प्रहरी महानिरीक्षक कुँवरद्वारा मौलो पूजा

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दसैँका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाएका हुन् । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गरेका थिए । पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।
नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अङ्कित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अङ्कित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्त्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रूपमा निशान झण्डालाई लिइन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले विक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरे पश्चात् हरेक वर्ष वडा दसैँ र चैते दसैँमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध