शरणार्थीको नाममा ठग्नेहरू : धमाधम बनाउँदै थिए ललितपुरमा घर

काठमाडौँ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गर्ने समूहका सदस्यहरू पछिल्लो समय चुपचाप बसिरहेका थिए । ठगीमा उच्च पदस्थहरू नै संलग्न भएको भन्दै अरोपीहरूले आफूलाई पक्राउ गर्नबाट जोगाउँदै आएका थिए ।
पीडितहरूले उनीहरुविरुद्ध २०७९ जेठ १८ मा प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा चैत १२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा मोरङ घर भएका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारी छन् ।
त्यसपछि थप एकजना पक्राउ परेका छन् । पछिल्लो समय पक्राउ पर्ने आरोपी हुन्, मोरङका सागर राई । सागरलाई ललितपुरको बालकुमारीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले रातोपाटीलाई बताए ।
आरोपीहरूले १३ करोड ६३ लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीका अनुसार ८१ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । आरोपीहरूले नेपाली नागरिकलाई शरणार्थीको परिचयपत्र बनाएर ‘अमेरिकाको सपना’ देखाएको अनुसन्धानबाट थाहा भएको छ ।
चैत १२ मा प्रहरी पुग्दा केशव प्रसाद दुलाल धापाखेलमा घर बनाइरहेका थिए । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का स्थानीय दुलालको अहिले ललितपुर महानगरपालिका–२३ स्थित धापाखेलमा घर बन्दै छ । उनको निर्माणाधीन ३ तले घरको फोटो रातोपाटीलाई प्राप्त भएको छ ।
केशवको निर्माणाधीन घर नजिकै अर्का आरोपी टंक कुमार गुरुङको घर छ । अपराध अनुसन्धान कार्यालयको टोली पुग्दा केशव दुलाल टंक गुरुङको घरमा भेटिएका थिए । केशव र टंक दुवै जनालाई त्यहीँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ललितपुर महानगरपालिका–२३ का बस्ने सानु भण्डारीले अहिले महालक्ष्मी नगरपालिका– ४ स्थित सीतापाखा हाइटमा घर बनाएका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार सानुले ठगेर आएको पैसाले घर बनाएका हुन् ।
हात्तिवनस्थित सीतापाखामा बनाएको घर भण्डारीले आफ्नो पत्नीको नाममा राखेको भेटिएको छ ।
आरोपी सागर राई मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा नम्बर–१० को पूर्व अध्यक्ष हुन् । सागरले अमेरिका जान चाहनेहरूसँग उठाएको पैसा मध्ये ७ लाख रुपैयाँ भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई बुझाएको बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले भन्यो– औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएकाले खरिद रोकियो
-
सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
-
पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारले थाल्यो छानबिन
-
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
-
रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा जारी
-
तनहुँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु