यसकारण जोगाउनै पर्छ गिद्ध
गिद्ध शिकारी चराको समूहमा परेपनि आफूले कहिल्यै शिकार गर्दैन । खाली मरेका जनावरको मासु अर्थात् सिनो मात्र खान्छ । सिनो र अन्य मासुजन्य फोहर खाएर वातावरण स्वच्छ, सफा र सन्तुलित राख्ने गिद्धलाई प्रकृतिको कुचिकार भनिन्छ । प्रकृतिका अभिन्न अङ्ग गिद्ध हाल लोपोन्मुख अवस्थामा छन् । आजभन्दा करीव २५–३० वर्ष अघि संसारमा सबैभन्दा सजिलै र ठूलो संख्यामा गिद्ध देख्न सकिन्थ्यो । तर पछिल्ला दशकमा धेरैजसो प्रजातिका गिद्ध लोप हुने अवस्थामा पुगेका छन् ।
नेपालमा पनि सन् १९८० को दशकमा अनुमानित १० देखि १६ लाखको संख्यामा रहेका गिद्ध ९० प्रतिशत भन्दा बढीले घटेर २० हजार भन्दा कममा सीमित भएका छन् । यसप्रकारको भयावह विनाशका कारण आईयुसीएनको रातो सूचीले नेपालमा पाईने ९ प्रजातिका गिद्धमध्ये चार प्रजातिलाई अतिसङ्कटापन्न, एक प्रजातिलाई सङ्कटापन्न र तिन प्रजातिलाई सङ्कटको नजिक सूचीमा राखेको छ ।
गिद्धको महत्व
मानव बस्ती वरपर वस्न रुचाउने गिद्धको मुख्य आहार घरपालुवा जनावरको सिनो हो । गिद्धले अन्य मांसाहारी जनावरले भन्दा छोटो समयमै कुशलतापूर्वक सिनोको दोहन गर्न सक्छ । त्यसैले गिद्धको अभाव भएको खण्डमा मानिसमा रेविज, प्लेग, हैजा, आँऊ, झाडापखाला र पशु चौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगको महामारी पैmलिन सक्ने चुनौती हुन्छ ।
सिनोलाई छिटै खाएर गिद्धले बायुमण्डलमा सिनोबाट कार्वन उत्सर्जन हुनबाट समेत बचाउने विभिन्न अध्ययनले देखाएको छ । गिद्धको पर्यावरणीय मात्र होइन धर्मशास्त्र, रितिरिवाज र संस्कारमा पनि छुट्टै महत्व छ । जस्तो हिन्दू धर्ममा गिद्धलाई सनी देवताको बाहनको रुपमा पुजिन्छ । उता रामायणमा रावणले सीताहरण गर्दा गिद्धले रक्षक न्यायिक योद्धाको भूमिका निर्वाह गरेको उल्लेख छ । त्यसै गरी, नेपालको हिमालपार क्षेत्रमा बस्ने तिब्बतीयन मूलका लामा समुदायले मृतक आफन्तको शव गिद्धलाई खुवाई अन्त्येष्टी गर्ने संस्कार पनि छ ।
गिद्धको विनाश
सन् १९८०÷९० को दशकमा नेपाललगायत भारतीय उपमहाद्वीपमै गिद्ध ठूलो समूहमा मरेको अवस्थामा भेटिन थाले । मरेका गिद्ध संकलन गरेर अनुसन्धान गर्दा गिद्ध विनाशको मुख्य कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक भएको पत्ता लाग्यो ।
सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशुको मृत्युपश्चात उक्त सिनो खाँदा गिद्धको मिर्गौलामा असर गर्छ । समूहमा खाने गिद्धलाई ३० मिलीको एक भाएल डाइक्लोफेनेक संक्रमित एउटै सिनोले साढे ३ सयदेखि ८ सय गिद्धहरु मार्ने भएकोले यो औषधी गिद्ध विनाशमा प्रमुख कारण बन्न पुग्यो ।
गिद्ध संरक्षणका प्रयास
गिद्धको लोप हुँदा वातावरणमा सिनोबाट उब्जने प्रदूषण र मानवीय स्वास्थ्यमा प्रतिकुल असर बढ्दै जाने तथा गिद्ध नै सदाको लागि हराएर जाने चुनौती बढेपछि नेपाल सरकार मातहतका सम्बन्धित सरकारी निकाय, गैरसरकारी संस्था, संरक्षणकर्मी, सरोकावाला निकाय र समुदायले गिद्ध संरक्षणको कार्यलाई अघि बढाउने संकल्प गरे ।
सिनोमा विष हाल्नाले पनि गिद्ध मरिरहेका छन् । अघिल्लो वर्ष नवलपरासीको रामग्राममा ७१ भन्दा बढी गिद्ध र गत महिनामात्र पनि नवलपरासीको कावासोतीमा नौ वटा गिद्ध विष हालेको सिनो खाँदा एकै ठाउँमा मरेका थिए ।
गिद्ध संरक्षणका लागि नेपाल सरकारले २३ जेठ २०६३ देखि पशु उपचारमा डाइक्लोफेनेक प्रतिवन्ध गरी त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग सुरु ग¥यो ।
गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदायको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदाय स्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलियो । यस रेष्टुरेन्टमा किसानहरुबाट बृद्ध, अशक्त र बेकामी गाईवस्तुहरु संकलन गरी पालनपोषण गरिन्छ । तिनीहरुको प्राकृतिक मृत्युपश्चात् निश्चित स्थानमा गिद्धको आहाराका लागि राखिन्छ । नजिकै रहेको अवलोकन घरबाट अतिसकंटापन्न गिद्धका प्रजातिको आनीबानी र क्रियाकलापको अध्ययन अवलोकन गर्न सकिन्छ ।
रुपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तारित भएका छन् जटायु रेष्टुरेन्ट । यी वृद्ध र छाडा चौपायाहरुको रेखदेख गरी पशु कल्याणकारी र लोपोन्मुख गिद्ध बचाउने काम गर्नुका साथै पर्या–पर्यटन प्रर्वद्धन, स्थानीयबासीको जीविकोपार्जन र अनुसन्धानका केन्द्र पनि हुन् ।
त्यसै गरी, सन् २००८ मा चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्र खोलियो । प्रजनन केन्द्रमा हुर्काइएका र कोरलिएका डंगर गिद्धलाई विश्वमै पहिलो पटक सुरक्षित प्राकृतिक वातावरणमा पुनस्र्थापना गराउने र स्याटेलाईट जडान गरी अध्ययन गर्ने कार्य भैरहेको छ ।
नेपाल सरकारले लागु गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९—२०१३’ र दोस्रो पञ्चवर्षिय कार्ययोजना सन् २०१५–२०१९ को सफल कार्यावन्यनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग गिद्ध संरक्षण साझेदार संस्था र समुदायले हातेमालो गरिरहेका छन् ।
सन् २००९ बाट गिद्ध सुरक्षित क्षेत्र बनाउने अभियान पनि सुरुवात गरियो । गिद्ध सुरक्षित क्षेत्रमा डाइक्लोफेनेकलगायत हानिकारक औषधीको उपस्थिति शुन्य हुनुपर्छ । यसका अलावा निरन्तर शुद्ध आहारको उपलब्धता, प्रकृतिमा प्रजनन गरिरहेका गिद्धहरुको नियमित अनुगमन, गिद्ध संरक्षणसम्बन्धि जनचेतना अभिवृद्धि तथा सरोकारवाला निकायहरुसँग समन्वय र वकालत आदि क्रियाकलाप सञ्चालित हुनुपर्दछ ।
विश्व संरक्षण समुदायका लागि नमुना मानिएको गिद्ध सुरक्षित क्षेत्रको यस अवधारणा भारत, पाकिस्तान, बङ्गलादेश, कम्बोडिया, म्यानमार र हालका वर्षहरुमा अफ्रिका लगायतका देशमा पनि अनुशरण गरिएको छ ।
नेपालमा गिद्ध संरक्षणको क्षेत्रमा हाल सम्मका भए गरेका संरक्षण अभियानको प्रतिफलस्वरुप पछिल्ला वर्षहरुमा गिद्धको ह्रास रोकिएर पुनः बढ्ने दिशामा अघि बढेको अध्ययनले देखाएका छन् ।
विडम्वना हालका वर्षहरुमा पशुउपचारको लागि बजारमा आएका दुखाई कम गर्ने औषधी गिद्धको लागि हानिकारक प्रमाणित भएका छन्, जुन आगामी दिनमा गिद्ध संरक्षणको सफलता टिकाई राख्न चुनौती बनेका छन् ।
नेपालमा गिद्धलाई सुरक्षित ठानिएको मेलोक्सिक्याम प्रयोग करीव ९० प्रतिशत छ भने हानिकारक डाइक्लोफेनेकको प्रयोग पछिल्ला वर्षहरुमा शुन्य पाइएको छ । नेपालको गिद्ध संरक्षणमा यो उपलब्धि कोशेढुंगा हो । तर पछिल्ला दिनहरुमा गिद्धको लागि हनिकारक प्रमाणित भैसकेका पशु उपचारमा प्रयोग गरिने औषधी एसिक्लोफेनेक, किटोप्रोफेन र निमुस्लाईडको प्रयोग पनि नेपालमा बढ्दै गएको छ, जुन चिन्ताको बिषय हो ।
नेपालमा एसिक्लोफेनेक, किटोप्रोफेन र निमुस्लाईडको उपलब्धता करिव ५ देखि ७ प्रतिशत देखिएको छ । यी हानिकारक औषधीको पनि पशुउपचार प्रयोगमा रोक लगाउनु पर्छ ।
त्यसै गरी सिनोमा विष हाल्नाले पनि गिद्ध मरिरहेका छन् । अघिल्लो वर्ष नवलपरासीको रामग्राममा ७१ भन्दा बढी गिद्ध र गत महिनामात्र पनि नवलपरासीको कावासोतीमा नौ वटा गिद्ध विष हालेको सिनो खाँदा एकै ठाउँमा मरेका थिए ।
गत वर्ष माघमा पृथ्वी राजमार्ग विस्तारका लागि तनहुँको शुक्लागण्डकीमा विश्वकै दुर्लभ अतिसंकटापन्न सानो खैरो गिद्धको भर्खर कोरलिएको बच्चा सहितको गुँड भएको सिमलको रूख ढालियो । यसरी गिद्धको बासस्थान पनि नाशिदै छ भने आहारको अभाव पनि बढ्दो छ ।
व्यापक रुपमा बिस्तारित र दिनप्रतिदिन बढ्दै गइरहेका विद्युत प्रसारणका संरचनाहरुमा ठोक्किएर र करेन्ट लागेर पनि गिद्धलगायत अन्य चरा मरिरहेका घटना पनि पछिल्लो दिनमा बढिरहेको छ । त्यसैले, विद्यमान चुनौतीको समाधान गर्दै गिद्ध लोप हुनबाट जोगाउन सबैले हातेमालो गरौ ।
भट्टराई कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन संकाय, प्राकृतिक श्रोत तथ व्यबस्थापन कलेजमा आठौ सेमेस्टरमा अध्ययनरत छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौराहामा डेढ अर्ब लगानीमा बन्यो पाँच तारे ‘रोयल टुलिप’ होटल
-
‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ कीर्तिपुरको नमुना मतपत्र
-
श्रवण शक्ति कम भएकाहरुको हक अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य
-
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र
-
एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान