मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

संविधानविद् दाहाल र पत्रकार अधिकारी पुरस्कृत

बिहीबार, १६ चैत २०७९, १२ : १६
बिहीबार, १६ चैत २०७९

विराटनगर । नेपाल पत्रकार महासङ्घको ६८ औँ स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारी विराटनगरमा पुरस्कृत भएका छन् ।   नेपाल पत्रकार महासङ्घ मोरङले स्थापना गरेको षष्ठिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् काशीराज दाहाल सम्मानित भएका हुन् । यस्तै पत्रकार हरि अधिकारी पनि षष्ठिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भए । 

कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले दाहाल र अधिकारीलाई पुरस्कार वितरण गरे । त्यस अवसरमा खापुङले पत्रकारिता क्षेत्र समाजको ऐना भएको बताए । ‘नागरिकको अधिकार रक्षा गर्ने जिम्मेवारीमा खटिने पत्रकार समाज विकासका आधार हुन्,’ उनले भने । 

पुरस्कृत व्यक्तित्व तथा संविधानविद् दाहालले राष्ट्रिय सञ्चार नीति पनि लागू भए पनि यसका केही व्यवस्था लागू गर्न अझै काम गर्न जरुरी भएको सुनाए । ‘राष्ट्रिय सञ्चार प्राधिकरण पनि महत्त्वपूर्ण छ । सञ्चार क्षेत्रमा पनि नयाँ व्यावसायिक ढङ्गले पनि नयाँ व्यक्तिहरू आउने क्रममा छन्,’ उनले भने, ‘कतिपय चुनौती पनि देखिन्छन् । प्रजातन्त्र नमरोस् भन्नेमा राजनीतिक दल सचेत हुनुपर्छ । पारदर्शिता भएन भने लोकतन्त्र सजीव हुन सक्तैन । बेथिति बढेको छ । जबाफदेहिता घटेको छ । निर्वाचन प्रणालीमा परिमार्जन गर्न जरुरी छ । सक्षम मानिस उठ्न नसक्ने अवस्था हुँदैछ । संसद् प्रभावकारी नभएपछि सरकार बलियो हुन सक्तैन ।’ न्याय परिषद्को संरचना पनि सुधार गरिनुपर्ने बताउँदै उनले संवैधानिक सुनुवाइ पनि प्रभावकारी हुन पर्नेमा जोड दिए । 

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक आफैँमा महत्त्वपूर्ण भएको बताउँदै धेरै निकायले दुःख दिन आएको जसरी व्यवहार गर्ने गरेको बताए । उनले भने, ‘सूचना दिनु धेरै कार्य बोझ भएको भन्ने ढङ्गले बुझ्न हुँदैन ।’ सूचना माग्ने र दिने क्रम बढ्नुपर्ने गुरुङले बताए । पछिल्ला वर्षहरूमा सूचना उपलब्ध नगराउनेलाई कारबाही गर्ने क्रम बढेको पनि बताए । 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्न जरुरी भएको बताउँदै समाजले सकारात्मक समाचार चाहेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले सरकारी कार्यालयबाट प्रवाह गरिनुपर्ने सूचना उपलब्ध गराउन सहजीकरण गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप