बच्चा जन्मिएको दुई वर्षसम्म अनिवार्य स्तनपान : तर महिलाहरु किन बन्छन् अन्जान ?
काठमाडौँ । कास्कीकी एक महिलाले सिजेरियन सेक्सन (शल्यक्रिया) बाट मंसिरको पहिलो साता आफ्नो पहिलो सन्तान जन्माइन् तर स्तनपान भने गराइनन् । शल्यक्रियाबाट जन्माउँदा सुरुमै बच्चालाई उनको दूध नख्वाएर बट्टाको दूध ख्वाइयो । अपरेसन गरेको तीन दिनपछि बच्चालाई आमाको दूध चुसाउँदा राम्रोसँग चुस्नै सेकन ।
नवजात शिशुले आमाको दूध नचुस्ने तर, बट्टाको दूध मजासँग खान थालेपछि उनले नियमित रुपमा बच्चालाई आफ्नो दूध नख्वाएर बट्टाको दूध नै ख्वाउँदै आएकी छन् ।
यस्तै, इमाडोलकी प्रमिला कुँवरले बच्चा जन्माएको तीन महिनामै काममा फर्किइन् । उनले पनि शल्यक्रियामार्फत् बच्चा जन्माएकी थिइन । नियमित रुपमा बच्चालाई दूध ख्वाएपनि दुई महिनापछि काम फर्किएकाले पछि नियमित रुपमा स्तनपान गराउन पाइनन् ।
आमाको दूधको सट्टामा बट्टाको दूध ख्वाउन सुरु गरेको एक महिनापछि बच्चाले बिहान साँझपनि आमाको दूध खान नमान्दा कुँवरले बट्टाको दूध खुवाउन सुरु गरिन् ।
बच्चा जन्मिएको दुई वर्षसम्म नियमित स्तनपान
पछिल्लो समय अमृतसमान आमाको दूध खुवाउने दर घटेको छ । जबकि एक्सक्लुसिभ ब्रेस्ट फिडिङ अर्थात् पहिलो ६ महिनासम्म आमाको दूध बच्चालाई अनिवार्य ख्वाउनुपर्छ ।
इपीडीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख तथा जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीका अनुसार बच्चाको शारीरिक तथा मानसिक वृृद्धि विकासको लागि अति आवश्यक हो स्तनपान । तर कामकाजी महिलाको दर बढेको छ । आकस्मिक अवस्थामा गरिने प्रसूति शल्यक्रियालाई व्यापारीकरण गरिएको छ । स्तनपानको महत्वबारे पूर्ण रुपमा जानकारी नहुँदा, सुन्दरतामा कमी आउने लगायत प्रचारले नेपालमा स्तनपानको दर घटेको छ । बट्टाको दूध ख्वाउने चलन बढेको छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) अनुसार सन् २०१६ मा ६६ प्रतिशतले स्तनपान गराएका थिए । तर २०२२ मा स्तनपान गराउने दर घटेर ५६ प्रतिशत पुगेको छ । हरेक पाँच पाँच वर्षमा हुने सर्वेक्षणमा हाल स्तनपान गराउने दर १० प्रतिशतले घटेको हो । जबकि २०११ मा ७० प्रतिशतले, २००६ मा ५३ प्रतिशत र २००१ मा ६८ प्रतिशतले स्तनपान गराएका थिए ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका बालरोग विशेषज्ञ एव नवजात शिशु विभागीय प्रमुख डा कल्पना सुवेदी उपाध्यायले बच्चाका लागि अति महत्वपूर्ण स्तनपान गराउने दर पछिल्लो समय घट्नुको कारणमध्ये बट्टाको दूध राम्रो भन्ने गलत बुझाई भएको बताइन् । समाजमा वट्टाको दूधको गतल प्रचारप्रसारको प्रभाव परेको उनको बुझाइ छ ।
‘बट्टाको दूध ख्वाउँदा इन्फेक्सन हुन्छ । पौष्टिक तत्वहरू पनि आमाको दूधमा जस्तो हुँदैन, यसले नकारात्मक असरहरू हुन सक्छ । बट्टाको दूध ख्वाउँदा सफाइमा ध्यान नदिँदा बच्चालाई झाडापखाला लाग्छ । यसले बच्चा कुपोषित हुन सक्छ । कुपोषणले गर्दा अन्य समस्या निम्तन्छ, जसले बच्चाको मृत्युसमेत हुन्छ,’ उनले भनिन् ।
आमाको दूधमा रोगसँग लड्ने रोगप्रतिरोधात्मक क्षमता हुनाले बच्चालाई इन्फेक्सन अर्थात् कुनै पनि सङ्क्रमणबाट बचाउने डा.सुवेदीले बताइन् ।
आमाको दूध बच्चालाई नियमित ख्वाउँदा झाडापखाला, कुपोषण, निमोनियालगायत अन्य गम्भीर खालका रोग लाग्न दिदैन । बट्टाको दूध ख्वाएको बच्चाभन्दा आमाको दूध खाएको बच्चा तीक्ष्ण हुने उनको भनाइ छ ।
उता कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा रामहरि चापागाईंका अनुसार बच्चा जन्मेदेखि ६ महिनासम्म लगातार आमाको दूध मात्रै सेवन गराउनु पर्छ । त्यसपछि मात्र अन्य खानेकुरा दिनुपर्छ । तर अन्य खानेकुरासँगै दुई वर्षसम्म स्तनपान गराउनै पर्छ ।
पूर्ण रुपमा स्तनपान नगराएका बच्चा पटक पटक बिरामी भई अस्पताल लैजानुपर्ने बाध्यता हुन्छ । पटक पटक अस्पताल लैजाँदा दिइने औषधिले बच्चा कुपोषित भई धेरैको ज्यान गएको बालरोग विशेषज्ञ डा चापागाईं सुनाउँछन् ।
उनी भन्छन्, ‘आमाको दूध बराबर केही पनि होइन । फर्मुला मिल्क नख्वाएर, यदि आमाको दूध कम आएमा के के पोषिलो खानेकुरा खाए शिशुलाई पुग्ने दूध आउँछ, त्यसमा जोड दिनुपर्छ ।’
स्तनपान गराउँदा बच्चालाई मात्रै फाइदा नभएर आमालाई समेत फाइदा हुने चिकित्सकहरू बताउँछन् । स्तनपान नियमित गराउँदा स्तनको क्यान्सर, पाठेघरको डिम्बासयको क्यान्सर हुने सम्भावना कम हुने डा. सुवेदीको भनाई छ ।
यस्तै, डा. सुवेदीले बच्चालाई जति दूध ख्वायो, त्यति नै गर्भवती हुँदा खेरीको शरीरको आकार पहिला गर्भवती हुनुभन्दा अघिको ‘नर्मल सेभ’मा आउन सहयोग हुने बताइन् ।
उता स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाका पूर्वप्रमुख केदारराज पराजुलीका अनुसार नियमित रुपमा स्तनपान गराउँदा आमा मानसिक रुपमा स्वस्थ हुन्छिन् ।
किन घट्दैछ स्तपान गराउने दर ?
नेपालमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर बढे पनि स्तनपान गराउने दर भने घटेको छ । एनडीएचएसका अनुसार सन् १९९६ मा २५ प्रतिशतले मात्र स्वास्थ्य केन्द्रबाट बच्चा जन्माएका थिए । २०२२ सम्म आइपुग्दा ९४ प्रतिशतले स्वास्थ्य संस्थामा जन्माए ।
यस्तै, १९९६ मा ९ प्रतिशतले मात्रै गर्भावस्थामा स्वास्थ्य परीक्षण गर्न पुगेका थिए । जबकि २०२२ सम्म आइपुग्दा ८१ प्रतिशत स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था पुगेको पाइएको छ ।
यसरी नेपालमा स्वास्थ्य संस्थामा प्रसूती हुने दर मात्रै नबढेर परीक्षण गराउने दर पनि ह्वात्तै बढेको छ । अचम्मको कुरा स्तनपान गराउने दर भने झन् घट्दै गएको छ ।
स्वास्थ्य संस्थामा परीक्षण र प्रसूती गराउँदा स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले स्तनपानको महत्वबारे बुझाउन चुकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेक लाल स्वीकार्छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढ्दा स्तनपान गराउने दर घट्नुमा स्वयम् आमा, परिवार, अस्पतालसँगै स्वास्थ्यकर्मीको पनि कमजोरी रहेको उनको भनाइ छ ।
उता जनस्वास्थ्यविद् डा. मरासिनीले प्राकृतिक र शल्यक्रियामार्फत् प्रसूती गराउँदा मुख्यतः ठूलो अस्पतालहरूले स्तनपानको महत्व नबुझाएर सिधै फर्मूला मिल्कमा ख्वाउन सुझाव दिंदा समस्या उत्पन्न भएको आरोप लगाए ।
प्रसूती शल्यक्रिया गर्दा आमाको दूध तत्काल नआउँदा वैकल्पिक बाटाहरू नअपनाएर सिधै फर्मुला मिल्कका कम्पनीको नाम लेखाउने प्रवृत्तिले बच्चा, परिवार र राष्ट्रलाई नै दीर्घकालसम्म घाटा लाग्ने उनको भनाइ छ ।
गर्भावस्थामा नियमित जाँच र सुत्केरी हुन अस्पताल पुग्दा प्राथमिक स्वास्थ्य चौकी, विभिन्न अस्पतालले सेवा दिएपनि स्तनपानको महत्वबारे पूर्ण रुपमा बुझाउन पछि परेको पोषण शाखाका पूर्व प्रमुख पराजुलीको जिकिर छ ।
शल्यक्रियामा व्यापारीकरण
पेशाले सम्पदा पोखरेल स्वास्थ्यकर्मी हुन् । नर्भिक अस्पतालमा एक वर्षअघि उनले छोरीलाई जन्माइन् । बच्चा जन्माउनासाथ उनलाई अब्जरभेसनका लागि भन्दै एनयुसीयूमा लागियो । जबकि उनको छोरीको स्वास्थ्य अवस्था राम्रो थियो ।
उनी आफैँ स्वास्थ्यकर्मी भएकाले जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनु पर्छ भन्ने उनलाई थाहा थियो । उनी भन्छिन्, ‘बच्चालाई स्तनपान गराउन ल्याइ दिन पटक पटक आफ्नो हेरचाहमा खटिएका नर्सलाई आग्रह गरें तर अस्पतालको प्रोटोकल हो, जन्मने वित्तिकै अब्जरभेसनका लागि राख्नुपर्छ भनियो । मैले चाहेर पनि बच्चालाई एक घण्टाभित्र स्तनपान पाइन ।’
उनले छोरीलाई १२ घण्टापछि दोस्रो पटक देखिन् । त्यतिबेलासम्म उनकी छोरीलाई बट्टाको दूध ख्वाइ सकिएको थियो । यसरी निजी अस्पतालहरूमा बच्चा जन्माउनासाथ स्तनपान गराउन चाहँदा पनि हत्तपत्त पाइँदैन ।
जबकि नेपालमा निजी अस्पतालसँगै सरकारी अस्पतालमा समेत अपरेशनमार्फत् बच्चा जन्माउने दर ह्वात्तै बढ्दै छ । नेपालकै चर्चित प्रसूती गराउने अस्पताल हो, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल । यहाँ पनि हाल शल्यक्रियामार्फत् प्रसूति गराउने दर ४० प्रतिशत पुगेको अस्पतालले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा २४ हजार ३६९ जना गर्भवती महिलाको प्रसूति डेलिभरी भएको थिए, जसमध्ये ८ हजार ११८ जनाको शल्यक्रियामार्फत् प्रसुती भएको थियो ।
यस्तै, अधिकांश निजी अस्पतालले ८० प्रतिशतभन्दा बढी शल्यक्रियामार्फत् बच्चा जन्माउने गरेको परिवार कल्याण महाशाखाले जनाएको छ । यसरी शल्यक्रियाबाट बच्चा जन्माउँदा तत्काल स्तनपान गराउन मिल्दैन भन्ने गलत धारणाको विकास गरी बट्टाको दूधलाई प्रमोशन गरिएको स्वास्थ्यकर्मीहरू नै स्वीकार्छन् ।
शाखाका पूर्व प्रमुख पराजुलीका अनुसार अप्रेशन गरेर बच्चा जन्माउँदा निजी अस्पतालहरूले धेरैजसो आमा र बच्चालाई छुट्टाछुट्टै राखिदिन्छन् । शल्यक्रियामार्फत् गरिएका आमालाई अलि गाह्रो हुने हुँदा तत्काल आमाको दूध खान मिल्दैन भनेर स्वास्थ्यकर्मीले नै शिशुलाई बट्टाको दूध ख्वाउन सुझाव दिने भएकाले स्तनपान गराउनेको दर घटेको उनको तर्क छ ।
‘स्वास्थ्यकर्मीहरूले अप्रेशन गरेको आधा, एक घण्टापछि तत्काल बच्चालाई आमाको दूध ख्वाउन मिल्छ भन्ने थाहा पाउन जरुरी छ ।’ डा.सुवेदी भन्छिन्, ‘नवजात बच्चालाई आमाबाट छुट्याउनै पर्दैन । अप्रेशन गर्दापनि तत्काल दूध ख्वाउनुपर्छ भनेर स्वास्थ्यकर्मीले नै बुझन् जरुरी छ ।’
अस्पतालहरूले शल्यक्रियामार्फत् गराइने प्रसूतीलाई व्यापारीकरण गर्दा त्यसको प्रभाव नवजात शिशु मारमा परेको जनस्वास्थ्य विज्ञ डा. मरासिनी सुनाउँछन् ।
उनी भन्छन्, ‘अस्पतालहरूमा जति जति शल्यक्रियामार्फत् बच्चा जन्माउने दर बढ्छ त्यति नै स्तनपान गराउने दर कम हुन्छ ।’ जुन अस्पतालमा बढी शल्यक्रिया हुन्छ, त्यही बट्टाको दूधको प्रचारप्रसार बढी हुन्छ ।
नेपालमा चालु आर्थिक वर्षमा मात्रै फर्मुला मिल्क अर्थात् बट्टाको दूध ४८ करोड ६५ लाख ४५ हजारको आयात भएको छ । पोषण शाखाका पूर्व प्रमुख पराजुलीले विदेशबाट आउने फर्मुला मिल्क रोक्न नसक्दा समस्या उत्पन्न भएको बताए ।
सरकारीभन्दा निजी अस्पतालहरूमा बट्टाको दूधको विक्री फस्ट्याएको पराजुलीको जिकीर छ । फर्मुला मिल्क बनाउने कम्पनीको प्रभावमा अस्पतालहरूले सो दूध विक्रीवितरण हुने वातावरण सिर्जना गरेको उनले बताए ।
उनी भन्छन्, स्वास्थ्यकर्मीलाई पनि जन्मने वित्तिकै आमाको दूध ख्वाउन भन्दा सिधै बट्टाको दूध ख्वाइदिँदा सजिलो हुन्छ । प्राकृतिक रुपमा प्रसूती भएका आमालाई भन्दा शल्यक्रिया गरेर जन्माउनेलाई तत्काल स्तनपान गराउन गाह्रो भएपनि आमाको दूध ख्वाउन प्रयास नै नगरी सिधै बट्टाको दूध ख्वाउन सिफारिस गर्ने प्रचलन छ ।’
पूर्व प्रमुख पराजुलीका अनुसार बच्चालाई शल्यक्रियापछि फर्मूला मिल्क ख्वाएमा, त्यसको दुई तीन दिनपछि आमाको दूध ख्वाउँदा हत्तपत्त खान मान्दैनन् । बट्टाको दूध चुस्न मेहनत कम लाग्छ, आमाको दूध चुस्न अलि बढी मेहनत गर्नुपर्ने भएकाले फर्मूलातर्फ ध्यान गएको उनको जिकीर छ ।
फर्मुला मिल्क उत्पादक अन्तरराष्ट्रिय कम्पनीहरूको बट्टाको दूध विक्री वितरणलाई फैलाउने आक्रमक पोलिसीमा छ । उनी भन्छन्, ‘बट्टाको दूध आमाको दूधभन्दा राम्रो हो भन्ने किसिमले विश्वमा प्रचारप्रसार गरिएकाले नेपाल पनि त्यसको चपेटामा प¥यो ।’
बट्टाको दूध आमाको दूध जस्तै भनेर प्रचारप्रसार गरिएको छ । प्रचारप्रसार हेरी ख्वाउने चलन बढ्दा बालबालिका मारमा परेको उनले बताए ।
दूध प्रतिस्थापन गर्ने ऐन कागजमै सीमित
सरकारले ल्याएको ‘आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रणसम्बन्धि ऐन’ २९ वर्षदेखि कागजमै सीमित भएको छ । प्रत्यक्ष रूपमा नवजात शिशुसँग जोडिएको जनसरोकारको विषयलाई सरोकारवालाले खासै ध्यान नदिँदा पूर्ण रुपमा स्तनपान गराउने दर घटेको हो ।
पोषण शाखाका पूर्व प्रमुख पराजुलीले मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ लाई संशोधनका लागि ढिला गर्न नहुने विचार राख्छन् ।
जनस्वास्थ्यविद् डा मरासिनी सरकारले दूध प्रतिस्थापन गर्ने ऐन संशोधन नगरी कागजमै सीमित राख्दा स्तनपान गराउने दर घटेको सुनाउँछन् ।
२९ वर्ष अघि ल्याइएको ‘आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रणसम्बन्धि ऐन’ लाई संशोधन गरेर समयसापेक्ष बनाउने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्रिया अगाडि बढाएको थियो । तर विगत ५ वर्षदेखि संशोधन गर्ने भनिएको ऐनको ड्राफ्ट स्वास्थ्य मन्त्रालयमा अड्किएको छ ।
ऐन संशोधनका लागि स्वास्थ्य मन्त्रालयले कानुन मन्त्रालयमा मस्यौदा पठाएको र कानुन मन्त्रालयमा लामो समयसम्म थन्किएर पुनः स्वास्थ्य मन्त्रालयमै आइपुगेको छ । स्वास्थ्य मन्त्रालय कानुन शाखाका उपसचिव रेश्मीराज शर्माका अनुसार त्यसमा काम भइरहेको छ ।
स्वास्थ्यकर्मीकै कमजोरी
स्वास्थ्य सेवा विभागअन्र्तगत परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले पूर्ण रुपमा स्तनपान गराउने दर घट्नुमा परम्परागत्त धार्मिक मान्यता समेत कारक रहेको बताउँछन् । उनी भन्छन्, ‘पहिलो व्याउती दूध देउतालाई चढाउन परिवारका सदस्यहरूले लगाउँदा सुत्केरी अवस्थामा प्रतिकार गर्न सक्दिनन्, फाल्न बाध्य हुन्छिन् ।’ जबकि सुरुको व्याउती दूध बच्चालाई अमृत समान हुन्छ ।
सहरी क्षेत्रमा कामकाजी अर्थात् कार्यालयमा काम गर्न जाने महिला प्रसूतीपछि ९८ दिन मात्रै विदा पाउँछन् । निर्देशक डा लाल भन्छन्, ‘निजी क्षेत्रमा काम गर्नेहरू प्रसूती तथा सुत्केरी विदा ९८ दिन मात्र पाउँदा चाहेर पनि स्तनपान गराउन पाएका छैनन् ।’
डा.सुवेदी भन्छिन्, ‘आमाले मेरो दूध आउँछ, मैले मेरै दूध मात्रै ख्वाउनु पर्छ भनेर सकारात्मक सोच ल्याउन जरुरी छ । त्यसो सोचे त्यही अनुसार हर्मोन रिलिज हुन्छ, त्यसपछि आमाको दूध आउन सुरु हुन्छ ।’ यदि आमाले मेरो दूध आउँदैन, दूध नआएर बच्चाले चुस्न मानेन भन्न थालेमा दूध साँच्चिकै नआउने उनको जिकिर छ ।
पोषण शाखाका पूर्व प्रमुख पराजुलीका अनुसार विगतमा बच्चा जन्माएपछि लगातार आमाको दूध ख्वाउने चलन थियो । त्यसबेला विकल्प पनि थिएन । अहिले बट्टाको दूध विकल्पको रुपमा आउँदा नवजात शिशु मारमा परे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरका हड्डीलाई बलियो बनाउन चाहनु हुन्छ ? कटुस खानुस्
-
ओली सरकार निषेधको राजनीतितर्फ अगाडि बढे दुर्घटना निम्तिन्छ : डा.मिनेन्द्र रिजाल
-
प्रगति विवरण मन्त्रालयमा पेस गर्न मन्त्री यादवद्वारा निर्देशन
-
सिराहा कारागार प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन
-
लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
-
नेविसंघले सुरू गर्यो सदस्यता वितरण अभियान