शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

बुधबार, १५ चैत २०७९, १३ : ४०
बुधबार, १५ चैत २०७९

बागलुङ । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो । नवरात्र सुरु भएदेखि नै यहाँ दर्शनार्थीको चाप बढ्दै गएको थियो । चैतेदशैँको मुख्य दिन आज बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थी पुजाका लागि लाइनमा लागेका कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । चैतेदशैँमा राँगो, बोका र कुखुराको बलि दिने चलन छ ।

चैतेदशैँका अवसरमा छिमेकी मुलुक भारतसहित, मुलुकका विभिन्न क्षेत्रबाट पाँच लाख बढी दर्शनार्थी यहाँ आउने समितिले जनाएको छ । मन्दिरमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।  गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको समेत आयोजना गरेको छ । मेलाको मुख्य समारोहलाई आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ । मेला १७ गतेसम्म चल्नेछ । चैतेदशैँका अवसरमा कालिका मन्दिर परिसरमा नेपालकै प्राचीन ‘चैते दशैँ मेला’ लाग्ने गरेको छ । 

पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप