शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

अब विद्यार्थीलाई नै प्रश्नपत्र बनाउन दिऔँ : शिक्षाविद् कोइराला

बुधबार, १५ चैत २०७९, १५ : ५५
बुधबार, १५ चैत २०७९

अहिले विद्यालय स्तरका परीक्षा सञ्चालन भइरहेका छन् । विशेषगरी स्थानीय तहबाट सञ्चालन भइरहेका परीक्षालाई निकै तामझाम गरिँदैछ । त्यस क्रममा स्थानीय तहबाट जम्बो टोली लिएर अनुगमन गर्न जाने होडबाजी नै चलेको देखिन्छ ।  परीक्षाको गोपनीयता कायम राख्न र परीक्षाथीहरूको मनोविज्ञानमा असर नपरोस् भनेर परीक्षा हलहरूमा अनावश्यक भिडभाड गर्न मिल्दैन । तर अहिले स्थानीय तहका प्रमुखदेखि वडाध्यक्षसम्मको जम्बो टोली नै अनुगमनमा जाने गरेको पाइएको छ । 

स्थानीय जनप्रतिनिधिको यस कार्यलाई शिक्षाविद्हरूले फोकटको जाम भनेका छन् । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले यो फोकटको जाम भएको बताए । उनले परीक्षा संरचना नै परिवर्तन गर्नुपर्ने बेलामा स्थानीय प्रतिनिधिले पुरानै संरचनालाई प्रस्रय दिने काम भइरहेको बताए । अब भनेको परीक्षाको प्रणाली नै परिवर्तन गर्नुपर्ने बेला भएको उनको भनाइ छ । 

यसका लागि उनले चारवटा उपाय सुझाएका छन्– 
पहिलो, प्रश्नपत्र नै चोर्नै नपर्नेगरी बनाइदिऔँ । 
दोस्रो, विद्यार्थीलाई नै प्रश्नपत्र बनाउन दिऔँ । 
तेस्रो, अनुगमन नै गर्ने भए प्रविधिको प्रयोग गरौँ । 
चौथो, परीक्षा प्रणाली नै परिवर्तन गरौँ ।

उनले विद्यार्थीलाई चोर्नु नै नपर्ने खालको प्रश्नपत्र दिन सुझाव दिए । ‘उनीहरूलाई बरू यस्तो प्रश्न दिऔँ, जसका लागि चोर्न नपरोस् । विद्यार्थीले आफ्नो विचारबाट लेख्न पाओस् । त्यो भनेको त प्रश्न बनाउने शैली हो नि । विषयवस्तु चोर्ने काम त अब पुरानो भइसक्यो,’ उनले भने । 
विद्यार्थीहरूलाई अहिलेको सिकाइलाई जीवनमा कसरी प्रयोग गर्ने भनेर सोध्नुपर्ने उनको भनाइ छ । ‘अब सोध्नुपर्ने के हो भने जुन विषयवस्तु तिमीले सिक्यौ, त्यो आफ्नो जीवनमा कसरी प्रयोग गर्छौ ? भन्ने खालको प्रश्न भयो भने त कसैले कसैको चोर्नु परेन नि । तिम्रो र अर्को साथीको मिल्यो भने त्यसमा नम्बर काटिन्छ है भन्नुप¥यो । त्यो बाटोबाट जान सकिन्छ,’ उनले भने ।

त्यसैगरी प्रश्नपत्र बनाउने शैली विद्यार्थीलाई नै सिकाउनुपर्ने उनको दोस्रो सुझाव छ । विद्यार्थीहरूलाई प्रश्न बनाउने शैली पनि सिकाऔँ भन्छन् उनी । ‘अहिलेसम्म कस्तो भयो भने शिक्षकले प्रश्न बनाउने, विद्यार्थीले उत्तर लेख्नुपर्ने,’ उनले भने, ‘यो चलनचल्ती बदल्न के–के कुरा तिमीले पढेका छौँ । त्यसको प्रश्न तिमी आफैँ बनाऊ भन्ने । कुन विद्यार्थीले कति बनाउने भनेर छुट्याइदिऊँ ।’ 

प्रश्न बनाउन विद्यार्थीले पढ्नुपर्छ, पढेपछि उनीहरूले त्यो कुरा बुझेर नै प्रश्न बनाउने उनको भनाइ छ । ‘विद्यार्थीले बनाएको प्रश्नपत्रको क्याटागोरी शिक्षकले छुट्याउने । त्यो ज्ञान पक्षको प्रश्न हो कि, सिद्धान्त र व्यवहारलाई मिलाउने खालको प्रश्न हो, सीप पक्षको प्रश्न हो कि अथवा के खालको प्रश्न हो, शिक्षकले वर्गीकरण गरेर राखिदिऊँ,’ उनले भने । 
विद्यार्थीहरूले बनाएको प्रश्न पालिकामा रहेको प्रश्न बैङ्कमा राखिदिने र त्यहीँबाट परीक्षा गर्नुपर्ने उनको सुझाव छ । यस्तो गरेको खण्डमा विद्यार्थीले चिट नचोर्ने र जम्बो टोली लिएर अनुगमनमा जानु पनि नपर्ने उनको भनाइ छ । 
तेस्रो सुझाव भनेको अनुगमनका लागि सूचना प्रविधिको प्रयोग गर्नुपर्ने उनको भनाइ छ । ‘विद्यार्थीहरूले बदमासी गरे कि गरेनन् भनेर हेर्न क्यामेरा जडान गरिदिएर त्यहीँबाट हेरे भइहाल्छ नि । यो काम गरिदियो भने हामीले ठूलो जम्बो मान्छे पठाउने काम सकिन्छ । यो नचाहिने थोत्रो अभ्यास पनि बन्द हुन्छ,’ उनले भने । 

त्यत्रो भीड जाँदा विद्यार्थीहरू डराउने र आफूहरू बेइमान नै रहेको बुझ्ने खालको धारणा आउने उनको भनाइ छ । अहिले अमेरिकीहरूले फेल हुनु भनेको विकल्प खोज्नु हो भन्ने बुझ्ने गरेको र विकल्प खोज्ने गरेको उनको भनाइ छ । 
‘तिम्रो यो बाटो ठिक होइन भने अर्को बाटो ठिक हो भन्न खोजिएको हो । हामीचाहिँ त्यसरी सोच्ने किसिमको दृष्टिकोण किन नबनाउने हो ?’ उनले प्रश्न गरे । 

विद्यार्थी त्यो विषयमा फेल भयो भने उसले विकल्प खोज्नुपर्ने उनको भनाइ छ । ‘फेल भयो भने विकल्पका रूपमा म पढिखाने खालको मान्छे होइन, गरिखाने खालको मान्छे होला अथवा पढ्ने र गर्ने दुईवटालाई जोड्ने खालको मान्छे होला अथवा गराइ र पढाइ जोड्नलाई सिक्नुपर्ने खालको म होला भन्ने किसिमको दृष्टिकोण बनाउन सकियो भने बच्चालाई आइहाल्छ नि,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप