थात् फलामे ढोका भनिन्थ्यो । काठमाडौंको विरासत तोड्दै पहिलो पटक उनको नाममा बोर्ड फस्टको घोषणा गरियो । अहिले त बोर्ड फस्ट घोषणा गर्ने परिपाटी हटिसकेको छ ।

उनले एसएसलसीलाई कहिल्यै पनि तनावको विषय बनाएनन् । सधैँ उनले एकदम सहज ढंगबाट पढ्ने र सोही आधारमा दिमागमा स्मरण गराउने काम गरे । त्यो बेला एसएलसी पास गरेपछि उच्च शिक्षा र भावी जीवनको नयाँ ढोका खुल्छ भन्ने मान्यता थियो । त्यही कारणले मानिसहरू एसएलसीलाई अत्यन्तै महत्त्वका साथ लिने गरेको बाबुरामको भनाइ छ ।

उनले विद्यार्थीहरूलाई परीक्षालाई एकदम सहज ढंगबाट लिन आग्रह गरे । ‘अहिले त परिस्थिति फेरिएको छ र वास्तवमा एसईई माध्यमिक तहसम्मको शिक्षाको सामान्य खुड्किलो मात्र हो । त्यो फलामे ढोकाको रूपमा रहेन,’ उनले भने ।  

परीक्षा भन्ने बित्तिकै विद्यार्थीहरूमा तनाव हुने र त्यसले झन् समस्यामा पार्ने उनको भनाइ छ । ‘फेरि पनि परीक्षा परीक्षा नै हुन्छ । त्यसलाई विद्यार्थीहरूले ग्रहण गर्नैपर्छ । उचित महत्वका साथ ग्रहण गर्न आग्रह गर्छु । परीक्षा भन्नेबित्तिकै अत्यन्त तनावमा रहने प्रवृत्ति हुन्छ, त्यसबाट मुक्त रहन म आग्रह गर्दछु,’ उनले भने ।

त्यो बेला उनले कहिल्यै पनि किताब घोकेर पढेनन् । एसईई दिने विद्यार्थीहरूलाई रट्न तथा घोक्न लगाइने गरेको भन्दै उनले आफूले कहिल्यै पनि त्यसो नगरेको बताए ।

‘पढ्ने प्रक्रियालाई निरन्तर रूपमा अगाडि बढाउने हो । परीक्षाको दिनमात्र पढ्ने होइन । अझ त्यतिबेला त टुप्पी कसेर बस्ने, घोक्ने भन्ने थियो । रातिराति बसेर पढ्ने, घोक्ने भन्ने कहिल्यै पनि अपनाइनँ,’ बाबुरामले भने, ‘म जहिले पनि कक्षामा पढ्दा, त्यसलाई आफ्नो मष्तिस्कमा खेलाउने, बाटोमा हिँड्दा, खेल्दा, आराम गर्दा पनि त्यसलाई मनमा खेलाएर बस्ने र त्यसलाई स्मरण गराइरहन्थेँ । त्यसले गर्दा मलाई परीक्षाको बेला त्यति तनाव पर्दैनथ्यो ।’

‘परीक्षालाई ठूलो तनावको रूपमा लिनु हुँदैन’

अहिले एसईई दिन लागेका विद्यार्थीहरूलाई बाबुरामले सबैभन्दा पहिला तनावमुक्त रहन सुझाव दिन्छन् । ‘तनावको रूपमा लिँदा हाम्रो मानव मष्तिस्कका तन्तुहरू जति कामयावी हुनुपर्ने हो, त्यति नहुन पनि सक्छन् । त्यसैले यिनलाई जति सहज बनायो त्यति नै सहज ढंगले काम गर्छन्,’ उनले भने ।

मानव मष्तिस्कलाई आवश्यकताभन्दा बढी तन्काउने प्रयास गरिएको खण्डमा त्यसले काम नगर्ने उनको भनाइ छ । ‘हाम्रो मष्तिस्क भनेको पनि ठूलो यन्त्र जस्तै हो । त्यसलाई ठिक ढंगले परिचालन गर्न जानिएन, आवश्यकताभन्दा बढी तन्काइयो भने त्यसले पनि ठिकसँग काम गर्दैन,’ उनले भने ।

उनले परीक्षालाई एकदम तनावमुक्त भएर सहज रूपमा लिन आग्रह गरे । परीक्षाको बेला रातभरि बसेर बढी अध्ययन गर्ने विद्यार्थीहरूको बानी खराब रहेको उनको भनाइ छ । ‘त्यसैले म विद्यार्थी भाइबहिनीहरूलाई सधैँ निरन्तर र नियमित रूपमा पढ्ने र पढ्नुभन्दा पनि आफ्नो दिमागलाई प्रयोग गर्न सिक्ने, तर, परीक्षाको बेला बढी भार नथप्न आग्रह गर्दछु,’ उनले भने ।

रातिराति अबेरसम्म बसेर पढ्नु, जाँच दिने बेलामा पनि हतार हतारमा गेटमा कापी किताब खोलेर हेर्नु भनेको अनावश्यक तनाव लिनुसरह हुने उनको भनाइ छ । 

बिहान परीक्षा छ भने बिहानै उठेर पढ्ने नगर्न उनको सुझाव छ । ‘बरू बेलुका पढ्ने । बिहान उठेर यसो मैले कति बुझे÷बुझिनँ भनेर दिमागमात्र खेलाउनु एउटा कुरा हो । तर, परीक्षा केन्द्रसम्म पुग्दा पनि खास्स खुस्स गरेर किताब हातमा लिएर पढ्ने बानीले अनावश्यक तनावमात्र निम्त्याउँछ,’ उनले भने ।

विद्यार्थी भाइबहिनीहरू भोलि भविष्यको समाजका निर्माता भएकाले उनीहरूको राम्रो शिक्षादीक्षामा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । विद्यार्थीहरूले पनि एउटा असल मानव बन्ने हो भनेर त्यही ढंगले आफूलाई केन्द्रमा राख्नुपर्ने बाबुरामको सुझाव छ ।

आफूलाई सधैँ सिकाई केन्द्रमा राखेर सिक्ने प्रक्रिया निरन्तरको प्रक्रिया हो भन्दै उनले त्यही अनुसार अगाडि बढ्न विद्यार्थीहरूलाई सुझाव दिए ।

‘एउटा परीक्षाबाट अन्त्य हुँदैन । त्यसपछि पनि जीवनभरि नै विभिन्न ढंगबाट व्यावहारिक परीक्षा भइरहन्छन् । त्यसैले यसलाई पनि एउटा परीक्षालाई जीवनका सयौं परीक्षाहरूमध्येको एउटा हो भनेर सहज ढंगबाट ग्रहण गर्न म सुझाव दिन्छु,’ उनले भने ।

परीक्षा प्रणालीमा सुधारको खाँचो

बाबुरामले अहिलेको परीक्षा प्रणाली नै सुधार गर्नुपर्ने धारणा राखेका छन् । ‘शिक्षा के हो भन्ने कुराको बुझाई नै हाम्रो त्रुटीपूर्ण छ । शिक्षा भनेको खाली पुराना ज्ञान अनुभवलाई स्मरण गर्ने र त्यसलाई दोहो¥याउने प्रक्रियामात्र होइन,’ बाबुरामले भने, ‘शिक्षा भनेको मान्छेमा अन्तरनिहित सिर्जनशील क्षमतालाई प्रस्फुटन गरिदिने हो ।’

परीक्षाले कति पुराना कुराहरू, शिक्षकले भनेका कुराहरू सम्झनुभयो भन्दा पनि आफूभित्रको सिर्जनशील क्षमता र त्यसलाई उपयोग सकियो वा सकिएन, त्यो हेर्नुपर्ने उनको भनाइ छ ।

‘भोलि आफ्नै खुट्टामा उभिएर केही गर्न सक्नुहुन्छ कि हुन्न भन्ने कुराको मापन गर्ने विधि हुनुपर्छ । त्यसअर्थमा पनि यो परीक्षा प्रणाली बदल्नैपर्छ,’ उनले भने ।  

एउटै विषयमा ३ घण्टासम्म परीक्षा लिने पद्धतिको अन्त्य हुुनुपर्ने उनको धारणा छ । ‘परीक्षा लिँदाखेरी नम्बरको आधारमा श्रेणी विभाजन गर्नेले पनि तनाव दिन्छ । अझै पनि ग्रेडलाई निजी स्कूलहरूले जुन आफ्नो विज्ञापनको रूपमा अनावश्यक ढंगबाट तन्काउने गरेका छन्, त्यसलाई अन्त्य गर्नुपर्छ,’ उनले भने ।

परीक्षार्थीलाई बाबुरामका पाँच टिप्स :

–राति अबेरसम्म नपढ्ने, परीक्षा दिन जाँदा गेटसम्मै किताव हेर्दै नजाने ।

–घोक्नु भन्दा विषयवस्तु बुझेर परीक्षा दिन जाने ।

–परीक्षामा अनावश्यक तनाव लिएर नबस्ने ।

–विद्यार्थीहरूलाई विद्यालय, अभिभावक लगायतले अनावश्यक तनाव नदिने ।

–परीक्षा आएको बेला पढ्नु भन्दा निरन्तर पढिरहने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया