हारेर पनि जितेको उम्मेदवार म...
हार सबैलाई अप्रिय नै लाग्छ । एकदम असहज पनि । तर, हार र जित त देखाइ, बुझाइ र भोगाइको फरक मात्रै रहेछ ।
जन्मेसँगै हार र जितको लुकामारी त निरन्तर जारी रहन्छ । अनि केही झल्याकझुलुक झिल्कोको उज्यालोबीच जिन्दगीले फन्को मार्छ । गत चैत ५ गते स्ववियु निर्वाचनमा यस्तै हारको औँसीमा मैले जीवनभरको जुनेली भेटेको छु अर्थात् प्रिय हार भेटेको छु ।
विश्वविद्यालय प्रवेश गर्दा आफ्नो राजनीतिक मोह जाहेर गरूँला जस्तो त रत्ति पनि लागेको थिएन । म त पढ्न आएको मान्छे । तर, कीर्तिपुरको राजनीतिक माहोलमा बेस्सरी जोडिन पुगेछु । म फस्र्ट सेमेस्टर अध्ययन गदैगर्दा केही सिनियर दाइहरू आएर हामीलाई करार शिक्षकको स्वतः स्थायी नियुक्तिविरुद्ध विरोध कार्यक्रम सामेल हुन भन्नुभयो । हामी पनि क्लास नै उल्टिएर भीसी भवनअगाडि एकैछिनमा पुगेका थियौँ ।
पछिल्लो दिन त्रिविको नतिजा प्रकाशनका बेथिति र अपरिपक्वता जस्ता विषयलाई लिएर परीक्षा नियन्त्रण कार्यालय बल्खुमा निकै विरोध भए । ती विरोधका सम्झनामा ताजै छन् । यी दुई घटनाबीच त्रिविका विभिन्न प्राज्ञिक कार्यक्रममा सहभागी पनि भएको छु ।
विश्वविद्यालयको गेटदेखि जियोलोजीको डिपार्टमेन्टसम्म हिँड्दै डुल्दै त्रिविलाई नजिकबाट नियाल्ने मौका पाएको छु । गेटदेखि घडी भवन हुँदै केन्द्रीय पुस्तकालयको बाटो भएर आफ्ना कक्षासम्म पुग्दा बाटोभरि असरल्ल छरिएका फोहोरको डङ्गुर देखेको छु । बाटामा विद्यार्थीको हुलमुलमा होस्टेलको पानी र अन्य समस्याका गाथा त कति हो कति ।
देशकै जेठो विश्वविद्यालयले अक्षरको रङसँग त घुलमिल गरायो तर आफ्नो आगनमा रङ्गीन फूलहरूका बास्ना चाहिँ पूरापूर छर्न सकेको रहेनछ । भएको एउटा सार्वजनिक शौचालयको दुर्गन्ध निकै वरसम्म आउँछ । सार्वजनिक खानेपानीको धाराको चाहिँ अहिले व्यवस्था गरिएको छ । व्यवस्थापन सङ्कायको भवनको प्रवेशद्वारमा ह्विल चेयरका लागि समेत मिल्ने र्याम्प पनि रहेछ । सारै अनुकरणीय । तर घडी भवन अगाडिको खुला चौरमा जान र बस्न चाहिँ खुड्किलो नै हिँड्नुपर्ने । ह्विल चेयरका लागि र्याम्प नदेख्दा मन अमिलो भयो ।
तर पनि मलाई त्रिभुवन विश्वविद्यालय निकै प्यारो लग्छ । विश्वविद्यालयसँग अनुबन्धित विद्यार्थी त छँदैछन् तर सिकाइमा रुचि राख्ने सबैलाई यसले खुला मनले अँगालेको छ । केन्द्रीय पुस्तकालय र विश्वविद्यालयको खुला बगैँचाभरि देखिने हसिला अनुहार यसैका उपज हुन् । क्रिकेट मैदानमा नेपालप्रतिको माया–मोहको साक्षी हुन पनि त्रिविकै आँगन आउनुपर्छ । साँझपख डुल्दै घुम्दै त्रिविका साना चौतारीमा सुस्ताउनेहरू मानिस पनि भेटिन्छन् । व्यायाम गर्नेहरू पनि साँझ बिहान भेटिन्छन् । क्यान्टिनहरूमा न्यूनतम शुल्कमा मीठो मीठो खाना पनि पाइन्छ । हामी घर छोडेर यति टाढा राजधानी आइपुग्नेहरूलाई त झन् त्रिविका फाँटहरूले आत्मीयता र अपनत्व दिन्छ । कुल्चिएको माटो देख्दा, झुलेका धान अनि गाई, बाख्रा र गोठाले देख्दा ठ्याक्कै घरको झझल्को दिन्छ । तर यी त बाहिरी छवि भए । विश्वविद्यालयका भित्री धमिरा त अर्कै छन् ।
विश्वविद्यालयको शिक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीक्यू) समुदायको पहुँच अझै सहज छैन । विभिन्न सङ्कायका पुस्तकालयहरू अप टु डेट छैनन्, व्यवस्थित छैनन् , कति त उपयोगमै छैनन् । विज्ञान तथा प्रविधि सङ्कायका प्रयोगात्मक पक्ष अझै कमजोर छ ।
विश्वविद्यालयको शिक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीक्यू) समुदायको पहुँच अझै सहज छैन । विभिन्न सङ्कायका पुस्तकालयहरू अप टु डेट छैनन्, व्यवस्थित छैनन् । कति त उपयोगमै छैनन् । विज्ञान तथा प्रविधि सङ्कायका प्रयोगात्मक पक्ष अझै कमजोर छ । विभिन्न फ्याकल्टीका विद्यार्थीहरूको साझेदारी ट्रेनिङ हुँदैन । विद्यार्थीहरू पूर्ण रूपमा खर्चका लागि अरूमा आश्रित हुनुपर्छ । आत्मनिर्भर हुने वातावरण छैन । अब पनि पढ्दै कमाउँदैको अवधारणा विश्वविद्यालयले अँगाल्न सक्दैन भने धेरै विद्यार्थी विदेशिन बाध्य हुनेछन् ।
राजनीतिक खिचातानीको असर पनि छ । समयमा भर्ना खुल्दैन, भर्ना हुनेहरूको परीक्षा र नतिजा प्रकाशन सेमेस्टर प्रणालीको मर्म अनुरूप हुँदैन । पर्याप्त छात्रवृत्ति मिल्दैन । खोज, अनुसन्धानका क्षेत्रमा लगानी कम छ । फरक क्षमता भएका विद्यार्थीलाई शिक्षामा अझ सहज वातावरण मिलाउनुपर्ने देखिन्छ । त्रिविलाई यस्तै र यावत् समस्याले जकडेको छ । यसको समाधान भनेको अविलम्ब शैक्षिक, भौतिक र पर्यावरणीय स्तरको उन्नति हो ।
त्रिविका यी पक्ष देख्दा, सुन्दा र आफैँले भोग्दा विद्यार्थीका समस्याहरूको सबै समक्ष ल्याऔँ जस्तो लाग्यो । यी समस्या उठाउने काम १४ वर्षपछि भएको स्ववियूका निर्वाचित प्रतिनिधि हुनुपर्छ भनेर मैले स्ववियुको उमेदवारी दर्ता गराएँ । दर्ताको दिनसम्म पनि अघि सर्ने कि नसर्ने भन्ने अन्योलका बीच अनेरास्वयुबाट सचिवको दाबेदार रहे ।
सबै पुरुष साथीहरूबीच म महिलाको प्रतिनिधित्व गर्ने एक्लो दाबेदार थिएँ । विश्वविद्यालयमा स्ववियूको महत्त्वपूर्ण पदमा महिलाको उम्मेदवारीले आफैँमा राम्रो सन्देश दिएको महसुस गरेँ । चुनाव तयारीका लागि जम्मा छ दिन बाँकी थियो ।
म विज्ञानको विद्यार्थी, अन्य सङ्कायका साथीहरू धेरैलाई चिन्दिनँ थिएँ । विज्ञान सङ्कायका अरू डिपार्टमेन्टका साथीसँग पनि चिनजान थिएन । त्यसैले त सङ्कायबीच पनि साझा सर्ट प्रोग्राम हुनुपर्छ भनिएको हो । कसरी यति कम समयमा सबैलाई समेटेर एकै ठाउँमा ल्याउनेजस्तो भयो ।
म खुला रूपमा त्रिवि राजनीतिमा नभिजेको मान्छे । यही कारण पनि कठिन लागेको थियो । तर चुनावी मैदानमा सबैसँग भेट्दै, आफ्नो कुरा राख्दै गएँ । साथीहरूको साथसहयोग र हौसला मिल्दै गयो । अन्य सङ्गठनका साथीहरूको सकारात्मक भाव थियो । प्राध्यापकहरूको सुझाव र मायाले मैले चुनावअगाडि नै चुनाव जितेजस्तो भयो । चुनावी माहोलको विचमा धेरै साथीसँग भेट भयो । धेरै कुरा सिक्ने मौका मिल्यो । नयाँ परिवार पाएँ । छुट्टै परिचय पाएँ । आफ्नो आवाजको नयाँ वजन पाएँ ।
अङ्कगणितीय खेलमा म केही पछि रहेँ तर जित केवल अङ्क मात्र त होइन । मैले त्रिवि परिवारको विश्वास जितेको छु । सद्भाव र माया जितेको छु । अनि विश्वविद्यालयको अर्काे चुनावमा सचिव र सभापतिका प्रत्यासीमा धेरै महिला भेट्छौँ कि ! अहिलेलाई आफूले उठाएका कुराको सुनुवाइ होस्, सहज कार्यानवयन होस् । यो यात्रामा म अब खुलेर अघि आउनेछु ।
गत चैत ५ गते हामीले विद्यार्थी युनियनको अधिकारिक टिम पायौँ । विद्यार्थीको प्रतिनिधित्व गर्ने युनियन त्रिविले पाएको छ । सो टिमका सम्पूर्ण प्रतिनिधिलाई हार्दिक बधाई तथा शुभकामना छ । उहाँहरूले गर्ने काम पनि विजय उत्सव बनून् । सबै विद्यार्थीको मन जितून् । सबैका समस्या नेतृत्वसम्म पुगून् र समाधान पनि छिट्टै होस । यो यात्रामा युनियनलाई विद्यार्थीको साथ सहयोग भरपूर रहनेछ ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा